बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
विचार

मेडिकल विद्यार्थीका भित्री पीडा

शुक्रबार, १० असोज २०८२, १६ : ०१
शुक्रबार, १० असोज २०८२

गोविन्द केसी नाम सुन्नासाथ नेपालमा छुट्टै प्रकारको क्रान्ति ल्याउने आदर्श व्यक्तित्वको रूपमा नेपाली समाजले बुझेको छ । तर मेडिकल शिक्षा सुधारको नाममा शिक्षा लिनुपर्ने अधिकारमै रोक लगाइएको पीडा मेडिकल शिक्षा लिन चाहनेहरूलाई मात्र थाहा छ । 

जनस्वास्थ्यमा दैनिक भइरहेका प्रहारप्रति कुनै चासो नदेखाई गोविन्द केसीको ध्यान मेडिकल शिक्षामै मात्र केन्द्रित थियो ।

मेडिकल शिक्षाका लागि शुल्कको एकरूपता र शुल्कमा कडाइ गर्नु राम्रो पक्ष नै हो भन्ने पक्कै थियो, तर त्यो देखाउने दाँत मात्रै बनाइएको कुरा जस्तो लाग्छ । डिप्लोमा स्तरका कलेजहरू बन्द हुँदै जाँदा भारतका उत्तरप्रदेश र बिहारका गुणस्तरहीन कलेजहरूमा विद्यार्थीहरू जान थाले, जसले गर्दा गुणस्तरहीन जनशक्ति मात्र उत्पादन भएन, ठुलो रकम भारत गयो ।

चिकित्सा शिक्षा आयोगको ‘कमन इन्ट्रान्स’ परीक्षाको नाममा प्रत्यक्ष रूपमा मेडिकल शिक्षा हासिल गर्ने चाहना राख्ने नेपालीका छोराछोरीको भविष्यमै खेलवाड भयो । मेडिकल शिक्षाका लागि विश्वका उत्कृष्ट कलेजमा छात्रवृत्ति पाए पनि यहाँ कमन इन्ट्रान्स परीक्षा पास नगरी एनओसी दिइँदैन । साथै, चिकित्सा शिक्षा आयोगले वर्षमा एकपटक मात्र परीक्षा लिने व्यवस्था गरेकाले बाहिर अध्ययन गर्न चाहने विद्यार्थीहरू भूमरीमा परेका छन् ।

चिकित्सा शिक्षा आयोगको परीक्षा प्रणाली नै विद्यार्थीलाई डिप्रेसनमा पुर्‍याउने र शिक्षामा बन्देज लगाउने गरी डिजाइन गरिएको छ भन्दा फरक पर्दैन । एकातिर वर्षमा एकपटक मात्र परीक्षा हुन्छ, त्यो पनि काठमाडौंमै मात्रै । इन्ट्रान्सका लागि मात्र ५ हजार रुपैयाँ शुल्क लिइन्छ । पास वा फेल छुट्याउनकै लागि ५ हजार लिनु कति जायज हो ?

अर्को कुरा इन्ट्रान्सका परीक्षा केन्द्रहरू उपत्यकाबाहिर व्यवस्था नगर्दा टाढाबाट आउने विद्यार्थीलाई निकै खर्चिलो हुने गरिएको चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई थाहा नभए झैँ गर्नुको पछाडिको कारण के हो भन्ने बुझ्न सकिएको छैन । लोकसेवा आयोगको परीक्षाभन्दा पाँच गुणा बढी शुल्क किन इन्ट्रान्समा लिइन्छ भन्ने अहम् प्रश्न छ । 

मेडिकल शिक्षा दिने विश्वविद्यालयलाई राम्रोसँग अनुगमन गर्ने हो भने विद्यार्थी योग्य छ कि छैन भन्ने कुरा सम्बन्धित काउन्सिलले परीक्षा लिएर मात्र काम गर्ने अनुमति दिने व्यवस्था गरिन्छ । 

उपत्यका बाहिरका सहरहरुमा पनि इन्ट्रान्स परीक्षा केन्द्र राख्ने विषयमा किन आवाज उठाइएको छैन भन्ने कुरामा सरकारको ध्यान जानु जरुरी छ ।

(पोखरेल जनस्वास्थ्यकर्मी हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भानु पोखरेल
भानु पोखरेल
लेखकबाट थप