अस्पतालको शय्यामा अक्षरका माली
सारांश
- डाक्टरले शिक्षक रामलाई किन शिक्षक भएको भनेर सोधेको प्रश्नको जवाफ खोज्दै रामको मृत्यु हुन्छ।
- डाक्टरले रामलाई भेट्न आउने भिड र उनको स्वास्थ्य समस्याका कारण शिक्षक भएको अनुमान गरे।
- अन्ततः, डाक्टरले रामको मृत्युको घोषणा गरे, र अस्पतालमा उनको श्रद्धाञ्जलीको लागि भिड जम्मा भयो।
‘के तपाईंले शिक्षकको जागिर खानुभएको थियो ?’ डाक्टरले प्रश्न गरे रामलाई । अस्पतालको बिछ्यौनामा पल्टिरहेका रामको कानमा जब डाक्टरको त्यो प्रश्न पर्यो, झट्ट रामलाई सनक चढेजस्तो भयो । उनलाई भनुँ–भनुँ लाग्यो, ‘जे जागिर खाए पनि के मतलब डाक्टरलाई ! उपचार गर्न आएको रोगीलाई खुरुखुरु उपचार गरे त भइहाल्यो नि !’
यद्यपि उनी सम्हालिए र त्यस्तो रुखो उत्तर डाक्टरलाई दिन उचित ठानेनन् । उनले सोँचे, कतै मलाई झैँ डाक्टरलाई पनि सनक चढ्यो भने स्वर्ग पुर्याइदिन पनि के बेर ! के भयो त, नर्कमा जीवन गुजारिरहेको मानिस स्वर्गमा पुग्न पाए राम्रै हुन्छ । स्वर्गको कुरा गर्न सजिलो छ तर आफैँ जाने कुरा कसलाई सहज लाग्छ र ?
राम डाक्टरलाई उत्तर दिनुको सट्टा यिनै सोचाइमा रुमलिरहेका थिए । ‘सुन्नुभएन तपाईंले ?’ सन्नाटा छाएको कोठामा फेरि डाक्टरको स्वर गुन्जियो । अब भने रामले भन्नैपर्यो । उनले बिस्तारै टाउको हल्लाए स्वीकार गर्ने हेतुले ।
डाक्टरले रामको निधार छामे, नाडीको चाल हेरे र छाती अनि पेटमा छोएर के–के परीक्षण गरे कुन्नि, एकैछिनमा अर्को कोठातिर लागे । रामको मानसपटलमा भने उही डाक्टरको प्रश्न खेलिरहेको थियो । उनी बारम्बार सोच्थे, ‘किन सोध्या होला ? के अस्पतालको बिछ्यौनामा सुत्न आउने रोगी शिक्षक मात्र हुन्छन् ? के उनलाई मैले कुनै दिन क, ख पढाएको त थिइनँ ? कि उनले देख्नेबित्तिकै शिक्षक भनेर चिने मलाई ?’ राम अझै सोचाइमा डुब्दै गए ।
के शिक्षक भयो भने अस्पतालको उपचारमा पनि फरक पर्छ ? हुन सक्छ पनि । सबै शक्ति, सत्ता र सम्पत्तिका पछाडि दौडने बेला एउटा सोझो शिक्षकलाई डाक्टरले समेत हेला गर्न के बेर !
शिक्षकसँग के नै हुन्छ र ? न सम्पत्ति न त उच्च स्तरको पद, न उसले चाकरी गर्न जान्यो न त कसैको झोला बोकेर दौडियो, न नेताका बिचौलिया बन्यो न त चुनाव खर्च जुटाइदिने ठेकेदार र उद्योगी–व्यवसायी हुन सक्यो । शिक्षक त विशुद्ध अक्षरको खेती गर्छ, एक कलमजीवी भएर । विभिन्न फूलहरू फुलाउने र हुर्काउने माली हो शिक्षक । चाकरी, चाप्लुसी, नातावाद अनि स्वार्थले भरिएको समाजमा एउटा शिक्षकसँग को होला र ? कसले उसको ख्याल गर्ला र ?
रामले अब निर्धक्क खुलेर भने, ‘मलाई किन शिक्षक हो भनेर सोध्या, डाक्टरसाब ?’ डाक्टर एकछिन त किंकर्तव्यविमूढझैँ उभिइरहे । उनलाई नरमाइलो पनि लाग्यो, कतै चित्त पो दुखाए कि बिरामीले भनेर ।
राम कल्पनाको गहिराइमा झन्–झन् डुब्दै गए । उनलाई लाग्यो, ‘अनि मजस्तो बबुरोको उपचार कस्तो हुने होला ? शिक्षक भनेर थाहा पाएपछि मेरो उपचार राम्रोसँग नगर्ने पो हो कि ?’ राम शङ्काले पिरोलिन्छन् र निर्णय गर्छन् कि अब फेरि सोधे भने होइन भन्छु म त तर उनको अन्तरात्माले झुट बोल्न मान्दैन । ‘फेरि मेरो स्वाभिमान !’ राम यस्तै के–के सोच्दै थिए ।
‘किन कोल्टे परेको ? उत्तानो परेर सुत्नु भनेको होइन बा ! हजुरलाई पनि भनेको नलाग्ने भयो,’ एउटी केटीको मसिनो स्वर सुने उनले । यसो मुन्टो उठाएर हेर्दा उनले देखे— सधैँ स्याहारसुसार गर्ने, औषधि खुवाउने उही सेतो कोट लगाएकी एउटी नर्स औषधिको पोको र इन्जेक्सन बोकेर उनको अगाडि उभिएकी थिइन् । सधैँ यस्ता नर्सहरू अगाडि आउँदा मलाई माया गर्ने छोरीहरू आए भनेर खुसी हुने रामलाई आज भने कताकता डर महसुस भयो । पापी मन त हो, उनले सोचे, ‘कतै डाक्टरले... इन्जेक्सन... मृत्यु... ।’
फेरि मन बुझाए रामले भने, ‘मैले नराम्रो त केही पनि भनेको छैन नि डाक्टरलाई । मात्र सोधेको प्रश्नको उत्तर तुरुन्त नदिएको त हो । त्यही पनि मेरो स्वास्थ्यसँग सम्बन्धित प्रश्न थिएन त्यो । मेरो पेसाको बारेमा के मतलब डाक्टरलाई ! पछि त मुन्टो हल्लाएर हो भनिदिएँ त ।’
फेरि बिरामीले जेसुकै भने पनि वा बिरामी रिसाए पनि डाक्टरले त इमानदार साथ आफ्नो कर्तव्य निभाउँछन् । डाक्टरप्रति पूर्ण भरोसा र विश्वास छ मेरो । यस्तो नचाहिँदो पनि सोच्नुहुन्छ मैले ? आदि सोच्दै थिए राम । त्यसैबेला ‘बा, खै पाखुरा यता ल्याउनुस्,’ भन्ने नर्सको आवाजले झसङ्ग भए र उनको सोचाइको त्यान्द्रो पनि टुट्यो ।
रामले पाखुरा तेर्साए, उनले इन्जेक्सन दिइन् । स्लाइन पानीको थोपा अलि कम गरिन् र ‘अब एक घण्टापछि यो–यो औषधि खानु है बा,’ भनेर के–के गुनगुनाउँदै बाहिर निस्किइन् । सबै त रामले बुझेनन् तर केही वाक्य भने उनले राम्ररी नै सुने । उनी भन्दै थिइन्, ‘यो स्तरको बिरामीलाई त चौबिसै घण्टा हेर्ने एकजना नर्स दिन पाए हुने नि ! तर के गर्नु, बिरामीको संख्या अनुसार हामी छैनौँ । हतारमा सबै बिरामीकोमा पुग्नुपर्छ । सोधेको कुरा समेत भन्ने समय हुँदैन । अनि कति बिरामीले र बिरामीका आफन्तले त नर्सलाई कति सडेकी, बोल्दा पनि बोल्दिनँ भन्छन् तर हाम्रो समस्या कसले बुझ्ने !’
नर्स पर पुगिसकेकी थिइन् । अब रामका कानमा नर्सको आवाजभन्दा ‘अँ, अँ, उफ्, उफ्, ऐया, ऐया’ आदि पीडादायक आवाज पसिरहेका थिए । रामलाई भने ती आवाजले भन्दा उही डाक्टरको प्रश्नले चिमोटिरहेको थियो । किन सोधेको होला, तपाईं शिक्षक हुनुहुन्थ्यो भनेर ।
राम अतीतलाई यसो कोट्याउन खोज्छन् । उनी दश वर्ष शिक्षक र करिब बीस वर्ष प्रधानाध्यापक भए । उनको जीवनयात्रा अरू जागिरेको जस्तो १० बजेको टिनिनी घण्टीको आवाजसँगै सुरु हुने र ४ बजेको टिनिनीसँगै टुङ्गिँदैनथ्यो । चक, डस्टर, कापी र कलम उनका सम्पत्ति थिए । के चाड, के पर्व, के सन्चो, के बिसन्चो, के हिउँद, के वर्षा— उनी घण्टीको आवाजसँगै अनवरत समाहित हुनुपर्थ्यो विद्यालयमा ।
कहिले अभिभावकको हप्की, कहिले विद्यार्थीको खप्की त कहिले आफ्नै सहकर्मीको घुर्की रामले नियमित व्यहोर्नैपर्थ्यो । कहिले प्रशासनको कचकच त कहिले जनप्रतिनिधिको गैरकानुनी आदेशले हैरान हुन्थे राम । त्यति मात्र हो र ! कहिले नेता र कार्यकर्ताको धम्की त कहिले स्वनामधन्य शैक्षिक अभियन्ताको अनावश्यक प्रश्न र लखेटाइ— यी सबै सामान्य नै भइसकेका थिए रामको शैक्षिक जीवनमा ।
एउटै व्यक्तिलाई यति धेरै र जटिल रोग लागेर उपचार गराउन आउने शिक्षक र निम्न स्तरका कर्मचारी मात्र छन् यो अस्पतालमा । अरूलाई त सितिमिति यतिका थरी रोग लाग्दै लाग्दैनन् होला । लागिहाले पनि कोही भारत पुग्छन् त कोही चीन, कोही बैंकक पुग्छन् त कोही सिङ्गापुर, कोही अमेरिका पुग्छन् त कोही बेलायत । गरिब र निमुखा यहाँ पनि आउन भ्याउँदैनन् ।
राम अझै अतीतलाई कोट्याउन थाल्छन् । परीक्षामा परिणाम राम्रो नआएको वर्ष ‘शिक्षकहरूले पढाएनन्, तिम्रो नेतृत्व ठिक भएन’ भनेर गाली मैले नै खाएँ । कैयौँ वर्ष परिणाम राम्रो आयो तर अभिभावकको जागरुकता, शिक्षकको मेहनत, विद्यार्थीको परिश्रम र तिम्रो सबल नेतृत्वको परिणाम भनेर एकाधबाहेक कसैले भनेनन् । धेरैले भने, ‘परीक्षा हलमा र कापी जाँच्दा गडबडी गरेछन् ।’ केही गर्दा सुख पाइनँ मैले ।
शान्ति त कहिल्यै भएन मलाई । विद्यालय छाडेर घरमा पुगेपछि पनि अभाव, पीडा र घरायसी व्यवहारले एकैपटक आक्रमण गर्थे । जीवनयात्रा हो, छिटो होस् वा ढिलो, उडेर होस् वा गुडेर, चाहेर होस् वा बाध्यताले, अविरल नै छ अहिलेसम्म । मलाई खुसी केमा छ भने मेरो पेसाप्रति कहिल्यै गुनासो गरेनन्, मेरा छोराछोरी र श्रीमतीले । बरु ‘गर्व छ हजुरप्रति,’ भन्थे उनीहरू ।
म शिक्षक अनि प्रधानाध्यापक, चैत लाग्ने बेलामा नमस्ते गर्नेहरू थुप्रै हुन्थे भने वैशाख लागेपछि मुन्टो फर्काएर हिँड्नेहरू पनि कम हुँदैनथे । तर पनि म कसैसँग रिसाइनँ र झुकिनँ । आफ्नै कर्ममा लगनशील र इमानदार भएरै बाँचे । कहिलेकाहीँ पास गराउने नाममा विभिन्न प्रलोभन नआएका पनि होइनन्, तर म कहिल्यै लोभ र लालचमा फसिनँ । यिनै कुरा सम्झँदा आफैँसँग गौरव पनि लाग्छ अहिले ।
तीस–तीस वर्ष यसरी बित्यो मेरो जिन्दगी । परिश्रमी शिक्षक, इमानदार गुरु, व्यावसायिक प्रधानाध्यापक, निःस्वार्थी समाजसेवी, कुरीति र अन्धविश्वासका विरुद्ध लड्ने सामाजिक अभियन्ता, पेसागत हकहितका लागि अगाडि बढ्ने शिक्षक नेता, विकास र समृद्धिमा साथ दिने सचेत अगुवा । जिन्दगीमा के–के भएँ, के–के तर सत्ताको प्यारो हुन, शक्तिलाई मुठीमा राख्न र अवैध सम्पत्ति आर्जन गर्न चाहिनँ मैले ।
राम अझ अतीतमा डुब्दै जान्छन् र सम्झन्छन् आफ्ना सहपाठी, अभिभावक, विद्यार्थी, उनीहरूसँगको सम्बन्ध, प्यार अनि माया । राम भावुक भइसकेका हुन्छन्, आँखाबाट मूल फुटिसकेको थाहै पाउँदैनन् उनले । गाला चिसो भएपछि मात्र झसङ्ग हुन्छन् उनी । यसो हातले आँखा पुछ्दै यताउता हेर्छन् उनी । वरपर कोही पनि थिएनन्, त्यसैले उनलाई लाज लाग्नुपर्ने पनि भएन ।
उनै डाक्टर फेरि रामको अगाडि आइपुग्छन् । रामलाई चिसो पस्छ । ‘फेरि सोध्ने हुन् कि ?’ उनको अर्धचेतन मनले भन्यो, ‘सोधे भने होइन भन्छु ।’ फेरि चेतन मनले प्रतिवाद गर्दै भन्यो, ‘किन होइन भन्नु ? यति स्वच्छ र सम्मानजनक पेसालाई !’
बरु किन सोधेका होलान्, जान्न पाए हुन्थ्यो । रिसाउने पो हुन् कि ! रिसाए के गर्नु त, धेरै रिस उठे मारिदेलान् । भोलि कि पर्सि हो जिब्रो टोक्ने, आजै टोकाइदेलान्, झन् आनन्दै ! उनी एकाग्र भएर यस्तै के–के सोच्दै थिए । ‘राम सर’ भन्ने डाक्टरको बोलावटले उनको सोचाइको डोरी चुँडियो ।
रामले मुन्टो उठाए र यसो डाक्टरतिर हेरे । ‘कस्तो छ तपाईंलाई ?’ डाक्टरले सोधे । ‘खै कस्तो भनौँ डाक्टरसाब, राम्रो भनौँ सुध्रिएजस्तो लाग्दैन, नराम्रो भनौँ बाँचेको छु । बरु डाक्टर साहेब...’ राम रोकिए । उनको घाँटी कसैले अँठ्याएजस्तो भयो । डाक्टरले बोल्न उत्साहित गर्दै भने, ‘किन रोकिनुभएको ? के भन्न खोज्नुभएको, भन्नुस् न सर ।’ डाक्टरको प्रेरणाले रामले साहस गरेर भने, ‘मलाई किन सोध्या सर... ।’ उनी फेरि बग्न सकेनन् ।
‘के सोधेँ र मैले त्यस्तो ? के मेरो सोधाइले कतै तपाईंको रोगलाई मित्रको काम त गरेन ? के हो त्यस्तो प्रश्न, भन्नुस् न ?’ डाक्टरले फेरि उनलाई जगाउँदै भने । रामले अब निर्धक्क खुलेर भने, ‘मलाई किन शिक्षक हो भनेर सोध्या, डाक्टरसाब ?’ डाक्टर एकछिन त किंकर्तव्यविमूढझैँ उभिइरहे । उनलाई नरमाइलो पनि लाग्यो, कतै चित्त पो दुखाए कि बिरामीले भनेर ।
एकैछिनपछि डाक्टरले ओठ खोले र भने— राम सर, मैले दुई कारणले तपाईंलाई शिक्षण पेसा गर्नुभएको थियो भनेर सोधेको हुँ । पहिलो कारण, तपाईंलाई दैनिक भेट्न आउने भिड हो । मैले चिकित्सा पेसा सुरु गरेको करिब २५ वर्ष भइसक्यो । मैले तीन वर्गका मानिसलाई मात्र अस्पतालमा भेट्न आउनेको भिड देखेको छु— पहिलो, शिक्षक । दोस्रो, निःस्वार्थी समाजसेवी । तेस्रो, पद र शक्तिमा रहेका पदाधिकारी । पहिले–पहिले नेता पनि यो अस्पतालमा आउँथे । १०–१५ वर्ष भयो, सत्ता र शक्तिमा भएका व्यक्ति यो अस्पतालमा आउँदैनन् । समाजसेवी भन्नेहरू पनि निजीतिर दौडन थाले ।
डाक्टर बोल्दै गए ।
तपाईंलाई भेट्न आउने भिड देखेर मलाई लाग्यो, तपाईं कुनै बेला पक्कै पनि शिक्षक हुनुहुन्थ्यो । सर, म अहिलेसम्म अस्पताल भर्ना हुनुपर्ने गरी बिरामी भएको छैन । मैले आजसम्म लाखौँ बिरामी हेरेँ हुँला, तर मलाई लाग्दैन कि म बिरामी भएर अस्पताल भर्ना हुँदा तपाईंलाई भेट्न आउनेजस्तो भिड लाग्छ ।’ डाक्टर थप्छन्, ‘राम सर, सेवानिवृत्त पछि पनि सबैले सम्मान गर्ने पद हो शिक्षक ।
प्रश्न सोध्नुको दोस्रो कारण थियो कि तपाईंलाई ठुला भनिने रोग लाग्नु । तपाईंले हिजोको रिपोर्टबाट थाहा पाइहाल्नुभयो होला कि तपाईंको शरीरमा घाँटीमा क्यान्सर, छातीमा क्षयरोग अनि आन्द्रामा अल्सरजस्ता रोगले घर बनाइसकेका छन् । किसान, मजदुर र अति गरिब त यही सरकारी अस्पतालसम्म आउँदैनन् । नेता, ठेकदार, उच्च पदस्थ कर्मचारी, उद्योगीहरू कि त विदेश जान्छन् कि नेपालका महँगा निजी अस्पताल पुग्छन् । शिक्षक सचेत भएर होला, अस्पतालसम्म भने आइपुग्छन् तर धेरै थरी जटिल रोगहरूको भारी बोकेर, करिब–करिब अन्तिम चरणमा । त्यसैले मलाई लाग्यो, तपाईं पक्कै पनि शिक्षक हुनुपर्छ ।
एउटै व्यक्तिलाई यति धेरै र जटिल रोग लागेर उपचार गराउन आउने शिक्षक र निम्न स्तरका कर्मचारी मात्र छन् यो अस्पतालमा । अरूलाई त सितिमिति यतिका थरी रोग लाग्दै लाग्दैनन् होला । लागिहाले पनि कोही भारत पुग्छन् त कोही चीन, कोही बैंकक पुग्छन् त कोही सिङ्गापुर, कोही अमेरिका पुग्छन् त कोही बेलायत । गरिब र निमुखा यहाँ पनि आउन भ्याउँदैनन् ।
तर शिक्षक आर्थिक कमजोरीले हो वा के ले हो, यो सरकारी अस्पतालमा धेरै आउँछन् । सकेसम्म उपचार राम्रो गर्छौं हामी । कति निको भएर जानुहुन्छ, कतिले हाम्रै सामु प्राण त्याग्नुहुन्छ ।
डाक्टर एकोहोरो बोलिरहेका थिए । रामका आँखा भने डाक्टरलाई हेर्नुको साटो पारि भित्तातिर हेर्न पुगिसकेका थिए र उनी हिक्क–हिक्क गर्न लागिसकेका थिए ।
डाक्टरले उत्तर पूरा नगरी रामका आफन्तलाई भित्र बोलाए । एकैछिनको सन्नाटा फेरि कोकोहोलोमा परिणत भयो । डाक्टरले भक्कानिँदै रामका आफन्तलाई एक कुशल प्रधानाध्यापक, कर्मठ शिक्षक र सबैका गुरुको शान्त महाप्रस्थान भएको जानकारी गराए । अस्पतालमा भिड भने बढिरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा बेल्जियम १–० ले पछाडि, सेनेगलको अग्रता कायमै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
-
एउटै खेलबाट पेलेका दुई ऐतिहासिक कीर्तिमान तोड्दै ह्यारी केनले रचे इतिहास
-
जुलियन अल्भारेज अनुबन्ध गर्न बार्सिलोनाको दाउ, रोक्नका लागि एथलेटिको म्याड्रिडको कडा अडान
-
अन्तिम १६ का लागि बेल्जियम र सेनेगल भिड्दै, यस्तो छ दुवै टोलीको समूह चरणको यात्रा
-
इतिहास रच्दै विश्वकपबाट बाहिरियो कंगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण