बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
निबन्ध

आमाको अर्थशास्त्र

शनिबार, ११ असोज २०८२, १६ : ००
शनिबार, ११ असोज २०८२

सारांश

  • लेखमा आमाले घरको अर्थतन्त्र कसरी चलाउँछिन् भन्ने कुराको वर्णन गरिएको छ, जहाँ माया र विश्वासको महत्व छ।
  • आमाले घरको अर्थतन्त्रलाई किफायती, न्यायपूर्ण र भविष्यप्रति चिन्तित भएर चलाउँछिन्, जहाँ साना स्रोतबाट ठूलो सोचको प्रयोग हुन्छ।
  • आमाले घरको अर्थतन्त्रमा माया, वात्सल्य र ममत्वको प्रयोग गर्छिन्, जसले परम्परागत अर्थमन्त्रीको भन्दा फरक तरिकाले काम गर्छ।

प्रेमले घर चलाउने आमा त्यसरी नै घरको अर्थतन्त्र पनि चलाउँछिन् । आमाका अर्थमा अर्थतन्त्र पनि मायाको सिर्जना हो, घर पनि मायाको सिर्जना हो । स्वरूप र संरचना फरक भए पनि घर र अर्थतन्त्र एकै हुन् । घरको होस् वा देशको, अर्थतन्त्र उस्तै हो । अर्थतन्त्र चलाउन किफायती सोच चाहिन्छ, न्याय चाहिन्छ र भविष्यप्रतिको चिन्ता चाहिन्छ । स्रोत सानो भए पनि सोचचाहिँ फराकिलो चाहिन्छ । 

आमा साह्रै किफायती छन्, आमामा घरको चिन्ता छ, घर समृद्ध पार्ने सोच छ र अघिल्तिर आफ्ना सन्तानको भविष्य छ । आमा सन्तानको भविष्यको चित्र अघि राखेर घर चलाउँछिन् । देश चलाउने अर्थमन्त्रीको भन्दा उनको अर्थशिल्पी निकै सरल अनि कुशल छ । 

आमासँग पुरानो काठेसन्दुक छ, त्यसैभित्र घरको अर्थतन्त्र छ । त्यहाँ के छैन ! दैनिकी चलाउने सिक्काहरू छन्, चाडबाडमा खाने मिठा रोटी छन्, तेल र मरमसला छन्, यी सबै माया विम्बहरू हुन्, ती पर्याप्त छैनन् तर मनलाई साहस दिन, आत्मबल बढाउन भने पर्याप्त छन् । आकस्मिक जोहोका लागि ढाकाको सुन्तुरे थैलीमा ढुसी लागेका सिक्का र मक्किएका केही नोट छन् । सितिमिति यो थैली खोलिँदैन, वर्षौंदेखि यो खोलिएको छैन, आमाले ठुलो विपत्ति सामना गरेकै छैनन् । त्यहाँ डेबिट–क्रेडिटका हिसाब छैनन्, अविश्वास भए पो अडिट गर्नुपर्थ्यो र स्रेस्ता राख्नुपर्थ्यो । त्यहाँ विश्वासको बासलात छ, सबै हिसाब छर्लङ्ग छन् । 

विश्वासमा कुदिएका लेनदेनका हिसाबहरू आमाका मस्तिष्कमा छन् । स्वनियन्त्रणका लागि कहिलेकाहीँ औँला भाँचीभाँची एक बीस ६, तीन बीस पाँच गरेर हिसाब गर्छिन् । आमाका लागि ‘बीस’ गन्तीको सबैभन्दा ठुलो अंक हो । विश्वासमा बेरुजु आउँदैन, विश्वासका मनले नाफा–घाटाको मस्तिष्क पनि खियाउँदैन । आमाको सन्दुकभित्र घरको अर्थतन्त्र छ, थुनिएको होइन मायामा संरक्षित छ । 

हाम्री आमालाई राज्यलाई जस्तो कर बढाएर वा घटाएर कोष सञ्चालन गर्नु छैन; चुनाव र पार्टीलाई अघिल्तिर राखेर बजेट विनियोजन गर्नु छैन ।

आमाको छिटको सारीको फँुदोमा बाँधिएको साँचोले सुन्दुके कोष खोल्ने इजाजत पाउँछ । दसैँ, तिहार, साउने सङ्क्रान्ति, तिजतिर यो साँचो रमाएर सन्दुक उघार्छ, सधैँभरि साँचोले सन्दुक खोल्ने इजाजत कहाँ पाउँछ र ! आमालाई थाहा छ, सन्तान र अर्थतन्त्र उस्तै हुन् । दुवैले संरक्षण र विस्तार खोज्छन्, नियमन र प्रवर्द्धन् खोज्छन्, मायामा मात्तिन्छन्, नियन्त्रणमा आत्तिन्छन् र सन्तुलनले अनुशासित हुन्छन् । सन्तानका लागि माया र अर्थतन्त्रका लागि हेरचाह उस्तै हुन् । बुवाहरू परिश्रममा आर्जन गर्छन्, आमा प्रेमले घरको अर्थतन्त्र चलाउँछिन् । परिश्रम र माया पनि सन्तुलनमा रहन्छ । 

अर्थमन्त्रीले चलाउने अर्थतन्त्रमा बजारका सङ्केतहरू टिपिनुपर्छ, आमालाई त्यसको मतलब छैन । आमाका लागि अर्थतन्त्र भनेको घर–परिवारको जीवन र खुसी हो, सन्तानको चेहराको खुसीका संकेत टिप्न आमा खप्पिस छन् । देशको अर्थतन्त्र चलाउँदा अर्थमन्त्री नाफा, बजार, शक्ति आर्जनको अभीष्ट राख्छन् । हाम्री आमाले चलाउने अर्थतन्त्रमा प्रेम, वात्सल्य र ममत्वको अनुराग छ । आग्रहको अभीष्ट होइन, आशक्ति छ । अर्थतन्त्र सुदखोरी छैन, सञ्चयवादी छ । आमाको अर्थतन्त्रले युद्ध होइन आदर खोज्छ, प्रतिस्पर्धा होइन प्रेम खोज्छ, फौबन्जारको बजार होइन सत्कर्मको व्यवहार गर्छ । आमाको अर्थतन्त्र सानो छ, अभाव पनि छ तर सुन्दर छ । साझा बुझाइ र त्यसले सिर्जना गरेको साहस छ, हाम्री आमाको अर्थतन्त्र कति आदर्श छ । 

हाम्री आमालाई राज्यलाई जस्तो कर बढाएर वा घटाएर कोष सञ्चालन गर्नु छैन; चुनाव र पार्टीलाई अघिल्तिर राखेर बजेट विनियोजन गर्नु छैन । उनलाई त आफ्नो अर्थव्यवस्था धानियोस्, किफायती होस्, पसिनाको बुँदमा हिराको चमक र जूनको शीतल सँगालेर खुसियालीको निर्माण होस् । वरिपरि सन्तान राखेर उदार–उदात्त मनमा प्रशन्नता ल्याउन पाए भयो उनलाई, चाडबाडमा सन्तानको चेहरामा खुसी देख्न पाए भयो । यति भएपछि उनको चाउरी परेको चेहरामा खुसियाली आफैँ दौडिन्छ, खोपिल्टा परेका आँखामा चहक आउँछ र जीर्ण शरीरले साहसको शक्ति पाउँछ । 

आमा अर्थव्यवस्था सञ्चालनमा कहिल्यै असफल भइनन् । किनकि उनले सञ्चालन गरेको अर्थतन्त्र पसिनाको जगमा उभिएको छ । उनको अर्थतन्त्रलाई स्वावलम्बनको सूत्रले बाँधेको छ । त्यो कृत्रिम होइन अर्गानिक छ । विनियोजनमा पक्षपात नभएकाले परिवारका सबै खुसी छन्, सबैमा मनैदेखिको अपनत्व छ । आमाको अर्थतन्त्रमा कुटिलता र षड्यन्त्र छैन, स्वार्थ र सौदा त हुने कुरै भएन, भन्ने एउटा र गर्ने अर्कै पनि छैन । मन–मजेरी ठुलो भएपछि अर्थतन्त्र सानो भएर के भो ? बस्, हाम्री आमाले जानेको आर्थिक विधि र प्रविधि यही हो । 

आमाका लागि बजार जे छ त्यही हो, त्यसैमा अनुकूलित हुनुको बाध्यता छ । आमालाई विनिमयको सिद्धान्त, माग–पूर्तिका रेखा, कुज्नेटको जुरेचक्र केही मतलब छैन ।

हाम्री आमाले सञ्चालन गर्ने अर्थतन्त्रका सिद्धान्त छैनन् । ठुल्ठुला सिद्धान्त बेगर अर्थव्यवस्था सञ्चालन गर्नु उनको कुशाग्रता हो, हिम्मत र बाध्यता पनि हो । अर्थमन्त्री आयको अर्थ करमा देख्छन्, आमा आयलाई पसिनाको अर्थमा लिन्छिन् । आमाका लागि सन्तानको आय आफूहरूको जीवन हो । अर्थमन्त्रीका लागि करले उत्पादन क्षमता घटाउँछ । आमा कुटो–कोदालो र मेलापातलाई उत्पादन र यसैलाई घर–परिवारको मायासँग जोड्छिन् । करले उत्पादनबाट साधन डाइभर्ट गर्छ भन्ने विवाद र सन्देह आमालाई छैन, ऋणले उत्पादनमा असर पार्छ भन्ने पनि छैन ।

आमाको ऋण ऐँचोपैँचो हो, सहयोग र सौहार्दता हो । त्यहाँ अर्थमन्त्रीले झैँ ‘अर्थ’को ‘अर्थ’ खोज्नु नै आवश्यक छैन भन्ने आमाको पवित्र बुझाइ छ । अर्थमन्त्री पूर्णरोजगारीको आलाप गर्छन् र बेरोजगारीको उत्पादन गर्छन् । आमा सामर्थ्यको रोजगारीभित्र घर–परिवार चलाउँछिन् । सरकार मूल्य नियन्त्रणको सूत्र बनाउँछ, बजार नियनमनको संयन्त्र बनाउँछ तर बजार फौबन्जारले हडपिदिन्छ । उसैको रजगज थाहै पाउँदैन सरकार, वा थाहा पाएर पनि थाहा नपाएझैँ गर्छ ।

आमाका लागि बजार जे छ त्यही हो, त्यसैमा अनुकूलित हुनुको बाध्यता छ । आमालाई विनिमयको सिद्धान्त, माग–पूर्तिका रेखा, कुज्नेटको जुरेचक्र केही मतलब छैन । ती त बुद्धिजीवीका जीविकोपार्जनका उपाय भए; प्रतिष्ठा कमाउने र सर्वसाधारणलाई अलमल्याउने विधि भए । उनको अर्थशास्त्र दर्शन र तर्कमा छैन, सिद्धान्त र सूत्रमा छैन, व्यवहार र मनोविज्ञान जे छ त्यही अर्थशास्त्र हो । त्यसैले आमाको मन ठुलो मुखचाहिँ सानो छ, मन ठुलो हुनु भनेको माया धेरै हुनु हो । 

सरकारको आँकडा र अंकबाट आमा अवाक् छिन् । सरकारका लागि मूल्यवृद्धि अपेक्षित तहमा छ, मुद्रास्फीति चार प्रतिशतमा छ । आमा उदेक मान्छिन् । बिहान सागसब्जी र दिउँसो चामल पिठो किन्दा राष्ट्र बैंकको आँकडाले आमालाई घोच्छ । दसैँको लुगाफाटा र तिहारको तेल किन्दा आमा छक्क पर्छिन् र मनमनै सोच्छिन्— मुद्रास्फीति त घोडेटाप गतिमा छ । बिहान–बेलुकी बल्ने चुलोले अर्थ मन्त्रालय र राष्ट्र बैंकको आँकडालाई उपहास गर्छ । आमासँग प्रिन्स्टन र हारभर्डका डिग्री हुने कुरै भएन, तर बुबाको पसिना र आमाको चुलो–चौकोले अर्थशास्त्र र बजारलाई राम्ररी ठम्याएको छ । आमाको अर्थ बुझाइ वास्तविक छ । हाम्री आमाजस्ती गृहिणीहरू साँचो अर्थका अर्थशास्त्री हुन् । पसिना र आशक्तिले अर्थतन्त्रको अर्थ लगाइदिन्छ । अक्षरका अंक र ग्राफका रेखा सिद्धान्तमा आधारित भएकाले झर्न सक्छन्, तर अर्थतन्त्रको गुढ अर्थ परिश्रम र पसिनाले बताउँछ । 

आमाले घरको अर्थव्यवस्था मात्र धानेकी छैनन्, घरभित्र भावनात्मक सहयोग, हेरचाह र पोषणको मियो पनि उनै हुन् । सिद्धान्तभन्दा व्यवहार निको भन्ने शिक्षा आमाबाट राष्ट्रिय अर्थव्यवस्थाले लिनुपर्छ । घरको विस्तार राज्य हो । घर–व्यवस्था हार्दिक भएजस्तै राज्य–व्यवस्था पनि सबैको बनाउनुपर्छ । घर हेरचाह र माया ममत्वले चल्छ, राष्ट्रिय अर्थव्यवस्था पनि नियमन प्रवर्द्धनका सिद्धान्त र व्यवहार अनि सहकार्य र सहयोगबाट चल्छ । अर्थको परिधान आमाको मायाबाट विस्तार भएको देखेमा समाज सुन्दर बन्छ, मुलुक राष्ट्र बन्छ । 

आमाहरू अर्थव्यवस्था मात्र चलाउँदैनन्, सीप र संस्कारको पहिलो विद्यालय पनि आमा हुन् । माया, सहयोग र हार्दिकताको सुरु आमाहरू नै गर्छन् । परिवार र सन्तानका लागि आमा दीप हुन्, जो आफैँ बलेर प्रकाश दिन्छिन् । अर्थकौशल त आमाले पो जानेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गोपी मैनाली
गोपी मैनाली
लेखकबाट थप