डेनमार्कमा सैन्य पूर्वाधार नजिक फेरि रहस्यमय ड्रोन देखापरे, सुरक्षा सतर्कता कडा
सारांश
- डेनमार्कका विभिन्न रक्षा सुविधाहरू वरपर ड्रोन देखिएको पुष्टि भएको छ, जसले सुरक्षा चिन्ता बढाएको छ।
- युरोपेली संघको शिखर सम्मेलनलाई ध्यानमा राख्दै डेनमार्कले स्विडेनबाट सैन्य एन्टी-ड्रोन क्षमता लिने भएको छ।
- जर्मन चान्सलरले युरोपका पूर्वाधारमा भइरहेका आक्रमणहरूलाई चुनौतीको रूपमा लिएका छन् र सतर्क रहन आग्रह गरेका छन्।
कोपनहेगन । डेनमार्कको रक्षा मन्त्रालयले शुक्रबारदेखि शनिबार रातिसम्म देशका विभिन्न रक्षा सुविधाहरू वरपर नयाँ ड्रोन देखिएको पुष्टि गरेको छ । यसअघि पनि नर्डिक क्षेत्रका हवाई अड्डाहरूमा ड्रोन देखिएर अस्थायी रूपमा सञ्चालन बन्द गर्नुपरेको थियो ।
मन्त्रालयले ठ्याक्कै कुन स्थानमा ड्रोन देखिएको भन्ने विवरण सार्वजनिक नगरे पनि डेनमार्कको सार्वजनिक प्रसारणकर्ता डिआरले सैन्य करुप एयर बेस वरिपरि र त्यसको बाडभित्र समेत करिब राति ८ बजे ड्रोन देखिएको प्रहरी स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।
केही समयका लागि हवाई क्षेत्र नागरिक उड्डयनका लागि बन्द गरिए पनि हाल करुपमा नागरिक उडान नहुँदा त्यसको प्रत्यक्ष प्रभाव खासै परेन । बुधबारदेखि बिहीबार रातिसम्म कोपनहेगनसहित चारवटा हवाई अड्डामा देखिएको यस्तै गतिविधिले उत्तरी युरोपमा सुरक्षा चिन्ता थप बढाएको छ । राजधानीमा सोमबार राति देखिएको ड्रोनले घण्टौँसम्म उडान अवरुद्ध गरेको थियो ।
‘यी ड्रोन गतिविधिहरूको मुख्य उद्देश्य डर र विभाजन सिर्जना गर्नु हो’, न्यायमन्त्री पिटर हम्मेलगार्डले चेतावनी दिँदै भने, ‘डेनमार्कले यस्ता खतरा असरविहीन पार्ने थप उपाय खोज्नेछ ।’ उनले आवश्यक परे पूर्वाधार सञ्चालकहरूलाई सीधै ड्रोन खसाल्न अनुमति दिने कानून ल्याउने तयारीसमेत रहेको बताए ।
युरोपेली सङ्घ (इयु) को आगामी शिखर सम्मेलनलाई दृष्टिगत गर्दै रक्षा मन्त्रालयले स्विडेनबाट डेनमार्कलाई सैन्य एन्टी–ड्रोन क्षमता उपलब्ध गराउने प्रस्ताव स्वीकार गरेको जनाएको छ ।
यता, छिमेकी जर्मनीको उत्तरी राज्य श्लेसविग–होल्स्टाइनमा पनि बिहीबारदेखि शुक्रबार रातिसम्म धेरै ड्रोन देखिएको रिपोर्ट गरिएको छ । राज्यकी गृहमन्त्री सबिन सुटरलिन–वाकले ‘हाल ड्रोन प्रतिरक्षा उपायहरू अन्य राज्यहरूसँग मिलेर उल्लेखनीय रूपमा बढाइएको छ’ भन्दै थप विवरण भने नदिने बताए ।
जर्मन चान्सलर फ्रेडरिक मेर्जले भने, ‘हामी युद्धमा छैनौँ, तर अब शान्तिमा पनि छैनौँ’ भन्दै युरोपका पूर्वाधार र डाटा नेटवर्कमाथि भइरहेको लगातार आक्रमणले ठूलो चुनौती उत्पन्न गरेको बताए ।
उनले कुनै निश्चित देशलाई प्रत्यक्ष रूपमा दोष नदिए पनि ‘ड्रोन उडान, जासुसी, सार्वजनिक व्यक्तित्वमाथि खतरा, साइबरआक्रमण र तोडफोडजस्ता गतिविधि दैनिक आधारमा भइरहेको’ चेतावनी दिए ।
उनले उदाहरण स्वरूप सन् २०१९ मा बर्लिनको टियरगार्टन हत्या प्रकरणलाई स्मरण गरे । उक्त प्रकरणमा रूससँग लडेका जर्जियाली नागरिक जेलिमखान खांगोसभिलीको हत्या भएको थियो ।
उक्त हत्यामा संलग्न भनी दोषी ठहरिएका भादिम क्रासिकोभलाई सन् २०२४ मा रूस–अमेरिका कैदी आदानप्रदानअन्तर्गत मस्को पठाइएको थियो ।
यी पछिल्ला घटनाहरूले उत्तरी युरोपमा सुरक्षा संयन्त्रलाई सतर्क गराउनुका साथै सम्भावित बाह्य आक्रमण वा हाइब्रिड युद्धको आशङ्कामा क्षेत्रीय सहयोग अझै अपरिहार्य हुने सङ्केत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण