जेन–जीको आन्दोलन र सामूहिक भाग्य
हामी धेरैलाई लाग्न सक्छ, कर्म र भाग्य व्यक्तिगत हुन्छन् । केही हदसम्म कर्म व्यक्तिगत होला; व्यक्तिको स्वभाव, क्षमता र इच्छाले गर्दा । उसको स्वास्थ्य राम्रो होला, जो आहार–विहारमा सजग हुन्छ; योग, व्यायाम, प्राणायाम वा ध्यान गर्छ । योग, व्यायाम वा ध्यान गर्नेको मानसिक स्वास्थ्य राम्रो हुन्छ र उसले प्रगति गर्न सक्छ । व्यक्तिगत भाग्य निर्माणमा भूमिका खेल्ने विषय यी र यस्तै हुन् ।
भर्खरै नेपालमा जेन–जीले आन्दोलन गरे । यसअघि पनि यहाँ आन्दोलन नभएका होइनन् तर ती आन्दोलनले केही राजनीतिक परिवर्तन मात्र ल्याए; सामाजिक, आर्थिक र नैतिक परिवर्तन ल्याउन सकेनन् । जेन–जी आन्दोलनको मुख्य माग भ्रष्टाचार नियन्त्रण, सुशासन र समृद्धि हो । जेन–जीले आफ्नो मागलाई राज्य प्रशासनसमक्ष प्रस्तुत गर्न खोजेको हो । राज्य वा सरकारबाट यसलाई आत्मसात् गर्ने काम भएन । असहिष्णु वातावरण बन्यो । देशको अनुहार धमिलो भयो । हाल क्रान्ति र प्रतिक्रान्ति एकैपटक सहँदै छ देशले ।
समस्या कहाँ छैनन् ?
विकसित भनिएका मुलुकमा पनि समस्या छन् । मैले एउटा पोडकास्टमा सुन्दै थिएँ, विकसित मुलुकमा मानसिक रोगीको संख्या २५ प्रतिशत छ । यसको वृद्धिदर तीव्र छ । त्यसको अनुपात हेर्दा अबको १० वर्षमा ५० प्रतिशत पुग्छ भनियो । आत्महत्याको दर झन् भयावह ! सहयोग र सद्भाव छैन । सन्तानप्रति आशा छैन, न योग–ध्यानका केन्द्र छन्, न त समूह छन् । बिचमा कति परिवार टुट्यो वा जोडियो, सबैको मानसिकता उस्तै ।
हामी नेपालीको सुन्दर पक्ष
नेपाली परिवेशलाई हेरौँ । युवाप्रति भरोसा गर्ने परिवार छ । भेला भएर मानिने चाडपर्व छन् । आमाबाबु, दाजुभाइ, दिदीबहिनीको आउजाउ हुन्छ । गुरु, किसान, जनावर, चराचुरुङ्गीलाई पूजा गरिन्छ । विवाहमा जन्ती जान्छन् । मर्दा मलामीको ताँती लाग्छ । एउटाको घरमा पूजा हुन्छ, सेल पकाउने अर्कै हुन्छन् । यज्ञ बनाउन छिमेकीको होडबाजी चल्छ । अस्पताल बस्नुपरेमा बिरामी कुर्न पालो पाइन्छ । घर, माइती, मावली, ससुराली, छिमेकी हुन्छन् । सबैले आ–आफ्नो जिम्मेवारी बोध गर्छन् ।
प्रत्यक्ष देखिने सम्पन्नता
प्राकृतिक छटाले भरिपूर्ण छ देश । विश्वमै उदाहरणीय वनस्पति छन् । जडीबुटीको अथाह भण्डार छ । युवा जनशक्तिको उपलब्धता छ । नेपालको श्रमशक्ति विश्वभर योग्य मानिन्छ । हावापानी अनुपम छ । जलस्रोतमा विश्वकै दोस्रो स्थानमा गनिएकै छ । विभिन्न भौगर्भिक रत्नका खानी र ग्यासजन्य पदार्थ खोज्नै बाँकी छ ।
योग, ध्यान, प्राणायाम गर्ने–गराउने केन्द्रहरू प्रायः देशैभरि छन् । सबैले नैतिक शिक्षा, आध्यात्मिक ज्ञान, सीपको पर्वाह गर्छन् । अब वैदेशिक रोजगारीमा सीपयुक्त श्रमिक र योग शिक्षक पठाउन सकिन्छ । नेपाल सौन्दर्य पर्यटक र आध्यात्मिक पर्यटकको केन्द्रविन्दु हुन सक्छ । सनातनदेखि सकारात्मक ऊर्जाको भावभूमि मानिन्छ हाम्रो देश ।
समाज र प्रगति
जसरी शरीरका अङ्गहरूको कार्य विभाजन छ, त्यस्तै हुन्छ समाजको चरित्र पनि । शरीर एउटा सानो समाज हो, त्यसैगरी देश ठुलो शरीर हो । समाज पनि शरीरजस्तै सक्रिय र स्वस्थ चाहिन्छ । समाजमा व्यक्तिको क्षमता र चाख अनुसारका पेसा गरिन्छन् । केहीले सामाजिक सेवा गर्लान् । कोही शिक्षक वा कर्मचारी बन्लान् । कसैको उद्योग वा व्यापारमा मन जाला । काम गरेपछि वस्तु वा सेवाको उत्पादन हुन्छ । प्रयोग गर्न सक्ने क्षमताको उपभोक्ता चाहियो । नत्र केका लागि र किन उत्पादन गर्ने ? व्यक्तिको सीप र उन्नतिका लागि समाज र राष्ट्र धनी हुनैपर्छ ।
अहिले युवामा स्वजागरण छ । वयस्कहरूले सुन्न, बुझ्न र गर्नमा साथ दिउँ । अनि आउँछ सम्पन्नता । अनि मात्र बलियो बन्न सक्छ सामूहिक भाग्य । यही हो जेन–जीको चाहना र राष्ट्रको आवश्यकता ।
समभावको खाँचो
समाजमा बस्न समभावमा रहन सक्नुपर्छ । सबैको जन्म आमाबाबुबाट हुन्छ । सबैले किसानको मेहनत खान्छन् । श्रमिकले ठेला उठाएर बनाएको बाटोमा हिँड्छन् । प्रकृतिले दिएको धर्ती, आकाश, हावा, पानी, घाम एउटै प्रयोग गर्छन् । शरीरको प्रकृति पनि सबैको उस्तै छ । भोक, तिर्खा, निद्रा, थकाइ सबैलाई लाग्छ । बाँचुन्जेल रगत तातो र रातो सबैको हुन्छ । सबैलाई सुरक्षित भविष्यको चाहना हुन्छ ।
बहाना छोडौँ
हाम्रा बहानाहरू छन्— राष्ट्र भूपरिवेष्टित छ; डाँडाकाँडा र पहरा छन्; माटो कमलो छ; मुलुक सानो छ ।
हो, वास्तवमा यी सबै कुरा छन् । तर देश फेर्न मिल्दैन र सकिँदैन पनि । योजना फेर्न सकिन्छ । सबैलाई एउटै नापको लुगा मिल्दैन । एउटा होँचो कदको मान्छेलाई हेरौँ । ढिलो हिँड्छु भन्ने लागेमा ऊ अरूभन्दा छिटो निस्कन्छ । ढोकाको चुकुल तलै राख्छ । रेडिमेड लुगा, जुत्ता नमिले सिलाएर लगाउँछ । देश र शरीर एकै हुन् । अवस्था अनुसार विकासको मोडल हुनुपर्छ ।
अन्त्यमा, ‘हुन्छ, सक्छु, गर्छु’ बाट हुन्छ सम्पन्नताको सुरुवात । भौतिक विकासको साँचो मानवीय विकाससँग हुन्छ । नागरिकमा योग, ध्यान, श्रम र विश्रामको सन्तुलन बनोस् । जनप्रतिनिधिले देशका लागि राजनीति गरुन् । कर्मचारी र आमनागरिक इमानदार र मेहनती बन्न सकौँ । हृदयमा देश र समाजको माया होस् । सम्पत्तिले तनाव होइन, सुख देओस् । प्रतिभाले प्रस्फुटन हुने अवसर पाओस् । क्षमताअनुसार प्रयास र अभ्यास गर्ने ठाउँ मिलोस् । अध्ययनले बुद्धि, विवेक र सीप देओस् । हृदयमा दया, माया र सम्बन्धमा प्रेम होस् । सबैले देशप्रति गौरव गर्न सकियोस् ।
अहिले युवामा स्वजागरण छ । वयस्कहरूले सुन्न, बुझ्न र गर्नमा साथ दिउँ । अनि आउँछ सम्पन्नता । अनि मात्र बलियो बन्न सक्छ सामूहिक भाग्य । यही हो जेन–जीको चाहना र राष्ट्रको आवश्यकता ।
(पण्डित जीवन विज्ञान प्रतिष्ठानकी प्रशिक्षक हुन् । )
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण