एमालेको सुदृढीकरण र पुनर्जागरण निम्ति पाँच नारा
जेन–जी आन्दोलनले नेपालका स्थापित राजनीतिक दलहरूको जग हल्लाइदिएको छ । नेकपा (एमाले) पनि अहिले यस्तै विश्वासको र वैचारिक सङ्कटबाट गुज्रिरहेको छ । पार्टी नेतृत्वको एकाङ्की सोच र प्रवृत्तिले जनमानसमा एमाले मात्र होइन, कम्युनिस्ट आन्दोलनकै भविष्यबारे संशय पैदा गरेको छ । पार्टीले जनताको अपेक्षा अनुसार आफूलाई समयसापेक्ष बनाउन आन्तरिक सुधार र पुनर्जागरणको आवश्यकता महसुस गर्न जरुरी छ । यसै सन्दर्भमा पार्टीलाई सुदृढ, एकताबद्ध, जनमुखी र गतिशील बनाउन निम्न पाँच नारा प्रस्ताव गर्दै यो लेखमार्फत एक सशक्त सुधारको मार्गचित्र प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
१) नेतृत्वमा नयाँ पुस्ता, विचारमा स्पष्टता, सङ्गठनमा एकता
आजको दिनमा पार्टीको जग बलियो बनाउने पहिलो र अपरिहार्य सूत्र नै नेतृत्वको सहज पुस्तान्तरण हो । एमाले पङ्क्तिले कमसे कम हालको नेतृत्वबाट पार्टी अगाडि बढ्न सक्दैन भन्ने महसुस गर्न जरुरी छ । आम जनताले पनि नेतृत्वको परिवर्तन चाहेका छन् । नेतृत्वमा नयाँ पुस्ताको आगमनले पार्टीमा रूपान्तरणको सुरुवात भएको सुनिश्चित गर्छ । अनुभवी नेताको मार्गदर्शन र नयाँ पुस्ताको जोस; प्रविधि, ज्ञान तथा नवीन विचारको समन्वयले मात्र पार्टीलाई २१औँ शताब्दीको चुनौती सामना गर्न सक्षम बनाउँछ । समयमै नेतृत्व हस्तान्तरणको प्रक्रियालाई सहज, वैज्ञानिक र पारदर्शी बनाउनु एमाले सुधारको पहिलो खुड्किलो हो ।
नवयुवा पुस्ताले गरेको विद्रोहलाई केवल ‘विदेशी षड्यन्त्र’को उपज मानेर यसको वैचारिक धरातलको विश्लेषण गरिएन भने पार्टी एकाङ्की बन्छ । ‘नेपो बेबिज’ ट्रेन्ड हुनुमा हाम्रो समाजमा रहेका हुने खाने र हुँदा खाने बिचको बढ्दै गएको अन्तर हो, जसलाई नकेलाई केवल ‘षड्यन्त्र’को जामा लगाउने पार्टी कसरी मार्क्सवादी हुन सक्ला ? आजको परिस्थिति निर्माण हुनुमा नेपाली समाजमा नव–उदारवादी अर्थतन्त्रले पारेको प्रभाव र सामाजिक न्यायको सवाल प्रमुख कारकका रूपमा छन्, यसमा ध्यान दिन जरुरी छ । भूराजनीतिक अवस्थाका बारे मार्क्सवादी सैद्धान्तिक धरातल अनुरूप ठोस विश्लेषण गरी पार्टीको दृष्टिकोण प्रस्तुत गर्नुपर्छ ।
भदौ २३ को विद्रोह र २४ को विध्वंसमा फरक छुट्ट्याउन जरुरी छ । घालघुल पारेर सबै षड्यन्त्रपूर्वक गरिएको विध्वंसका रूपमा चित्रित गरी विचारमा स्पष्टता पारिएन भने पार्टीले सही दिशा समात्न सक्दैन र जनतामा पार्टीको नीति अस्पष्ट रहन्छ ।
सङ्गठनात्मक एकताविना पार्टीको शक्ति छरपस्ट हुन्छ । असफल भइसकेको पुरानै नेतृत्व हाबी हुने, कतिपयले उसैको चाकडी गर्ने र नयाँ बन्न खोज्ने नेतृत्वसँग पुरानोको टकराब हुने परिस्थिति सिर्जना हुनु हुँदैन, यसले आन्तरिक कलह झनै बढाउने सम्भावना रहन्छ । अब सबै नेता र कार्यकर्ताले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर एकताबद्ध हुनुको विकल्प छैन ।
एकपटक गुटपरस्त नभई ठण्डा दिमागले सोच्न जरुरी छ, ‘के कमरेड केपी ओलीलाई नै निर्विकल्प ठानेर पार्टी अगाडि बढ्न सक्छ ?’ इतिहासमा गरेको योगदान र वरिष्ठताको कदर गर्दै मूल नेतृत्वको सम्मानजनक बिदाइ गरेर सक्षम वैकल्पिक नेतृत्वलाई पार्टीको नीति–निर्माण र अग्र मोर्चामा ल्याउन अपरिहार्य छ । पार्टीभित्र रहेका गुटगत स्वार्थ र चरम व्यक्तिवादी प्रवृत्तिलाई निरुत्साहित गरी सबै पक्षलाई समान स्थान र जिम्मेवारी दिएर सङ्गठनात्मक एकता बलियो बनाउनु आजको आवश्यकता हो ।
पार्टीका नीति, कार्यक्रम वा नेताका काम–कारबाहीमाथि गरिएका रचनात्मक र तथ्यमा आधारित जायज आलोचनालाई कमजोरी सुधार्ने महत्त्वपूर्ण अवसरका रूपमा लिनुपर्छ ।
२) जलाउन सक्छौ, फुटाउन सक्दैनौ
भदौ २३ को विद्रोहको बहानामा २४ गते सिंहदरबारदेखि देशभरका सरकारी कार्यालय, जिल्ला–जिल्लामा पार्टीका कार्यालय र नेता–कार्यकर्ताका घर जलाइएका छन् । विभिन्न स्वार्थ समूह मिलेर पार्टी मात्र होइन, राष्ट्रविरुद्ध नै विध्वंस मच्चाइयो । पार्टीले यस्ता प्रहारको सामना गर्न विध्वंसलाई राजनीतिमा आइपरेको घटनाका रूपमा लिनुपर्छ र अझ एकताबद्ध हुनुपर्छ ।
नेपालको राजनीतिमा एमालेलाई कमजोर बनाउन, बदनाम गर्न वा यसका उपलब्धिलाई छायामा पार्न विभिन्न स्वार्थ समूह र प्रतिस्पर्धीबाट निरन्तर प्रयास भइरहेको थियो नै । सायद बाह्य प्रहारको मुख्य लक्ष्य भनेको पार्टीलाई वैचारिक वा सङ्गठनात्मक रूपमा तोडफोड गर्नु पनि थियो । पार्टीभित्र वैचारिक स्पष्टता, सङ्गठनात्मक अनुशासन र आपसी विश्वास कायम भयो र वैकल्पिक नेतृत्व तयार भयो भने जस्तोसुकै बाह्य प्रहार आए पनि पार्टीको जग हल्लिँदैन । बाह्य चुनौतीले आन्तरिक एकताका निम्ति प्रेरणा दिन्छ । यसले कार्यकर्तालाई पार्टीको सिद्धान्त र लक्ष्यप्रति बफादार रहन तथा विभाजनकारी शक्तिबाट सचेत रहन सन्देश दिन्छ ।
जब कार्यकर्ता र नेताहरू आफैँ आन्तरिक स्वार्थ र गुटबन्दीबाट माथि उठेर एकताबद्ध हुन्छन्, तब मात्र उनीहरूले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवालमा अटल भएर अडान लिन सक्छन् । त्यसैले जिल्ला–जिल्लामा जलाइएका पार्टीका कार्यालयहरू र नेता–कार्यकर्ताका घरका खरानीमाथि उभिएर अटल आत्मविश्वास र दृढ सङ्कल्पका साथ जवाफ दिनुपर्छ— जलाउन सक्छौ, फुटाउन सक्दैनौ ।
३) आलोचनालाई स्वीकार, लाञ्छनालाई प्रतिकार
कुनै पनि राजनीतिक शक्तिलाई जनमुखी र गतिशील बनाइराख्न आलोचनात्मक चेत र आत्मसमीक्षाको संस्कृति आवश्यक हुन्छ । पार्टीले आफूमाथि हुने टिप्पणी वा प्रतिक्रियालाई कसरी वर्गीकरण गर्ने र कसरी जवाफ दिने भन्नेमा स्पष्टता आवश्यक छ । पार्टी नेतृत्वले आलोचनालाई स्वीकार गर्ने फराकिलो हृदय र उदार संस्कृति विकास गर्नुपर्छ ।
विगतका वर्षमा आलोचनालाई दबाउने वा बेवास्ता गर्ने प्रवृत्तिले अन्ततः पार्टीलाई जनताबाट टाढा बनाउँदै लगेको यथार्थ हो । पार्टीका नीति, कार्यक्रम वा नेताका काम–कारबाहीमाथि गरिएका रचनात्मक र तथ्यमा आधारित जायज आलोचनालाई कमजोरी सुधार्ने महत्त्वपूर्ण अवसरका रूपमा लिनुपर्छ । कार्यकर्ता, बुद्धिजीवी, सञ्चारमाध्यम वा जनताले उठाएका जायज प्रश्न र आलोचनालाई सुन्नु, छलफल गर्नु र आवश्यक भएमा आफ्ना कार्यशैली वा नीतिमा सुधार ल्याउनु नै सच्चा वामपन्थी चरित्र हो ।
यसको ठिक विपरीत पार्टी वा यसका नेतामाथि लगाइएका वा लगाइने झुटा, कपोलकल्पित, पूर्वाग्रहमा आधारित र चरित्रहत्या गर्ने खालका लाञ्छनाको भने पार्टीले सशक्त, तथ्यपरक र तार्किक रूपमा प्रतिकार गर्नुपर्छ । आधारहीन लाञ्छनामा रक्षात्मक हुनु आत्मघाती हुन्छ । एमालेले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा तथ्य र तर्कका आधारमा आफ्ना अडान स्पष्टसँग राख्दै लाञ्छनाको खेती गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ । आलोचनाबाट सिक्दै लाञ्छनाको तथ्यपरक खण्डनबाट पार्टीको नैतिक र वैचारिक धरातल थप बलियो बन्छ र जनतामा सत्य सूचना प्रवाह हुन्छ ।
४) खरानीबाट उठौँ, प्रहारविरुद्ध जागौँ
यसअघि पनि एमालेको इतिहासमा गम्भीर राजनीतिक सङ्कटका क्षण आएका थिए । इतिहासमा गरेका सङ्घर्षबाट पाठ सिक्दै एमाले आत्मविश्वासी ढङ्गले अघि बढ्न सक्नुपर्छ । यसैले जलेर खरानी पारिएको आजको स्थितिलाई प्रतिविम्बित गर्न ‘खरानीबाट उठौँ’ भन्ने भावसहित पार्टीको आजको सङ्कटलाई पुनर्जागरणको अवसरको रूपमा लिन सकिन्छ । यसले पहिलेभन्दा सशक्त तथा परिष्कृत भएर फर्कने दृढ सङ्कल्पलाई जागृत गराउँछ ।
कार्यकर्तामा व्याप्त निराशाको भावना हटाएर जस्तोसुकै कठिन परिस्थितिमा पनि आशा र जुझारुपन कायम राख्न उत्प्रेरित गर्नुपर्छ । पार्टीले आफ्नो आत्मबल र साङ्गठनिक शक्तिलाई कायम राख्दै राजनीतिक चुनौतीहरूको सामना गर्नुपर्छ । त्यस्तै पार्टीविरुद्ध हुने सम्पूर्ण प्रहारको सक्रिय र प्रभावकारी प्रतिकार गर्न आवश्यक छ । राजनीतिक विरोधको मात्र होइन, बरु पार्टीको लोकप्रियता र वैधानिकता घटाउने उद्देश्यले गरिएका योजनाबद्ध आक्रमणको तथ्यसहित प्रतिवाद गर्न जरुरी छ ।
यसरी ‘खरानीबाट उठौँ, प्रहारविरुद्ध जागौँ’ भन्ने नारा लिइयो भने एमालेलाई प्रतिक्रिया दिने शक्तिभन्दा पनि सक्रिय रूपमा आफ्ना मुद्दा स्थापित गर्ने शक्तिका रूपमा स्थापित गर्न सहज हुन्छ । कठिन परिस्थितिमा पनि अडिग रहने र विरोधीको प्रत्येक प्रहारलाई झेल्दै अघि बढ्ने क्षमता नै एमालेको सुधारिएको संस्करणको परिचय हुनुपर्छ ।
५) मुखरित हौँ, तार्किक हौँ
पार्टीको सुधार र प्रभावकारिताका लागि आफ्नो प्रस्तुति र विचार प्रवाहमा परिष्कार अनिवार्य छ । एमालेले आफ्ना विचार तथा नीतिलाई सक्रिय र तार्किक रूपमा प्रस्तुत गर्न नेता र कार्यकर्तालाई आह्वान गर्नुपर्छ । मुखरित हौँ भन्नुको अर्थ एमालेले राष्ट्रिय मुद्दा, जनसरोकारका विषय र पार्टीको दृष्टिकोणलाई सार्वजनिक बहसमा जोडदार रूपमा राख्नुपर्छ भन्ने हो । राजनीतिक रूपमा निष्क्रिय रहने, मौन बस्ने वा आफ्ना कुरालाई प्रस्ट पार्न नसक्ने प्रवृत्तिले पार्टीलाई कमजोर बनाउँछ । जहाँ आवश्यक छ, त्यहाँ स्पष्ट र साहसी ढङ्गले आवाज उठाउनु अनिवार्य छ । यो आवाज सडकमा र सामाजिक सञ्जालमा प्रभावकारी रूपमा गुन्जिन सक्नुपर्छ ।
मुखरित हुने नाममा उत्तेजित वा भावनात्मक हुनु हुँदैन । यसैले आवाज तार्किक पनि हुनुपर्छ । आवाज उठाउँदा तथ्य, प्रमाण, वैधानिकता र तर्कका आधार लिइनुपर्छ । जथाभावी बोल्दा वा तथ्यहीन दाबी गर्दा पार्टीको विश्वसनीयता घट्छ । एमालेका नेता वा प्रवक्ता बन्दै बोल्नेहरूले हरेक विषयलाई गहिरो अध्ययन र तार्किक विश्लेषणका आधारमा प्रस्तुत गर्नुपर्छ ताकि जनता र बुद्धिजीवी वर्गले पार्टीले उठाएका विषय र अडानलाई विवेकपूर्ण र विश्वसनीय मान्न सकुन् । सक्रियतामा तर्क र तर्कमा सक्रियतालाई जोड्न सके मात्र एमालेको रणनीति सफल हुन्छ र जनतामा पार्टीको प्रभाव सकारात्मक ढङ्गले विस्तार हुन्छ ।
एमालेले आफ्नो गौरवशाली इतिहासको पाठबाट सिक्दै व्यक्तिगत टकराबलाई बिर्सेर देश र जनताको हितलाई केन्द्रमा राखी पार्टीलाई वैचारिक र साङ्गठनिक रूपमा पुनर्जीवित गर्नुपर्छ । यसले मात्र कम्युनिस्ट आन्दोलन र एमाले दुवैलाई सङ्कटबाट पार लगाउन सक्छ । तसर्थ उल्लिखित पाँच नारा एमालेका लागि केवल शब्द नभएर सङ्गठनात्मक स्वास्थ्य, वैचारिक सुदृढीकरण र राजनीतिक सफलता प्राप्त गर्ने एक एकीकृत र व्यावहारिक कार्यदिशा बन्न सक्छन् । यी नारालाई व्यवहारमा उतार्न सके पार्टीले आफ्नो आन्तरिक कमजोरीलाई हटाउँदै नेपालको राजनीतिको भविष्य निर्धारण गर्न सशक्त र निर्णायक भूमिका खेल्न सक्नेछ ।
(अनेरास्ववियु पूर्वकेन्द्रीय सदस्य गिरी हाल वैदेशिक रोजगारका निम्ति युएई बस्छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण