बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अतीतबाट साभार

दुबो र जीवन

शनिबार, १८ असोज २०८२, ११ : १२
शनिबार, १८ असोज २०८२

सारांश

  • दुबोलाई अथक संघर्ष र लोकतन्त्रको प्रतीकको रूपमा प्रस्तुत गरिएको छ, जहाँ दुवैको जीवनमा झारको रूपमा प्रतिकूलता आउँछ।
  • लेखकले दुबोको हेरचाह गर्दा लोकतन्त्र र यसका नेताहरूसँगको समानता पत्ता लगाए, जसलाई झारले असर गर्यो।
  • दुबोको कथाले सङ्घर्ष, धैर्य र प्रतीक्षाको महत्त्वलाई हाइलाइट गर्दछ, जसले लोकतन्त्रका योद्धालाई प्रेरित गर्छ।

हाम्रो संस्कृतिमा दुबोको सम्मानजनक स्थान छ । विवाहमा चिरञ्जीवी भएस्को मङ्गल कामनासाथ वरवधूले एकअर्कालाई दुबोका माला पहिराइदिने रीत त सनातन नै हो । सत्कर्म गर्नेलाई श्रद्धाले अभिनन्दन गर्दा अथवा लोकहितका लागि त्याग गर्ने मान्यजनको सम्झना गर्दा पनि तिनलाई दुबोको माला अर्पण गर्ने हाम्रो रीत छ । दुबो सुलभ वस्तु होइन । फेरि एकएक गरी दुबोका मसिना त्यान्द्रा बटुल्नु र तिनलाई कलात्मक बान्की दिएर माला उन्नु झन्झटिलो काम त हुँदै हो, यो निकै नै समयभक्षी काम पनि हो । तैपनि पितापुर्खादेखि चलिआएको चलन धान्दै जीवनका विरल क्षणहरूमा यसको प्रयोग भई नै रहेको छ । संस्कृतिको प्रकृति नै यस्तै हो । समयको क्रममा प्रतीक वा मिथकका अर्थ पृष्ठभूमिमा कतै छाडिन्छन् । अनि रीतिहरूलाई तिनका मौलिक अर्थको पर्वाह नगरीकन रुढिका रूपमा मानिरहिन्छ । बाजेहरूको श्राद्धमा बिरालो बाँध्ने बदनाम कथामा जस्तै ।

जान्नेहरू भन्थे, दुबो अथक् र अजेय सङ्घर्षको प्रतीक हो । यस भनाइको गूढ अर्थ मलाई थाहा थिएन । यसपाला थाहा पाएँ । दुर्भाग्यवश, प्रजावत्सल महाराजको फौजी कदमले गर्दा हाम्रो लोकतन्त्रमाथि खग्रास ग्रहण लागेको याम थियो । सङ्कटकालले कालसरि मुख बाएका बेला एकाग्रता भङ्ग भई मेरो मन त्यसैत्यसै छरपस्ट भएको थियो । अन्तरङ्ग मित्रहरू कोही खोरमा थिए, कोही भूमिगत भएका थिए । कसैले भने ज्यान जोगाउ अभियानमा दिल्ली, जेनेभा, कोपनहेगन वा वासिङ्टनतिर सुटुक्क वेग हानेका थिए । बौद्धिक सत्सङ्ग गर्ने प्रिय मित्रहरूसँगको बिछोडले आफ्ना एकएक अङ्गप्रत्यङ्ग लुछेर क्षतविक्षत तुल्याइएको प्राणीझैँ म मर्माहत भएको थिएँ । एक्लोपनामा उदासीको सर्पले डसिरहेका ती पीडादायी क्षणहरूमा पिँढीमा एक्लै चुपचाप बसेर मैले कति हो कति समय बिताएँ । 

एक दिन मेरा आँखा हठात् अगाडिको दुबोमा परे । दुबो भन्नु नै के थियो र, त्यहाँ त केवल श्रीमतीजीले रहर गरेर रोपेको जापानी दुबोका सुकेर सिट्ठा भएका उराठलाग्दा गाँजहरू थिए । नियालेर हेरेँ, खङरङ्ग भएको दुबो सबै नै सर्वाङ्ग मरेका छन् । दुबोको त्यो दुःखद दशा मलाई हाम्रो लोकतन्त्रको दुर्दशाजस्तै लाग्यो । बलात् हरियाली हरण गरिएको, निर्ममतासाथ जीवन चुसिएको र एकदम जर्जर भएर मानौँ पूर्ण विनाशको त्रासद घडी पर्खिरहेको । तैपनि सम्झेँ, हाम्रो संस्कृतिमा दुबो अजम्मरीपनाको प्रतीक पनि त मानिन्छ । स्वतन्त्रता र सामाजिक न्यायको लौरो टेकेर उभिने हाम्रो विश्वासमा लोकतन्त्र पनि अजम्मरी नै हो । लोकतन्त्र सदाका लागि मासिनु र एकतन्त्र सदाका लागि विजयी बन्नु भनेको पूर्णिमामाथि औँसीको अनन्त जित हुनुजस्तै हो । यो असम्भव छ ! 

अनि दुबोको जीवन ?

भर्खरै रोपिएको दुबो पूरै सुकेको छ । तर म देख्छु, नरोपिएको झार भने दुबोको वरिपरि उमङ्गसाथ झाङ्गिइरहेको छ, हाम्रो लोकतन्त्रमा जस्तै । गम खाएँ, दुबोलाई घेर्ने त्यो अतिक्रमणकारी झार लोकतन्त्रमा लाग्ने एकतन्त्रजस्तै घातक रोग हो । गर्नलाई जाँगर लाग्ने काम मसँग केही नै थिएन । बौद्धिक सत्सङ्ग गर्ने सबै चौतारीहरू प्रतिबन्धित थिए । गम्भीर पुस्तक पढ्ने वा गम्भीर चिज लेख्ने जाँगर र धैर्य ममा छँदै थिएन । त्यसैले म कम्मर कसेर दुबोका दुस्मनविरुद्धको मोर्चामा कटिबद्ध भएँ । म एक–एक दिन बिराएर दुबो गोड्न र दुबोमा पानी हाल्न थालेँ । समय बियाँल्ने उपाय त त्यो भयो नै तर मेरो प्रयत्नले त्यो दुबोमा हरियाली भरिएला भन्नेचाहिँ मलाई फिटिक्कै लागेको थिएन ।

तर अचम्म भयो ।

दुबोका जर्जर त्यान्द्राहरूमा बिस्तारै नचिताएको हरियाली भरिन थाल्यो । दुबोको हरियालीसँगै निरङ्कुशताले डसेको मेरो उदास मनमा पनि शनैःशनैः हरियाली रसाएर आयो, तर दुई दिन बित्न पाउनु छैन, विनाशकारी झारले मुन्टो उठाइहाल्छ । झारमध्येको एउटा झार कुटिल र छद्मभेषी छ । त्यसले दुबोको गाँजको बिचमा लुकेर छद्मभेषमा त्यहीँबाट मुन्टो उठाउँछ । आँखालाई छक्याउन त्यो धूमधाम चतुर छ । यसो हेर्नु, रूप र रङमा भने त्यो ठ्याक्कै दुबोजस्तै प्रतीत हुन्छ । 

म गम्छु, दुबो र लोकतन्त्र उस्तै रहेछन् । घरीघरी झारले घेरिरहने र घरीघरी गोडमेल गरिरहनुपर्ने । पछिल्तिर फर्केर हेर्दा मलाई अहिले महसुस हुन्छ, हाम्रो लोकतन्त्रलाई यो जन्मिँदा नजन्मिँदै भित्रैदेखि यस्तै कुटिल प्रकृतिको छद्मभेषी झारले गाँजेको थियो । लोकतन्त्रका अगुवा पात्रहरूलाई त्यो हानिकारक झार आफूजस्तै हो भन्ने भ्रम भयो क्यार ! त्यसैले तिनले त्यसलाई बेलैमा चिनेर उखेल्न चेष्टा गरेनन् । कुमालकोटीले किरालाई गाँजेर कालान्तरमा त्यसलाई आफ्नै रूपमा ढालेझैँ प्रतिक्रियावादी झारले लोकतन्त्रका कतिपय पात्रलाई गाँजेर आफ्नै रूपमा ढलान गरिदियो । आखिर नतिजा के भयो ? लोकतन्त्रमा भित्रभित्रै अदृश्य धमिरा लागे र झार बिछट्टै फस्टायो, जसको कष्टप्रद नतिजा बेहोर्न अहिले माघ १९ पछि हामी अभिशप्त छौँ । 

एक दिन मेरा आँखा हठात् अगाडिको दुबोमा परे । दुबो भन्नु नै के थियो र, त्यहाँ त केवल श्रीमतीजीले रहर गरेर रोपेको जापानी दुबोका सुकेर सिट्ठा भएका उराठलाग्दा गाँजहरू थिए । नियालेर हेरेँ, खङरङ्ग भएको दुबो सबै नै सर्वाङ्ग मरेका छन् । दुबोको त्यो दुःखद दशा मलाई हाम्रो लोकतन्त्रको दुर्दशाजस्तै लाग्यो ।

दुबोसँग सङ्गत गर्दै जाँदा मेरा लागि दुबो जीवनको एउटा असल पुस्तक साबित भयो । पुस्तक पढेर बुझेँ, जीवन दुबोजस्तै विनाशकारी झारहरूले घरीघरी आक्रमण गरिरहने चिज हो । जीवनमा दुर्गुणहरू दुबोको वरिपरि झारझैँ आफैँ उम्रिन्छन्, आफैँ बढ्छन्, आफैँ झाङ्गिन्छन् । जीवनमा लोभ र पाप, कपट र परपीडा, स्वार्थ र पाखण्डहरू आफैँ टुसाउँछन्, आफैँ फिँजिन्छन् तर उदारता र परोपकारिता, सेवाभाव र कल्याणशीलता, दानशीलता र पारदर्शिता दुबोजस्तै रोपेर, गोडमेल गरेर र मलजल गरेर मात्र हुर्किन्छन् र फिँजिन्छन् । हो, लोकतन्त्र पनि यस्तै हो । बेलैमा सावधान भएर गोड्न जानिएनछ । र नै प्रतिगमनको क्रूर झारले यसलाई आक्रान्त तुल्यायो ।

उसो त दुबो अटल सङ्घर्ष, असीम धैर्य र दीर्घ प्रतीक्षाको प्रतीक पनि हो । घामले खरिएर होस् वा माटामुनि दबिएर, त्यो धैर्यसाथ सङ्घर्षरत र प्रतीक्षारत रहन्छ । आफ्नै ढङ्गले त्यो सोच्दो हो, जीवनमा नानाओली प्रतिकूलताहरूसँग जुध्न र पर्खिन जान्नुपर्छ, एक न एक दिन अनुकूल समय नआई छाड्दैन । मेरो विचारमा कस्तै विपत् आइलागे पनि झुक्न र हार्न इन्कार गर्ने लोकतन्त्रका जोदाहाहरू दुबोजस्तै हुन् । यिनलाई सडकमा कुटियो । यिनलाई साँगुरो र अँध्यारो, यातनापूर्ण र अपमानपूर्ण, दूरस्थ र एकलासे खोरमा थुनियो । तर दुबोको कथा यिनलाई थाहा थियो । सङ्घर्ष, धैर्य र प्रतीक्षाको अर्थ यिनलाई थाहा थियो । त्यसैले गए बरु ज्यानै जाओस् भन्दै यी आफ्नो निष्ठामा अविचल रहे । अहिले यिनीहरू लोकतन्त्रको गौरवमय बाजी जित्ने बाटोमा मुस्कुराउँदै हिँडिरहेको म देखिरहेछु । यिनीहरू लोकतन्त्रको सुन्दर वाटिकाको अजम्मरी दुबो हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप