‘जेनजी’ आन्दोलनबारे जनमोर्चा : संविधान खारेज गर्ने माग अस्वीकार, सङ्घीयता खारेजीमा जोड
सारांश
- राष्ट्रिय जनमोर्चाले जेनजी आन्दोलनबारे पार्टीको धारणा सार्वजनिक गर्दै संविधान खारेजीको मागलाई अस्वीकार गरेको छ।
- पार्टीले प्रधानमन्त्रीय प्रणाली उपयुक्त रहेको तर्क गर्दै, संविधानका गलत प्रावधान संशोधन र सङ्घीयता खारेजीमा जोड दिएको छ।
- जनमोर्चाले भ्रष्टाचार नियन्त्रणको माग गर्दै प्रदर्शनमा भएको दमन र ध्वंसात्मक कार्यमा संलग्नलाई कारबाहीको माग गरेको छ।
काठमाडौँ। राष्ट्रिय जनमोर्चाले जेनजी आन्दोलन र समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ। अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी वक्तव्यमा जेनजी समूहले राखेको संविधान खारेज गरी अन्तरिम संविधान जारी गर्ने मागलाई पार्टीले दृढतापूर्वक अस्वीकार गरेको छ।
पार्टीले संसदद्वारा निर्वाचित प्रधानमन्त्रीय प्रणाली नै तुलनात्मक रूपमा उपयुक्त भएको तर्क गर्दै प्रत्यक्ष कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री प्रणालीले देशलाई निरङ्कुशतर्फ लैजाने वा विदेशीको गोटी बन्ने बाटो खोल्ने चेतावनी दिएको छ। यद्यपि, पार्टीले संविधानमा रहेका गलत प्रावधानको संशोधन र सङ्घीयता खारेजीमा जोड दिएको छ।
मुख्य माग भ्रष्टाचार नियन्त्रणको पक्षमा रहेको बताउँदै पार्टीले २०१७ सालदेखियताका सम्पूर्ण भ्रष्टाचारमाथि निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ। पार्टीले आन्दोलनमा घरेलु तथा विदेशी प्रतिगामी शक्तिहरूको घुसपैठको षड्यन्त्र भइरहेकोप्रति ध्यान दिन आग्रह गरेको छ।
यसका साथै, भाद्र २३ गतेको प्रदर्शनमा भएको दमनमाथि छानबिन गर्न र २४ गतेको ध्वंसात्मक कार्यमा संलग्नलाई कारबाही गर्नुपर्ने माग राखेको छ। सोही घटनामा संलग्नलाई कारबाही नगर्न गृह मन्त्रालयले जारी गरेको परिपत्रले दण्डहीनतालाई प्रोत्साहन गरेको आरोप पार्टीले लगाएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण