शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरियो

आइतबार, १९ असोज २०८२, १५ : ०१
आइतबार, १९ असोज २०८२

सारांश

  • न्यून चापीय प्रणाली बाहिरिएसँगै नेपालको मौसममा सुधार आएको छ।
  • असोज १७ देखि १९ गतेसम्मको मनसुन सक्रियतामा मधेश र बागमती प्रदेशमा भारी वर्षा भयो।
  • बागमती, सप्तकोशी लगायतका नदीहरूमा जलसतह सतर्कता तह पार गरी घट्दो क्रममा छ।
  • कोशी नदी चतरा केन्द्रमा बहाव खतरा तहको नजिकै रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।

काठमाडौँ । वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यससँगै मनसुन कमजोर भइ मौसममा सुधार आइसकेको जल तथा मौसम विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिइन् ।  तर पूरै मनसुन नै भने बहिर्गमन भइनसकेको हालको अवस्थामा मौसम र बाढीको सम्भावित अवस्थाको भने नियमित अनुगमन भइरहेको उनको भनाइ छ । 

उनल‍े आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा असोज १७ गते साँझदेखि असोज १९ गते बिहानसम्म मनसुन सक्रिय रहँदा मधेश र बागमती प्रदेशका अधिकांश ठाउँमा भारीदेखि अति भारी वर्षा तथा कोशी प्रदेशका धेरै स्थानमा मध्यमदेखि अति भारी वर्षा भएको थियो।

सो अवधिमा २४ घण्टे अवधिभित्र सबैभन्दा बढी वर्षा रौतहटको महेशपुर केन्द्रमा ३५८ मिलिमिटर मापन गरिएको छ। त्यस्तै, पर्साको मुडली केन्द्रमा ३२८.६ मिलिमिटर, इलामको हिमाली गाउँ केन्द्रमा ३३२.६ मिलिमिटर, कन्यामटी स्टेटमा ३१४.२ मिलिमिटर र गौर केन्द्रमा ३१५ मिलिमिटर वर्षा भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

असोज १९ गते बिहान ८:४५ बजेसम्म देशभरका २९५ वटा वर्षा मापन केन्द्रहरूमध्ये १८६ केन्द्रमा वर्षा मापन गरिएको थियो। जसमध्ये १०५ वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी, ६८ केन्द्रमा १०० मिलिमिटरभन्दा बढी, २१ केन्द्रमा २०० मिलिमिटरभन्दा बढी र ५ केन्द्रमा ३०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ।

विभागका अनुसार अविरल वर्षाका कारण बागमती, त्रिशुली, पूर्वी राप्ती, लालबकैया, कमला लगायतका नदीहरूमा जलसतह सतर्कता तह पार गरी हाल घट्दो क्रममा पुगेका छन्। सप्तकोशी नदीले भने खतरा तह पार गरिसकेको र यसका सहायक नदीहरू  तमोर, सुनकोशी र अरुणसमेत खतरा तह पार गरी अहिले घट्दो अवस्थामा रहेको बताइएको छ।

त्यस्तै, कन्काई, बुढीखोला, लोहन्द्रा, खेशलैया र विरिङजस्ता चुरे–महाभारत क्षेत्रबाट उत्पन्न नदीहरूमा पनि खतरा तह पार भई अहिले घट्दो अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख छ। कोशी नदी चतरा केन्द्रमा बहाव खतरा तहको नजिक स्थिर रहेको हुँदा असोज २० गते मध्यान्हसम्म तटीय क्षेत्र तथा डुबान सम्भावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

558038006_122196230966355476_1518214211159305889_n

558870195_122196231026355476_2337665854455811651_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप