बागमती प्रदेशमा एक जनाको मृत्यु, ४ जना बेपत्ता
सारांश
- अविरल वर्षाका कारण बागमती प्रदेशमा पहिरो र बाढीले एक जनाको मृत्यु, ४ जना बेपत्ता भएका छन्।
- काभ्रेमा पहिरोमा परी एक महिलाको मृत्यु भएको छ भने रसुवामा बाढीले १६ जनाको टोलीमध्ये ४ जना बेपत्ता भएका छन्।
- विभिन्न स्थानमा पहिरोका कारण राजमार्ग अवरुद्ध भए पनि ३ वटा सडक सञ्चालनमा आएका छन्, उद्धार र राहत कार्य जारी छ।
हेटौँडा । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले बागमती प्रदेशका विभिन्न जिल्लामा एक जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।
हेटौँडास्थित बागमती प्रदेश प्रहरी कार्यालयको विपद् सम्बन्धी घटना विवरणअनुसार रसुवा, काभ्रे र सिन्धुपाल्चोकमा बाढी तथा पहिरोका घटनाहरू भएका छन् ।
कार्यालयका अनुसार पहिरोमा परेर काभ्रेको रोशी गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । रोशी–११ भैँसेकी ५७ वर्षिया विमला देवी तामाङको घर भन्दा तल रहेको धारामा लुगा धुन जाने क्रममा पहिरोसँगै खसेको ढुङ्गाले लागेर आइतबार दिउँसो मृत्यु भएको हो ।
यसैगरी रसुवामा अविरल वर्षाका कारण लाङटाङबाट आएको बाढीले ठुलो क्षति पुर्याएको प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । उनका अनुसार, असोज १७ गते लाङटाङ भ्रमणमा गएको १६ जनाको टोलीमध्ये ४ जना बेपत्ता भएका छन् ।
गोसाईंकुण्ड गाउँपालिका–४ स्थित बेरिङ खोल्सामा बाढी आउँदा उनीहरू बसेको होटेल बगाएको थियो । बेपत्ता हुनेहरूमा भक्तपुर ठिमी नगरपालिका–४ का २३ वर्षीय स्वीकृति श्रेष्ठ, २१ वर्षीय किशन श्रेष्ठ, २६ वर्षीया सनिता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० का २३ वर्षीय रवि श्रेष्ठ रहेका छन् ।
यस्तै, रसुवाकै आमाछोदिङ्गो गाउँपालिका वडा नम्बर–४ र ५ को सिमानामा रहेको तिम्बुसिङस्थित चिलिमे खोलामा आएको बाढीले पक्की पुलको बिचको करिब ५ मिटर भाग चर्किएर क्षति पुगेको उनले बताए । पुलमा क्षति पुग्दा सो क्षेत्रको यातायात सेवा समेत अवरुद्ध भएको छ ।
निरन्तरको वर्षाका कारण काभ्रे विभिन्न स्थानमा पहिरोका कारण घरहरू जोखिममा परेपछि ५६ परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रवक्ता खतिवडाले बताए । उनका अनुसार पाँचखाल नगरपालिका–१३, सुनकोशी बगर छेउमा नदीको बहाव बढ्दा योग प्रसाद थपौलियाको घरमा बस्ने ५ जनाको परिवारलाई आफन्तकोमा सारिएको छ ।
त्यसैगरी, सोही पाँचखाल–१२, ठकुरीगाउँमा पहिरोको जोखिम बढेपछि रेक बहादुर शाही, सन्तोष शाही र कृष्ण बहादुर शाहीका गरी तिन घरका १५ जनालाई सुरक्षित स्थानमा सारिएको उनले बताए । धुलिखेल नगरपालिका–११, फस्कोटमा पहिरोले मान बहादुर तामाङको २ तले कच्ची घर पूर्ण रूपमा भत्किएको उनले बताए । उक्त घरमा रहेका ६ जनाको परिवारलाई सुरक्षित रूपमा आफन्तकोमा सारिएको छ ।
पहिरोका कारण काभ्रे नमोबुद्ध नगरपालिका–५, गिनेरिमा प्रेम बहादुर तामाङ घाइते भएका छन् । छिमेकीको घर भत्किँदा पुरिएर घाइते भएका ५२ वर्षीय तामाङको देब्रे खुट्टा भाँचिएको छ भने शरीरका अन्य भागमा पनि चोट लागेको छ ।
उता सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–६, लामिडाँडामा पनि पहिरोको उच्च जोखिमका कारण १७ घरका ४० जनालाई स्थानीय लामिडाँडा आधारभूत विद्यालयमा सारिएको छ ।
विपद् प्रभावित क्षेत्रहरूमा नेपाल प्रहरीले स्थानीय निकायसँगको समन्वयमा उद्धार तथा राहत कार्य जारी राखेको छ । प्रवक्ता खतिवडाका अनुसार प्रदेशभर विपद् उद्धारका लागि १ हजार २७ जना प्रहरी परिचालन गरि जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने र आवश्यक सहयोग उपलब्ध गराउने काम गरिरहेको जनाएको छ ।
पहिरो अवरुद्ध ३ राजमार्गहरू खुले
बागमती प्रदेशका विभिन्न जिल्लाहरूमा पहिरो र जमिन भासिएर अवरुद्ध भएका राजमार्गहरु मध्ये ३ वटा खुलेका छन् । कार्यालय अनुसार मकवानपुर, चितवन, धादिङ, रामेछाप, सिन्धुली, रसुवा, काभ्रे र सिन्धुपाल्चोकका विभिन्न स्थानमा सडक अवरुद्ध भएकामा ३ वटा सडकहरू सञ्चालनमा ल्याइएको छ ।
पृथ्वी राजमार्गको चितवनस्थित इच्छाकामना र धादिङको गजुरीका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएकोमा हाल सञ्चालनमा ल्याइएको प्रवक्ता खतिवडाले बताए । विशेषगरी, नारायणगढ–मुस्लिन सडकखण्डमा पहिरोका कारण पटक–पटक यातायात प्रभावित हुँदै आएको भएपनि पहिरो पन्छाएर सुचारु गरिएको उनले बताए ।
मकवानपुरको इन्द्रसरोवर र भिमफेदीमा पहिरो जाँदा फाखेल, सिस्नेरी हुँदै काठमाडौँ जाने सडकहरुमा रहेको पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको उनले बताए । त्रिभुवन राजपथको पनि सञ्चालनमा ल्याइएको उनले बताए । कान्ति लोकपथ सडक खण्डमा भने पहिरो हटाउन बाँकी नै रहेकाले सवारी आवागमन रोकिएको छ ।
त्यसैगरी, बिपी राजमार्गका केही भागमा सडक कटान भएकाले सडक पूर्ण रूपमा अवरुद्ध रहेको उनले बताए । काभ्रेको रोशी खोला र सिन्धुलीको सुनकोसी क्षेत्रमा गएको पहिरोले बिपी राजमार्गमा यातायात प्रभावित भएको छ । उक्त स्थानहरूको सडक मर्मत तथा पहिरो पन्छाउन केही दिन लाग्ने उनले बताए ।
सिन्धुपाल्चोकको भोटेकोशीमा जमिन भासिएर अरनिको राजमार्ग अवरुद्ध भएको छ भने मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली, रामेछाप र काभ्रेका विभिन्न खण्डहरूमा पहिरो तथा जमिन भासिएका कारण यातायात पूर्ण वा आंशिक रूपमा बन्द भएको छ । रसुवाको गोसाइँकुण्डमा पहिरो खस्दा पासाङ ल्हामु सडक खण्ड अवरुद्ध भएको छ भने रामेछापका लिखुतामाकोसी र खाँडादेवीमा पहिरोले पुष्पलाल सडक (मन्थली–खिनौती) खण्डमा क्षति पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण