बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अनुवाद

श्रमजीवी वर्गको महत्त्व सकिएको छैन है !

सोमबार, २० असोज २०८२, ११ : ००
सोमबार, २० असोज २०८२

सारांश

  • पश्चिमी मुलुकहरूमा श्रमिक वर्ग राजनीतिक धारा गुमाउँदा अति-दक्षिणपन्थीको उदय भएको छ।
  • गरिबी र बेवास्ताका कारण श्रमिक वर्गले आफूलाई अलपत्र महसुस गर्दा अति-दक्षिणपन्थीले फाइदा उठाए।
  • लेखकले वामपन्थीहरूलाई श्रमिक वर्गको महत्त्व बुझ्न र एकताका साथ अघि बढ्न आह्वान गरेका छन्।

पश्चिमा मुलुकहरूलाई अहिले एउटा भुतले तर्साइरहेको छ । त्यो भुत राजनीतिक धारा गुमाएर भौतारिइरहेको श्रमजीवी वर्ग हो । त्यो वर्ग दशकौँदेखि ‘तेस्रो बाटो’को नाममा बिल क्लिन्टन, टोनी ब्लेयर तथा गेरार्ड स्क्रोडर जस्ता नेताको लहैलहैमा लागेर अलपत्र पर्‍यो । वामपन्थीहरूले वर्ग संघर्षको भाषा बोल्नै छाडे ।

आफूलाई सम्मानयोग्य बनाउन तथा पुँजीवादको दक्ष र कुशल व्यवस्थापक साबित गर्ने हतारोमा उनीहरूले शोषण विरुद्धको आवाज उठाउनै छाडे । हुँदा–हुँदा पुँजी–श्रम सम्बन्धमा अन्तर्निहित हिंसा तथा प्रतिद्वन्द्विता पनि अस्वीकार गर्न थाले । उनीहरूले आफ्नो राजनीतिक बहसबाट एकै पटक श्रमजीवीसँग सम्बन्धित शब्द, व्यवहार, शैली तथा अपेक्षाहरू सबै हटाए । आफूले धेरै समयसँगै काम गरेका आफ्ना पूर्ववर्ती मित्रहरूलाई ‘निन्दनीय’ ठहर्‍याउन थाले ।

जब प्रायः ग्रामीण तथा औद्योगिक क्षेत्रहरूमा गरिबी बढ्दै गयो र आर्थिक सामाजिक अवस्था ओरालो लाग्दै गयो, त्यहाँका श्रमजीवीहरूले आफूहरू पछाडि परेको महसुस गर्न थाले । मुख्यधारका भनिएका दलले पनि उनीहरूलाई बेवास्ता गरे । यस्तो अवस्थामा शक्तिशाली ‘शत्रु’ खडा गर्दै त्यसविरुद्ध मानिस एकताबद्ध बनाएर आत्मसम्मान फर्काउने चाहना अभिव्यक्त हुँदै गयो ।

यस्तै असन्तुष्टिमा खेलेर मानिसलाई आफ्नो पछाडि लगाउने लामो इतिहास बोकेका अति–दक्षिणपन्थी तप्काले त्यही रिक्तता भर्ने मौकाको फाइदा उठायो । जातिद्वेषी भावनाहरू फैलाउँदै उनीहरू अगाडि आए ।

मध्यपन्थीहरू हेयका साथ यस्तो आन्दोलन र यसका नेतालाई प्रियतावादी वा ‘पपुलिष्ट’ भन्छन्, तर अहिलेको आक्रोश यी पपुलिष्ट भनिएकाहरूले सिर्जना गरेका होइनन् । उनीहरूले त त्यसबाट फाइदा मात्रै उठाएका हुन् । व्यापारीले नयाँ बजार भेट्टाएजस्तै उनीहरूले विद्यमान आक्रोशको उपयोग गरेका हुन् । दक्षिण पिरेयसदेखि ग्रीस हुँदै पेरिस वा मार्सेली सबैतिरका सडकमा हामी यस्ता असन्तुष्ट श्रमिकहरूको हुल देख्न सक्छौँ, जसले कम्युनिस्ट वा सामाजिक–लोकतान्त्रिक पार्टीहरू त्यागेर मुसोलिनी र हिटलरका उत्तराधिकारीहरूको पछि लाग्नु ठिक ठाने ।

यी घोर–दक्षिणपन्थीहरू आफ्ना पूर्वजहरू जस्तै आफूलाई श्रमजीवीहरूका मसिहा भएको घोषणा गरिरहेका छन् । यसैबिच अमेरिकामा श्वेत–सर्वोच्चतावादीहरू, कट्टर इसाईहरू, प्रविधि सामन्तहरू तथा डेमोक्रयाटिक पार्टीका असन्तुष्टहरू आपसमा मिलेर बनाएको गठबन्धनले दुई पटक राष्ट्रपतिको चुनाव नै जितिसकेको छ ।

केही मानिस अहिलेको अवस्थालाई पहिलो र दोस्रो विश्व युद्धबिचको अवधिसँग तुलना गर्छन् । मूलतः यसले हामीलाई अहिलेको अवस्थाबारे गलत बुझाईतर्फ लैजान्छ । यद्यपि यसलाई गम्भीरतासाथ भने लिनै पर्नेछ । मध्यपन्थी तथा परम्परावादी शक्तिलाई ठाडै फासीवादी करार गर्ने वामपन्थीहरूको रवैया ठिक छैन, तर फेरि फासीवाद फैलिँदै गएको भने साँचो नै हो ।

दक्षिण पिरेयसदेखि ग्रीस हुँदै पेरिस वा मार्सेली सबैतिरका सडकमा हामी यस्ता असन्तुष्ट श्रमिकहरूको हुल देख्न सक्छौँ, जसले कम्युनिस्ट वा सामाजिक–लोकतान्त्रिक पार्टीहरू त्यागेर मुसोलिनी र हिटलरका उत्तराधिकारीहरूको पछि लाग्नु ठिक ठाने ।

यसमा अनौठो मान्नुपर्ने केही छैन । जब–जब पश्चिमा मुलुकहरूमा श्रमजीवी वर्गले आफू छुटेको वा परित्यक्त अनुभूति गर्छ, ‘सुनौलो युग’ को काल्पनिक कथा सुनाएर राष्ट्रिय पुनरुत्थानको नाममा उनीहरूलाई आशा दिन सजिलो हुने गरेको छ ।

यसरी आशा देखाएर आफ्नो वशमा पारेपछि उनीहरूको आक्रोशलाई भड्काउने काम हुन्छ । उनीहरूको गरिबीको कारकका रूपमा रहेको सामाजिक–आर्थिक तत्वबाट ध्यान मोडेर अन्यत्र केन्द्रित गराइन्छ । जसमा ‘ग्लोबलिष्टहरू’, ‘डिप स्टेट’ वा जर्ज सोरोस जस्ताहरूले उनीहरूलाई आफ्नै भूमिबाट ‘विस्थापित’ गर्न खोजेको जस्ता कथातर्फ सोझ्याइन्छ । यसरी उकासिएको भिडलाई लिएर अति–दक्षिणपन्थी राजनीतिज्ञहरू उदार सम्भ्रान्त, बैंकर, धनाढ्य विदेशी तथा आप्रवासीहरूलाई निसाना बनाउन थाल्छन् ।

उनीहरूलाई देशको सुनौलो युग खोस्ने शक्ति तथा राष्ट्रिय पुनरुत्थानका बाधकका रूपमा चित्रित गर्न थालिन्छ । त्यसपछि खारेज हुने पालो आउँछ वर्ग संघर्षको । श्रमजीवीहरूको आर्थिक हित हुने राजनीतिक प्रतिनिधित्वको सवाल खारेज हुन्छ । अमेरिकी उद्योगमा काम गर्ने श्रमिकहरू आफ्नो शत्रुबारे भ्रममा पर्छन् । स्थानीय उद्योग बन्द गरेर सस्तो मजदुर भएका मुलुकमा सार्ने साहुहरूसँग रिसाउनुको साटो उनीहरू चिनियाँ कामदारले आफ्नो रोजीरोटी खोसेको भन्दै जाइलाग्न थाल्छन् ।

आफ्नो घर लिलामी गरेर कब्जा गर्ने बैंकमाथिको आक्रोश यहुदी कानुन व्यवसायी, मुस्लिम डाक्टर तथा मेक्सिकोबाट आएका दैनिक ज्यालादारीमा काम गर्ने कामदारमाथि पोख्न थाल्छन् । पुँजीले कसरी मानिसको श्रम शोषण गर्छ र अन्ततः श्रमिकलाई नै अलपत्र पार्छ भन्ने सम्झाउन खोज्नेलाई देशद्रोही ठानिन्छ ।

सन् १९२०मा जस्तै २०२० मा पनि यही तरिकाले उग्र–दक्षिणपन्थीहरू उदाउँदै छन् । योे रातारात भने भएको होइन । श्रमजीवी वर्गलाई सुरुमा निराशामा डुबाउने त्यसपछि फासीवादी मानसिकतामा पुर्‍याउने कामको सुरुवात ब्रेटनउड्स सम्झौताको अन्त्य भएको बखत अर्थात् सन् १९७१ बाटै सुरु भएको थियो । सुरुमा कन्जरभेटिव राजनीति कित्ताभित्र सानो–तिनो विरोध समूहका रूपमा रहेको दक्षिणपन्थी समूह सत्ताकब्जा गर्न सक्ने स्वतन्त्र शक्ति बनेपछि यसको महत्त्वपूर्ण मोड देखा परेको हो ।

उनीहरू उदारवादी संस्थाहरू ध्वस्त गर्न सक्ने भए । साथै कुनै समय हिटलरका नाजी प्रचारक जोसेफ गोएवल्सले मन–मनै दोहोर्‍याउने गरेको शब्द– ‘सांस्कृतिक वोल्शेभिकवाद’ विरुद्ध जेहाद छेड्ने अवस्था आइपुगेको हो । अब परिस्थिति हिजोको जस्तो रहेन ।

वामपन्थीहरूका लागि असाध्यै पीदादायी अनुभवले सिकाएको एउटा महत्त्वपूर्ण पाठ छ– वर्गको भौतिक यथार्थलाई छोडेर, जाती र लिङ्गको आधारमा पहिचानको राजनीतिमा लाग्नु भनेको विनाशकारी रणनीतिक भुल हो ।

यसबिच विकसित दुई सन्दर्भ उल्लेखनीय छन् । पहिलो हो– सन् २००८को विश्वव्यापी वित्तीय सङ्कट । यो सङ्कट हाम्रो पुस्ताले झेल्नुपरेको सन् १९२९जस्तै अर्को संस्करण हो । सङ्कटको समयमा सत्तामा रहेका मध्यपन्थीहरूले ठुला व्यवसायीलाई ‘समाजवाद’को झल्को दिने गरी सहयोग ओइर्‍याए, तर श्रमजीवी वर्गलाई भने कठोर मितव्ययिता तथा खर्च कटौतीको मार थोपरे ।

दोस्रो सन् १९२० र १९३० को दशककै जसरी मध्यपन्थी तथा गैर–फासीवादी कन्जरभेटिवहरू उग्र–दक्षिणपन्थीसँग भन्दा लोकतान्त्रिक वामपन्थीहरूसँग बढी डराए । उनीहरूलाई बढी घृणा गरे । वामपन्थीहरूका लागि असाध्यै पीडादायी अनुभवले सिकाएको एउटा महत्त्वपूर्ण पाठ छ– वर्गको भौतिक यथार्थलाई छोडेर, जाती र लिङ्गको आधारमा पहिचानको राजनीतिमा लाग्नु भनेको विनाशकारी रणनीतिक भुल हो ।

वामपन्थीहरूले बिर्सिएका श्रमिहरूलाई राष्ट्रिय शुद्धताको लडाइँका नाममा मार्च गराएको हेरेर बस्नुपर्ने हुनसक्छ । त्यसैले बेलैमा ख्याल गरौँ । श्रमजीवी वर्गको महत्त्व सकिएको छैन है !

यस्तो कदमले वामपन्थीहरूले श्रमिक जनताका दुःख हेर्न छोडे भनेर गरिएको प्रचारलाई नै सजिलो बनाउँछ । अन्ततः उग्र–दक्षिणपन्थीसँगको लडाइँमा वामपन्थीलाई निहत्था बनाइदिन्छ । त्यसको सट्टा जातीवाद तथा पितृसत्ता विरुद्धका ठुला संघर्षलाई पनि वर्गीय प्रभुत्व विरुद्धको बलियो संघर्षमा लगेर जोड्नुपर्छ ।

हामीले ऐक्यबद्धता र शोषणबारे हाम्रा शब्दकोषहरू पुनर्स्थापित गराउनुपर्छ । श्रमजीवी वर्गका शत्रु आप्रवासी होइनन् भन्ने बुझाउनुपर्छ । बरु सुदखोरहरू, टेक्नोफ्युडल साहुहरू, एकाधिकारवादी रोजगारदाताहरू तथा सट्टाबजारमा मानिसको भविष्यमाथि नै खेलवाड गर्ने वित्तीय साहुहरू श्रमजीवीका दुश्मन हुन् भन्ने सम्झाउनुपर्छ । न्यूयोर्क सहरको मेयरपदका उम्मेदवार जोहरान मम्दानी जस्ता नयाँ नेताहरूले मानिसलाई एकलकाटे स्वरूपमा नभएर पूर्ण मानवका रूपमा लिने दृष्टिकोण तय गर्न योगदान गर्नुपर्छ ।

अन्यथा श्रमजीवी वर्गलाई अति दक्षिणपन्थीहरूले आफ्ना कल्पनामा तानेर लैजाँदा वामपन्थीहरूले टुलुटुलु हेरेर बस्न विवश हुनुको विकल्प हुने छैन । वामपन्थीहरूले बिर्सिएका श्रमिहरूलाई राष्ट्रिय शुद्धताको लडाइँका नाममा मार्च गराएको हेरेर बस्नुपर्ने हुनसक्छ । त्यसैले बेलैमा ख्याल गरौँ । आज पनि श्रमजीवी वर्गको केन्द्रीय भूमिका नै छ । त्यसलाई बुझेर व्यवहार गर्न ढिला नगरौँ । श्रमजीवी वर्गको महत्त्व सकिएको छैन है !

(प्रोजेक्ट सिन्डिकेटबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

यानिस भारुफाकिस
यानिस भारुफाकिस
लेखकबाट थप