बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गाउँको स्कुलमा कम्प्युटर ल्याब र चिल्ड्रेन पार्क बनाउन परदेशमा सहयोग सङ्कलन

बुधबार, २२ असोज २०८२, १० : ०९
बुधबार, २२ असोज २०८२

सारांश

  • बझाङका मानिसहरूले छोडेको गाउँको विद्यालयको स्तरोन्नतिका लागि भारतमा रहेका नेपालीहरूले चन्दा सङ्कलन गरेका छन्।
  • विद्यालयका प्रधानाध्यापक गोकुल बोहराले कम्प्युटर ल्याब र चिल्ड्रेन पार्क निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु गरेका हुन्।
  • प्रवासी नेपालीहरूले विद्यालयको शैक्षिक गुणस्तर बढाउन र बालबालिकालाई सुविधा दिन सहयोग गरेका छन्।

धनगढी । ३५ वर्षीय लोगु बोहरा भारतको बैंगलुरुमा बिल्डिङ इन्चार्जको रूपमा काम गर्छन् । उनका अरू दुई भाइ पनि त्यहीँ छन् । उनीहरू त्यहीँ जन्मे, हुर्के ।

लोगुका आमाबुवा बझाङको छविसपाथीभेरा गाउँपालिका–७, खोरीबाट करिब पाँच दशक अगाडि नै गाउँमा बस्ने बाटो नदेखेपछि परदेश गएका थिए । बैंगलुरुमा उनीहरूले जिन्दगीको आधा समय बिताइसकेका छन् ।

‘परदेशमा के पढ्नु–देख्नु ?’ लोगुले भने, ‘काम गर्न सक्ने भएपछि नोकरी सुरु गरियो ।’ प्रवासी जीवन बिताइरहेका उनीहरू चाडपर्व र मेलाको अवसरमा घर आउने गर्छन् । अहिले आफ्नो गाउँ खोरीमा पनि धेरै परिवर्तन भएको देख्दा धेरै खुसी लागेको लोगु बताउँछन् ।

गाउँको स्कुल पहिलाको भन्दा अहिले राम्रो भएको उनले सुनाए । गाउँको स्कुल अझै राम्रो भएको हेर्ने उनको इच्छा छ । ‘हामीले त पढ्न पाएनौँ, तर गाउँका बालबालिकाले सुविधा पाउन्, पढेलेखेर देशका लागि केही गरुन्,’ उनले भने ।

यही चाहनालाई मूर्तरूप दिन खोरी गाउँमा रहेको सूर्योदय आधारभूत विद्यालयका प्रधानाध्यापक गोकुल बोहरा विद्यालयमा कम्प्युटर ल्याब र साना बालबालिकाका लागि चिल्ड्रेन पार्क निर्माणका लागि चन्दा सङ्कलन गर्न बैंगलुरु पुगेका छन् ।

लोगुले सो कामका लागि प्रधानाध्यापकको अभियानमा मन खोलेर साथ दिँदै ५० हजार रुपैयाँ चन्दा सहयोग गरेका छन् । ‘आफ्नो गाउँका लागि हो, छोराछोरीहरूले पढ्न पाउन्, जान्ने मान्छे बनुन् भनेर सहयोग गरेको हुँ,’ उनले भने, ‘यो काममा सहयोग गर्न पाउँदा आफूलाई निकै भाग्यमानी ठानेको छु ।’

उनीजस्तै स्कुलको स्तरोन्नतिका लागि दिल खोलेर सहयोग गर्ने धेरै छन् । करिब ५०–६० जनाले सहयोग गरेका छन् । उनीहरूको सहयोगबाट अभियान सुरु भएको एक हप्तामै (असोज २० गतेसम्म) ६ लाख नेपाली रुपैयाँ सङ्कलन भइसकेको छ । रोजगारी छैन भन्दै भारत पसेकाहरू नै अहिले विद्यालयको भविष्यका लागि सहयोग जुटाइरहेका छन् ।

Screenshot 2025-10-06 142010

‘कर्म जहाँ भए पनि मन जन्मभूमिमै हुन्छ,’ लोगुले भने । आफ्नो गाउँको विद्यालय विकसित भएको र शैक्षिक गुणस्तर बढेको हेर्ने चाहना रहेको उनीहरू बताउँछन् ।

छविसपाथीभेरा गाउँपालिका–७ मा रहेको खोरी गाउँ भौगोलिक हिसाबले निकै विकट छ । चारैतिर पहाड र भिरालो बाटो भएको यस ठाउँका बालबालिकालाई पढ्नका लागि सूर्योदय आधारभूत विद्यालय नभई नहुने अङ्ग हो । गोकुल यो विद्यालयमा २१ वर्षदेखि काम गर्दै आएका छन् । २०७१ साल यता उनले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

प्रधानाध्यापक गोकुल बोहराका अनुसार, विद्यालयको स्थापना २०४७ साल फागुन २६ गते भएको थियो । सुरुमा परालले छाएको २ कोठे भवनमा २०–३० जना विद्यार्थीबाट कक्षा ३ सम्म पढाइ सुरु भएको थियो । त्यसवेला तत्कालीन गाविस अध्यक्ष धनबहादुर बोहराको पहलमा रामबहादुर बोहराको नाममा एक जनाको शिक्षक दरबन्दी आएको थियो भने विद्यालयको भवन निर्माणका लागि जोगी बोहराले जग्गादान गरेका थिए ।

२०६८ सालदेखि यो विद्यालयमा कक्षा ८ सम्म सञ्चालन भयो । त्यतिवेलासम्म निम्नमाध्यमिक तह अध्ययनका लागि विद्यार्थीहरू घण्टौँ हिँडेर खोलानाला तर्दै अन्य गाउँका विद्यालय जानुपर्ने बाध्यता थियो । कक्षा ८ सम्म पढाई गर्ने वेला पनि चन्दा सङ्कलन गरिएको थियो । अहिले विद्यालयमा बाल कक्षादेखि कक्षा ८ सम्म १३९ जना विद्यार्थी अध्ययनरत छन्, तर शिक्षक दरबन्दीको अभाव प्रमुख समस्याका रूपमा देखिएको छ ।

हाल विद्यालयमा २ जना स्थायी, १ जना राहत, १ जना बाल कक्षा, ३ जना गाउँपालिकाबाट स्वयंसेवक, १ जना संघीय अनुदान र २ जना निजी स्रोतबाट गरी जम्मा १० जना शिक्षक–कर्मचारी कार्यरत छन् । निजी स्रोतका शिक्षकलाई तलब खुवाउन विद्यालयले देउसी–भैलो खेल्नेदेखि चन्दा सङ्कलन गर्नुपर्ने बाध्यता छ । प्रधानाध्यापक बोहराले भने, ‘हामीले देउसी–भैलो खेलेर र गाउँ–गाउँमा चन्दा उठाएर शिक्षकलाई तलब खुवायौँ । अहिले विद्यालयको खातामा पैसा छैन ।’

विद्यालयको आर्थिक अवस्था कमजोर छ । भौतिक रूपमा कक्षाकोठाहरू भए पनि पुराना भएकाले मर्मतसम्भार गर्नुपर्ने अवस्थामा छन् । पुस्तकालय र कम्प्युटर ल्याबजस्ता अत्यावश्यक शैक्षिक सामग्रीको अभाव छ ।

‘अहिलेको जमानामा कम्प्युटरसम्बन्धी ज्ञान नभई हुँदैन । त्यसैले हामीले कम्प्युटर ल्याब स्थापना गर्ने र साना बालबालिकाहरूलाई खेल्दै रमाउँदै सिक्ने वातावरण बनाउन चिल्ड्रेन पार्क निर्माण गर्ने उद्देश्यले चन्दा सङ्कलन अभियान सुरु गरेका हौँ,’ प्रधानाध्यापक बोहराले भने ।

विद्यालयले कम्प्युटर ल्याब र चिल्ड्रेन पार्कका लागि एक वर्षअघि स्थानीय सरकारसँग सहयोग माग गरेको थियो । यद्यपि स्थानीय तहबाट कुनै ठोस सहयोग नआएपछि यसरी चन्दा सङ्कलन गर्नुपरेको हो । पटक–पटक स्थानीय र प्रदेश सरकारलाई निवेदनसहित सहयोग माग गरिए पनि उपलब्ध हुन सकेन ।

‘हामीले वडा र गाउँपालिकामा निवेदन दिएका थियौँ, तर रकम अभावले हो वा के कारणले हो, त्यहाँबाट सहयोग भएन । भौतिक पूर्वाधारमा भने गाउँपालिकाले सहयोग गरेको छ,’ प्रधानाध्यापक बोहराले भने ।

अहिले दसैँको बिदा सदुपयोग गर्दै प्रधानाध्यापक बोहरा भारतको बैंगलुरुमा रहेका प्रवासी नेपालीहरूमाझ चन्दा सङ्कलन गरिरहेका छन् । उनी असोज ८ गते यहाँबाट बैंगलुरु हिँडे । त्यसयता उनी बैंगलुरुको विभिन्न स्थानमा रहेका परदेशीहरूकहाँ सहयोग मागिरहेका छन् । प्रधानाध्यापक बोहराले दसैँसमेत उतै मनाए ।

उनले भारतमा रहेका प्रवासीहरूसँग टीका थापे । असोज २५ गतेसम्म चन्दा सङ्कलनको काम गर्ने र त्यसपछि धनगढी फर्किने योजना रहेको उनले सुनाए । धनगढी फर्केर विद्यालयका लागि आवश्यक सरसमान खरिद गरेर लग्ने र एक महिनाभित्रै काम सुचारु गर्ने योजना रहेको उनको भनाइ छ ।

‘यहाँका मान्छेले एकदम मन खोलेर चन्दा दिनुभएको छ । राम्रो कामका लागि हो भनेर सोचेको भन्दा राम्रो सहयोग पाइरहेका छौँ । यो चन्दाको सदुपयोग गर्नुहोला भनेर सबैले भन्नुभएको छ,’ प्रधानाध्यापक बोहराले भने ।

अहिले कतिपय सामुदायिक विद्यालयमा सरकारले दिएका कम्प्युटर त्यसै थन्किएका छन् । विकट ठाउँका स्कुलका कम्प्युटर त्यसै बिग्रिएर थन्किएका छन् । यसप्रकारको चुनौतीमा गाउँमा बस्ने आधार नपाएर परदेशिएकाहरूबाट सङ्कलन गरिएको सहयोगले सूर्योदय आधारभूत विद्यालयमा स्थापना हुने कम्प्युटर ल्याबको अवस्थामा पनि यस्तो नहोस् भन्ने कामना अभिभावक, विद्यार्थी र सहयोगी दाताहरूले गरेका छन् ।

प्रधानाध्यापक बोहरा यी चुनौतीलाई चिरेर काम सुरु गर्ने बताउँछन् । विद्यालयमा भएका दुई–तीन जना शिक्षक कम्प्युटरसम्बन्धी जानकार भएकाले उनीहरूबाटै पठनपाठन सुरु गर्ने र स्थानीय सरकारलाई कम्प्युटर शिक्षकको दरबन्दीका लागि अनुरोध गर्ने योजना रहेको उनले बताए । इन्टरनेट, विद्युतको पनि व्यवस्था भइसकेकाले कम्प्युटर ल्याबलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उनको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप