शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

म्याग्दीको सिंगामा उत्पादित दूध पोखरामा

बुधबार, २२ असोज २०८२, १२ : ५७
बुधबार, २२ असोज २०८२

सारांश

  • म्याग्दीको सिंगामा उत्पादित दूध पोखरा पठाउन थालिएको छ, जसले किसानलाई बजार सुनिश्चित गरेको छ।
  • बास्कुना कृषि सहकारीले दूध संकलन गरी सुजल डेरीलाई बिक्री गर्ने सम्झौता गरेको छ, जसले गर्दा व्यावसायिक रूपमा दूध निर्यात सुरु भएको छ।
  • दुग्ध संकलन केन्द्र स्थापना र गुणस्तर मापनको व्यवस्थाले किसानलाई १५-१५ दिनमा भुक्तानी हुनेछ।

म्याग्दी ।  म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा उत्पादन भएको दूध पोखरामा पठाउन हुन थालिएको छ । गाउँमा उत्पादन भएको दूध स्थानीय बजारमा खपत हुन नसकेपछि बास्कुना कृषि सहकारीले दूध सङ्कलन गरेर पोखराको सुजल डेरी उद्योगलाई बिक्री गर्न थालेको हो ।

वडा कार्यालयको पहलमा  कृषि सहकारी र सुजल डेरी प्रालिबीचमा दूध उत्पादन तथा खरिद बिक्रीको सम्झौता गरी म्याग्दीबाट पहिलोपटक व्यावसायिक रुपमा दूध पोखरा पठाउन सुरु गरिएको सहकारीका अध्यक्ष तिलक गुरुङले जानकारी दिए ।

म्याग्दीको स्थानीय बजारमा गाईको दूध खपत नहुने भएपछि सहकारीले कृषकहरुबाट दूध सङ्कलन गर्ने र उद्योगले आफैँ आएर दूध खरिद गरेर लैजाने व्यवस्था मिलाइएको अगुवा कृषक समेत रहनुभएका सहकारीका अध्यक्ष गुरुङले बताए । 

‘अहिलेसम्म भैँसीको दूध मात्रै बेनीमा खपत हुने गरेको थियो, अब गाई र भैँसीको दूध नै बिक्री हुने सुनिश्चित भएको छ, कृषकले जति उत्पादन गरे पनि उद्योगले दूध खरिद गर्ने सम्झौता भएको छ’, उनले भने ।

बास्कुना कृषि सहकारी सस्थाले सिंगाको पुलचोकमा दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना गरेको छ । कृषकहरुले हरेक दिन केन्द्रमा दूध सङ्कलन गर्ने र ५०० लिटर बढी दूध सङ्कलन भएपछि उद्योगले आफैँ ढुवानी गरेर दूध लैजाने व्यवस्था मिलाइएको छ । मङ्गलबार पहिलो दिन ७५० लिटर दूध उद्योगले खरिद गरेर लगेको सहकारीले जनाएको छ । दुग्ध सङ्कलन केन्द्रमा अहिले २० जना कृषकहरुले दैनिक रुपमा दूध बिक्री गर्न ल्याउन सुरु गरेका छन् । सुजल डेरी उद्योगको दूध ढुवानी गर्ने ट्याङ्कर अहिले दुई दिनमा एक पटक सिंगा आएर दूध ढुवानी गरी लैजान थालेको छ । 

मेसिनबाट दूधको गुणस्तर मापन गर्ने र गुणस्तरका आधारमा मूल्य पाउने गरी स्थानीयस्तरमा उत्पादन भएको दूधलाई पोखरा निर्यात गर्ने प्रबन्ध मिलाइएको बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले बताए । उनका अनुसार, कृषकलाई १५÷१५ दिनमा दूधको रकम भक्तानी हुने सम्झौता गरिएको छ । 

‘गाईको दूधले बजार पाउने अवस्था थिएन, कतिपय समुदायले उत्पादन गरेको दूध स्थानीय बजारमा खपत हुने अवस्था थिएन, अब यी सबै समस्याको समाधान भएको छ’, वडा अध्यक्ष खड्काले भने । गाईको दूधले बजार पाउने सुनिश्चित भएपछि सिंगामा गाईपालनको लहर चलेको छ । सिंगामा यसअघि शुभकामना कृषि सहकारी संस्थाले कृषकहरुको दूध सङ्कलन गरेर बेनी बजारमा बजारीकरण गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप