शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
इजरायल-हमास युद्धविराम सम्झौता

अब होला गाजामा शान्ति ?

बिहीबार, २३ असोज २०८२, १२ : ४३
बिहीबार, २३ असोज २०८२

काठमाडौँ । दुई वर्षदेखि इजरायल र हमाबिचको द्वन्द्वले गाजाको अवस्था भयावह बनेको छ । यस अवधिमा हजारौँ मानिसको मृत्यु भएको छ भने लाखौँ घाइते र दशौँ लाख विस्थापित भएका छन् । 

हजारौँ घरहरु बम र बारुदले ध्वस्त पारिएका छन् । गाजामा अनिकाल चरम अवस्थामा छ । भोकमरीको अवस्था यति भयावह छ कि दैनिक कैयौँले ज्यान गुमाइरहेका छन् । 
यी सबै तनावपूर्ण अवस्थाका बिच एउटा सुखद् खबर सार्वजनिक भएको छ, अन्तत: इजरायल र हमास युद्धविराम गर्ने सम्झौतामा पुगेका छन् । यसलाई युद्धविरामको पहिलोचरण भनिएको छ ।

इजिप्टको राजधानी कायरोमा अमेरिका र कतारको मध्यस्थतामा भएको बहुपक्षीय वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेस गरेको २० बुँदे शान्ति योजनामा आधारित भएर पहिलो चरणको शान्ति सम्झौता भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यस ऐतिहासिक सम्झौताको आधिकारिक कागजातमा बिहीबार कायरोमा हस्ताक्षर गरिनेछ ।

सबै पक्षलाई बराबरी व्यवहार गरिने ट्रम्पले बताएका छन् । पहिलो चरणलाई उनले स्थायी शान्तिको पहिलो कदम भनेका छन् । ‘यो अरब र मुस्लिम देश, इजरायल, सबै छिमेकी देशहरू र अमेरिकाका लागि एक महान् दिन हो । हामी कतार, इजिप्ट र टर्कीका मध्यस्थकर्ताहरूलाई धन्यवाद दिन्छौं,’ माइक्रोब्लगिङ साइट एक्समा ट्रम्पले लेखेका छन् ।

उता इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले पनि यस सम्झौताको दिनलाई ऐतिहासिक भजनेका छन् । सहमतिलाई अनुमोदन गर्न उनले बिहीबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सहमतिले गाजामा युद्द अन्त्य गर्ने, इजरायली सेनाको फिर्ती सुनिश्चित गर्ने, मानवीय सहायता प्रवेशलाई अनुमति दिने र बन्दी आदानप्रदान लागु हुने हमासले बताएको छ । बेलायत, क्यानडा, भारत, अस्ट्रेलिया समेत विश्वका अधिकांश देशले यसलाई स्वागत गरेका छन् ।

Israel Hamas War2

कायरोमा भएको यस बैठकमा इजरायल र हमासले एक अर्को पक्षसँग सिधै कुरा गरेका होइनन् । वार्तामा दुवै पक्षले ट्रम्पका मध्यपूर्वका दूत स्टिभ विट्कफ, उनका ज्वाइँ जारेड कुश्नर र इजिप्ट, कतार र टर्कीका मध्यस्तकर्तासँग आ–आफ्नो कुरा राखेका थिए ।

युद्धविरामको पहिलो चरणमा के छ ?

युद्धविरामको पहिलो चरण अन्तर्गत हमासले २०२३ को अक्टोबर ७ मा आक्रमणपछि बन्धक बनाइएका ४८ इजरायली नागरिकलाई रिहा गर्नेछ । बन्धक रहेकामध्ये लगभग २० जना मात्र जीवित रहेको अपेक्षा गरिएको छ । यसको बदलामा इजरायलले पनि महिला, बालबालिका र आजीवन कारावासको सजाय पाएका कैदीहरूसहित सयौं प्यालेस्टिनीहरूलाई रिहा गर्नेछ ।

अघिल्ला सम्झौताहरूका आधारमा रिहा गरिएका प्रत्येक इजरायली बन्धक बराबर कम्तीमा १०० प्यालेस्टिनीहरूलाई रिहा गरिनेछ । यसबाहेक सम्झौता अन्तर्गत हवाई र तोपखानासहित सबै सैन्य गतिविधि पनि बन्द हुनेछन् । दुवै पक्षबिच पूर्ण युद्धविरामको सर्तहरूमा सहमत नभएसम्म सेनाहरू स्थिर रहने बताइएको छ ।

सबै बन्धकहरूलाई रिहा गरिसकेपछि मात्रै इजरायलले आजीवन कारावास भोगिरहेका २५० प्यालेस्टिनी कैदीहरू र हमासमा आक्रमणपछि पक्राउ परेका एक हजार ७०० गाजावासीहरूलाई रिहा गर्ने ह्वाइट हाउसले भनेको छ । प्रत्येक इजरायली बन्धकको शव फिर्ता हुँदा इजरायलले पनि १५ जना गाजावासीको शव फिर्ता गर्नेछ ।

ट्रम्पको योजना अन्तर्गत सम्झौतालाई सार्वजनिक रूपमा स्वीकार गरेको ७२ घण्टाभित्र सबै बन्धकलाई रिहा गरिनेछ भने शवहरु फिर्ता गरिनेछ । अहिले गाजामा चरम अनिकालको अवस्था छ । पहिलो चरणमा गाजामा राहत आपूर्ति र आवश्यक सहायताको डेलिभरी पनि समावेश हुने कतारको विदेश मन्त्रालयले पुष्टि गरेको छ ।  

६७ हजारभन्दा बढीको ज्यान गइसकेको गाजा युद्धमा युद्धविराम योजनामा सहमतिपछि गाजाबासीहरू उत्साहित छन् । इजरायली जनतामा पनि उत्साह देखिएको छ । नेतान्याहुले बिहीबार आफ्नो सरकारलाई यो सम्झौता अनुमोदन गर्न मनाउनुपर्नेछ । मन्त्रिपरिषद्ले यसलाई पारित गर्‍यो भने भने सहमति अगाडि बढ्नेछ । सबैभन्दा पहिलो काम त सेना फिर्तीको हुनेछ । यो काम २४ घण्टाभित्र हुनेछ । हमासले पनि सोमबारदेखि बन्दी रिहाइको काम थाल्नेछ ।

कस्तो होला गाजाको भविष्य ?

गत दुई वर्षमा गाजामा शान्ति स्थापना गर्ने अनेकौं प्रयास विफल भइसकेका छन् । आफूले सत्ता सम्हालेको केही हप्तामै गाजामा शान्ति ल्याउँछु भन्ने ट्रम्पको दाबी सत्य सावित नभएपछि उनले युद्धविराम गराउने प्रयास भने छाडेका छैनन् । यसका लागि ट्रम्पले इजरायलमाथि निकै दबाब दिइरहेका छन् । 

गाजामा दिगो युद्धविराम भयो भने पनि पुनर्निर्माणको चुनौती निकै छ । गाजाको पुनर्निर्माणका लागि ४५० अर्ब भन्दा बढी आवश्यक पर्नेछ अनि गाजापट्टीलाई फेरि बस्न योग्य बनाउन पुनर्निर्माण गर्न कम्तीमा १५ वर्ष लाग्न सक्ने संयुक्त राष्ट्र संघको अनुमान छ । 

Israel Hamas War2

गाजामा पुनर्निमाणमा मध्यपूर्वका देशले मद्दत गर्ने ट्रम्पले बताएका छन् । तर उनले यसको थप विवरण दिएका छैनन् । हमास र इजरायलबिच मतभेद रहेको केही बुँदाबारे अहिलेसम्म केही पनि घोषणा भएको छैन । हमासको निशस्त्रीकरण कसरी हुन्छ भन्नेबारे पनि खासै जानकारी आएको छैन । हमासले यसअघि हतियार बिसाउन अस्वीकार गरेको थियो । प्यालेस्टिनी राज्य स्थापना भएपछि मात्रै हतियार बिसाउने उसको अडान थियो ।

गाजामा भावी सरकार कस्तो होला भन्ने यतिबेलाको अहम् प्रश्न हो । ट्रम्पको २० बुँदे योजनामा गाजापट्टीमा हमासको कुनै भविष्य नहुने स्पष्ट पारिएको छ । हमासलाई ‘टेक्नोक्रेटिक, अराजनीतिक प्यालेस्टिनी समिति’ले अस्थायी रुपमा शासन गर्ने अनि त्यसपछि प्यालेस्टिनी अथोरिटीलाई यसको जिम्मा लगाइने भनिएको छ ।

हमासले बुधबार रातिसम्म इजरायलले बन्दी रिहाइपछि छाड्ने प्यालेस्टिनी बन्दीको अन्तिम सूची पाएको थिएन । आजीवन कारावास भोगिरहेका २५० प्यालेस्टिनी कैदी र हमासमा आक्रमणपछि पक्राउ परेका एक हजार ७०० गाजावासीहरूलाई रिहा गर्ने बुँदा पनि ट्रम्पको योजनामा थियो ।

गत हप्ता नेतान्याहुले पनि ट्रम्पको योजना स्वीकार गर्दै प्यालेस्टिनी अथोरिटीको संलग्नतामा जोड दिएका थिए । तर नेतान्याहुको सत्तारुढ गठबन्धनमा रहेका केही कट्टरपन्थीहरूले यस बुँदालाई लिएर असहमति जनाउनसक्ने देखिन्छ । उता हमासले गाजाको शासन व्यवस्थामा आफ्नो भूमिका केही न केही रहला भन्ने आशा राखेको छ । 

एजेन्सीको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप