डिम्ब भण्डारण प्रविधिले पूरा गर्छ ढिलो उमेरमा आमा बन्ने सपना
काठमाडौँ । पछिल्लो समय विश्वभर बाँझोपनको समस्या बढिरहेको छ । १५–२० वर्षयता यो समस्या दोब्बरले बढेको चिकित्सकहरू बताउँछन् । जीवनशैलीमा आएको परिवर्तन र करिअर केन्द्रित हुने प्रवृत्ति यसको मुख्य जिम्मेवार मानिएको छ । बढ्दो स्वास्थ्य सचेतनाले पनि बाँझोपनको पहिचान भइरहेको छ ।
नेपालमा पछिल्लो समय बाँझोपनको समस्या लिएर पुग्ने दम्पतीको संख्या उल्लेख बढेको ललितपुरस्थित बीएन्डबी अस्पतालकी वरिष्ठ प्रसूति तथा स्त्रीरोग एवम् टेस्टट्युब बेबी विशेषज्ञ डा. नुतन शर्मा बताउँछिन् । ‘पहिलेजस्तो मानिसहरू आफ्ना समस्या लुकाउँदैनन्, उपचारका लागि अस्पताल आउने गरेका छन्’, उनी भन्छिन् ।
बाँझोपन बढ्नुमा बढ्दो उमेरमा विवाह र डिम्बको सीमितता रहेको डा. शर्माको भनाइ छ । आजभन्दा १०–१५ वर्ष अगाडिसम्म महिलाहरूले पढाइ सकेर चाँडै विवाह गर्ने र बच्चा जन्माउने गर्थे । तर अहिलेको आधुनिक समाजमा हरेक महिलाको एउटा लक्ष्य हुन्छ । उनीहरू राम्रोसँग पढ्छन्, करिअर बनाउँछन् अनि जागिर वा व्यवसाय गरेर आत्मनिर्भर भएर मात्रै विवाह र सन्तानबारे योजना बनाउँछन् ।
यसले बाँझोपन निम्ताइरहेको डा. शर्मा बताउँछिन् । ‘केटी मान्छेका प्रकृतिले निश्चित अण्डा दिएको हुन्छ । जन्मिने बेला एउटा फिक्स्ड ओभेरियन रिजर्भ लिएर आउँछ’, उनी भन्छिन् ।
अण्डाको गुणस्तर निश्चित उमेरपछि कमजोर हुँदै जान्छ । ३० वर्ष उमेरपछि यसमा क्रमश: ह्रास आउँदै जाने हुन्छ । ३५ वर्षको उमेरमा पुग्दा ५०–६० प्रतिशत घट्छ भने ४० वर्ष पुग्दा ७०–८० प्रतिशत अण्डामा ह्रास आउने डा. शर्मा बताउँछिन् ।
‘त्यसैले महिलाका लागि बच्चा जन्माउने सबैभन्दा राम्रो उमेर २२ देखि २९ वर्षसम्म हो’, उनी भन्छिन् । ढिलो विवाह र सन्तान उत्पादन नै बाँझोपनको कारण हो ।

बाँझोपन महिलामा मात्रै नभई पुरुषमा बढिरहेको छ । पहिले पुरुषमा बाँझोपनको समस्या कम देखिन्थ्यो, अहिले बढिरहेको छ । यसका प्रमुख कारणमा तनाव, अत्यधिक मदिरा सेवन, धुम्रपान, असामान्य जीवनशैली, निद्राको कमी, विभिन्न औषधि प्रयोग, ल्यापटप र मोबाइल फोनको अत्यधिक प्रयोग रहेको डा. शर्मा बताउँछिन् । यी सबै कारणले पुरुषमा शुक्रकीटको गुणस्तर र संख्यामा नकारात्मक असर पुर्याउँछ ।
डिम्ब भण्डारण
करिअर लगायत कारणले ढिलो विवाह गर्ने महिलाका लागि चिकित्सा विज्ञानले एग फ्रिजिङ अर्थात् डिम्ब भण्डारण प्रविधि विकास गरेको छ । पछिल्लो समय धेरैका लागि यो बरदान नै साविक भएको छ ।
‘यदि २३, २४ वा २५ वर्षका छन् र आफ्नो करिअरमा ध्यान दिँदैछन् भने महिनावारी भएको दुईदेखि १० दिनभित्र इन्जेक्सन लगाएर आफ्नो अण्डा निकालेर फ्रिज गर्न सकिन्छ’, डा. शर्मा भन्छिन्, ‘यसरी फ्रिज गरिएका डिम्ब धेरै वर्षसम्म सुरक्षित राख्न सकिन्छ ।‘
फ्रिज गरिएका डिम्बहरू प्रयोग गरेर आमा बन्न सकिन्छ । यो प्रविधिले उमेरको जैविक सीमालाई पराजित गर्न सहयोग गर्ने डा. शर्मा बताउँछिन् ।
सकेसम्म जैविक रुपमै समयमै सन्तान प्राप्तिमा ध्यान दिन उनी सुझाउँछिन् । यस्तै यौन संक्रमणको जाँच तथा समयमै उपचार, असुरक्षित गर्भपतनबाट बच्ने र सुरक्षित गर्भनिरोधकका उपाय अपनाउनुपर्छ । असुरक्षित गर्भपतनले पछि पाठेघरमा ट्युब बन्द गराई बाँझोपन निम्त्याउन सक्ने डा. शर्मा बताउँछिन् ।
‘जीवनमा पैसा कमाउनुहुन्छ, प्रोफेसन बनाउनुहुन्छ, जागिर पाउनुहुन्छ, सबै कुरा पाउनुहुन्छ । तर बच्चा पाउनुहुन्न । यो कन्सेप्ट क्लिअर गर्नैपर्छ’, डा. शर्माको सुझाव छ ।
करिअर र पैसा जुनसुकै उमेरमा पनि कमाउन सकिने भएकाले सन्तान प्राप्तिमा ढिलाइ गर्न नहुने उनी बताउँछिन् । ‘एकपटक आमा बनिसकेपछि पनि करिअरलाई अगाडि बढाउन सकिन्छ । तर बच्चा नहुँदा पछि गएर धेरै मनोवैज्ञानिक र सामाजिक समस्या आउन सक्छन्’, उनी भन्छिन्, ‘त्यसैले आमा बन्नु आफैंमा एउटा सुन्दर अनुभूति हो, जुन कुनै पनि करिअर र पैसाभन्दा अमूल्य छ ।‘
कुलतले सन्तान उत्पादन क्षमतामा असर
किशोरकिशोरीहरू धुम्रपान र सुर्तीजन्य पदार्थको लतमा फसेका धेरै उदाहरण देखिन्छन् । धुम्रपानले सन्तान उत्पादन क्षमतामा पनि गम्भीर असर पुर्याउँछ ।
सुर्तीजन्य पदार्थमा पाइने विषाक्त पदार्थले पुरुषको शुक्रकीट र महिलाको डिम्ब दुवैलाई हानि पुर्याउँछ । गर्भवती महिलाले धुम्रपान गरेमा बच्चाको वृद्धि कम हुने, तौल कम हुने, पोषण नपुग्ने र लामो समयसम्म बच्चामा स्मरण क्षमतामा समेत जोखिम हुन्छ ।
‘धुम्रपानले फोक्सोका लागि मात्र होइन, भविष्यको बच्चाका लागि पनि हानि गर्छ,’ डा. शर्मा भन्छनि, ‘धुम्रपान छाडेको केही महिनापछि मात्र शुक्रकीट र डिम्बमा सुधार देखिन थाल्छ । त्यसैले सन्तान योजना बनाउनुअघि यसलाई पूर्ण रूपमा त्याग्नुपर्छ ।’
समाजको दृष्टिकोण
बाँझोपन भएका महिलालाई परिवार र समाजको दबाब पनि हुन्छ, जसले आत्मबल कमजोर बनाउन सक्छ । समाजले के भन्छ भनेर चिन्ता लिनुभन्दा आफूले आफ्नो जीवनको महत्त्व बुझ्न जरुरी रहेको डा. शर्मा बताउँछिन् ।

‘महिलाले आफ्नो जीवनको मूल्य आफैं बुझ्नुपर्छ, डिप्रेस्ड हुनुहुँदैन । बच्चा नभए पनि महिलासँग आफ्नो करिअर, आम्दानी, पति, परिवार र एउटा अनमोल मानव जीवन हुन्छ’, उनी भन्छिन्, ‘त्यसैले बच्चा नभएपछि म नै सकिएँ भनेर कहिल्यै सोच्नु हुँदैन ।’ समाजलाई आफूप्रति सकारात्मक बनाउनका लागि पहिला आफैं सकारात्मक बन्नुपर्ने डा. शर्मा सुझाउँछिन् ।
बाँझोपनका लागि आईभीएफ
धेरै प्रयास गर्दा पनि सन्तान प्राप्त गर्न सकिएन भने निराश हुनु नपर्ने डा. शर्मा बताउँछिन् । अहिले चिकित्सा विज्ञानले ६० वर्षकी महिलालाई पनि गर्भवती गराएको छ । त्यसैले शारीरिक रुपमा स्वस्थ महिलाले चिन्ता लिनु पर्दैन । आईभीएफ अर्थात् टेस्टट्युब बेबी प्रविधि बाँझोपनको लागि वरदान नै साविक भएको छ । आईभीएफको सफलता दर हाल विश्वव्यापी रुपमा लिने हो भने ६०–६५ प्रतिशतसम्म छ ।
डा. शर्माका अनुसार १० जनाले आईभीएफ गराउँदा चार जनाले सफलता प्राप्त गर्न सक्दैनन् तर दोस्रो वा तेस्रो प्रयासमा सफलता मिल्न सक्छ । बिरामीको आत्मबल र आर्थिक क्षमताका आधारमा आईभीएफ ५–६ पटकसम्म पनि गर्न सकिने उनी बताउँछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण