शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
चर्चा लुसिफरको

सौरभले बालेनसँग तुलना गरेका लुसिफर को हुन् ?

बिहीबार, २३ असोज २०८२, २० : ००
बिहीबार, २३ असोज २०८२

काठमाडौँ । केही दिनअघि लेखक तथा राजनीतिक विश्लेषक सौरभले एउटा टेलिभिजन अन्तर्वार्तामा काठमाडौँ महानगरका मेयर बालेनलाई ‘लुसिफर’ भने ।

जनतामाझ खुलेर नआउने, सार्वजनिक रूपमा हरहमेशा लगाउने कालो चस्मा र कालै रंगको पोसाकमा देखिने शैली र बानीलाई औंल्याउँदै सौरभले स्पष्ट नाम नकिटीकन बालेनलाई लुसिफरसँग दाँजे । अन्तर्वार्ताका क्रममा उनले बालेनलाई 'कालो ऊर्जा'को स्रोत भन्दै एक ठाउँमा ‘लुसिफर ब्युझिँन लागेको हो ?’ भनेका थिए । उनको यो अन्तर्वार्ता प्रसारण भएपछि सामाजिक सञ्जालमा बालेन नै लुसिफर हुन् भन्ने खालका पोस्टको बाढी नै आयो । 

सिंहदरबारमा ‘त्यस्सै’ आगो नलागेको सौरभको भनाइ थियो । उनले यसो भनिरहँदा कुनै बेला ‘सिंहदरबार जलाइदिन्छु’ भन्ने बालेनको अभिव्यक्तिसँग धेरैले जोडेका थिए, संयोगवश जेनजी आन्दोलनका क्रममा सिंहदरबार पनि जल्यो । आन्दोलनमा बालेनबाट धेरैले आशा गरेका थिए । त्यसपछि उत्पन्न राजनीतिक संकटमा बालेनले नेतृत्व लिन्छन् कि भन्ने धेरैले आशा गरेका थिए । तर बालेन अघि सरेनन् अनि रुष्ट जनतालाई सौरभको सो उपमा सायद चित्त बुझ्यो ।

हालैका दिनमा सामाजिक सञ्जालमा बालेनलाई अनफलो गर्ने अनि उनको पोस्टमा नकारात्मक टिप्पणी आउने क्रम निकै बढेको छ । धेरैले बालेनलाई ‘अराजक’ अनि ‘रहस्यमयी’ भनेर बुझिरहेकै समयमा सौरभको उक्त उपमाले ‘आगोमा घ्यु’को काम गरेको छ ।

आखिर काे हुन् त लुसिफर ?

पश्चिमी सभ्यतामा लुसिफर भनेको सैतान (दानव) हुन् । सौरभले बालेनसँग तुलना गरेको लुसिफर को हुन् ? उनी कसरी देवबाट दानव बने ? 

ल्याटिन भाषामा लुसिफरको अर्थ ‘उज्यालो ल्याउने’ वा ‘बिहानीको तारा’ भन्ने हुन्छ । क्रिश्चियन धर्मग्रन्थमा लुसिफरलाई पतित स्वर्गदूत र दानव भनेर चित्रण गरिएको छ । कुनै समय लुसिफर सुन्दर, शक्तिशाली स्वर्गदूत थिए । स्वर्गमा पनि उनको स्थान उच्च थियो । सौन्दर्य, शक्ति र बुद्धिमा उनी श्रेष्ठ थिए । तर आफ्ना यिनै कुरामा घमण्ड गरेर लुसिफरले आफूलाई ईश्वरको बराबरीमा राख्न खोजे । उनको यही चाहना स्वर्गमा विद्रोहको कारण बन्यो । 

लुसिफरको विद्रोहले स्वर्गमा द्वन्द्व निम्त्यायो । परम्परागत कथनअनुसार उनले स्वर्गका अन्य देवदूतलाई पनि आफ्नो साथमा ल्याएर र ठुलो विद्रोहको नेतृत्व गरे । ईश्वरले यो विद्रोहलाई पाप माने र लुसिफरलाई स्वर्गबाट खसालिदिए । उनी ‘फलन एन्जल’ अर्थात् पतित स्वर्गदूत बने । स्वर्गबाट खसालिएपछि लुसिफर नर्कमा पुगे । यहाँ उनले सैतानको रूप लिए । सैतानको स्वरूपमा लुसिफरले मान्छेलाई पथभ्रष्ट गर्ने, पाप कार्यतिर आकर्षित गर्ने, एडम र इभलाई वर्जित फल खान प्रेरित गर्ने सर्पलाई पनि लुसिफरको एक रूप मानिन्छ । 

लुसिफरको कथा केवल धार्मिक दृष्टिकोणबाट मात्र होइन, सांस्कृतिक र मनोवैज्ञानिक दृष्टिकोणबाट पनि महत्त्वपूर्ण छ । धेरै संस्कृतिमा यो कथालाई अहंकार र पतनको प्रतीक मानिन्छ । लुसिफरको विद्रोहलाई आत्मचिन्तनको प्रारम्भिक बिन्दु मानिन्छ । जहाँ एक प्राणीले आफ्नो अस्तित्वको सीमालाई पार गर्न खोज्छ र परिणमस्वरूप पतन हुन्छ ।

लुसिरफरको कथाले शक्ति, सौन्दर्य, र बुद्धिलाई नियन्त्रणमा राख्न सकिएन भने यो आफ्नै लागि कसरी खतरा बन्न सक्छ भन्ने पाठ पनि पढाउँछ ।

–एजेन्सीको सहयोगमा 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप