एनआरएनएको एकता प्रयास असफल
सारांश
- गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता प्रयास तत्कालका लागि टरेको छ, दुई समूहबीच ठोस सहमति जुट्न सकेन।
- दुवै समूहबीचको सहमति जुटाउन नसक्दा एनआरएनए डे एकताबद्ध रूपमा मनाउन सकिएन, तर एकताको ढोका अझै खुला छ।
- एनआरएनएका अभियन्ताहरूले एकताका लागि प्रयास जारी राखेका छन्, तर समूहभित्रको मतभेदका कारण सहमति हुन सकेको छैन।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता प्रयास तत्कालका लागि टरेको छ । केही दिनयता काठमाडौँमा एनआरएनएका अभियन्ताहरुबिच मिलनको प्रयासस्वरुप घनिभूत छलफल भएपनि ठोस सहमति जुट्न नसकेसँगै एकता तत्कालका लागि टरेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीसमेतले एनआरएनए मिलेर आए सहकार्य गर्न सहज हुने धारणा राखेपछि दुई समूहबिच एकताको प्रयास स्वरूप छलफल अघि बढाइएको थियो । हाल एनआरएनए महेश श्रेष्ठ र बद्री केसीको नेतृत्वमा दुई समूहमा विभक्त छ ।
दुबै समूहबिच सहमति जुटाएर शनिबार परेको एनआरएनए स्थापना दिवस (एनआरएनए डे) मनाउने भनिएपनि सर्वोच्चको परमादेशअनुसार यसअघि भएको एकता महाधिवेशनको अस्तित्व, नयाँ महाधिवेशनलगायतका विषयमा ठोस सहमति जुट्न नसकेको बताइएको छ ।
अध्यक्ष केसीले संस्थाको बृहत्तर हितका लागि सहमतिको प्रयास गरिएको बताउँदै अहिले केही विषयमा सहमति जुट्न नसकेकाले एकताबद्ध रुपमा शनिबार एनआरएनए डे मनाउन नसकिएको बताए ।
यस्तै श्रेष्ठले पनि कतिपय विषय मिल्न बाँकी रहेको भन्दै आफू एकताकै पक्षमा रहेको बताए । दुई अध्यक्षले एकताबद्ध एनआरएनएको पक्षमा धारणा राखेपनि समूहभित्रकै केही अभियन्ताहरुलाई मनाउन नसक्दा सहमति जुट्न नसकेको समेत बताइन्छ। विशेषगरी महेश श्रेष्ठ समूहमा कांग्रेस निकट एनआरएनएहरुमै धेरैथरी मत राख्नेहरु रहेका छन् । यस्तै पूर्वअध्यक्ष शेष घले समूहदेखि आरके शर्मा समूहलाई समेत मिलाएर लैजानुपर्ने चुनौतीमा श्रेष्ठ छन् । यस्तै केसी समूहमा पनि श्रेष्ठ समूहको अस्तित्व स्वीकार नगरेर आफ्नै नेतृत्वमा महाधिवेशनमा जाने अडान रहेको बताइन्छ ।

श्रेष्ठ समूहका महासचिव बीआर लामाले त एकताका लागि वार्ता चल्दै गर्दा बद्री केसी समूहकै कारण एकता हुन नसकेको दाबी गरेका छन् ।
‘बद्रीजीको कार्यकाल अक्टोबर १४ मा समाप्त हुँदैछ। हामीले उनीहरूलाई अनुरोध गर्यौँ कि अक्टोबर १४ मा नै हामीलाई कार्यभार हस्तान्तरण गरिदिनुहोस् (यद्यपि उहाँहरूको वैधता र कार्यकाल अदालतले निर्धारण गर्न बाँकी नै ), हामी मे महिनामा निर्वाचित भएका भए तापनि, यसभन्दा अगाडिको अवधि लाई निर्वाचित भएर बसेको रूपमा मात्र लिइनेछ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हामीले यो पनि स्पष्ट पार्यौँ कि सम्भव भएसम्म चाँडो (छ महिनाभित्र) महाधिवेशन आयोजना गरी अर्ली इलेक्सन गरिनेछ। तर पनि बद्रीजीहरू हाम्रो यो प्रस्ताव मान्न तयार भएनन्। हामीले उहाँहरूको दुई वर्षको अस्तित्व स्वीकारेपनि, उहाँहरूले हाम्रो छ महिनाको अस्तित्व स्वीकार्नुभएन।’
उनले एकताको मन्त्र जपिरहँदैमा एकता नहुने भन्दै एकताको लागि सबै पक्षहरूको अस्तित्वलाई स्वीकार्नु जरुरी रहेको बताए । एकताका लागि हदैसम्मको प्रयास भएपनि सफल हुन नसकेको उल्लेख गर्दै उनले तर पनि एकताको ढोका अझै खुला रहेको बताए ।
यसरी एकताको प्रयास हुन नसकेपछि केसी समूहले शनिबार एनआरएनए डेको अवसरमा पशुपतिनाथ र स्वयम्भूमा पूजाको कार्यक्रम गर्यो भने संघको सचिवालयमा झन्डोत्तलनका साथै पत्रकार सम्मेलन पनि गरियो ।
यस्तै श्रेष्ठ समूहले पनि छुट्टै स्वयम्भूमा शान्ति पूजा गर्दा ट्राफिक कन्ट्रोल रुम बग्गीखानामा कार्यक्रम पनि गरियो । जहाँ श्रेष्ठ समूहले सीसीटीभी कन्ट्रेल रुम निर्माणमा सघाइरहेको छ ।
यसैबीच एनआरएनए अभियन्ता आरके शर्माले हिजोका विभाजनहरू बिर्सेर एकताको बाटो रोज्नुपर्ने बताएका छन् ।
‘अबको यात्रामा संस्थालाई एजेन्डामुखी, जिम्मेवार र नेपाली श्रमिक तथा गैरआवासीय नेपाली नागरिकताको सवाललाई नतिजामुखी बनाउनुपर्छ’, उनले भने ।

उनले सबैको इमान्दार प्रयास, परस्पर सम्मान र साझा प्रतिबद्धता नै अबको मूल शक्ति भएको भन्दै मिल्नुको विकल्प नभएको बताए ।
एकताको वातावरण बनाउन आग्रह
श्रेष्ठ नेतृत्वको एनआरएनएले सबै पक्षलाई एकताको वातावरण बनाउन आग्रह गरेको छ।
प्रवक्ता गंगाधर गौतले जारी गरेको विज्ञप्तिमा संघको सचिवालय तत्काल हस्तान्तरण गर्न र सम्पूर्ण मुद्दा फिर्ता लिएर एकताको वातावरण सिर्जना गर्न बद्री केसी पक्षलाई आह्वान गरिएको छ। साथै संघले आफ्नो विधान, परम्परा र प्रवासी नेपाली समुदायको भावना अनुसार एकता प्रक्रिया अगाडि बढाउनु पर्ने स्पष्ट धारणा राखेको छ।

सबै मिलेर नै सफलता हासिल गर्न सम्भव
यसैगरी केसी नेतृत्वको संघले फरक धारमा रहेका सदस्यलाई समेत समाहित गर्दै बृहत् एकताको वातावरण निर्माण गर्ने लक्ष्यसहित १२औं अन्तर्राष्ट्रिय महाधिवेशनको तयारी अघि बढाएको जनाएको छ।
सहमतिको प्रक्रियाअन्तर्गत ११औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिका सहमतिमा ५ सदस्यीय स्टिरिङ कमिटी गठन हुने र आगामी ३ महिनाभित्र नियमित महाधिवेशन सम्पन्न गर्ने योजना रहेको शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।
एनआरएनएले आफ्नै लबिङको बलमा विदेशमा रहेका नेपालीले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने कानूनी बाटो खुलेको र यसलाई पूर्ण कार्यान्वयन गर्न प्रयासरत रहेको जनाएको छ। तर पनि एकताबद्ध एनआरएनए हुन नसक्दा एजेण्डाहरुलाई सहजरुपमा अघि बढाउन सकस भएको अभियन्ताहरु बताउँछन् ।
सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियानले शनिबार २२ वर्ष पूरा गरेको हो। विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमिको सामाजिक तथा आर्थिक विकासमा प्रयोग गर्ने उद्देश्यसहित एनआरएनए स्थापना भएको थियो। तर करिब ४ वर्षयता एनआरएनएमा व्यक्तिगत टकराव र राजनीतिले विवाद रहँदै आएको छ । खासगरी ०७८ सालमा भएको १० औँ महाधिवेशनका क्रममा प्रतिनिधिमा विवाद हुँदा एनआरएनए विभावित भएको थियो । त्यसयता एनआरएनएको समस्या समाधान हुन नसकेको हो । विवादकै कारण कैयन मुद्दा अदालतमा समेत विचाराधीन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण