बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सम्झना

विपिनका साथी भन्छन्– अरुलाई बचाउने महामानव हो ऊ

मङ्गलबार, २८ असोज २०८२, १२ : ००
मङ्गलबार, २८ असोज २०८२

सारांश

  • सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी विपिन जोशीको इजरायलमा हमासको आक्रमणमा मृत्यु भयो, जसले उनले अन्य साथीहरूको ज्यान बचाए।
  • विपिनले इजरायलमा काम गर्दा जलवायु परिवर्तनबारे जनचेतना जगाउने र कृषिमा योगदान पुर्‍याउने सपना देखेका थिए।
  • विपिनको परिवारले उनको रिहाइका लागि अथक प्रयास गरे, तर हमासको आक्रमणमा उनको मृत्यु भयो।

धनगढी । २०७५ मंसिर महिना । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत टीकापुरस्थित कृषि क्याम्पसको पहिलो दिन । बीएससी एजी प्रथम सेमेस्टरको कक्षामा रोल नम्बर बोलाइँदै थियो ।

जब ‘रोल नम्बर १८’ को पालो आयो, एक दुब्लो पातलो केटाले ‘एस सर’ भन्यो । त्यो केटो सोही कक्षाका अर्का विद्यार्थी हेमराजको नजरमा पर्‍यो । केही दिनपछि त्यो केटो कक्षामा देखिन छाड्यो । तीन महिना बित्यो तर, रोल नम्बर १८ को उपस्थिति भएन ।

हेमराजलाई सधैँ लागिरहन्थ्यो, ‘त्यो केटो कहाँ गयो होला ?’

1
बीएससी एजीको प्रथम सेमेस्टरको पढाई गर्दा क्याम्पसमा विपिनसँगै हेमराज लगायतका साथीहरू

तीन महिनापछि जब त्यो केटो फर्कियो, हेमराजले थाहा पाए, उसको नाम विपिन जोशी रहेछ । विपिन रामपुरको प्रतिष्ठित कृषि क्याम्पस (एएफयु) मा पनि नाम निकाल्ने तयारीमा थिए । त्यसैले उनी तीन महिना कक्षामा उपस्थित हुन सकेका थिएनन् । त्यतिवेलासम्म हेमराज र विपिनको चिनजान कक्षाकोठामा सीमित थियो ।

एकदिन क्याम्पस सकेर हेमराज आफ्ना साथीहरू हिमाञ्चल कट्टेल र लुइस रिजालसँग कोठा खोज्दै थिए । उनीहरू एउटा साथीको कोठामा खाना खान पुगेका थिए, त्यहाँ विपिनसँग भेट भयो । ‘यहाँ कतै कोठा खाली छ ?’, हेमराजले सोधे ।

विपिनले भने, ‘म बस्ने घरको छेउमा एउटा कोठा खाली छ, हेर्न जाउँ !’

3
विपिन साथी लुइस रिजालसँग

उनीहरू कोठा हेर्न गए । कोठा मन पर्‍यो । तीन जना साथी मिलेर दुई वटा कोठा र एउटा भान्सा भएको फ्ल्याट लिने निधो गरे । भोलिपल्टै उनीहरू कोठा सर्न तयार भए ।

त्यो दिन विपिन आफैँ आएर उनीहरूको सबै सामान सार्न मद्दत गरे । उनले एउटा अटो बोलाएर उनीहरूको सामान पुर्‍याए । नयाँ कोठामा सबै सामान मिलाइदिन पनि सघाए । ‘सुरुको दिन हामीले सायद उसकै कोठामा खाना खाएका थियौँ,’ हेमराजले सम्झिए ।

विपिनको कोठामा पहिलो पटक पुग्दा आफ्नो मनमा परेको छाप हेमराज कहिल्यै बिर्सन सक्दैनन् । चम्किलो निलो कार्पेट, उज्यालो कोठा । हेमराज र हिमालले एक–अर्कालाई भनेका थिए, ‘यसको कोठा कस्तो राम्रो रहेछ !’

टीकापुरमा बीएससी एजी कार्यक्रम पहिलो पटक लागु भएको थियो ।  हेमराज जोशी उक्त कलेजमा विपिनका नजिक मानिएका तीन साथीमध्येका एक हुन् ।

दार्चुलाको महाकाली नगरपालिका–८ मा जन्मेका हेमराजले काठमाडौँबाट कक्षा १२ विज्ञान सङ्कायमा पास गरे । त्यसपछि राम्रो सम्भावना बोक्दै टीकापुरमा बीएससी एजीमा भर्ना भए ।

त्यही दिनबाट उनीहरूको मित्रताको डोरी कसिलो हुन थाल्यो । सुरुमा छेउछाउको घरमा बस्ने उनीहरू केही समयपछि एउटै फ्ल्याटमा बस्न थाले । विपिनको घरबेटीले उनलाई कोठा खाली गर्न भनेपछि हेमराज र साथीहरूले आफ्नो फ्ल्याटमा खाली भएको कोठामा बस्न बोलाए ।

4
क्याम्पसमा फुटबल जितपछि साथीहरूसँग विपिन।

त्यसपछि सुरु भयो चार जनाको एउटै छानामुनिको यात्रा । सँगै खाने, सँगै बस्ने, एउटै थालमा बाँडेर खाने दिनहरू सुरु भए । उनीहरू साथीबाट दाजुभाइजस्तै बने ।

विद्यार्थी जीवन सजिलो थिएन । कहिले कोठा भाडा तिर्न समस्या हुन्थ्यो, कहिले घरबाट पैसा समयमा आउँदैनथ्यो । उनीहरूले एक–अर्कालाई कहिल्यै एक्लो महसुस हुन दिएनन् । हेमराजले भने, ‘हामी त दाजुभाइ जस्तै थियौँ । कसैसँग पैसा नहुँदा एक–अर्कालाई सहयोग गर्थ्यौं ।’

उनीहरूको घरबेटी पनि सहयोगी थिए, जसले सबैको पैसा आएपछि एकैपटक भाडा बुझिदिन्थे । नगद रकम नहुँदा दैनिक उपभोग्य सामान किन्न उनीहरूले पसलमा खाता बनाएका थिए । उधारोमा आवश्यकता अनुसार सामान लैजाने र घरबाट पैसा आएपछि तिर्ने गर्थे । कहिलेकाहीँ पसलेले छिटो तिर्न दबाब दिन्थे । उनीहरू मिलेर त्यो समस्या सुल्झाउँथे ।

पढाइमा पनि उनीहरूको सहकार्य उस्तै थियो । कसैलाई कुनै विषय गाह्रो लाग्यो भने सँगै बसेर पढ्थे । परीक्षाको समयमा चारैजना जम्मा भएर प्रश्नहरूबारे छलफल गर्थे । हेमराजले भने, ‘परीक्षा दिने समयका हाम्रा सम्झना त झन् अविस्मरणीय छन् ।’

दुःख र संघर्षका ती दिनमा उनीहरूको मित्रता झनै बलियो हुँदै गयो । हेमराजको नजरमा विपिन एक विद्यार्थीमात्र थिएनन्, उनीभित्र अनेक प्रतिभा लुकेका थिए । विपिनमा सिक्ने भोक थियो । उनी जे कुरामा पनि जिज्ञासु रहन्थे र त्यसलाई गहिराइसम्म पुगेर बुझ्न खोज्थे ।

आफ्नो लक्ष्यप्रति विपिन एकदमै दृढ रहेको हेमराज सुनाउँछन् । हेमराजका अनुसार उनले जे कुरामा हात हाल्थे, त्यसलाई पूरा नगरी छाड्दैनथे ।

कलेजमा विपिनको कोही शत्रु थिएन । उनी सबैसँग बोल्ने, हाँस्ने र घुलमिल हुने स्वभावका थिए । अरुलाई सल्लाह र सुझाव दिन पनि उनी पछि पर्दैनथे ।

विपिन एक राम्रा फुटबल खेलाडी थिए । ‘दुई–चार वटा खेल त उसले आफ्नो उत्कृष्ट प्रदर्शनले हामीलाई जिताइदिएको थियो,’ हेमराजले सुनाए ।

6
जर्सीमा सजिएका विपिन

टीकापुरको कृषि क्याम्पसको खेल मैदानमा कहिलेकाहीँ गज्जबको संयोग जुर्थ्यो । जनकपुरका प्रमोद कुमार साह क्रिकेटका पारखी थिए । कञ्चनपुरका विपिन जोशी फुटबलका हस्ती । तर, जब ‘सेक्सन ए’ र ‘सेक्सन बी’ का विद्यार्थीहरू मिसिन्थे, फुटबल खेल्ने विपिन पनि प्रमोदको टिममा क्रिकेट खेल्न आइपुग्थे । दुवै जना ‘खेलप्रेमी’ थिए ।

आज त्यो खेल मैदानको सहकार्य छुटेको दुई वर्षभन्दा बढी भइसक्यो । २७ वर्षीय प्रमोद अहिले सोलुखुम्बुमा बसेर जुनियर प्राविधिक सहायकका विद्यार्थीहरूलाई कृषि पढाइरहेका छन् । सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस, टीकापुरमा बीएससी एजी (कृषि) पढ्दाका ती चार वर्षका याद प्रमोदको मानसपटलमा अझै ताजा छन् ।

‘विपिन ए सेक्सनमा थियो, म बी सेक्सनमा, तर हाम्रो सम्बन्ध एकदमै राम्रो थियो,’ प्रमोदले सम्झिए, ‘हामी दुवै खेलप्रेमी थियौँ । ऊ प्रायः फुटबल खेल्थ्यो, म क्रिकेट । कहिलेकाहीँ हामी सँगै क्रिकेट पनि खेल्थ्यौँ ।’

विपिन गितार सिक्दै थिए र आफ्नो कलालाई मान्छेहरूको अगाडि प्रस्तुत गर्न कहिल्यै हिच्किचाउँदैनथे । उनी कविता लेख्थे । सुरुमा सामान्य लागे पनि पछि उनका कवितामा आध्यात्मिक गहिराइ देखिन थाल्यो । उनी ‘शून्यता’, ‘आफ्नो खोजी’ जस्ता विषयमा कलम चलाउँथे ।

5

विपिनले कृषि र खाद्य सुरक्षाको विषयमा एउटा र्‍याप गीत बनाएर म्युजिक भिडियोसमेत निकालेका थिए, जसले उनको सामाजिक सचेतनालाई देखाउँथ्यो । उनका सपना ठुला थिए । उनी आफ्नो लागि होइन, समाज र देशका लागि केही गर्न चाहन्थे ।

‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल जानुको पछाडि विपिनको एउटा सपना थियो– त्यहाँबाट सिकेको सिप र कमाएको पैसाले नेपालमै कृषि क्षेत्रमा केही गर्ने ।

उनी आफ्नै खुट्टामा उभिएर एउटा सफल कृषि उद्यमी बन्न चाहन्थे । उनको एउटा अधुरो तर सबैभन्दा ठुलो सपना थियो– बढ्दो ग्लोबल वार्मिङ र जलवायु परिवर्तनबारे जनचेतना जगाउन पूर्वदेखि पश्चिमसम्म साइकल र्‍याली गर्ने ।

आफ्नो यो सपनाबारे विपिन साथीहरूसँग बारम्बार चर्चा गर्थे र यसलाई साकार पार्न कटिबद्ध देखिन्थे । विपिनको एउटा दार्शनिक पक्ष पनि थियो । उनी ‘सत्यको खोजी’ र आफ्नो पहिचानको खोजी’बारे कुरा गर्थे । उनको चाहना शान्ति र स्वतन्त्रताको जीवन जिउनु थियो ।

हेमराज ती दिन कहिल्यै बिर्सन सक्दैनन् । उनीहरूको थेसिस बुझाउने मिति नजिकिँदै थियो । थेसिस बुझाएर महेन्द्रनगरबाट टीकापुर फर्कंदै गर्दा भविष्यको बारेमा कुराकानी भयो ।

२ वर्ष अगाडि जब अन्तिम सेमेस्टरको परीक्षा सकियो, सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमबारे क्याम्पसमा चर्चा चल्न थाल्यो । सुरुमा हेमराज, विपिन, हिमाञ्चल र लुइस चारै जनाले नजाने निर्णय गरेका थिए । सिनियरहरूले दुःख पाएको सुनेर उनीहरू हच्किएका थिए । पछि सबै साथी जाने भएपछि र आर्थिक पक्ष पनि बलियो देखेर उनीहरूको मन बदलियो । हेमराजबाहेक तीनै जना साथी इजरायल जाने भए ।

साउनको पहिलो हप्तातिर अन्तर्वार्ता भयो । ५० जना विद्यार्थी छनोट भए । ती ५० जनाको सूचीमा विपिन, हिमाञ्चल र लुइस पनि थिए ।

हेमराज ती दिन कहिल्यै बिर्सन सक्दैनन् । उनीहरूको थेसिस बुझाउने मिति नजिकिँदै थियो । थेसिस बुझाएर महेन्द्रनगरबाट टीकापुर फर्कंदै गर्दा भविष्यको बारेमा कुराकानी भयो ।

यसै क्रममा बाइकमा विपिनले हेमराजलाई भनेका थिए, ‘हेमराज, म ११ महिनाको लागिमात्र विदेश जाँदैछु । मैले बहिनी, बुवा, आमाको आँखामा आँसु देखेँ । मलाई मेरो ठुलोबुवाले कति माया गर्नुहुँदो रहेछ भन्ने महसुस गरेँ । म जसरी पनि फर्किन्छु, उतै बस्ने रहर छैन ।’

यो कुरा हेमराजको मनमा गढेर बसेको छ । बिदाइको अन्तिम रात विपिनले भने, ‘म तँलाई एउटा गिफ्ट दिन्छु ।’ उनले हेमराजलाई मास्टर्सको इन्ट्रान्स तयारीको किताब दिएर अँगालो हाले ।

9
तेस्रो सेमेस्टरका बेला विपिन, हेमराज, हिमाञ्चल र अर्को साथी

‘चार वर्ष सँगै बस्दा हामीले कहिल्यै त्यसरी अँगालो हालेका थिएनौँ । केटाहरू खासै त्यस्तो गर्दैनन्,’ हेमराजले भने, ‘तर जब उसले अँगालो हाल्यो, मलाई एकदमै न्यानो महसुस भयो ।’

विपिनले जाने वेला भनेका थिए, ‘तँ र म अझै सँगै बस्नुपर्छ ।’ २०८० भदौ २६ गते हेमराजले विपिनलाई धनगढी एयरपोर्टमा छोडेर आए । त्यो नै उनीहरूको अन्तिम भेट थियो ।

इजरायल पुगेपछि पनि विपिनसँग हेमराजको निरन्तर कुरा भइरहन्थ्यो । सुरुमा विपिनको फार्म अर्कै ठाउँमा परेको थियो, पछि उनी अरु साथीहरू भएकै ठाउँमा सरे । उनीहरू भिडियो कल र म्यासेजमा कुरा गर्थे । विपिन, हिमाञ्चल र अर्का साथीले ‘तँलाई सम्झिरहेका छौँ’ भनेर रमाइलो भिडियो पठाएका थिए ।

विपिन भन्थे– फर्ममा काम गर्नुपर्छ । अलि गाह्रो र दुःखनै छ । सिक्ने कुरा पनि छ ।

विपिन राम्रो टेक्नोलोजी छ भन्ने कुरा हेमराजलाई सुनाउँथे । झन्डै एक महिना पुग्न लागेको थियो । पहिलो महिना काम गरे बापत तलब आउने समय पनि थियो ।

घटना हुनुभन्दा केही दिनअघि एकपटक बम विस्फोट भएको थियो । त्यतिवेला विपिनले भिडियो पठाउँदै भनेका थिए, ‘यहाँ ठुलो बम पड्किरहेको छ । हिमाञ्चलहरू तल फिल्डमा छन् ।’

नेपाल फर्केका घाइते र अन्य साथीहरूले हेमराजलाई सुनाए– आक्रमणकारीले बंकरभित्र ग्रिनेड फाल्दा विपिनले आफ्नो ज्यानको परवाह नगरी त्यो ग्रिनेड टिपेर बाहिर फालिदिएका थिए ।

उनीहरू बंकरको रूपमा प्रयोग हुने भान्सामा लुकेका थिए । त्यसपछिको एउटा रात, नेपालमा मध्यरात हुँदा विपिनले हेमराजलाई कल गरेका थिए । हेमराज सुतिसकेकाले फोन उठाउन पाएनन् । भोलि कुरा गरौँला भन्ने सोचेका थिए, तर त्यो भोलि कहिल्यै आएन । हेमराजलाई त्यो नै विपिनको अन्तिम कल थियो, जुन हेमराजले उठाउन सकेनन् ।

७ अक्टोबर २०२३ को दिन हमासले इजरायलमाथि अकस्मात आक्रमण गर्‍यो । त्यही आक्रमणमा परे विपिनसहित अन्य विद्यार्थी । १० जना नेपाली विद्यार्थी त हमासको गोली लागेर बिते । विपिनलाई अपहरण गरेर लगे । केही समयपछि हिमाञ्चल र लुइससहित ३९ जना इजरायलबाट घर फर्के ।

नेपाल फर्केका घाइते र अन्य साथीहरूले हेमराजलाई सुनाए– आक्रमणकारीले बंकरभित्र ग्रिनेड फाल्दा विपिनले आफ्नो ज्यानको परवाह नगरी त्यो ग्रिनेड टिपेर बाहिर फालिदिएका थिए । उनको त्यो बहादुरीले बंकरभित्र रहेका अन्य साथीहरूको ज्यान बच्यो । उनी आफू बन्धक बने, तर अरुलाई बचाएर गए ।

विपिनले बाल्यकाल पहाडमै बिताए । १ देखि ५ कक्षा बैतडीमा पढे । ६ देखि १० कक्षा उनले महेन्द्रनगरकै सामुदायिक विद्यालयमा पूरा गरे । त्यसपछि लिटिल बुद्ध हाइस्कुलबाट विज्ञान सङ्कायमा उनले प्लस–टु उत्तीर्ण गरे ।

8
छैटौँ सेमेस्टरको पढाइका बेला हेमराज र विपिन

विपिनले टीकापुरस्थित क्याम्पसमा बीएससी एजी पढ्न छात्रवृत्तिमा नाम निकालेका थिए । अन्तिम सेमेस्टरको परीक्षा नजिकिँदै गर्दा उनले इजरायल जाने अवसर पाए । परिवारले उनलाई रोक्ने प्रयास गरेन । ‘अनुभवका लागि जा,’ भनेर पठाए ।

विपिनको रिहाइ ढिला हुनुमा कूटनीतिक कमजोरी नै मुख्य कारण रहेको धेरैको गुनासो छ । हेमराज पनि यही गुनासो गर्छन् ।

हेमराजका अनुसार त्यतिवेला परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘हमास इज अ टेररिस्ट अर्गनाइजेसन’ भन्ने शब्द प्रयोग गर्नु नै कूटनीतिक अपरिपक्वता थियो । ‘यही शब्दले हामीले उही बेला गर्न सक्ने कूटनीतिक प्रयासहरूलाई कमजोर बनायौँ । जब विश्वका देशहरू पक्ष–विपक्षमा बाँडिएका थिए, त्यतिवेला हाम्रो अभिव्यक्तिले गलत सन्देश दियो,’ हेमराजले भने ।

हेमराजका अनुसार, विपिनको रिहाइको मौका त्यसवेलानै थियो, जब सुरुमा युद्धविराम भएको थियो । ‘सुरुवातदेखि नै यदि नेपालले बलियो दबाब बनाएको भए सायद विपिन आज हामीसँग हुन्थे,’ उनले भने, ‘त्यसवेला त्यो अवसर गुम्यो, पहिलो चरणको रिहाइमा ऊ परेको भए जीवित नै घर पुग्थ्यो ।’

हेमराजको मनमा विपिनको याद कहिल्यै नमेटिनेगरी छाप बनेर बसेको छ । उनले भने, ‘हरेक सानो कुरामा, खाना पकाउँदा होस् वा कलेजको कुनै कुनामा, म विपिनलाई सम्झिन्छु । उसका यादहरू सधैँभरि रहिरहन्छन् ।’

विपिनले देखेका सपनाहरू, खासगरी जलवायु परिवर्तनसम्बन्धी उनको अभियानलाई साकार पार्न सके उनीप्रति सच्चा श्रद्धाञ्जली हुने हेमराजको भनाइ छ ।

विपिनलाई सम्झिँदा उनी भावुक हुन्छन् । ‘ऊ एक महामानव थियो, जसले आफू गएर पनि पाँच–छ जना साथीहरूको ज्यान बचायो । त्यस्तो मान्छे सामान्य हुन सक्दैन,’ उनले भने, ‘हामीले उसको जीवनलाई एउटा उत्सवको रूपमा मनाउनुपर्छ । साथी बचाउने महामानव हो विपिन ।’

विपिनको साहस हरेक नेपाली आमाको आँखामा बस्ने कुरा भएको हेमराज बताउँछन् । उनका अनुसार, राज्यले पनि अब विपिनलाई औपचारिक रूपमा सम्मान गर्नुपर्छ । विपिनको योगदानलाई अमर बनाउन हुलाक टिकटमा उसको तस्बिर छाप्ने वा उनको नाममा कुनै मार्ग वा चौतारी बनाउने जस्ता काम गर्न सकिने हेमराजले बताए ।

विपिनले देखेका सपनाहरू, खासगरी जलवायु परिवर्तनसम्बन्धी उनको अभियानलाई साकार पार्न सके उनीप्रति सच्चा श्रद्धाञ्जली हुने हेमराजको भनाइ छ ।

विपिन जोशी परिवारका एक्ला छोरा थिए । बुबा महानन्द जोशी र आमा पद्मा जोशी दुई दशकअघि बैतडीको दोगडाकेदार गाउँपालिका–१, रिमबाट कञ्चनपुरको भाँसी आएका थिए । आफ्ना सन्तानको उज्यालो भविष्यको सपना बोकेर आएका उनीहरू अहिले शोकको अन्धकारमा छन् ।

7
इजरायल प्रस्थान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साथीहरूसँग विपिन

विपिन घरको एक साहारा थिए । सँगै पढ्ने साथीहरू अहिले सबै आ–आफ्नो काममा छन् । चार जना इजरायलमै काम गर्दै मास्टर डिग्रीको पढाइ पूरा गर्दैछन् । कोही युकेमा छन् । कोही नेपालमै छन् ।

विपिनका बुवा महानन्द बझाङको बुंगल नगरपालिकास्थित दहबगरमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा शिक्षक छन् । आमा पद्मा पनि कञ्चनपुरकै वेदकोट नगरपालिका–९, सुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालयमा पढाउँछिन् । दुई वर्षदेखि पद्मा र महानन्दको जीवनकै एकमात्र लक्ष्य रह्ह्यो– विपिन फर्कियोस् ।

उनीहरूको दिनरात छोराको रिहाइका लागि गुहारमै बित्यो । भन्न सकिने निकाय सबैतिर हारगुहार गरे । विद्यालयमा पढाउनुपर्ने, विद्यार्थीसँग भविष्यको कुरा गर्नुपर्ने आमा आफ्नै छोराको भविष्य खोज्दै हरेक ढोका ढकढक्याइरहिन् ।

पछिल्लो समय विपिनकी बहिनी पुष्पा र आमा पद्माले विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाए । पुष्पाले दाजुको अवस्थाबारे सामाजिक सञ्जालमार्फत निरन्तर लेखिन् । अन्तर्राष्ट्रिय मिडियासँग कुरा गरिन् । उनीहरू इजरायल गए, अमेरिका पुगे ।

अन्ततः इजरायल र हमासबिच शान्ति सम्झौता भयो । सोमबार हमासले छाड्ने बन्दीहरूमा विपिन पनि फर्किने आशा थियो । दुई वर्ष दिनरात विपिन घर फर्किने आशामा बसेको उनको परिवारले पखाईको घडी खुसीमा परिणत हुने सोचेका थिए ।

गाजा क्षेत्रमा रहेका वेला विपिनको मृत्यु भएको हमासले जनाएको छ । हवाई आक्रमण विपिन मारिएको हमासको दाबी छ । छोरा घर फर्किने जोशी दम्पतीको आशाको दियो अब भने सधैँका लागि निभेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप