बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पुँजी पलायनको चिन्ता : अब कसरी बनाउने लगानीको वातावरण ?

मङ्गलबार, २८ असोज २०८२, १४ : ३०
मङ्गलबार, २८ असोज २०८२

सारांश

  • जेनजी आन्दोलनपछि राजनीतिक अस्थिरता बढेको र यसले लगानीको वातावरण बिगारिसकेको विज्ञहरूको भनाइ छ।
  • अर्थविद्हरूका अनुसार शान्ति सुरक्षाको अभावले अर्थतन्त्र प्रभावित भएको छ र पर्यटनमा कमी आएको छ।
  • युवाहरूको माग सम्बोधन गरी लगानीको वातावरण बनाउनुपर्ने र पर्यटन क्षेत्रमा सुधार आवश्यक रहेको बताइएको छ।

काठमाडौँ । गत भदौको अन्त्यतिर भएको जेनजी आन्दोलनपछि मुलुकमा राजनीतिक अस्थिरताको खतरा बढेको जानकारहरूले बताएका छन्। उक्त विद्रोहपछि नेपाली कांग्रेस र नेकपा (एमाले) नेतृत्वको सरकार अपदस्थ भयो । त्यसपछि प्रतिनिधि सभा विघटन गरियो भने पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ।

यद्यपि, कांग्रेस र एमाले अझै पनि निर्वाचनका लागि तयार नहुनु, अहिलेको सरकार सीमित दायरामा रहनुपर्ने बाध्यता र जेनजीहरूको बढ्दो आकाङ्क्षाका कारण मुलुकमा अस्थिरता बलियो बन्ने खतरा बढेको विश्लेषकहरूको भनाइ छ।

जेनजी आन्दोलनपछि विकसित परिस्थितिलाई नजिकबाट हेरेका विज्ञ तथा निजी क्षेत्रका प्रतिनिधिहरूले मुलुकमा देखिएको अस्थिरता र असुरक्षाले लगानीको वातावरण बिगारिसकेको र पुँजी पलायनको समेत खतरा रहेको बताएका छन्।

उनीहरूका अनुसार जेनजीहरूले निजी क्षेत्रका सम्पत्तिमाथि आक्रमण गर्दा लगानीकर्तामा त्रास बढेको छ र तत्काल थप लगानी आउने सम्भावना छैन। देश द्वन्द्वतर्फ अघि बढेमा पुँजी पलायनको खतरा रहने विज्ञहरूको भनाइ छ।

  • शान्ति सुरक्षाको अभावले अर्थतन्त्र प्रभावित

अर्थविद् चन्द्रमणि अधिकारीले जेनजी आन्दोलनपछि मुलुकमा शान्ति सुरक्षा र अमनचैन कायम नरहेको बताए। जसका कारण स्वदेशी र विदेशी लगानी थप बढ्ने सम्भावना नभएको उनको भनाइ छ।

अर्थविद् अधिकारीका अनुसार शान्ति सुरक्षाकै कारण पर्यटकको सङ्ख्यामा कमी देखिन थालेको छ र होटलहरूमा बुकिङ रद्द हुनु सकारात्मक सङ्केत होइन। मुलुकबाट भइरहेको निकासी पनि दिगो नरहेको र अस्थिरता बढिरहेमा वैदेशिक मुद्राको सञ्चितिमा समेत समस्या आउने अधिकारीले बताए।

‘जेनजी आन्दोलनपछि देशमा अमनचैन छैन। त्यसले गर्दा मुलुकमा लगानी थप बढ्नसक्ने सम्भावना छैन। पर्यटक आउने क्रम घटेर गएको छ । विदेश जानेले नेपालमा पैसा पठाउने सन्दर्भमा पनि नेपालमा शान्ति सुरक्षा राम्रो भएन, अनिश्चितता बढ्दै गए उनीहरूले आफ्नो परिवारका लागि पनि ढिलो पैसा पठाउन सक्छन्। जसले नेपालमा पैसा नपठाए पनि हुन्छ, उनीहरूको युरोप, अमेरिका, अस्ट्रेलियाबाट आउने पैसा उतै रोकिन सक्छ। त्यतिबेला हाम्रो वैदेशिक मुद्राको सञ्चिति घट्न सक्छ,’ अधिकारीले भने। उनले राज्य संयम भएर अघि बढ्नुपर्ने बेला आएको बताए।

  • युवाहरूको माग सम्बोधन गरी लगानीको वातावरण बनाउनुपर्ने

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले अब सङ्घर्ष गर्नुभन्दा पनि जेनजी युवाहरू हाम्रै देशका हुन् भनेर सबै पार्टी र वर्तमान सरकारले स्विकारेर नयाँ परिवेशमा देशलाई लैजान सके मात्र मुलुकमा लगानीको वातावरण बन्न सक्ने बताए।

उनका अनुसार जेनजीले शिक्षा, स्वास्थ्य, रोजगार र सुशासनको एजेण्डा लिएर आन्दोलन गरेका हुन् र उनीहरूको मागबमोजिम अघि बढ्दै मुलुकमा शान्ति सुरक्षा कायम हुनुपर्छ। रोजगारका लागि उत्पादन बढाउने, आईटीको प्रवर्द्धन, पर्यटन र जलस्रोतको विकास गर्नुपर्छ। यसका लागि मुलुकमा निजी क्षेत्रले लगानी गर्न सक्ने वातावरण बन्नुपर्छ।

उपाध्यक्ष ढकालले सरकारले दिने सेवा सर्वसुलभ हुन नसक्दा जेन-जीहरू असन्तुष्ट बनेको र त्यो सर्वसुलभ हुन जरुरी रहेको बताए। उनले वर्तमान सरकारले सोही विषयमा काम गर्नुपर्ने र आगामी सरकारले पनि त्यही गतिमा देशको आर्थिक विकासमा लाग्नुपर्ने बताए।

उनले वर्तमान निर्वाचन पद्धति कमजोर रहेको, सरकारको संरचना ठूलो भएको र सङ्घीय तथा प्रदेश सांसदहरूको सङ्ख्या घटाउनुपर्ने र कानूनहरूमा सुधारको आवश्यकता औँल्याए।

  • पर्यटन क्षेत्रमा सुधार आवश्यक

नेपाल होटल सङ्घ (हान) का अध्यक्ष विनायक शाहले जेनजी पुस्ताले मुलुकमा परिवर्तनसँगै सुशासन र विकास खोजेकाले सोहीअनुसार काम हुनुपर्ने बताए। उनका अनुसार दैनिक दुई हजारदेखि २५ सय युवायुवतीहरू भविष्य खोज्दै विदेश जानुपर्ने बाध्यता छ। देशभित्र सम्भावनाको बाटो नदेखेर उनीहरू विदेश जानु राम्रो होइन।

अध्यक्ष शाहले नीति नियम, पूर्वाधारका कुराहरूमा आमूल परिवर्तन हुन जरुरी रहेको र जेनजी पुस्ताले दिएको परिवर्तनको एजेन्डा पूर्ति गर्न सरकार अघि बढ्नुपर्ने बताए। उनले होटल र पर्यटन क्षेत्रका सबै सरोकारवालाहरूले सरकारले गरेन भनेर हात बाँधेर बस्नु नहुने बताए।

उनका अनुसार होटलहरूको ३५-४० लाख पर्यटकलाई सेवा दिने क्षमता छ, तर नेपालमा अहिले १२ लाख मात्रै पर्यटक आइरहेका छन्। अहिले काठमाडौँ एयरपोर्टले मात्रै १२ लाख पर्यटक धानिरहेकोले भैरहवा र पोखराको एयरपोर्टलाई प्रयोगमा ल्याएर थप पर्यटकसँगै आर्थिक गतिविधि चलायमान बनाउन सरकार लाग्नुपर्ने उनको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप