बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनीमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु

बुधबार, २९ असोज २०८२, २० : ३८
बुधबार, २९ असोज २०८२

बुटवल । बुद्धकाे जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु भएको छ । ६७ देशका २ सय बढी सम्पदा विज्ञहरूको उपस्थितिमा बुधबारदेखि प्रकोप, द्वन्द्व र शान्ति विषयलाई केन्द्र बिन्दुमा राखेर सम्पदा संरक्षण समाज (इकोमस) नेपालको आयोजनामा वैज्ञानिक सम्मेलन सुरु भएको हो । 

सम्मेलनको लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले शुभारम्भ गर्दै शान्ति भूमि लुम्बिनीमा गरिएको सम्मेलनले विश्वभर नै नयाँ सन्देश दिन सफल हुने बताए । 

उनले बुद्ध जन्मस्थल लुम्बिनीमा विभिन्न देशका सम्पदा विज्ञहरूको उपस्थितिमा इकोमसको वार्षिकसभा र वैज्ञानिक सम्मेलन गरेकोमा धन्यवाद व्यक्त गरे । 

इकोमस नेपालका अध्यक्ष ज्ञानिन राईले सम्मेलनमा सहभागी अतिथि तथा विज्ञहरूलाई स्वागत गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा गरिएको वैज्ञानिक सम्मेलनले सांस्कृतिक सम्पदाको संरक्षण एवम् सुधारमा महत्त्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरे । 

सम्मेलनमा विभिन्न विषयहरूमा प्राप्त २६० कार्यपत्रमध्ये छनौटमा परेका १९० वटा कार्यपत्रहरूको प्रस्तुतीकरण सहित छलफल हुने जनाइएको छ । सम्मेलनमा प्रकोप, द्वन्द्व र शान्तिसँगै सम्पदा संरक्षणका सन्दर्भमा विभिन्न सेसनहरूमा छलफल हुनेछ । 

प्रस्तुतीकरण सहित विशेषज्ञ प्यानल, स्थलगत भ्रमण गरी सम्मेलन अक्टोबर १९ तारिखमा घोषणापत्र जारी गरेर समापन गरिनेछ । 

कार्यक्रमको लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी विकास कोष, पुरातत्त्व विभाग, लुम्बिनी सांस्कृतिक नगरपालिका, ओरियन्टीयल हेरिटेज साइट प्रोटेक्सन एलायन्स फ्रान्स, ब्रिटिस काउन्सिल, अस्ट्रेलिया इकोमस, इकोमस चाईन लगायतले साझेदारी गरेका छन् ।

युनेस्कोको सल्लाहकार निकायको रूपमा रहेको इकोमसले विश्व सम्पदा सूचीमा अभिलेखको लागि प्रस्तावित सांस्कृतिक र मिश्रित सम्पदाहरूको मूल्याङ्कन गरी विश्व सम्पदा समितिलाई प्रदान गर्ने गर्दछ । 

कार्यक्रममा इकोमस इन्टरनेश्नलका सदस्यहरू सहित विश्वभरका सांस्कृतिक सम्पदा संरक्षणसँग सम्बन्धित विज्ञहरू, अनुसन्धानकर्ताहरू तथा नीति निर्माताहरू, सरकारी अधिकारीहरू, अन्तर्राष्ट्रिय पाहुना सहित ६७ राष्ट्रका करिब ३०० स्वदेशी तथा विदेशी सहभागीहरू छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप