लुम्बिनीमा तिहारलाई फूल : उत्पादन बढ्दा उत्साहित किसान
सारांश
- लुम्बिनी प्रदेशमा तिहारको लागि फूल उत्पादन बढेको छ, जसले गर्दा गत वर्षको तुलनामा उत्पादन बढेको छ।
- प्रदेशमा सयपत्री र मखमली फूलको उत्पादन बढेको छ, र यस वर्ष १२ करोड ९५ लाख ७० हजार रुपैयाँको कारोबार हुने अनुमान छ।
- बुटवल उपमहानगरपालिकाले प्लास्टिकको फूल बिक्री वितरण तथा प्रयोग नगर्न आग्रह गरेको छ, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै।
बुटवल । तिहार र फूल एकअर्काका पर्याय नै हुन् भन्दा हुन्छ । तिहारकै लागि लक्षित गरेर फूल उत्पादन पनि गर्ने गरिन्छ । तर मौसम लगायत विभिन्न कारणले फूल पर्याप्त नहुन सक्छ र आयात गर्नुपर्ने अवस्था आउँछ ।
लुम्बिनी प्रदेशमा फूलको उत्पादन वृद्धि भएको छ । गत वर्षको तुलनामा तिहारमा प्रयोग हुने सयपत्री र मखमली फूलको उत्पादन बढेको लुम्बिनी प्रदेश कृषि निर्देशनालय, बुटवलले जनाएको छ ।
लुम्बिनी प्रदेशमा गत वर्ष ३ लाख ८ हजार ५ सय किलो सयपत्री फूल उत्पादन भएकोमा यस वर्ष ३ लाख २३ हजार ९२५ किलो उत्पादन भएको छ । यस्तै तिहारमा प्रयोग हुने मखमली फूल पनि गत वर्षको तुलनामा बढेको छ । गत वर्ष २४ हजार ४९५ माला उत्पादन भएकोमा यो वर्ष २६ हजार माला उत्पादन भएको निर्देशनालयले जनाएको छ ।
लुम्बिनी प्रदेश कृषि निर्देशनालयका बागवानी विकास निर्देशक सन्देश धितालले गत वर्षभन्दा यस वर्ष किसानहरूले तिहारमा लगाउने फूल खेतीको क्षेत्रफल पनि विस्तार गरेको रातोपाटीलाई बताए ।
उनका अनुसार गत वर्ष सयपत्री फूल २५.७२ हेक्टरमा लगाइएकोमा अहिले २७.०१ हेक्टर पुगेको छ । यस्तै मखमली फूल गत वर्ष शून्य दशमलव ३३ हेक्टर रहेकोमा अहिले शून्य दशमलव ३५ हेक्टर भएको निर्देशनालयले जनाएको छ ।
गत वर्ष तिहारमा लुम्बिनी प्रदेशमा सयपत्री फूल १२ करोड ३४ लाख रुपैयाँको बिक्री भएकोमा यस वर्ष १२ करोड ९५ लाख ७० हजार रुपैयाँको कारोबार हुने अनुमान कृषि निर्देशनालयले गरेको छ । मखमली फूलको गत वर्ष ८ लाख ५७ हजार रुपैयाँको उत्पादन भएकोमा अहिले १० लाख ४० हजार रुपैयाँ बराबरको उत्पादन भएको अनुमान गरिएको छ ।
किसान पनि उत्साहित
बुटवल उपमहानगरपालिका–१५, चम्कीपुरमा रहेको फोकस मल्टी एग्रो कन्सर्न एण्ड रिसर्च सेन्टरले अहिले १० कट्ठामा फूल खेती गरेको छ । गत वर्ष ८ कट्ठामा खेती गरेका राजेशले यस वर्ष तिहारको फूलबाट राम्रो आम्दानी हुने भएकाले क्षेत्रफल बढाएको छ ।

अहिले यहाँ ७ हजारभन्दा धेरै माला उत्पादन हुने आकलन गरिएको छ । विगतका वर्षहरूभन्दा अहिले मौसम पनि राम्रो भएकाले फूलको उत्पादनमा वृद्धि भएको हो ।
बुटवल उपमहानगरपालिकाभित्र तिहार लक्षित फूल उत्पादन गर्ने व्यावसायिक कृषि फर्महरूले कात्तिक २ गतेबाट बुटवलको ट्राफिक चोकमा फूल र माला बिक्री गर्ने स्टल राख्नेछन् । अहिले पनि १४ जना स्थानीय महिलालाई फूल टिप्न र माला बनाउन रोजगारी दिइएको छ ।
सेन्टरले काठमाडौँ, विराटनगर र वीरगन्जबाट होलसेलरले फोन गरे पनि अन्यत्र नदिई बुटवलमै बजार बिक्री गर्ने योजना बनाएको छ । बुटवलमा तिहारका लागि कम्तीमा ६० हजार माला आवश्यक पर्ने भएकाले आफ्नो फार्मले उत्पादन गरेको माला र फूल बुटवलमै सहज रूपमा खपत हुने सेन्टरको विश्वास छ ।
पाल्पाको माथागढी गाउँपालिका-२ का किसान दामोदर घर्तीले व्यावसायिक रूपमा फूल खेती गर्न थालेको पाँच वर्ष भयो । उनले अहिले तीन रोपनीमा तिहारका लागि फूल खेती गरेका छन् । स्थानीय कामदार लगाएर अहिले आफ्नो फार्ममा फुलेका फूलहरू धमाधम पाल्पा र बुटवलका कोल्ड स्टोरमा पठाउन सुरु गरेको उनले बताए ।
घर्ती तिहारमा मात्रै नभएर अन्य बेला पनि फूल उत्पादन गर्छन् । फूल खेतीबाट सन्तुष्ट उनले स्थानीय तह माथागढी गाउँपालिकाबाट फूलको बिउमा ७५ देखि ८० प्रतिशतसम्म अनुदान पाइने गरेको बताए । यस्तै, बुटवलका राजेश कुँवरले पनि फूल बिक्रीका लागि नगरपालिकाले ट्राफिक चोकमा स्टल निःशुल्क उपलब्ध गराएका छन् ।
प्रवर्द्धनमा सरकारको पनि सहयोग
लुम्बिनी प्रदेश कृषि निर्देशनालयका बागवानी विकास निर्देशक सन्देश धितालले पछिल्ला वर्षहरूमा लुम्बिनी प्रदेशमा व्यावसायिक रूपमा फूल उत्पादन गर्ने किसानहरू बढ्न थालेपछि उनीहरूलाई तालिम दिने कार्य भइरहेको बताए ।
उनले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नका लागि जिल्लाबाट आवश्यकताका आधारमा विभिन्न काम भइरहेको खुलासा गरे ।
खासगरी भारतबाट आयात गरिने प्लास्टिकका माला प्रयोग गर्दा वातावरणमा असर पर्ने र स्थानीय किसानहरूलाई प्रवर्द्धन गर्न लुम्बिनी प्रदेशका केही स्थानीय तहले अहिले तिहारमा सूचना नै जारी गरेका छन् ।

बुटवल उपमहानगरपालिकाले तिहार तथा छठ पर्वमा प्लास्टिकको फूल बिक्री वितरण तथा प्रयोग नगर्न आग्रह गरेको छ । उपमहानगरपालिकाले सूचना जारी गर्दै स्थानीय फूल उत्पादनलाई प्रोत्साहित गर्न उपमहानगर क्षेत्रभित्र प्लास्टिकको फूल बिक्री, वितरण तथा प्रयोग नगर्न आग्रह गरेको हो ।
मेयर खेलराज पाण्डेयले जारी गरेको सूचनामा स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको प्रवर्द्धन गर्नु सबैको दायित्व भएको उल्लेख छ । उपमहानगरपालिकाले प्लास्टिकको फूलको प्रयोगले वातावरणमा क्षति हुने र माटोमा नकुहिने भएकाले वातावरणीय सौन्दर्यमा समेत नकारात्मक असर पर्ने भएकाले स्वदेशी फूलको मात्र प्रयोग गर्न आग्रह गरेको छ ।
कपिलवस्तुको शिवराज नगरपालिकाले पनि स्थानीय फूलको प्रयोग गर्न आग्रह गरेको छ । नगरपालिकाले सूचना जारी गर्दै स्वदेशी फूलको प्रयोग गर्न र प्लास्टिकका फूलहरू रोक्न आग्रह गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण