बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
जेनजी अभियन्ता शिव यादवसँग वार्ता

‘संघीयता र गणतन्त्रलाई समृद्ध बनाउन नै जेनजी आन्दोलन भएको हो’

बिहीबार, ३० असोज २०८२, १२ : ००
बिहीबार, ३० असोज २०८२

सारांश

  • शिव यादव जेनजी पुस्ताको आन्दोलनमा सक्रिय रहेको र सिरहा क्षेत्र नं २ बाट चुनाव लडेको कुरा उल्लेख छ।
  • जेनजी आन्दोलनको मुख्य मुद्दा भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्नु रहेको र यसले संघीयतालाई बलियो बनाउने कुरा बताइएको छ।
  • यादवले मधेसका मुद्दाहरूलाई सम्बोधन गर्ने र विभेद कम गर्नेमा जोड दिँदै, जेनजी आन्दोलनले समावेशितालाई बढावा दिने बताए।

काठमाडौँ । शिव यादव भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनमा सक्रिय भएर लागेका अभियन्ता हुन् । तराई-मधेसदेखि काठमाडौँसम्म विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका यादव २०७९ सालको चुनावमा सिरहा क्षेत्र नम्बर २ बाट लौरो चुनाव चिह्न लिएर उठेका थिए ।

यादव हाल जेनजीको सुदन गुरुङ समूहबाट मधेस इन्चार्जको भूमिकामा छन् । जेनजी आन्दोलनका मुद्दा कसरी सम्बोधन हुन्छन् ? यो आन्दोलनपछि संघीयता र गणतन्त्र थप कसरी मजबुत हुन्छ ? तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन पुराना राजनीतिक दलहरूलाई विश्वासमा लिने वातावरण कसरी बन्छ ? लगायत विषयमा यादवसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश :    

  • खासमा जेनजी आन्दोलनको मुख्य मुद्दा के-के हुन् ?

जेनजी आन्दोलनको मुख्य मुद्दा भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने हो । भ्रष्टाचार समाप्त गरेर सुशासन कायम भयो भने लोकतन्त्र र संघीयता आफैँ बलियो र समृद्ध हुन्छ । तर केही व्यक्ति र स्वार्थ समूहले यसलाई ओझेलमा पार्न खोजिरहेका छन् । देशमा व्याप्त भ्रष्टाचार र कुशासनविरुद्ध हामी सडकमा आएका हौँ ।

गाउँदेखि सिंहदरबारसम्म भ्रष्टाचारको चाङ छ, कारबाही प्रक्रियामा ढिलासुस्ती छ र अन्तर्राष्ट्रिय सूचीमा नेपालको अवस्था कमजोर छ । त्यसैले यो आन्दोलन देशलाई आर्थिक रूपमा कमजोर बनाउने भ्रष्टाचारलाई समाप्त गरी गरी सुशासन कायम गर्न केन्द्रित हो ।

  • केही आलोचकहरूले जेनजी आन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई खतरामा पारेको र यसलाई समाप्त पार्ने लक्ष्य राखेको आरोप लगाएका छन् । यसको खण्डन कसरी गर्नुहुन्छ ?

यो लोकतान्त्रिक प्रक्रियामा आफ्नो–आफ्नो विचार बोक्न पाइन्छ । यसअघि पनि संघीयता चाहिँदैन भन्ने समूह थियो र आज पनि छ, त्यसैले डराउनुपर्ने अवस्था छैन । हामीले जेनजी आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने, समावेशितालाई कमजोर पार्ने र मधेस विद्रोहदेखि अहिलेसम्मका उपलब्धिहरूलाई कमजोर पार्ने कुनै पनि गतिविधि अगाडि बढाएका छैनौँ ।

आन्दोलन एक तहमा सफल भइसकेपछि विभिन्न स्वार्थ समूहहरूले यो आन्दोलनको नेतृत्व मैले गरेको हुँ वा यो आन्दोलनको मुद्दा यो थियो भनेर स्थापित गर्न प्रयास गरिरहेका छन्, विभिन्न किसिमले भ्रम छर्ने काम गरिरहेका छन् । तर हामीले सफल हुन दिँदैनौँ ।

यो आन्दोलन सुशासनको लागि, भ्रष्टाचारविरुद्ध, लोकतन्त्रलाई थप बलियो बनाउनको लागि र समावेशितालाई थप बलियो बनाउनको लागि भएको हो । तर केही स्वार्थ समूहले विभिन्न बहानामा यसलाई बदनाम गराउने प्रयास गरिरहेका छन् । जेनजी पुस्ता संघीयता, लोकतन्त्र र गणतन्त्रप्रति प्रतिबद्ध र यसलाई अझ समृद्ध र बलियो बनाउने सङ्घर्ष गरिरहेको छ ।

  • तर जेनजी समूहकै केही नेताहरूबाट प्रदेश खारेज गर्नुपर्छ, संघीयता खारेज गर्नुपर्छ वा अन्य प्रणाली ल्याउनुपर्छ भन्ने कुरा उठेको सुनिन्छ । यसमा तपाईंको भनाइ के छ ?

जतिबेला आन्दोलन भयो, त्यतिबेला सबैको एउटै आवाज थियो- भ्रष्टाचारको विरोध गर्ने र सुशासन कायम गर्ने । तर आन्दोलन एक तहमा सफल भइसकेपछि विभिन्न स्वार्थ समूहहरूले यो आन्दोलनको नेतृत्व मैले गरेको हुँ वा यो आन्दोलनको मुद्दा यो थियो भनेर स्थापित गर्न प्रयास गरिरहेका छन्, विभिन्न किसिमले भ्रम छर्ने काम गरिरहेका छन् । तर हामीले सफल हुन दिँदैनौँ ।

विभिन्न समूहहरू पहिला पनि गणतन्त्रको विरुद्धमा, संघीयताको विरुद्धमा, प्रदेशको विरुद्धमा थिए र अहिले पनि छन् । तर यो जेनजी आन्दोलनबाट यदि म प्रदेश खारेज गर्छु, संघीयतामाथि प्रश्न उठाउँछु, लोकतन्त्रमाथि प्रश्न उठाउँछु भन्यो भने त्यो कदापि हुँदैन । हामी यही लोकतन्त्रलाई गाउँ तहसम्म पुर्‍याउने, जनतासम्म पुर्‍याउने र थप प्रगतिशील कसरी बनाउने भन्नेमा काम गरिरहेका छौँ ।

पुराना उपलब्धिलाई ओझेलमा पार्न होइन । हामी प्रगतिशील बाटोमा अगाडि बढ्ने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउने, लोकतन्त्रलाई थप बलियो बनाउने, समावेशितालाई थप बलियो बनाउने कुरामा स्पष्ट छौँ ।
  • मधेस विद्रोहका आफ्नै स्थापित मुद्दाहरू थिए । के हालको जेनजी आन्दोलनले ती मुद्दालाई ओझेल पारिदिएको हो ?

त्यस्तो कदापि हुन सक्दैन । मधेस आन्दोलन वा विद्रोहले पिछडिएका समुदायको अधिकार दिलाएको छ, संघीयता र गणतन्त्रलाई स्थापित गरेको छ । त्यसैले त्यसको मुद्दा र एजेन्डालाई कसैले ओझेलमा पार्न सक्दैन । विगतका उपलब्धिहरू जस्तै मधेस आन्दोलन होस्, आदिवासीको आन्दोलन होस्, थारु, मुस्लिमहरूको आन्दोलन होस् या अरु पनि जनविद्रोहहरू हुन्, त्यसबाट प्राप्त उपलब्धिलाई संस्थागत र संरक्षण गर्दै थप उपलब्धिका लागि यो जेनजी आन्दोलन भएको हो ।

पुराना उपलब्धिलाई ओझेलमा पार्न होइन । हामी प्रगतिशील बाटोमा अगाडि बढ्ने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउने, लोकतन्त्रलाई थप बलियो बनाउने, समावेशितालाई थप बलियो बनाउने कुरामा स्पष्ट छौँ ।

  • मधेसबाटै पनि जेनजी आन्दोलनप्रति विभिन्न आशङ्काहरू भइरहेका छन्, जसमा मूल आन्दोलनका पार्टी नेताहरू पनि समावेश छन् । तपाईं ती दल र समूहलाई कसरी विश्वस्त बनाउनुहुन्छ ?

जेनजी आन्दोलन त्यस्तो टाइपको मुद्दा बोकेको छैन । मधेस केन्द्रित दलहरू विगत लामो समयदेखि सङ्घर्ष गरिरहेका छन्, त्यसबाट उपलब्धिहरू प्राप्त पनि भएका छन्, यसमा मधेसवादी दलहरूको योगदान छ । यो उपलब्धिका लागि थुप्रैले बलिदानी दिएका छन् । यस अवस्थामा कुनै ठाउँबाट ती उपलब्धिको विरुद्धमा कुरा उठ्छन् भने चिन्ता लाग्ने स्वाभाविक हो । तर हामी के भन्न चाहन्छौँ भने यो जेनजी आन्दोलनबाट जुन युवा उदाइरहेका छन्, स्पष्ट विचार भएका युवा आइरहेका छन्, उनीहरूसँग सहकार्य गरेर यदि ती दलहरू अगाडि बढे भने थप उपलब्धि प्राप्त गर्न सकिन्छ । त्यसका लागि ती पार्टीले युवापुस्तालाई अगाडि बढाउनुपर्छ पुरानो शैलीले सहकार्य हुँदैन ।

  • अहिले विभिन्न मञ्चहरूबाट जेनजी आन्दोलन अर्कै दिशामा जान्छ कि क्या हो भन्ने कुराहरू आइरहेका छन्, तपाईंलाई पनि कहिलेकाहीँ चिन्ता लाग्दैन ?

अहिले मात्रै होइन, योभन्दा अगाडि पनि यस्ता कुरा आउँथे । यो लोकतान्त्रिक गणतन्त्रमा हरेक विचार बोक्ने समूहहरू छन् । कसैलाई बोल्न र गतिविधि गर्न रोक लगाउन सकिँदैन । पश्चगामी विचार भएको मुद्दा पनि उठाउन पाउँछ, प्रगतिशील विचार भएको मुद्दा पनि उठाउन पाउँछ, संघीयतालाई विरोध गर्न पनि पाउँछ, संघीयतालाई थप बलियो बनाउँछु भन्ने पनि विचार व्यक्त गर्न पनि पाउँछ । तर यो जेनजी आन्दोलनमा हामीले प्रगतिशील बाटोमा जाने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप संरक्षण गर्ने, संघीयतालाई थप बलियो बनाउने बाटोमा हामी हौँ । अब स्वार्थ समूहले मुद्दा उठाउने, मिडियाहरूले त्यसको कभरेज गर्ने कुरा एउटा छुट्टै छ, तर जेनजी आन्दोलनकारीहरू यसप्रति सचेत छन् ।

लामो समयदेखि विभिन्न किसिमका भ्रष्टाचारका मुद्दाहरूमा मुछिएका दलका नेताहरू छन्, कार्यकर्ताहरू छन्, कर्मचारी संगठनमा पनि उच्च तहका कर्मचारीलाई पक्राउ गर्न हाम्रो निरन्तर दबाब रहन्छ ।
  • जेनजी आन्दोलनको एउटा मुद्दा केही नेतालाई भ्रष्टाचारको आरोपमा चुनावभन्दा पहिला पक्राउ गर्ने भन्ने छ । यो रणनीति हो कि भ्रम फैलाएको कुरा हो ?

दलको नेतालाई पक्राउ गर्ने हाम्रो एजेन्डा छैन । हाम्रो एजेन्डा भनेको भ्रष्टाचारीलाई पक्राउ गर्ने हो । दलका नेताहरू यदि भ्रष्टाचारमा मुछिएका छन् भने त्यस्तो कुनै ठुलो किसिमको आर्थिक रूपमा हिनामिना, राज्यको कोषलाई दुरुपयोग गरेका छन् भने पक्राउ पर्नु स्वाभाविक हो । त्यो चुनावअघि पनि हुनसक्छ पछि पनि हुनसक्छ । तर चुनावमै जान नदिन वा चुनावबाट बञ्चित गराउन हामी कुनै पनि दलको नेतालाई पक्राउ गर्दैनौँ । पक्राउ गर्न सरकारलाई दबाब दिँदैनौँ, सुझाव दिँदैनौँ ।

तर लामो समयदेखि विभिन्न किसिमका भ्रष्टाचारका मुद्दाहरूमा मुछिएका दलका नेताहरू छन्, कार्यकर्ताहरू छन्, कर्मचारी संगठनमा पनि उच्च तहका कर्मचारीलाई पक्राउ गर्न हाम्रो निरन्तर दबाब रहन्छ ।

भ्रष्टाचारीलाई छोड्नु हुँदैन, भ्रष्टाचारले गर्दा यो देश बर्बाद भएको हो, आर्थिक रूपमा कमजोर भएको हो भन्ने हाम्रो आन्दोलनको सार हो । हामीले के भनिरहेका छौँ भने कसैसँग राजनीतिक प्रतिशोध साँध्नका लागि हामी कुनै पनि नेतालाई पक्राउ गर्ने मुडमा छैनौँ । यो आन्दोलनको त्यो म्यान्डेट नै होइन ।

हामीले के भनिरहेका छौँ भने आर्थिक रूपमा चलखेल गरेको, भ्रष्टाचारमा मुछिएको, शंका उपशंका भइरहेको, सर्वोच्च अदालतदेखि लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग जति पनि ठाउँमा मुद्दाहरू दर्ता भएका छन्, कारबाही प्रक्रियाहरू अगाडि बढेको छ, हाइ लेभलका नेताहरूको, कार्यकर्ताहरूको । ती नेताहरूलाई चाहिँ पक्राउ गर्नुपर्छ भन्ने हाम्रो प्रमुख माग हो ।

  • मधेसमा उत्पीडन र पछाडि परेका समुदायको बाहुल्यता छ । त्यसैले मधेसमा पहिचान र एजेन्डाका आफ्नै विशिष्ट मुद्दा छन् । तपाईं जेनजीको एउटा समूहको मधेस इन्चार्ज हुनुहुन्छ, जेनजी पुस्ताले यी मुद्दाहरूलाई कसरी सम्बोधन गर्छ ?

एक हिसाबले हेर्नुहुन्छ भने यो आन्दोलन नै मधेसका मुद्दाहरूलाई थप बलियो बनाउनका लागि भएको जस्तो मलाई लाग्छ । किनभने अहिले मधेसको डेटा केलाउनुहुन्छ भने सबभन्दा विपन्न र गरिबी त्यहीँ पाउनुहुन्छ । अशिक्षा र बेरोजगारीको दर त्यहाँ धेरै छ । यो आन्दोलन त्यसकै लागि नै भएको हो नि ।

देशका निर्णायक ठाउँमा कुनै एक समुदाय बसेका छन् र जनतालाई शोषण गरिरहेका छन्, त्यो कुरा पनि जेनजी पुस्तालाई थाहा छ । त्यो निश्चित समुदायले आर्थिक रूपमा देशलाई कमजोर पारेको छ । आर्थिक रूपमा पारदर्शी छैन । जो प्रधानमन्त्री हुन्छ, जो मन्त्री हुन्छ, जो हाकिम हुन्छ, उसकै क्षेत्रमा, उसकै जिल्लामा बढी बजेट किन जान्छ, बजेटमा समावेशी किन छैन यो कुरा पनि जेनजी पुस्ताले उठाएको हो । त्यसैले मधेसको मुद्दासँग यो जेनजी आन्दोलनको एकदम बलियो सम्बन्ध छ । आर्थिकदेखि लिएर सामाजिक न्याय, पहिचानलगायत हरेक कुरामा हामी गम्भीर छौँ ।

  • आन्दोलनपछि तपाईंहरूले नै बनाएको अहिलेको सरकारप्रति त्यति विश्वास गर्न सकिरहेको अवस्था छैन । मधेसका जनताले या आदिवासी जनजातिले यो मेरो पनि सरकार हो भने अनुभूति गरिरहेको छैन भन्ने आवाज पनि उठ्न थालेको छ । यसमा के भन्नुहुन्छ ?

यस्तो छ, आदिवासी जनजाति, मधेसी, पिछडिएको र पछाडि परेको जुन समुदाय छ, उनीहरूलाई यो राज्यले लामो समयदेखि विभेदमा पारेको छ, पछाडि पारेको छ । अब त्यो तुरुन्तै अहिलेको अहिले समाधान हुँदैन, केही समय लाग्छ । सरकार नयाँ हो तर सबै संरचना र व्यक्ति उही पुरानै छन् ।

पुरानो सोच हटाउन केही समय लाग्छ । मधेस आन्दोलनपछि नै केही सहज चाहिँ भएको छ, केही मुद्दाहरू चाहिँ उठेको छ । तर यो जेनजी आन्दोलनले यसमा थप बल पुर्‍याएको छ । जसले थप सहजता ल्याउँछ, विभेदलाई कम गर्छ भन्ने कुरा विश्वास छ । उदाहरण हेर्नुस् न, जनजातिको छोरा सुदन गुरुङलाई कति बदनाम गराउने प्रयास भइरहेको छ । टासीको अवस्था त्यस्तै छ, बब्लु गुप्ताको बारेमा पनि कुराहरू उठाउन थालेका छन् । एउटा गुरुङको छोरा भएको कारणले उसलाई तिब्बती नागरिकको ट्याग लगाउन खोजिँदैछ । आज मधेसीको छोरा कोही मन्त्री हुन जाँदाखेरि नागरिकता खोज्छ । अनुहार हेरेर यो भारतीय हो भन्दिन्छन् ।

यो जेनजी सरकारमा नै भइरहेको छ । त्यो किन भइरहेको छ भने पुरानो ह्याङओभर अझै बाँकी छ । खाइपाई आएको कुरा त्यति चाँडो छाड्न गाह्रो हुन्छ । हरेक निर्णायक ठाउँमा समावेशिता छैन । समावेशी बनाउने हाम्रो प्रयास जारी छ । केही समय लाग्न सक्छ, तर समानुपातिक किसिमले समावेशी प्रणाली कायम हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप