प्रदेश सांसद सिंहको खातामा उपभोक्ता समितिलाई छुट्याइएको बजेटको कमिसन
सारांश
- जसपा नेपालका सांसद सरोजकुमार सिंहले निर्वाचन क्षेत्रको बजेटमा कमिसन खाएको आरोपमा मुद्दा दायर भएको छ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहसहित १६ जनाविरुद्ध मुद्दा दायर गर्दै ३८ लाख ५० हजार ३१९ रुपैयाँ कमिसन खाएको आरोप लगाएको छ।
- उपभोक्ता समिति बनाएर कमिसन लिएको र श्रीमतीको खातामा रकम जम्मा गरेको पाइएको छ।
काठमाडौँ । जसपा नेपालका नेता तथा मधेस प्रदेशका सांसद सरोजकुमार सिंहले आफ्नै निर्वाचन क्षेत्रमा आएको बजेटमा आफू अनुकूलको उपभोक्ता समिति बनाएर कमिसन बुझेको पाइएको छ । सांसद सिंहले ८ वटा उपभोक्ता समितिमार्फत कुल बजेटको २८ प्रतिशत कमिसन बुझेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले देखाएको छ ।
आयोगले बिहीबार मधेस प्रदेशका सांसद सिंहसहित विभिन्न उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । महोत्तरी जिल्लाको विभिन्न उपभोक्ता समितिमार्फत ८ योजनाका लागि १ करोड ३६ लाख २७ हजार ४८१ रुपैयाँ छुट्टाइएको थियो ।
कुल रकमको २८ प्रतिशत रकम सिंह र उनकी श्रीमतीको संयुक्त खातामा ३८ लाख ५० हजार ३१९ रुपैयाँ जम्मा भएको देखिन्छ । उपभोक्ता समितिहरुको नाममा साविकको लक्ष्मी बैंक (हाल लक्ष्मी सनराइज बैंक) मा रहेको खातामा जम्मा भएको कुल रकम १ करोड ३६ लाख २७ हजार ४८१ रुपैयाँमध्ये सिंह र श्रीमती सरिताकुमारी महतो सिंहको नाममा सोही बैंकमा रहेको संयुक्त खाता नं. १२९२०००७२२१ मा ३८ लाख ५० हजार ३०० रुपैयाँ अर्थात् औसतमा २८.२५ प्रतिशतको दरले कमिसन लिएको अख्तियारको अनुसन्धानमा देखिएको छ ।
अभियोगपत्र अनुसार स्थानीय उपभोक्ता समिति मार्फत हुने काममा विनियोजित बजेटबाट सञ्चालन भएका योजनाहरुको रकम उपभोक्ता समितिमार्फत कमिसनकको रुपमा घुस लिने गरेको अनुसन्धानबाट खुलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए ।
सांसद सिंहले निर्वाचन क्षेत्रमा आएको रकम आफ्नो निर्वाचन क्षेत्रमा पर्ने उपभोक्ता समिति आफू अनुकूल बनाएर कमिसन बुझेको पाइएको छ । सिंहले सुरुमा आफ्नो उपस्थिति र निर्देशनमा आफू अनुकूल पदाधिकारी चयन गरी उपभोक्ता समिति गठन गर्न स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई माइन्युट लेख्न लगाएको भेटिएको छ ।
उपभोक्ता समितिहरुको बैंक खाता खोल्ने क्रममा सांसद सिंहले स्वकीय सचिव कायस्थलाई निर्देशन दिई उपभोक्ता समितिका पदाधिकारीहरुलाई बैंकमा लगेर आफैंले लिखित तयार गरी खाता खोल्दा जम्मा गर्नुपर्ने १०० रुपैयाँ समेत आफैंले जम्मा गरेको भेटिएको छ । साथै, सिंहको निर्देशनमा कायस्थले पूर्वाधार विकास कार्यालयमा बुझाउनुपर्ने कागजात आफैंले तयार गरी भुक्तानी माग गरेको र सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९७ विपरीत उपभोक्ता समितिलाई योजनाहरुको काम नगराई आफैंले खटाएर पठाएको कामदार मार्फत काम गराएका थिए ।
सिंहको निर्देशनमा उनका स्वकीय सचिव कायस्थले रकम भुक्तानी लिने व्यक्ति र मिति समेत नलेखी उपभोक्ता समितिका अध्यक्ष/कोषाध्यक्षलाई खाली चेकमा दस्तखत गर्न लगाई सो चेक नियन्त्रणमा लिई उपभोक्ता समितिको खातामा रकम दाखिला भएपछि कायस्थले कमिसनवापतको रकम सांसद सिंह समेतको संयुक्त खातामा जम्मा गरेको पाइएको छ ।
प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत योजना निर्माणका लागि उपभोक्ता समितिहरुको खातामा कुल १ करोड ३६ लाख २७ हजार ४८१ रुपैयाँ जम्मा भएको रकममध्येबाट कायस्थले २८.२५ प्रतिशतले हुने रकम ३८ लाख ५० हजार ३१९ प्रतिवादी सरोजकुमार सिंह समेतको नाममा रहेको संयुक्त खातामा कमिसन वापत लिएको अख्तियारको अनुसन्धानमा खुलेको छ ।
सिंह र उनकी श्रीमतीको खातामा अधुरो कमलामाई मन्दिर र मालतमाई स्थानको कम्पाउन्डवाल निर्माण उपभोक्ता समितिबाट २ लाख १४ हजार ३ सय ५० रुपैयाँ कमिसन अर्थात् कुल बजेटको २२. ९९ प्रतिशत जम्मा भएको देखिन्छ । त्यस्तै धर्मशाला उपभोक्ता निर्माण समितिबाट कुल बजेटको १२.७२ प्रतिशत अर्थात् १ लाख ८५ हजार २ सय ६० रुपैयाँ कमिसन बुझेका छन् ।
देवी महारानी सौन्दर्यकरण निर्माण उपभोक्ता समितिसँग २ लाख ९७ हजार ७९४ रुपैयाँ, माईस्थान मन्दिरको सौन्दर्यकरण निर्माण उपभोक्ता समितिसँग १ लाख ५० हजार, धर्मशाला एवं रामनारायणको घर देखि रामवृक्षको गाछीसम्म निर्माण उपभोक्ता समितिसँग ६ लाख ५७ हजार, रधवा पिपल हुँदै अनहेरभाट स्थानसम्म सडक स्तरोन्नति निर्माण उपभोक्ता समितिसँग ३ लाख १ हजार ९१५ रुपैयाँ, कञ्चनियामाई मन्दिर सौन्दर्यकरण निर्माण उपभोक्ता समितिसँग १ लाख ५१ हजार ४ सय रुपैयाँ, रधवा पिपलदेखि सहसौलासम्म, अनेहरभाट स्थानदेखि जनता प्रावि हुँदै लक्ष्मीनियासम्म माटो ग्रेभल निर्माण उपभोक्ता समितिसँग कुल बजेटको ४० प्रतिशत अर्थात् १८ लाख ९१ हजार ९ सय रुपैयाँ कमिसन बैंक खातामा बु्झेको भेटिएको छ ।
- सिंह दम्पतीको खातामा पैसा राख्ने उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षविरुद्ध मुद्दा
धर्मशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष यमुनाप्रसाद महतो र कोषाध्यक्ष कौशिल्या देवीसँग १ लाख ८५ हजार २६० रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको छ । धर्मशाला एवं रामनारायणको घरदेखि रामवृक्षको गाछीसम्म निर्माण उपभोक्ता समितिको उपभोक्ता समितिको अध्यक्ष योगिन्दर महतो र कोषाध्यक्ष सुनयना कुमारीसँग ६ लाख ५७ हजार ७०० विगो मागदाबी गर्दै भ्रष्ट्राचार मुद्दा दायर भएको छ ।
त्यस्तै अधुरो कमलामाई मन्दिर र मालतमाईस्थानको कम्पाउण्ड वाल निर्माण उपभोक्ता समितिको अध्यक्ष रामनाथ सहनी र कोषाध्यक्ष स्वीकृति देवीसँग २ लाख १४ हजार ३५० रुपैयाँ बिगो कायम गरिएको छ । माईस्थान मन्दिरको सौन्दर्यकरण उपभोक्ता समितिका अध्यक्ष रामशरण खत्वे र कोषाध्यक्ष विभादेवी खत्वेसँग १ लाख ५० हजार बिगो माग गरिएको छ । यस्तै कञ्चनियामाई मन्दिर सौन्दर्यकरण निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेश मडर र कोषाध्यक्ष अमलेश कुमारीविरुद्ध १ लाख ५१ हजार ४ सय रुपैयाँ बिगो कायम गरिएको छ ।
देवी महारानी सौन्दर्यकरण निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपा राजदेवी राजपुत र कोषाध्यक्ष भिखारी राउत कुर्मीविरुद्ध २ लाख ९७ हजार ७९४ रुपैयाँ बिगो दाबी गरिएको छ । रधवा पिपलदेखि सहसौलासम्म र अनेरभाटदेखि जनता प्रावि हुँदै लक्ष्मीनियासम्म माटो ग्राभेल निर्माण उपभोक्ता समितिका अध्यक्ष भुपेन्द्रकुमार झासँग १८ लाख ९१ हजार ९ सय रुपैयाँ, उपभोक्ता समितिकी कोषाध्यक्ष मन्जुदेवी पासवानसँग २१ लाख ९३ हजार ८१५ रुपैयाँ बिगो कायम गरेर भ्रष्टाचार मुद्दा दायर भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण