तेस्रो दिनको एमाले बैठकमा पनि मागियो ओलीको राजीनामा
सारांश
- एमाले केन्द्रीय कमिटी बैठकमा उषाकिरण तिम्सिनाले अध्यक्ष ओलीलाई राजीनामा दिन सुझाव दिएकी छिन्।
- उनले पार्टीको पुनर्गठन र राजनीतिक गतिरोध अन्त्यका लागि ओलीले मार्ग प्रशस्त गर्नुपर्ने बताइन्।
- केन्द्रीय सदस्य अरविन्द सिंहले पनि ओलीको कार्यशैलीको आलोचना गर्दै पार्टीको भविष्यबारे चिन्ता व्यक्त गरे।
काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट राजीनामा दिन सुझाव दिएकी छन् । शुक्रबार अध्यक्ष ओलीको विशेष प्रतिवेदनमाथि धारणा राख्ने क्रममा तिम्सिनाले नेपाली राजनीतिको मुख्य कार्यभार दलहरूको पुनर्गठन भएको भन्दै त्यसका लागि एमालेको पनि पुनर्गठन महत्त्वपूर्ण भइसकेको बताएकी छन् ।
‘कांग्रेसमा त्यो सुरु भइसक्यो’, तिम्सिनाले बैठकमा भनिन्– ‘अब हाम्रो अध्यक्षले राजीनामा गरेर मुलुकको राजनीतिक गतिरोधको ढोका खोल्नुपर्छ ।’ उनले यही संरचना लिएर चुनाव वा आन्दोलनमा जानै नसकिने भन्दै अध्यक्ष ओलीले बिदा लिएर अभिभावक बन्ने बित्तिकै देशभर सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरिन् ।
१० बुँदामा आफ्नो धारणा राखेकी तिम्सिनाले जेनजी विद्रोह र त्यसमा भएको क्षतिको नैतिक जिम्मेवार तत्कालीन प्रधानमन्त्री ओलीकै हुनुपर्ने समेत बताएकी छन् । उनले विद्रोहसँग जोडेर षडयन्त्र देखे पनि त्यस्तो षडयन्त्रमा संलग्न कुन कुन वैदेशिक निकायहरू हुन् र नेकपा एमाले विरुद्ध लागेका हुन् भनेर किटान गर्ने र कुनै एम्बेसीका अधिकारीहरू बोलाएर कुरा गर्न सक्ने हिम्मत छ भनेर प्रश्न गरेकी छन् ।
उनले एमालेमा ओली अध्यक्ष भएको ११ वर्षमा भएका अभ्यासहरूले बाम आन्दोलन र सिङ्गो कम्युनिस्ट आन्दोलनलाई कता पुर्यायो ? भनेर प्रश्न समेत गरेकी छन् । उनले संसद्को पुनर्स्थापनामा नभई नयाँ निर्वाचनमा जानुपर्ने पार्टीको धारणा बन्नुपर्नेमा जोड दिएकी छन् । ‘हामी चुनावमा केन्द्रित हुन आवश्यक छ। तत्कालै नयाँ नयाँ नेतृत्वमा हामी चुनावमा गयौँ एमाले खरानी टकटक्याएर बौरनेछ’, तिम्सिनाको भनाइ छ ।
अर्का केन्द्रीय सदस्य अरविन्द सिंहले भदौ २२ मा सकिएको एमाले विधान महाधिवेशनले पारित गरेको अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन २४ घण्टा नबित्दै फेल भएको टिप्पणी गरेका छन् । विधान महाधिवेशनले अध्यक्ष ओलीको ‘जस्तोसुकै चुनौतीको सामना गर्ने रेजिलिएन्ट दृढ अवस्थामा हामी रहेको’ भन्ने राजनीतिक प्रतिवेदन पारित गरेको थियो ।
‘फेल भएको कार्यनीति बोकेर आगामी ५ वर्ष कसरी जाने होला ? हाम्रा विश्लेषणहरू वस्तुनिष्ठ हुने गरेका छैनन् । नेतृत्वले के सुन्न रुचाउँछन् त्यही मात्रै सुनाउने प्रवृत्तिले हामीलाई सच्याउँदैन । सक्किने बाटोमा लैजान्छ’, सिंहले भनेका छन् ।
उनले पार्टी सत्ता र राज्य सत्ता एमालेको हातमा भएको बेला भदौ २३ गते भएको नरसंहारको आरोपबाट सतही विश्लेषणका आधारमा आजीवन उन्मुक्ति नपाउने समेत बताएका छन् ।
वर्तमान अवस्थामा जनताको आक्रोश नेकपा एमालेमाथि भन्दा पनि पार्टी अध्यक्ष, उनका अभिव्यक्ति र उनलाई घेराबन्दीमा राखेर चलाउने समूहमाथि रहेकोले त्यो यथार्थलाई आत्मसात् गर्दै जिम्मेवारी हस्तान्तरण गरेर मार्ग प्रशस्त गर्नु नै पार्टीको भविष्य बचाउने एक मात्रै उपाय भएको सिंहको भनाइ छ ।
‘युवा विद्यार्थी र आम जनता स्वतस्फूर्तरुपमा सरकारका विरुद्धमा सडकमा आउनु के प्रतिक्रान्ति हो ? कुशासन र भ्रष्टाचारको विरुद्ध गरिने सडक सङ्घर्षहरूका कारण सत्ताच्युत हुने कुरालाई प्रतिगमन भन्न मिल्छ ?’, नेतृत्वलाई प्रश्न गर्दै उनले भनेका छन्, ‘यसमा अझै वस्तुनिष्ठ ढंगले विश्लेषण गर्न जरुरी छ ।’
उनले दुई दुई पटक हामी आफैँले संसद् विघटन गरेकोले संसद् पुनर्स्थापनाको माग लिएर आन्दोलनमा जाँदा जनताका बिच घृणा र हाँसोको पात्र मात्रै हुने भन्दै चुनाव बहिष्कार गर्ने नीति अर्को भिडन्त निम्त्याउने योजना भएको बताएका छन् । विद्या भण्डारीको सदस्यता नवीकरण गरी पार्टी काममा फर्किने वातावरण बनाउन सिंहले माग समेत गरेका छन् ।
बैठकमा पहिलो र दोश्रो दिन पनि नेताहरुले अध्यक्ष ओलीको राजीनामा मागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण