सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

एमालेमा ‘इन्ट्री र एक्जिट’ बहस : १ व्यक्ति २ कार्यकाल प्रधानमन्त्री

शुक्रबार, ३१ असोज २०८२, १२ : १६
शुक्रबार, ३१ असोज २०८२

सारांश

  • एमाले केन्द्रीय सदस्य नीरज आचार्यले पार्टी कमिटीमा नेताहरूको 'इन्ट्री र एक्जिट' व्यवस्थाको माग गरेका छन्।
  • उनले युवा सहभागिता बढाउन उमेर समूह अनुसार पार्टी कमिटीमा प्रतिशत निर्धारण गर्नुपर्ने धारणा राखेका छन्।
  • आचार्यले भदौ २३ र २४ गतेका घटनाहरूको निष्पक्ष छानबिनको लागि उच्चस्तरीय आयोग गठनको माग गरेका छन्।

काठमाडौँ । नेकपा एमालेको कुनैपनि कमिटीमा नेताहरूको ‘इन्ट्री र एक्जिट’को व्यवस्था गर्नुपर्ने माग उठेको छ । ललितपुरमा जारी केन्द्रीय कमिटीको १० औँ बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य नीरज आचार्यले सांगठानिक संरचनामा यस्तो व्यवस्था गर्न माग गरेका हुन् ।

साथै उनले कमिटी प्रणालीमा युवा सहभागिता बढाउन ४० वर्ष मुनिका युवालाई पार्टी कमिटीमा समावेश गर्न टोल/बुथ कमिटीमा ५०, वडा कमिटीमा ४०, पालिका कमिटीमा ३०, प्रदेश कमिटीमा २० र केन्द्रीय कमिटीमा १० प्रतिशतले सहभागी गराउनुपर्ने धारणा राखेका छन् ।

‘यसले पार्टीको निर्णय प्रक्रियामा युवा सहभागिताको सुनिश्चितता र सङ्गठनात्मक संरचनामा अर्थपूर्ण सहभागिता हुन्छ’, बैठकमा बोल्दै आचार्यले भनेका छन्,  ‘उमेर समूहका हिसाबले मात्र भन्नु पर्दा तीन उमेर समूह १८ देखि २८ को उमेर समूहबाट १० प्रतिशत, २८ देखि ४८ को उमेर समूहबाट ५० प्रतिशत र ४८ माथिको उमेर समूहबाट ४० प्रतिशत कमिटी प्रणालीमा सहभागिता गराउनु पर्दछ ।’

केन्द्रीय सदस्य आचार्यले अन्य देशका ठुलो सङ्गठनात्मक संरचना भएका पार्टीहरूको उदाहरण पेस गर्दै छिमेकी देश चिनियाँ कम्युनिस्ट पार्टी र भारतको बिजेपीको संगठन संरचनामा पनि कार्यकर्ताका ‘इन्ट्री र एक्जिट’ को अभ्यास भइरहेको बताएका हुन् ।

‘हामीले अवलम्बन गरेको सङ्गठनात्मक संरचना भित्र ईन्ट्रिको राम्रो प्रबन्ध गरेका छौँ तर एक्जिटको व्यवस्था नहुँदा अन्योल जस्तो देखिन्छ’, उनले भनेका छन्, ‘सधैँ नयाँ पुस्ताले प्रश्न गरिरहन्छ के पार्टीमा लागेका सबै कार्यकर्ता आजीवन पदमा बसिरहन मिल्छ ? भन्ने प्रश्नहरू नयाँ पुस्ताले गरिरहन्छ ।’

उनले इन्ट्री र एक्जिटको व्यवस्थासहित एक व्यक्ति दुई कार्यकालमात्र प्रधानमन्त्री हुन पाउने व्यवस्था पनि राख्नुपर्ने अवधारणा अघि सारेका छन् ।

‘विशिष्ट अवस्था बाहेक एक जना व्यक्ति दुई कार्यकाल मात्र प्रधानमन्त्री हुन पाउने, दुई पटकमात्र मन्त्री हुन पाउने, चार पटक सांसद उम्मेदवार हुन पाउने, दुई पटक पालिका प्रमुख,उपप्रमुख वा वडाध्यक्षको उम्मेदवार हुन पाउने व्यवस्था गर्ने’, आचार्यको प्रस्ताव छ ।

त्यस्तै राष्ट्रपति,उपराष्ट्रपति,सभामुख,उप सभामुख,राष्ट्रिय सभाको अध्यक्ष,उपाध्यक्ष, प्रदेश प्रमुख, राजदूत भइसकेका व्यक्तिहरू पार्टीको कार्यकारी भूमिकामा नफर्कने व्यवस्था विधानमै गर्नुपर्ने पनि बताएका छन् ।

त्यस्तै उनले पार्टीका पदाधिकारी सहित केन्द्रीय कमिटीका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने धारणा राखेका छन् ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रस्तावमा आफ्नो लिखित धारणा राखेका आचार्यले जेन–जेड पुस्ताले सुशासन, भ्रष्टाचारको अन्त्य, सामाजिक न्याय र सामाजिक सञ्जालको प्रयोग लगायतका मुद्दामा केन्द्रित भएर सञ्चालन गर्न खोजेको शान्तिपूर्ण आन्दोलन हाइज्याक भएको टिप्पणी गरेका छन् ।

‘भदौ २३ गते बानेश्वरमा अबोध युवाहरूको हत्या, भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, संसद् भवन, होटल, उद्योगहरू र अधिकांश नेताहरूका घरहरूमा आगजनी, तोडफोड र लुटपाटको देशभर महासङ्ग्राम भयो, जहाँ राज्यको कन्तबिजोग प्रस्ट देखियो ।’

उनले जेनजी आन्दोलन एकपछि अर्को हाइज्याक हुँदा राष्ट्र र सङ्घीय लोकतान्त्रिक व्यवस्थाविरुद्धमात्रै प्रयोग नभएर परराष्ट्र नीति समेत खारेज हुने अवस्थामा पुगेको बताए ।

उनले भदौ २३ र २४ गतेका हत्या र लुटपाटका घटनाको निष्पक्ष र न्यायिक छानबिनका लागि उच्चस्तरीय आयोग गठन हुनुपर्नेमा जोड दिँदै राष्ट्रियता, लोकतन्त्र र  शान्तिका लागि देशभक्त, बाम पन्थी र लोकतान्त्रिक शक्तिहरूले साझा एजेन्डासहित आन्दोलनको घोषणा गर्नुपर्ने धारणा राखेका छन् । ‘यसको पहल र नेतृत्व नेकपा (एमाले) ले लिनुपर्दछ’, आचार्यको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप