सालको पातले उद्यमी बनेकी सरिता, वार्षिक १५ लाख रुपैयाँसम्मको कारोबार
सारांश
- धनगढीकी सरिता बुढामगरले ढुङ्गा फुटाउने मजदुरबाट दुना टपरी उद्योग सञ्चालन गरी सफलता हासिल गरिन्।
- उनले सुरुमा ५० हजारबाट उद्योग सुरु गरिन् र हाल १५ लाख लगानी पुर्याएकी छिन्, जसले ५०-६० महिलालाई रोजगारी दिएको छ।
- प्लास्टिकका भाँडाको विकल्प बनेको उनको उद्योगका उत्पादनले वार्षिक १५ लाखको कारोबार गर्छ, र उनले अन्य महिलालाई पनि उद्यमी बन्न प्रेरित गरेकी छिन्।
धनगढी । धनगढीको फूलबारीस्थित ‘न्यू फूलबारी दुना टपरी उद्योग’भित्र पस्दा मेसिनको आवाजसँगै सालको पातको मिठो बास्ना आउँछ । चार वटा मेसिन निरन्तर चलिरहेका छन् । ती मेसिनले सुकेका पातलाई सुन्दर आकार दिइरहेका छन् । कतै पातका लाफाका अग्ला चाङ छन्, कतै तयारी दुना–टपरीका लहर ।
यही उद्योगको सञ्चालक हुन् सरिता बुढामगर । उनको अनुहारमा सन्तुष्टि देखिनुको पछाडि २२ वर्ष लामो सङ्घर्ष लुकेको छ । उनी ढुंगा फुटाउने मजदुरबाट सफल उद्यमी बनेकी एक साहसी महिला हुन् । सरिताले आफ्नो भाग्यमात्र बदलिनन्, सुदूरपश्चिममा केही गर्न चाहने महिलालाई साहस, आशा जगाएकी छन् ।
नवलपरासीको एक विपन्न परिवारमा जन्मेकी सरिताको बाल्यकाल अभाव र सङ्घर्षमै बित्यो । सानै उमेरमा कापी–कलम किन्नका लागि समेत उनी अरूको भर पर्दैनथिन् ।
‘म सानै थिएँ । मलाई थाहा थियो– आफ्नो रहर पूरा गर्न आफैँले केही गर्नुपर्छ,’ सरिताले भनिन्, ‘आमासँग जङ्गल जाँदा अरुले दाउरा खोज्थे, म सालका पात जम्मा गर्थें । त्यसलाई बेचेर आएको पैसाले कापी, कलम, साबुन, सेम्पु किन्थेँ ।’
पातसँग सरिताको साइनो बाल्यकालमै गाँसिएको थियो । त्यो उनको पहिलो व्यवसाय थियो ।

१९ वर्षको उमेरमा चिनजानकै एक युवकसँग उनको बिहे भयो । भारतमा घर र जागिर भएको केटो भनेर विवाह गरेकी उनी विवाहपछि श्रीमानसँगै भारतको गढवाल पुगिन् । त्यहाँ उनले सोचेभन्दा फरक परिस्थिति सामना गर्नुप¥यो । उनको श्रीमानको न घर थियो, न त सम्पत्ति । श्रीमान क्रसर उद्योगमा काम गर्थे । उनीहरू भाडाको साँघुरो कोठामा बस्थे ।
‘नयाँ बेहुली भएर गएकी, केही दिन त घरकै काम गरेँ, तर एक जनाको कमाइले खान–लाउनै धौधौ भयो,’ सरिताले भनिन्, ‘एकको कमाइ त बच्छ भन्ने लागेर म पनि श्रीमानसँगै क्रसरमा काम गर्न थालेँ ।’
त्यसपछिका दिन निकै कहालीलाग्दा थिए । गढवालको चमोली जिल्लाको धुलो र धुवाँमा उनले २२ वर्षसम्म ढुङ्गा फुटाइन्, गिट्टी बोकिन्, बालुवा चालिन् । दिनभरको थकानपछि कोठामा फर्किंदा शरीर चुर हुन्थ्यो । छोरीहरूको अनुहार हेरेर उनी सबै पीडा भुल्थिन् । दुई छोरी जन्मेपछि जिम्मेवारीको भारी झनै थपियो । भारतको महँगीमा परिवार पाल्न र छोरीहरूलाई पढाउन मुस्किल हुँदै गयो ।
‘हामीले २२ वर्ष भारतमा बितायौँ । जति दुःख गरे पनि हात लाग्यो शून्य,’ सरिताले भनिन्, ‘आफ्नै रगत–पसिना बगाएर पनि अर्काको देशमा सधैँ पराई भइने रहेछ । अब आफ्नै देशमा केही गर्नुपर्छ भनेर हामी १० वर्षअघि नेपाल फर्कियौँ ।’
नेपाल फर्केर धनगढी–१४, फूलबारीमा जेठाजुको घरमा आश्रय लिएको सरिताले बताइन् । आफ्नो जमिन थिएन, खेती गर्ने उपाय भएन । गुजारा चलाउन सरिताले चटपटेको पसल थापिन् । त्यसबाट घरखर्च चलाउन सकस भयो । आर्थिक अभावले उनलाई चारैतिरबाट घेरेको थियो ।
एकदिन उनी जङ्गलमा च्याउ खोज्न गएकी थिइन् । त्यहीँ उनले जताततै सालका पात देखिन् । पात देख्नेबित्तिकै उनको मनमा बाल्यकालको याद आयो ।
‘मलाई झलझली आमासँग जङ्गल गएको, पात टिपेर बेचेको याद आयो,’ सरिताले भनिन्, ‘त्यहीबेला मेरो दिमागमा बिजुली चम्कियो– मैले फेरि पातबाटै पैसा कमाउन सक्छु । यो त मेरो पुरानो सिप हो ।’
त्यही सोचले उनको जीवनमा नयाँ बिहानी ल्यायो । उनले दुना–टपरी उद्योग खोल्ने सपना देखिन् । सपना पूरा गर्न पैसा थिएन । सुरुमा उनले ५० हजार रुपैयाँबाट काम सुरु गर्ने आँट गरिन् । सुरुमा त हातले नै दुना, टपरी बनाएर विक्री गरिन् ।
२०७४ सालमा सरिताले तीन जना साथीसँग मिलेर साझेदारीमा ‘न्यू फूलबारी दुना टपरी उद्योग’ सञ्चालन गरिन् । पछि साझेदारीवाला काम अर्को साथीलाई जिम्मा दिइन् । आफूले एक्लै उद्योगलाई चलाइन् ।
सुरुवातमा मेसिन किन्ने पैसा नहुँदा सरिताले सहकारीबाट डेढ लाख रुपैयाँ ऋण लिइन् । ‘सुरुमा त कसैले पत्याउँदैनथे । पात बेचेर के होला र भन्थे,’ हाँस्दै सरिताले भनिन्, ‘मलाई आफ्नो काममा विश्वास थियो । सुरुमा २०० रुपैयाँको दुना–टपरी बेच्न हप्ता दिन लाग्थ्यो । ग्राहक खोज्दै पसल–पसल चहार्थें ।’
सात वर्षपछि आज सरिताको त्यही सानो उद्योगले ठुलो रूप लिएको छ । उनको लगानी १५ लाख नाघेको छ । चार वटा मेसिन छन् र आफ्नै भवन निर्माण गरेकी छन् । कुनै बेला भारतमा मजदुरी गर्ने उनका श्रीमान् अहिले उद्योगको काममा सघाउँछन् । उनको उद्योगले गाउँका ५०–६० जना महिलालाई रोजगारी दिएको छ । यी महिला नजिकैको जनकल्याण र भारताल सामुदायिक वनबाट पात टिपेर ल्याउँछन् । घरमै सुकाएर सिन्काले जोडेर लाफा बनाउँछन् र सरितालाई बेच्छन् ।

‘उनीहरूसँथ ५ इन्चको लाफालाई ३५ पैसादेखि १० इन्चको लाफालाई २ रुपैयाँसम्ममा किन्छु,’ सरिताले भनिन् । ती लाफालाई मेसिनमा राखेर विभिन्न आकारका दुना, टपरी र प्लेट बनाइन्छ । उद्योगमा काम गर्ने महिलाले उत्पादनको आधारमा पैसा पाउँछन् । एक दुना बनाएबापत १५ पैसा र टपरीको २५ पैसा दिइन्छ । ‘यसले गर्दा गाउँका दिदीबहिनीले दैनिक २०० देखि ३००–५०० रुपैयाँसम्म कमाउने बाटो बनेको छ,’ उनले सुनाइन् ।
सरिताको उद्योगमा बनेका दुना–टपरी सुदूरपश्चिमका विभिन्न जिल्लामा पुग्छन् । सानो साइजको ८० पैसादेखि ३ रुपैयाँ पर्ने थालीसम्म यहाँ बन्छन् । पहिले बुटवलबाट आउने दुना–टपरीलाई अहिले सरिताको उत्पादनले विस्थापित गरेको छ । त्यसैगरी भारतबाट आउने दुना, टपरी लगायत यस्तै प्रकारका प्लाष्टिकका सामानमा पनि रोक लागेको छ ।
प्लाष्टिकका भाँडाको विकल्प धनगढीमा दुना, टपरी मानिएको छ । यसले दुना, टपरीको माग बढाएको छ । पूजा पसल, चाउमिन–पानीपुरीका ठेला, होमस्टे र डिपार्टमेन्टल स्टोरहरू उनका नियमित ग्राहक हुन् । प्लास्टिक निषेध गरिएका कार्यालय र स्कुलहरूमा पनि उनको उत्पादनको माग बढ्दो छ । ‘सुरुमा लगिदिनुस् न भनेर जानुपर्थ्र्यो, अहिले अर्डर आउँछ । आफैँले स्कुटर किनेकी छु, सामान पु¥याउन जान्छु,’ उनले भनिन् ।
सरिताको सफलताको कदर गर्दै धनगढी उपमहानगरपालिकाले उनलाई ‘सफल महिला उद्यमी’का रूपमा सम्मान गरेको छ । केही वर्षअघि सांसद विकास कोषबाट उद्योगको भवन बनाउन उनले सात लाख रुपैयाँ अनुदान पनि पाइन् ।
सरिताको सफलताले अरू महिलालाई पनि प्रेरित गरेको छ । ‘मेरो काम देखेर अहिले अरू दिदीबहिनीहरू पनि उद्योग दर्ता गरेर काम गरिरहनुभएको छ,’ उनले भनिन् ।
सरिता अब उद्योगीमात्र होइन, प्रशिक्षक पनि बनेकी छन् । उनले अछामको साँफेबगर, पञ्चदेवल विनायक र डोटीको जोरायलजस्ता ठाउँहरूमा पुगेर दुना–टपरी बनाउने तालिम दिइसकेकी छन् ।
वार्षिक १५ लाख रुपैयाँसम्मको कारोबार गर्ने सरिताको कमाइले घरखर्च राम्ररी चलेको छ । छोरीहरू पनि उनको काममा सघाउँछन् । अब उनी यो व्यवसायको जिम्मा छोरीहरूलाई सुम्पिने सोचमा छिन् ।
पातसँगकै साइनोबाट उद्यमी बनेकी सरिता बिरुवालाई निकै माया गर्छिन् । ‘जङ्गलमा हुने डढेलो र विनाशले हामीलाई समस्या हुन्छ,’ उनले भनिन्, ‘हामी झरेर जाने पातको मात्र सदुपयोग गर्छौं । यो वर्ष बोटलाई नोक्सान पु¥याए अर्को वर्ष कहाँबाट पात पाउने ?’
कुनै बेला सुदूरपश्चिममा ‘पातबाट पनि पैसा कमाइन्छ र ?’ भनेर प्रश्न गर्नेहरूलाई आफूले काम गरेर जबाफ दिएको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण