‘नेपाल मण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ कृति विमोचन
सारांश
- रोशनकुमार झाको पुस्तक 'नेपाल मण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास' विमोचन गरियो, जसले सिम्रौनगढ र नेपाल मण्डलको सम्बन्धलाई उजागर गर्दछ।
- कार्यक्रममा वक्ताहरूले इतिहासको गहिरो अध्ययन र सिम्रौनगढको ऐतिहासिक महत्त्वबारे थप अनुसन्धानको आवश्यकता औंल्याए।
- पुरातत्त्व विभागले सिम्रौनगढका सम्पदाको संरक्षणमा प्रतिबद्धता जनाउँदै, यसलाई साझा दायित्वको रूपमा लिएको जनायो।
काठमाडौँ । पैरवी बुक हाउस प्रालिको आयोजनामा आज यहाँ एक कार्यक्रमकाबिच अध्येता रोशनकुमार झाद्वारा लिखित ‘नेपाल मण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ कृति विमोचन गरिएको छ । नेपालको ऐतिहासिक सहर सिम्रौनगढ र त्यसको नेपाल मण्डलसँगको सम्बन्धमाथि केन्द्रित रहेर उक्त कृति लेखिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले इतिहासको गहिरो अध्ययन र पुनः पाठको आवश्यकता औँल्याउँदै सिम्रौनगढ र नेपाल मण्डलबिचको ऐतिहासिक सम्बन्धबारे अझ अनुसन्धान गर्नुपर्ने बताए ।
उनले भने, ‘सरकार फेरिए पनि इतिहास मेटिँदैन र फेरिँदैन । सिम्रौनगढको इतिहासको गहिराइ बुझ्न थप खोज र अनुसन्धान अपरिहार्य छ । किरात सभ्यता र नेपाल मण्डलबिचको अन्तर्क्रिया अझ खोतलिनुपर्ने विषय हो ।’
राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राष्ट्रको इतिहास चिनाउने मेरुदण्डका रूपमा पुस्तक रहेको उल्लेख गर्दै इतिहास लेखनको परिप्रेक्ष्य अझ समावेशी, तथ्यपूर्ण र आलोचनात्मक हुनुपर्नेमा जोड दिए । उनले भने, ‘हामी इतिहास लेख्छौँ तर सिम्रौनगढजस्ता ऐतिहासिक क्षेत्र अझै पनि नेपाली इतिहासको मूलधारमा पूर्ण रूपमा समाहित भएका छैनन् । इतिहास राम्रोसँग लेख्न सके मात्र हामी नेपाललाई इतिहासमा सही ढङ्गले चिनाउन सक्छौँ ।’
कार्यकारी अध्यक्ष झाले नेपाल मण्डलले अझै पनि सिम्रौनगढलाई ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले स्वीकार गर्न नसकेको गुनासो गरे । उनले भने, ‘नेपाललाई राम्रो ढङ्गले चिनाउने हो भने इतिहास राम्रोसँग लेख्नु जरुरी छ । नेपाल मण्डलले जसरी सिम्रौनगढलाई जसरी स्वीकार गर्नुपर्ने हो त्यो गर्न सकेको छैन । हाम्रो इतिहास पुनर्लेखन गर्न आवश्यक छ ।’
कार्यक्रममा पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले सिम्रौनगढ क्षेत्रको पुरातात्त्विक महत्त्वमाथि प्रकाश पार्दै विभाग सिम्रौनगढका सम्पदाको संरक्षणमा सक्रिय रहेको जानकारी दिए । उनले भने, ‘सम्पदा संरक्षणको काम केबल सरकारको एकल जिम्मेवारी होइन, यो साझा दायित्व हो । सिम्रौनगढको सम्पदा नेपाली पहिचानको गौरव हो र यसको संरक्षणमा हामी प्रतिबद्ध छौँ ।’
कार्यक्रममा लेखक रोशनकुमार झाले पुस्तक लेखनको प्रेरणा, उद्देश्य र अनुसन्धान प्रक्रियाबारे जानकारी गराउँदै सिम्रौनगढ क्षेत्रको ऐतिहासिक महत्त्व अझै पनि गहिरो रूपमा नबुझिएको उल्लेख गरे । उनले आफ्नो कृति नेपाल मण्डल र सिम्रौनगढबिचको ऐतिहासिक सम्बन्धका नयाँ पाटा उजागर गर्ने प्रयास भएको बताए ।
नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्र, वरिष्ठ पत्रकार सुधीर शर्मा, संस्कृतिविद् जगमान गुरुङ, इतिहासविद् प्राडा पुरुषोत्मलोचन श्रेष्ठ, पूर्व न्यायाधीश शेषराज शिवाकोटी, प्रभाकरलाल झा, देवेन्द्रनाथ तिवारी, दिनेशराज पन्त, नागरिक अगुवा कनकमणि दीक्षितलगायतले नेपालको ऐतिहासिक सहर सिम्रौनगढ र त्यसको नेपाल मण्डलसँगको सम्बन्धजस्ता ऐतिहासिक क्षेत्रलाई राष्ट्रिय पाठ्यक्रममा समावेश गर्नुपर्ने र यस्ता अनुसन्धानात्मक कृतिहरूलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण