बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मुख्यमन्त्री बानियाँद्वारा एकल महिलालाई घर हस्तान्तरण

आइतबार, ०२ कात्तिक २०८२, १४ : ०१
आइतबार, ०२ कात्तिक २०८२

सारांश

  • मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विपन्न दलित तथा एकल महिलालाई घर हस्तान्तरण गरेका छन्।
  • उनले आफ्नो पारिश्रमिक र निजी खर्चबाट ४ लाख ६५ हजारको लागतमा घर बनाएका हुन्।
  • मुख्यमन्त्रीले मकवानपुरमा थप २ वटा घर बनाउँदै छन् र १ हजार विपन्न परिवारका लागि घर बनाउने योजना छ।

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विपन्न दलित एवं एकल महिलालाई घर हस्तान्तरण गरेका छन् । उनले मनहरी–९ की मिठुमाया सुनारको घर निर्माण गरेर हस्तान्तरण गरेका हुन् ।

४ लाख ६५ हजार रुपैयाँ लागतको भूकम्प प्रतिरोधी उक्त घर निर्माणका लागि मुख्यमन्त्री बानियाँले आफ्नो सेवा सुविधाबाट प्राप्त हुने पारिश्रमिक र निजी खर्च प्रयोग गरेका हुन् । आरसीसी पिल्लर सिस्टमको उक्त घरमा ३ कोठा, शौचालय, बत्ती, पानी लगायतको सुविधा छ ।

मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री बानियाँले आफ्नो पारिश्रमिकबाट घरबार विहीन विपन्न दलित तथा एकल महिलाका लागि घर निर्माण गरिदिने घोषणा गरेका थिए । सोही बमोजिम उनले सुनारको घर निर्माण गरिदिएका हुन् ।

‘हामीले राजनीति गरेको मानवताका लागि हो । मान्छेको सेवा गर्नको लागि हो,’ घर हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री बानियाँले भने, ‘बीपीले भन्नुभए अनुसार गरिबलाई न्याय, गरिबलाई आयको सिद्धान्तमा हामी अघि बढिरहेका छौँ । गरिबमुखी, गाउँमुखी, विकासमुखी र जनमुखी काम गर्न हामी प्रतिबद्ध छौँ ।’

fa98aab4-11ed-4ce7-875c-bf529e560f43

मुख्यमन्त्री बानियाँले आफ्नो व्यक्तिगत लगानी र मुख्यमन्त्रीको सुविधाबाट मकवानपुरको राक्सिराङ र कैलाशमा थप २ वटा यस्ता घर निर्माण गर्दैछन् । हस्तान्तरण गरिएको घर सरकारी अनुमान अनुसार करिब ७ लाख लागतको भए पनि स्थानीयको सहयोग र विभिन्न सामग्रीमा सहुलियत पाएकाले ४ लाख ६५ हजारमा निर्माण सम्पन्न भएको बानियाँले बताए ।

सोही अवसरमा मुख्यमन्त्री बानियाँले बाख्रा पालन गरी जीविकोपार्जन गर्न मिठुमायालाई २० हजार रुपैयाँ आर्थिक सहायता समेत प्रदान गरेका थिए ।

मुख्यमन्त्री बानियाँले प्रदेशभरिका १ हजार विपन्न परिवारका लागि प्रदेश सरकारमार्फत घर निर्माण गर्ने योजना घोषणा गरेका छन् । घरसँगै छानामुनि बस्नेको खाना र नाना (रोजगारी) को पनि व्यवस्था गर्न सरकारले आयआर्जनका कार्यक्रम ल्याउने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप