मिथिलामा दीपावली र उका–उकी
सारांश
- मिथिलामा यमपञ्चक, छठ र सामाचकेवा पर्वको रमझम चलिरहेको छ, जसमा विभिन्न देवीदेवताको पूजा गरिन्छ।
- यमपञ्चकको पहिलो दिन धनतेरस मनाइन्छ, जहाँ गरगहना र पूजा सामग्री किनमेल गरिन्छ, र दीपावली मनाइन्छ।
- उकाउकी मिथिलाको मौलिक परम्परा हो, जसले जंगली जनावरबाट बाली जोगाउन आगो र धुवाँको प्रयोग गर्छ।
मिथिलामा यमपञ्चक र त्यसको दुई दिनपछि सुरु हुने छठ र छठसँगै सुरु हुने सामाचकेवा पर्वको रमझम जारी छ । यमपञ्चक पाँच दिवसीय विविध पर्वको समूह हो, जसमा धनतेरस, नरक चतुर्दशी, उका–उकी÷लक्ष्मी–गणेश पूजा, गोवर्धन पूजा÷हुर्राहुर्री (हुरमारी) र भरदुतिया (भ्रातृद्वितीया) मैथिल परम्परा हुन् ।
यमपञ्चकको अवधि कात्तिक कृष्ण त्रयोदशी तिथिदेखि कात्तिक शुक्ल द्वितीयासम्म हो । पाँच दिनसम्म लगातार विभिन्न देवीदेवताको पूजाआजा गरी मनाइने भएकाले यो पर्वलाई ‘पञ्चक’ भन्ने गरिएको छ । पौराणिक आख्यान अनुसार यससँग मृत्युका देवता यमको सन्दर्भ पनि जोडिएको कारणले यी पर्वहरूको एकीकृत स्वरूपलाई ‘यमपञ्चक’ भनिएको हो ।
यमपञ्चकको पहिलो दिन धन्वन्तरि जयन्ती मनाइन्छ, जसलाई बोलचालमा ‘धनतेरस’ भनिन्छ । आयुर्वेदका जनक धन्वन्तरीको सम्मानप्रति समर्पित यो दिन आयुर्वेदको जागरणको दिन भए पनि सामाजिक व्यवहारमा गरगहना तथा पूजा उपकरण तथा घरेलु उपयोगका सामान खरिद गर्ने दिवसको रूपमा प्रचलित हुन पुगेको छ । यस दिन खरिद गरिएको वस्तुको सन्ध्याकालमा पूजा गर्ने चलन पनि छ । धनतेरसको दिन यम दीपम, क्वा पूजा, काग तिहार आदि पर्वहरू पनि विभिन्न संस्कृति अन्तर्गत मनाइन्छ ।
कात्तिक कृष्ण चतुर्दशी, यमपञ्चकको दोस्रो दिन मिथिलामा नरक चतुर्दशी र सानो दिवाली मनाइन्छ । सानो दिवाली भनेको मुख्य दिपावलीको पूर्वसन्ध्याको दीपमालिका हो । यस दिन अन्यत्र भने काली चौदस, हनुमान पूजा, सानो दिवाली, खीचा पूजा, कुकुर तिहार आदि पर्व मनाइन्छ । असुरराज नरकासुरको वध यस दिन भएको थियो । नरक चतुर्दशीकै नामसँग मिल्दोजुल्दो ‘नरक निवारण चतुर्दशी’ एक अर्को पर्व पनि छ, जो माघ कृष्ण चतुर्दशीको दिन मनाइन्छ ।
दीपावली नै यमपञ्चकको सर्वाधिक चर्चित पर्व हो । यमपञ्चकलाई बोलीचालीमा दिवाली नै भनिन्छ । यमपञ्चकको तेस्रो दिन कात्तिक अमावस्याको साँझ घर–डिहको चतुर्दिस दीपमालिका गरी शुभताको देवता गणेश र धनधान्यकी देवी महालक्ष्मीको पूजा गर्ने र तत्पश्चात उका–उकी खेल्ने गरिन्छ । यी तीन अनुष्ठानमा कुनचाहिँ मुख्य हो भन्ने ठम्याउन गाह्रो छ । दीपावलीको साँझ मनाइने दिवाली ठुलो दिवाली वा मुख्य दिवाली हो । दिवालीको साँझ खेल्ने उका–उकी मिथिलाको एक मौलिक परम्परा हो । यस दिन अन्यत्र मनाइने पर्वहरूमा दीपावली, लक्ष्मी पूजा, काली पूजा, शारदा पूजा, केदार गौरी व्रत, सा पूजा, गाई तिहार आदि देखिन्छन् ।
दिवाली संसारभरि मनाइन थालिएको छ । एक दर्जन देशमा यस दिन सार्वजनिक बिदा दिने गरिएको पाइन्छ । दिवालीको मुख्य दिन (लक्ष्मी पूजाको दिन) सार्वजनिक बिदा दिने देशहरूमा नेपाल, भारत, पाकिस्तान, फिजी, गुयाना, मलेसिया, मोरीशस, म्यांमार, सिंगापुर, श्रीलंका, सूरीनाम, त्रिनिदाद र टोबैगो तथा केही अमेरिकी राज्य हुन् । भारतमा प्रान्त–प्रान्तका सरकारहरूले सार्वजनिक बिदा तोक्ने गरेका छन् । नेपालमा यस वर्ष तिहार मनाउन पाँच दिन सार्वजनिक बिदा दिइएको छ । दिवालीको दिन बौद्ध, जैन, सिख धर्महरूमा पनि विशिष्ट पर्वको परम्परा छ ।
यमपञ्चकको चौथो दिन गोवर्द्धन वा गौधन पूजा आयोजना गरिन्छ । संस्कृतमा गो भनेको गाई हो । गोवर्द्धन भन्नुको अर्थ गाई वस्तुको संरक्षण र सेवा स्याहार सम्बन्धी कार्य बुझिन्छ । मिथिलाको कृषिमा आश्रित जनजीवनमा गाई वस्तुको महत्त्व अतुलनीय छ । मिथिला संस्कृतिमा गोवर्द्धन पर्वको उत्पत्तिले गाई वस्तुलाई दिइएको सम्मानलाई प्रस्ट्याउँछ । यस दिन मिथिलामा गोवर्द्धन पूजा गरिन्छ । गोवर्द्धन पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदीभित्र गोबरकै देव आकृति बनाएर पिठार, सिन्दुर, फूल, दुबो र धानसहित विधि विधानले पूजा गरिन्छ । यस दिन गाउँलेहरू जम्मा भई आफ्ना गाईवस्तु एक ठाउँमा भेला पारी प्रदर्शन गर्ने परम्परा लोपोन्मुख अवस्थामा रहेको छ । यस्तै पशु प्रदर्शनीको क्रममा आयोजना गरिने लोमहर्षक मनोरञ्जनार्थ आयोजित पशु युद्ध (क्याट्ल फाइट) खेल ‘हुर्राहुर्री’ (हुरमारी) भने लोप भइसकेको ठान्नुपर्छ । ‘हुर्राहुर्री’ खेलमा दुई वा दुईभन्दा बढी बलिया पाडा वा भैँसीलाई एक ठाउँमा बिचमा सुँगुरको बच्चा राखेर जुधाइन्छ । यस दिन अन्यत्र दिवाली, बलिप्रतिपदा, म्ह पूजा, गोरु पूजा आदि मनाइन्छ ।
यमपञ्चकको अन्तिम दिन भरदुतिया (भ्रातृद्वितीया) मनाइन्छ । यस दिन कायस्थ समाजले भगवान श्री चित्रगुप्तको सामुहिक पूजा आयोजन गर्दछ । यस दिन दाजुभाइहरू दिदी–बहिनीलाई सोपहार भेट्न जाने परम्परा छ । यसरी दाजुभाइ आउँदा दिदीबहिनीले दाजुभाइको अभिनन्दन गर्दछन्, जसलाई मैथिलहरू ‘नोत लेनाय’ भन्दछन् । मिथिलामा भरदुतिया (भ्रातृद्वितिया), पहाडतिर भाइटीका र हिन्दी क्षेत्रमा भाई दूज भनिन्छ । अन्यत्र शस्त्रहरूको पूजा, किजा पूजा मनाइन्छ । यस दिनदेखि गुजराती नव वर्ष पनि प्रारम्भ हुन्छ ।
मैथिल ‘यमपञ्चक’ पर्व विधिमा कागपूजा र स्वानःपूजा (कुकुरपूजा) को वर्णन रहेको भए पनि मैथिल व्यवहारमा भने देखिँदैन ।
दीपावली
संस्कृतको दीपावली शब्द सामाजिक व्यवहारमा दीपावली, दिवाली, देवाली, दीपोत्सव नामबाट पनि जानिन्छ । जसको अर्थ हो ‘प्रकाशको पंक्ति वा शृङ्खला’ । अधर्ममाथि धर्मको, अन्धकारमाथि प्रकाशको, खराबमाथि असलको र अज्ञानमाथि ज्ञानको आध्यात्मिक विजयको प्रतीकको रूपमा दीपावली मनाइन्छ ।
सन् २०२३ मा भारतको उत्तर प्रदेशको अयोध्यामा दीपावली उत्सवको अवसरमा दीपावलीको पूर्वसन्ध्यामा २२ लाख २३ हजार ६७६ वटा तेलको दीपको शृङ्खला सबैभन्दा ठुलो दीवालीको रूपमा गिनीज वर्ल्ड रेकर्डमा रजिष्टर गरियो । अयोध्यामा त्यसै वर्ष भगवान श्रीरामको मन्दिर निर्माण गरी प्राण प्रतिष्ठा गरी सम्पन्न भएको खुसीयालीमा दीपावली मनाइएको थियो ।
दीपावली समृद्धिकी देवी लक्ष्मी र बुद्धिका देवता र विघ्नहर्ता गणेशसँग पनि व्यापक रूपमा सम्बन्धित छ । अन्य परम्पराहरूमा विष्णु, कृष्ण, दुर्गा, शिव, काली, हनुमान, कुवेर, यम, यमी, धन्वन्तरी र विश्वकर्मा पनि विशेष रूपमा पुजिन्छन् ।
दीपावली विभिन्न धार्मिक घटना र देवताहरूसँग सम्बन्धित छ, जस्तै राम रावणलाई पराजित गरी पत्नी सीता र भाइ लक्ष्मणका साथ यसै दिन अयोध्या फर्केका थिए । उनी फर्किंदा अयोध्यावासीले दीपावली मनाएका थिए । यहीँबाट दीपावलीको परम्परा सुरु भयो ।
मुख्यतया सनातन पर्व दीपावलीका विविधताहरू अन्य धर्मका अनुयायीहरूले पनि मनाउँछन् । जैनहरूले महावीरको अन्तिम मुक्तिको रूपमा दीपावली मनाउँछन् । सिखहरूले मुगल जेलबाट गुरु हरगोविन्दको रिहाइको सम्झनामा बन्दी छोड दिवस मनाउँछन् । अन्य बौद्धहरू भन्दा फरक नेवार बौद्धहरूले लक्ष्मीको पूजा गरेर दीपावली मनाउँछन्, जबकि पूर्वी भारत र बंगलादेशका हिन्दूहरूले सामान्यतया देवी कालीको पूजा गरेर दीपावली मनाउँछन् ।
दीपावलीको साँझ सनातनीहरूले आफ्नो घर, मन्दिर र कार्यस्थलहरूलाई तेलको बत्ती, मैनबत्ती र बिजुलीले उज्यालो र झिलीमिली पार्छन् । लक्ष्मी–गणेशसहित देवी–देवताका विग्रह, चित्र सजाउँछन् । रंगोली बनाउँछन् । सपरिवार पूजा–अर्चना गर्छन् । खानपिन गर्छन् र आतिशबाजी गर्छन् । मिथिलामा भने उका–उकीको एक विशेष र मौलिक परम्परा छ ।
विराटनगरमा रहेका ब्राह्मणहरूको सामाजिक संस्था अप्पन ब्राह्मण समाजले प्रत्येक वर्ष दीपावलीको दिन ‘जनकल्याणार्थ काली पूजा अनुष्ठान’ गर्दै आएको छ । उक्त संस्थाकी कार्य समिति सदस्य विराटनगर–८, मधुमारा, जय नेपाल मार्गकी सुनिता कुमारी झा (बेबी) का अनुसार यस वर्ष २०८२ कात्तिक ३ गते शोभायात्रा र कालीपूजन, र कात्तिक ४ गते भजन–कीर्तन, सांस्कृतिक कार्यक्रम तथा प्रसाद वितरण कार्यक्रम छ । समाजका अध्यक्ष अमर कुमार झा हुन् भने यस वर्षको पूजा अनुष्ठानको संयोजन विरेन्द्र कुमार झा (विरु सर) ले गरेका छन् । देवी काली ब्राह्मणहरूको कुलदेवी पनि हुन् । अप्पन ब्राह्मण समाजले स्थापनाकालदेखि यस अनुष्ठानलाई निरन्तरता दिँदै आएको छ ।
मिथिलामा दीपावली
मिथिला क्षेत्रमा दीपावलीलाई दिवाली वा दियाबाती भनिन्छ । यो एक धार्मिक, सांस्कृतिक, मौसमी पर्व हो । यसलाई प्रकाशको पर्व भनिन्छ । मिथिलावासीसँगै यहाँका जैन, सिख, बौद्ध, नेवार, बंगाली समुदायले पनि दीपावली आ–आफ्नै परम्परा अनुसार मनाउँछन् ।
मिथिलामा दीपावली पर्वको लागि साता अघिदेखि नै घरबारको सरसफाइ थालिन्छ । समुदायका हरेक परिवार सरसफाइमा जुटेका हुन्छन् । हिजोआज बिजुली झिलिमिलीको चलन पनि चलेको छ ।
दीपावलीको साँझ घरमा ऋद्धि–सिद्धिदाता देव गणेश र धनधान्यकी देवी महालक्ष्मीको आगमन हुने आस्था र विश्वास छ । खासगरी दीपावलीको दिन घरपरिवारमा सबै दीपावलीकै तयारीमा व्यस्त हुन्छन् । घरकी महिला पकवान र पूजाको तयारीमा लागेकी हुन्छन् भने पुरुष उका–उकीको तयारीमा तथा अन्य सदस्यहरू साजसज्जा र बजार ओहोरदोहोरमा लागेका हुन्छन् । केटाकेटीहरू आतिशबाजीको जोहोमा लागेका हुन्छन् । सबैलाई साँझपखको प्रतीक्षा हुन्छ ।
दीपावलीको पहिलो साँझ सबै जना माटोको दियोमा तेलको बत्ती हाली घर संसारलाई सक्दो उज्यालो र झिलीमिली पार्न खटिन्छन् । त्यसपछि पूजा–अर्चना तथा उका–उकीको क्रम आउँछ । यसमा प्रथमतः पूजा गरिसकेपछि पूजा विसर्जन गर्नु अघि उका–उकी खेल्ने गरिन्छ । उका–उकीको विधि पूरा भएपछि मात्र पूजा विसर्जन गरिन्छ ।
उका–उकी
जंगली जनावरहरूद्वारा बालीनालीको विनाश आज पनि एउटा गम्भीर समस्या हो । प्राचीनकालमा यो एउटा सामुदायिक समस्याको रूपमा थियो । उतिबेला मानिसको लागि खेती र मुख्य फसल धान नै मुख्य आधार थियो । धानको सिस (बाला) थालेदेखि नै नीलगाई, मृग, सँगुरजस्ता जंगली जनावरहरू रातको अँध्यारोमा धानखेतमा पसेर धान खाइदिने र नष्ट गरिदिने समस्या थियो । जंगली जनावरहरूबाट आफ्नो फसल बचाउन रातको समयमा रखवाली गर्नु सहज थिएन । त्यसै समस्याको समाधान गर्ने उपायको रूपमा उका–उकीको परम्परा बसेको भन्न सकिन्छ ।
उका–उकी खेल्ने भन्ने गरे पनि यो कुनै खेल होइन । यसमा कुनै प्रतिस्पर्धात्मक वा मनोरञ्जनात्मक सन्दर्भ हुँदैन । बरु सांस्कृतिक मनोभाव हुन्छ । यसमा खडही (खर), सण्ठी (सनपाटको काण्ड) र सनपाटैको डोरी बुनेर डेढ–दुई हात बराबरको लठ बनाइन्छ, लठको शीर्षमा आगो सल्काउन त्यही वस्तुको चार वटा नोक्सा बनाइन्छ । यसरी लठमा आफ्नो शीरसहित पाँचवटा नोक्सा हुन्छन् । लठ दरो बनाइन्छ तर त्यसमा आगो बल्न सनपाटको रेशाको मात्रा भने पर्याप्त हालिएको हुन्छ । यसै लठलाई पनि उकाउकी भन्ने गरिन्छ ।
प्रत्येक परिवारले उका–उकी बनाउँछन् । घरमा शिशुभन्दा माथिका जतिजना पुरुष सदस्य छन्, त्यतिवटा उका–उकी बनाउनुको अतिरिक्त भगवतीको स्थानमा, तुलसीको मठमा, ट्युवेलमा, प्रत्येक घरको छानोमा समेत एक–एक वटा राख्ने गरी चाहिने जति उका–उकी बनाइन्छ ।
दिवालीको पूजा सकेर विसर्जन नगरी उका–उकी खेली आई हातखुट्टा धोई पुनः पूजा स्थानमा ढोग्न गइन्छ । यसपछि पूजा विसर्जन गरी प्रसाद वितरण गरिन्छ ।
उका–उकीका लागि कुलदेवताको कक्षमा कुलदेवता भएको स्थानदेखि दैलोसम्म पिठार र सिन्दुरले अरिपण बनाइन्छ । दैलोको बिच भागमा अरिपणमाथि आँपको पल्लव सहितको कलश स्थापित गरी त्यस कलशमा भित्र द्रव्य हाली उपर पल्लवमाथि दियो बालिन्छ । त्यससँगै छेउमा उका–उकी राखिन्छ । यस प्रकार उका–उकीको तयारी पूरा हुन्छ ।
उका–उकी खेल्ने परिवारका सदस्यहरूले पालैपालो एक–एकले एक–एकवटा उका–उकी उठाई, कलशको दियोमा लठको नोक्सामा आगो बाली सबैजना सडक, खेती वा बारी पुग्छन् । कलशमा उका–उकी सल्काउँदा दुई पटक अलि सल्काई धर्तीलाई चुम्नुपर्छ र तेस्रो पटक सल्किएपछि लिएर हिँड्नुपर्छ ।
सडक, खेत वा बारीमा पुगिसकेपछि सबैजनाले वृत बनाई उका–उकी नचाई पुरै लठ जलाउनुपर्छ । सबैको उका–उकी जलिसकेपछि जलेको खरानी टकटक्याउनुपर्छ । यसरी आगो ननिभ्दै सबैले एक–एक गरेर आगोलाई एकातिरबाट अर्कोपटक उफ्रेर तीन पटक नाघ्नु पर्छ । उका–उकी जलाउँदा एकवटा सण्ठीचाहिँ पूरै नजलाई त्यहीँ सडक, खेत वा बारीमा गाड्ने चलन छ । उका–उकी समुदायका सम्पूर्ण सनातनी परिवार खेल्छन् । उका–उकी खेलेर कुलदेवतालाई ढोगिसकेपछि आफ्नो परिवारका र छिमेकका पनि मान्यजनलाई ढोग गरिन्छ ।
यसरी हेर्ने हो भने उका–उकी प्राचीन समयमा जंगली जनावरहरूबाट बाली जोगाउन आगो र धुवाँको प्रयोग गरिने तरिकाको धरोहर हो ।
सांस्कृतिक धरोहरको संरक्षण
सांस्कृतिक धरोहरको संरक्षण अहिले संकटग्रस्त बनेको अवस्था छ । कतिपय सांस्कृतिक सम्पदाहरू छुट्दै, हराउँदै, नासिँदै गएका छन् । सांस्कृतिक चाडपर्व, कला, परम्परा, संस्कार, विधि व्यवहार, मूल्य मान्यता आदि साँघुरिँदै गएका छन् ।
चाडपर्वहरूले विश्वभरका व्यक्ति र समुदायको जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छन् । तिनीहरू केवल उत्सव मनाउने अवसरहरू मात्र होइनन्, तर हाम्रो सांस्कृतिक, सामाजिक र आध्यात्मिक जीवनलाई समृद्ध बनाउने क्षणहरू पनि हुन् । चाडपर्वहरूले मानिसहरूलाई एकसाथ ल्याउँछन्, भाषा, धर्म र राष्ट्रियताको भिन्नतामा एकता र सम्बन्धको भावना प्रदान गर्छन् । चाडपर्वहरूको पनि महत्त्वपूर्ण आर्थिक प्रभाव हुन्छ । तिनीहरूले वस्तु तथा सेवाहरूको माग वृद्धि गरेर, रोजगारी सिर्जना गरेर, आन्तरिक र बाह्य पर्यटकहरूलाई आकर्षित गरेर स्थानीय अर्थतन्त्रलाई बढावा दिन्छन् ।
पूर्वजहरूले हस्तान्तरण गरेका संस्कृति एवं सांस्कृतिक मूर्त वा अमूर्त सम्पदा हाम्रा सामाजिक जीवनका हिस्सा हुन्, जसको अभावमा हामी अधुरो हुन पुग्छौँ । मिथिला संस्कृति विश्वभर धेरै प्रसिद्ध छ । यसलाई विश्वको सबैभन्दा रोचक र प्राचीन संस्कृतिमध्ये एक मानिन्छ । मिथिलामा, प्रकाश पर्व दीपावली अन्धकारमाथि प्रकाश र खराबमाथि असलको विजयको प्रतीक हो । यो ठुलो उत्साहका साथ मनाइन्छ र यसमा समावेश गरिएका अनुष्ठानहरू, जस्तै दीपमालिका, उका–उकी आदि परम्परामा गहिरो अझ धेरै धेरै रहस्य छन् ।
हाम्रो जीवनमा सांस्कृतिक सम्पदाको के महत्त्व छ ? हाम्रो सांस्कृतिक सम्पदाको बुझाइले हामीलाई हाम्रो व्यक्तिगत एवं सामुदायिक पहिचानको अनुभूति दिन्छ । यसले समाजमा विगत, वर्तमान र भावी पुस्तालाई जोडेर बलियो राष्ट्र र राष्ट्रिय पहिचान निर्माणको जगको रूपमा काम गर्छ । मानिसहरूले आफ्नो सम्पदालाई आफ्नो संस्कार र व्यवहारहरू मार्फत संरक्षण गर्न सक्छन् ।
(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दखल राख्छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण