प्रचण्डको आह्वान: राष्ट्रिय एकता कायम गरी निर्वाचनमा जाऔँ
सारांश
- प्रचण्डले देश सङ्कटमा रहेको र राष्ट्रिय शक्तिबीचको सहमति आवश्यक रहेको बताए।
- उनले निर्वाचनका लागि एकजुट हुन र युवा पुस्ताको माग सम्बोधन गर्न माओवादी केन्द्रको भूमिका रहेको दाबी गरे।
- प्रचण्डले युवा आन्दोलन र त्यसपछिको दमनलाई नेपालको इतिहासमा नबिर्सिने घटनाको रूपमा चित्रण गरे।
महोत्तरी । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रचण्डले बदलिएको नयाँ परिस्थितिमा राष्ट्र ठुलो सङ्कटको स्थितिमा पुगेको र यति ठुलो विध्वंस पहिले कहिल्यै नभएको बताएका छन् ।
यो परिस्थितिमा राष्ट्रिय शक्तिहरूका बिचमा सहमति, समझदारी आवश्यक रहेकोमा जोड दिँदै उनले देश भित्रका सबै वामपन्थी र कम्युनिस्टहरूको बिचमा एकता तथा शान्ति सम्झौता र सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, पहिचान र अधिकारको पक्षमा एकजुट भएका सबै राजनीतिक दल, नागरिक समाज र आम जनता एक हुनुको विकल्प नभएको बताएका हुन् ।
'यो अन्तरिम सरकार एउटा जटिल परिस्थितिमा बनेको छ र यो अन्तरिम सरकारले ६ महिनापछि निर्वाचनको घोषणा गरेको छ । हामीले कुनै हिचकिचाहट नराखीकन, कुनै दुविधा नराखीकन यतिबेला सम्पूर्ण राष्ट्र एकजुट भएर घोषित मितिमा नै निर्वाचन सम्पन्न गर्ने र नयाँ प्रतिनिधिसभा हुँदै जेनजी युवाहरूका मागलाई पनि सम्बोधन गर्ने गरी र आम जनताका असन्तुष्टि र आक्रोशलाई पनि सम्बोधन गर्ने गरी संविधान संशोधन गर्नुपर्दछ भनेर निर्वाचनको निम्ति अपिल गर्ने पार्टी पनि माओवादी केन्द्र नै भयो,’ मोहत्तरीमा बुधबार आयोजित कार्यक्रममा प्रचण्डले स्पष्ट पारे ।
हिजो प्रधानमन्त्री सुशील कार्कीले बोलाएको सर्वदलीय बैठकमा करिब-करिब सबै राजनीतिक दलले निर्वाचनको वातावरण बनाउन सरकारलाई आग्रह गरेको र निर्वाचनमा भाग लिन तयार भएको स्थिति बनेको उनको भनाई थियो । उनले यस प्रक्रियाको नेतृत्व माओवादी केन्द्रले गरेको दाबी गर्दै देश सहज निकासको बाटोतिर जानुमा माओवादी केन्द्रको भूमिकालाई जनताले टोल-टोलमा पुर्याइदिनुपर्ने आह्वान गरे ।
प्रचण्डले गत २३ गते जेनजी पुस्ताका युवाहरूले गरेको आन्दोलन र सो आन्दोलन दबाउन तत्कालीन सरकारले गरेको बर्बर दमन र हत्या नेपालको इतिहासमा कहिल्यै नबिर्सिने परिघटनाको रूपमा स्थापित भइसकेको बताए ।
आन्दोलन हुनुअगाडि नै आफूहरू हुलाकीमार्ग केन्द्रित अभियानमा रहेको र युवाहरूको असन्तोष खासगरी सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्धबाट आक्रोशित युवाहरू आन्दोलनमा आउने घोषणा गरेपछि आफूले गोरखाबाटै ‘युवाहरूका माग जायज छन्’ भन्दै स्ट्याटस लेखेको स्मरण गरे । उनले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन, भ्रष्टाचारको अन्त्य गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री/राष्ट्रपतिको माग माओवादी केन्द्रले पनि १० वर्षदेखि उठाउँदै आएकाले माग सही भएको बताएका थिए ।
प्रचण्डले सरकारलाई खबरदारी गर्दै दमनको बाटो नअपनाउन आग्रह गरे पनि सरकार दमनमा उत्रिएको बताए । दर्जनौँ युवाहरूको हत्या र घाइते हुने स्थिति भएपछि आफूहरूले अभियान रोकेर रातारात काठमाडौँ आएर जेनजी युवाहरूको मागलाई समर्थन मात्रै नभई राति नै पदाधिकारीहरूको आकस्मिक बैठक बोलाएर सरकारले गरेको बर्बर दमनको भण्डाफोर तथा भर्त्सना गरेको दाबी गरे ।
माओवादी केन्द्रले मृतकहरूलाई शहीद घोषणा गर्ने, उनीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने र केपी ओलीले अविलम्ब राजीनामा दिनै पर्छ भन्ने पहिलो वक्तव्य दिएको उनले बताए । २४ गतेको विध्वंस रोक्नका लागि आफूहरूले माग गरेकै दिन ओलीले राजीनामा नदिएका कारण देशमा भयानक विध्वंस मच्चिएको उनले उल्लेख गरे ।
२४ गतेको विध्वंसपछि देशमा ‘राज्यविहीनता’ को जस्तो स्थिति देखा परेको अवस्थामा पनि आफूलाई सबै राजनीतिक दल, राष्ट्रपति र प्रधानसेनापतिसँग निरन्तर संवाद गर्ने अवसर प्राप्त भएको प्रचण्डले बताए । उनले ठुलो दुर्घटनामा जानबाट देश बचाउन सहजीकरणको भूमिका खेलेको दाबी गरे । २६ गते राति ९ बजेदेखि साढे तीन बजेसम्म राष्ट्रपति भवनमा अब देशको राजनीतिलाई कसरी सहजीकरण गर्ने, संविधान र समावेशी अधिकारको कसरी रक्षा गर्ने भन्ने कुरामा आफूहरूले भूमिका खेलेको उनको भनाइ थियो ।
संविधानमा टेकेर जेनजी युवाहरूको भावनालाई कदर गर्दै उनीहरूकै मागअनुसार अन्तरिम सरकार गठन गर्ने र त्यसलाई वैधानिकता दिन माओवादी केन्द्रको भूमिका महत्त्वपूर्ण रहेको उनले बताए । केपी ओलीले अहङ्कार प्रदर्शन गरे पनि कामचलाउ बनेका ओलीकै सिफारिसमा सुशील कार्कीको सरकार बनेको भन्दै उनले यो सरकार वैधानिक रहेको कुरा नेपाली जनताको अगाडि राख्नै पर्ने चुनौती दिएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सकियो ‘क्याप्टेन साब’को छायाङ्कन
-
साउदीको सीप परीक्षण विवाद : वैदेशिक रोजगार क्षेत्रमा तरङ्ग, सरकार बेखबर
-
हौसिएर बजेट बनाएपछि समस्यामा पोखरा महानगर, ४५ करोड भुक्तानी रोकिने
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण