शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कलाकार

लोकदोहोरीमा उचाइ भर्दै सुकदेव !

बिहीबार, ०६ कात्तिक २०८२, ०९ : ००
बिहीबार, ०६ कात्तिक २०८२

सारांश

  • लोकदोहोरी गायक सुकदेव अधिकारीले काठमाडौँ गएपछि पढाइ छाडेर गीत-सङ्गीतमा लागे।
  • उनको 'कल्ले बोलायो' गीतले राष्ट्रिय स्तरमा चर्चा दिलायो, जसले उनलाई आर्थिक उपार्जनमा सघाउ पुर्‍यायो।
  • अहिले उनी सङ्गीतबाट सन्तुष्ट छन् र नयाँ सिर्जना ल्याउने योजना बनाइरहेका छन्।

सुर्खेत । लोकदोहोरी गायक सुकदेव अधिकारीका बाबुआमाको चाहना थियो– पढाइ सकेर छोरा सरकारी जागिरे होस् ।

सोही अनुसार, २०७४ सालतिर परिवारकै सल्लाह बमोजिम सुकदेव पीएचडी गर्ने उद्देश्यसहित काठमाडौँ हानिए, तर राजधानी छिरेपछि उनको सोच मोडियो ।

उनी काठमाडौँ पुगेपछि पढाइभन्दा धेरै गीत–सङ्गीतमा व्यस्त हुन थाले । उनी सुर्खेतमै रहँदा थुप्रै गीत रेकर्ड गरिसकेका थिए, तर उनले अपेक्षित पहिचान पाउन सकेका थिएनन् ।

२०७६ सालतिरको कुरा हो, उनले चर्चित कलाकारसँग एउटा गीतमा सहकार्य गर्ने अवसर पाए ।

मध्यरातमा हावा चल्यो, चिसो भयो हात

झट्ट उठेँ बाहिरतिर हेरेँ झ्यालबाट

...कल्ले बोलायो,

...हे.. मेरो आँखा लोलायो, मेरो ज्यानै टोलायो

मलाई था छैन, झिसमिसेमा कल्ले बोलायो..

यो गीत सुकदेवले चर्चित गायिका मेलिना राईसँग गाउने अवसर पाए । सुर्खेतकै गीतकार तथा संगीतकार रुद्र जीएमको शब्द, सङ्गीतमा बनेको यो गीतले सुकदेवलाई राष्ट्रियस्तरमा चर्चा र पहिचान दिलायो । त्यसपछि उनले पछि फर्कनु परेन ।

गीतको म्युजिक भिडियोमा पनि लोकदोहोरी क्षेत्रका सुप्रसिद्ध कलाकारहरू विमल अधिकारी र अञ्जली अधिकारीले अभिनय गरेका थिए । युट्युबमा उक्त गीतको भ्यूज १ करोड ५३ लाखभन्दा बढी छ ।

सुर्खेतको लेकबेसी नगरपालिका–२, लेकगाउँमा सामान्य परिवारमा जन्मे–हुर्केका सुकदेवलाई यही गीतले मेला, महोत्सवमा हिँड्ने बाटोमात्रै खोलिदिएन, आर्थिक उपार्जनमा समेत टेवा पुर्‍यायो । ‘यही गीत मेरो सांगीतिक जीवनमा अप्रत्याशित मोड बन्यो । मेला महोत्सव र अन्य कार्यक्रमका प्रस्तावहरू आउन थाले,’ उनले रातोपाटीसँग भने ।

त्यसपछि गीतकार र संगीतकारहरूले पनि उनको गायन क्षमतालाई विश्वास गर्न थाले । त्यसपछि उनका ‘के भनौँ हजुर’, ‘छमछमी पानी’, ‘रातो टीका शिरैमा जमरा’ र ‘सलल राप्ती भेरी’ जस्ता गीत पनि चर्चित भए ।

3

बाघचाल खेल्ने डाँडैको चौतारी

भुल्याछैन हितैको दौँतरी..

..आयो दसैँ आयो..

आयो होइ दसैँ आयो, आयो होइ तिहार आयो

..रातो टीका शिरैमा जमरा माया नमार

रातो टीका शिरैमा जमरा माया नमार...

०७८ सालको दसैँ–तिहारको समयमा विमल अधिकारीको शब्द, सङ्गीतमा बजारमा आएको यो गीत उक्त वर्षको लोकप्रिय गीत हो, जसमा सुकदेव र अर्जुन सापकोटाको आवाज छ । यस्तै, ‘छमकी दे पानी’ तथा ‘सारीमा तीज’ जस्ता गीत पनि लोकप्रिय छन् । ‘सारीमा तीज’ गीत पछिल्लो समयकी लोकप्रिय गायिका समीक्षा अधिकारीका साथ सुकदेवले गाएका हुन् ।

  • दोहोरीमा प्रथम भएपछि सङ्गीत क्षेत्रमा अग्रसर

सुकदेवले ०७५ साल अघि थुप्रै गीत गाइसके पनि उचाइ लिन सकेका थिएनन् । उनको पहिलो रेकर्ड भएको गीत पनि तीजकै थियो । शिक्षण पेसामा रहेका दीपेन्द्र रावतको शब्द, सङ्गीत रचना रहेको ‘फूल भो शिरफूल..’ तीज गीत मटेलास्थित विचार आदर्श युवा क्लबका अध्यक्ष दुर्गा रेग्मीको प्रस्तावमा क्लबकै लागि रेकर्ड गर्ने निर्णय गरेपछि उनीहरू काठमाडौँ हानिए ।

सुकदेवले पहिलो एल्बमका रूपमा पूर्णकला बीसीसँग उक्त गीत गाएका थिए । यो गीत शङ्करा रेकर्डिङ स्टुडियो बागबजारमा रेकर्ड भएको थियो ।

सुरुमा निकै गाह्रो भए पनि पछिल्लो समय सुकदेव गीत–संगीतबाट खुसी छन् । गीतहरू चल्न थालेपछि संगीतबाटै आर्थिक उपार्जन गरी जीवन चलाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् उनी ।

त्यसलगत्तै मटेलामा दोहोरी प्रतियोगिता भयो । यो ०७२ सालतिरको कुरा हो । सुकदेव पनि त्यहाँ सहभागी बने । गाउँघरमा गुनगुनाइरहने उनी त्यहाँ प्रथम भए ।

त्यसपछि आसपासमा मान्छेहरूले उनलाई अलि चिन्न थाले । ‘ओहो ! यो मान्छेले पनि गाउँदो रहेछ भन्ने भयो,’ सुकदेवले भने । त्यसपछि क्रमशः ‘सिक्ने हिमाल’ र ‘वृद्धाश्रम’ जस्ता सामाजिक चेतनाका गीतहरू उनले रेकर्ड गरे ।

एक दशकमा सुकदेवका १५० भन्दा बढी अडियो/भिडियो गीत सार्वजनिक भइसकेका छन् । उनले झन्डै दुई सय गीतमा स्वर दिएको दाबी गरे । करिब १५ वटा गीतमा उनकै शब्द र सङ्गीत छ । मेलिना राई र सुमन बीसीले गाएको ‘जाम माया कतै टाढा’ तथा शान्तिश्री परियार र एमटी महरले गाएका केही गीतमा पनि उनको सङ्गीत छ ।

सुरुमा निकै गाह्रो भए पनि पछिल्लो समय सुकदेव गीत–संगीतबाट खुसी छन् । गीतहरू चल्न थालेपछि संगीतबाटै आर्थिक उपार्जन गरी जीवन चलाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् उनी । यही क्षेत्रबाटै उनले काठमाडौँमा श्रीमती र छोरा तथा गाउँमा बुबाआमाका लागि दैनिक खर्च जुटाइरहेका छन् ।

2

सुकदेवका अनुसार, कोभिड–१९ उनको जीवनमा एक झट्का बनेर आयो । गीतहरू चर्चामा आउनै लागेको बेला महामारीले गतिमा अवरोध पुर्‍याइदियो । त्यतिबेला उनले सोचेका थिए, ‘ओहो ! बरु यो क्षेत्रमा लाग्नुभन्दा कतै जागिर गरेको भए राम्रो हुन्थ्यो कि !’

उनले भने, ‘सङ्गीत क्षेत्र ठप्प बन्यो, आर्थिक अवस्था पनि कमजोर भयो । त्यो वेला जागिर गरेको भए हुन्थ्यो कि भन्ने भावना आयो ।’

यद्यपि आफू विचलित नभएको सुकदेवले बताए । नभन्दै बिस्तारै सहज हुँदै गयो । अहिले उनी संगीतप्रति सन्तुष्ट छन् ।

सिजनमा महिनामा ७–८ वटा कार्यक्रममा सहभागी हुन्छन् । विशेषगरी उनी पश्चिम नेपालका अधिकांश जिल्लामा पुगेका छन् । धादिङ, नारायणघाट, बुटवल, दाङ, बाँके लगायतका स्थानहरूमा उनका प्रस्तुतिहरू भइसकेका छन् । उनका स्टेज प्रस्तुतिमा ‘कल्ले बोलायो’ र ‘छमकी दे पानी’ सर्वाधिक माग गरिने गीत हुन् ।

  • अनि बुबाआमा खुसी भए...

सुकदेव सानैदेखि गीत–सङ्गीतमा रुचि राख्थे । उनमा प्रायः नारायण रायमाझीका गीतहरूको प्रभाव थियो । रायमाझीकै गीतका क्यासेट किनेर उनी बारम्बार सुन्थे । पशुपति शर्मा, रामजी खाण, पुरुषोत्तम न्यौपाने, राजु परियारजस्ता कलाकारका गीत पनि सुर्खेतका रेडियोहरूमा उनी सुन्थे ।

सुर्खेतका प्रेमदेव गिरी र गंगा केसीजस्ता अग्रज कलाकारबाट प्रभावित भए पनि उनीहरूसँग प्रत्यक्ष भेट्ने मौका नपाएको सुकदेवले बताए । भोलि यस्तै गीत गाउने गायक हुन्छु भन्ने आफूलाई त्यतिवेला लाग्ने गरेको उनको भनाइ थियो ।

पछि लेकबेसीकै जीवनज्योति माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा हासिल गरे । त्यसपछि सुर्खेत शिक्षा क्याम्पसबाट स्नातक गरे । सानैदेखि विद्यालयका अतिरिक्त क्रियाकलाप र सांगीतिक प्रतियोगिताहरूमा सक्रिय हुन्थे । पढाइमा पनि अब्बल उनी सानैदेखि गीत गुनगुनाउने गर्थे ।

अहिले विभिन्न प्लेटफर्म आए । युट्युबसँगै टिकटक पनि आयो । अन्य प्रविधिले सङ्गीतलाई आर्थिक रूपमा दिगो बनाउन सहयोग गरेकोमा उनी आशावादी छन् ।

संगीतप्रतिको यो रुचि स्नातक पढ्न वीरेन्द्रनगर जाँदा पनि कायमै रह्यो । त्यसपछि बिस्तारै उनी गीतसङ्गीतमै रम्न थाले । पीएचडी गर्ने सोचले काठमाडौँ गएका उनी अहिले सङ्गीतलाई नै आफ्नो कर्म मानेर अगाडि बढिरहेका छन् ।

उनका अनुसार, सुरुमा बुबाआमाले पढाइ सकेपछि जागिर गरोस् भन्ने चाहना राखे पनि उनको नाम र पहिचान बनेपछि उनीहरू खुसी छन् ।

सुकदेवले मेला महोत्सवमात्र नभएर अहिले सङ्गीत क्षेत्रमा आर्थिक उपार्जनका थुप्रै पक्ष रहेको पनि बताए । उनले भने, ‘एक चरणमा क्यासेट, सीडी र पीआरबीटीको समय थियो । त्यो वेला पनि राम्रो थियो । पछि युट्युबमात्र हुँदा कलाकारलाई गाह्रो भएको थियो ।’

तर, अहिले विभिन्न प्लेटफर्म आए । युट्युबसँगै टिकटक पनि आयो । अन्य प्रविधिले सङ्गीतलाई आर्थिक रूपमा दिगो बनाउन सहयोग गरेकोमा उनी आशावादी छन् ।

सङ्गीत क्षेत्रमा चुनौती पनि थुप्रै छन् । एउटा राम्रो गीत बनाउन ८–१० लाख लाग्ने भन्दै उनले लगानी सुरक्षाको चुनौती पनि औँल्याए । अब उनले फरक शैलीका र समयानुकूलका सिर्जना ल्याउने योजना बनाइरहेका छन् । दर्शकले नयाँ स्वाद खोजिरहेको महसुस गरिरहेका छन् उनले ।

सुकदेव लोकगीतकै विभिन्न धारा झ्याउरे, टप्पा, डम्फा र सोलो गीतहरूमा पनि काम गरिरहेका छन् । ‘वृद्धाश्रम’ गीत गाउँदा बौद्धिक वर्ग र बुवाआमाहरूले देखाएको भावनात्मक प्रतिक्रिया उनका लागि अविस्मरणीय बनेको छ । त्यो गीत गाउँदा आँसु झार्दै दर्शकले दिने माया र प्रेरणाले उनलाई अझ ऊर्जा दिन्छ रे । कोभिडका कारण विदेशमा कार्यक्रम गर्ने केही अवसर गुमाएका सुकदेवले भारतमा भने प्रस्तुति दिइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप