बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महोत्तरीमा थारू संग्रहालय भवन निर्माण गरिँदै

थारू भाषा, परम्परा र संस्कृतिको संरक्षणमा संग्रहालयले महत्वपूर्ण योगदान पुर्‍याउने संरक्षक चौधरीको विश्वास
बुधबार, ०५ कात्तिक २०८२, २१ : ४५
बुधबार, ०५ कात्तिक २०८२

सारांश

  • महोत्तरीको भँगाहामा थारू समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षणका लागि संग्रहालय भवन निर्माण सुरु भएको छ।
  • ६० लाख रुपैयाँ लागत अनुमान गरिएको भवन ९ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ, जसले स्थानीय पर्यटनमा योगदान गर्नेछ।
  • कार्यक्रममा पूर्वमन्त्री र स्थानीय नेताहरूको उपस्थिति रहेको थियो, र यसले थारू समुदायको पहिचान जोगाउन सहयोग गर्नेछ।

महोत्तरी । आदिवासी थारू समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका उद्देश्यले महोत्तरीको भँगाहा नगरपालिका–७ मा ‘थारू संग्रहालय भवन’ निर्माण कार्य सुरु गरिएको छ।

थारू सांस्कृतिक तथा पर्यटन केन्द्रको आयोजनामा बुधबार वडा नं. ७ स्थित तपस्वी तर्सरी बाबा मठको प्राङ्गणमा विशेष समारोहका बीच संग्रहालय भवनको शिलान्यास गरिएको हो। ६० लाख रुपैयाँ लागत अनुमान गरिएको भवन निर्माण ९ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । 

कार्यक्रम संस्थाका अध्यक्ष राम नारायण चौधरीको अध्यक्षता र संरक्षक इन्जिनियर सुदीप कुमार चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। प्रमुख अतिथि  चौधरीले थारू भाषा, परम्परा र संस्कृतिको संरक्षण तथा संवर्द्धनमा यो संग्रहालयले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले भने, 'यो संग्रहालयले हाम्रो थारू इतिहास र पहिचानलाई भावी पुस्तासम्म पुर्‍याउनेछ, साथै यस स्थलले स्थानीय पर्यटन प्रवर्द्धनमा पनि ठूलो भूमिका खेल्नेछ।'

f812fe37-ebf9-4f68-9f75-931be75e97e4

उनले भविष्यमा संस्थाले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र आर्थिक विकासका क्षेत्रमा पनि योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रमका विशिष्ट अतिथिहरूमा पूर्वराज्यमन्त्री नागेन्द्र प्रसाद चौधरी, विघटित प्रतिनिधिसभा सदस्य रामप्रकाश चौधरी, थारू कल्याणकारिणी सभाका पूर्व महामन्त्री अमिरी प्रसाद चौधरी लगायत स्थानीय बुद्धिजीवी, समाजसेवी र जनसमुदायको व्यापक सहभागिता रहेको थियो।

संग्रहालय निर्माण र सञ्चालनका लागि सबै सहभागीहरूले आफ्नो तर्फबाट सहयोग र योगदान गर्ने संकल्प गरेका थिए। साथै, तपस्वी तर्सरी बाबा मठ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको थियो।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव शैलेन्द्र सिंह थारूले गरेका थिए भने स्वागत मन्तव्य थारू कल्याणकारी सभाका केन्द्रीय सदस्य चन्द्र नारायण सिंह थारूले दिएका थिए।

0a99a066-ea1e-46c0-8bef-6e0818126618

थारू समुदाय नेपालको कुल जनसंख्याको करिब ७ प्रतिशत रहेको समुदाय हो, जसको बसोबास पूर्वी झापादेखि पश्चिमी कैलाली–कञ्चनपुरसम्म फैलिएको छ। आफ्नो भाषा, परम्परा, धर्म र संस्कृतिको पहिचान जोगाइराख्न थारू समुदायले विगतदेखि निरन्तर संघर्ष गर्दै आएको छ।

थारू कल्याणकारिणी सभा लगायतका संस्थाहरूले यस अभियानलाई अगाडि बढाउँदै आएका छन्, जसमा महोत्तरीको थारू सांस्कृतिक तथा पर्यटन केन्द्रको यो पहल समुदायको पहिचान र गौरवको दिशामा अर्को महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप