झिलिमिली बत्तीले चम्किएको धरान
सारांश
- धरान तिहारको झिलिमिली उज्यालोमा चम्किएको छ, जहाँ घर र सडकमा बत्ती तथा फूलमालाको सजावट गरिएको छ।
- विद्युतीय बत्तीको बढ्दो मागसँगै परम्परागत दियो र मैनबत्ती विस्थापित हुँदै गएका छन्, जसले बजारमा आर्थिक गतिविधि बढाएको छ।
- यस वर्ष तिहारको व्यापारमा वृद्धि भएको छ, विशेष गरी झिलिमिली बत्ती, फूलमाला र अन्य सजावटका सामग्रीको बिक्री बढेको छ।
धरान । ‘फेसन’ र सांस्कृतिक विविधताको सहर भनेर परिचित धरान तिहारको झिलिमिली उज्यालोमा चम्किएको छ । देशका अन्य सहरमा जस्तै धरानमा पनि हरेक घरघरमा झिलिमिली बत्ती बालिएका छन् । हरेक सडकका गल्लीमा फूलमालाको सुगन्ध फैलिएको छ । रातिको समयमा बत्तीले शोभा बढाएको देखिन्छ भने दिउँसो बजारको किनमेल र चहलपहलले रौनक थपेको छ ।
तिहारलाई फूल, रङ्ग र उज्यालोको पर्व हो । नेपालीका घरघरमा दियो, बत्ती बाल्ने पुरानै चलन हो । समय बदलिएसँगै पछिल्लो समय माटाको दियो र मैनबत्तीको स्थान आधुनिक बत्तीले लिएको छ । यसले विद्युतीय बत्तीको माग बढेको छ । माटोका दियो र मैनबत्ती विरलै देख्न पाइन्छ । व्यवसायी सुलिन श्रेष्ठ पनि परम्परागत दियो र मैनबत्ती करिब विस्थापित भइसकेको बताउँछन् ।
उनी भन्छन्,“पहिले पहिले दियो र मैनबत्ती नै बाल्ने चलन थियो, केही समययता विद्युत र विद्युतीय सामग्रीको पहुँच भएसँगै ती सामान विस्थापित भइसकेका छन् । तिहार सुरु भएसँगै झिलिमिली विद्युतीय बत्तीको बिक्री धेरै हुन्छ । यसबीचमा दैनिक रु ५० हजारदेखि रु ६० हजारसम्म बत्ती र सजावटका सामग्री बिक्री हुन्छन् ।”
घर, पसल र कार्यालयमा रातभर उज्यालो पार्ने चलन बढेको छ । यसले विद्युतीय बत्तीको व्यापार बढी फस्टाएको छ । हाल रु ३० देखि रु २० हजारसम्मका फरक फरक ‘डिजाइन’ का बत्ती बजारमा उपलब्ध छन् । श्रेष्ठले भने,“हाल धरानका हरेक गल्लीमा झिलिमिली बत्ती टाँगिएका छ, हरेक घरका छतमा झुण्ड्याइएका छन् । यही उज्यालोमा युवायुवतीहरू सेल्फी लिँदै गरेको देखिन्छन् । सामाजिक सञ्जालमा धरानका दृश्य सेयर भइरहेका छन् । देउसी—भैलो खेल्ने समूहले घर घरमा पुगेर सङ्गीत र नृत्यको माधुर्य फैलाइरहेका छन ।”
अर्का बत्ती व्यापारी कृष्ण यादव धरानमा हरेक वर्षजसो नयाँ नयाँ स्वरुप र शैलीका बत्तीको माग बढिरहेको बताउँछन् । उनी भन्छन्,“सामाजिक सञ्जालबाट विश्वको अभ्यास हेर्ने मिल्छ, अनि तस्बिर र भिडियो देखाएर यस्तै चाहियो भनेर आउँछन् । यस वर्ष नयाँ डिजाइनका एलइडी स्ट्रिङ, रिमोट कन्ट्रोल बत्ती र नयाँ खालको झिलिमिलीको माग बढेको छ । ग्राहकहरू अब बत्ती मात्र होइन, डिजाइन र रङको मिलान हेरेर तिहारका लागि सामान खरिद गर्छन् । घरको झ्याल, छत र बगैँचासम्म बत्ती सजाउने चलन बढेको छ ।”
सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव प्रभाव खतिवडा गत वर्षको तुलनामा यस वर्ष तिहारको व्यापारमा वृद्धि भएको बताउँछन्। मिठाई, फूलमाला, झिलिमिली बत्ती र अन्य सजावटका सामग्रीको बिक्री करिब २० प्रतिशतले बढेको अनुमान रहेको उनको भनाइ छ ।
“हरेक घरमा झिलिमिली बत्ती र सजावटको आकर्षण बढेको छ । यसले बजारमा आर्थिक गतिविधि पनि बढेको छ”, उनले भने,“फूल, माला, बत्ती र उत्सव मिलनले धरान साँच्चिकै उज्यालो सहर बनेको छ । सांस्कृतिक र आर्थिक दृष्टिले पनि तिहारले धरानलाई नयाँ ऊर्जा र चमक दिएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण