बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

मधेसमा ‘गोधन कुट्ने’ पर्व उत्साहका साथ मनाइँदै

बिहीबार, ०६ कात्तिक २०८२, १२ : १८
बिहीबार, ०६ कात्तिक २०८२

जनपुरधाम । मधेससहित सम्पूर्ण मिथिलाञ्चलमा आज मिथिलानीहरूले परम्परागत ‘गोधन कुट्ने पर्व’ धार्मिक आस्था र सांस्कृतिक उत्साहका साथ मनाइरहेका छन् । बिहानैदेखि गाउँ–गाउँका चौबाटा र गल्ली–टोलमा महिलाहरूको भीड देखिएको छ ।

पिपरा गाउँपालिका–३ का स्थानीय मनोज दस अनुसार प्रत्येक वर्ष यिनै दिन महिलाहरू बिहानै उठेर गोबर र केराउको दाना ओखलमा कुट्दै गोधन कुट्ने पर्व मनाउँछन् । यस पर्वले पारिवारिक स्नेह, समृद्धि र कृषिप्रधान जीवनशैलीप्रति कृतज्ञता प्रकट गर्छ । 

अघिल्लो दिन राति मिथिलाका घरघरमा गाई–भैँसीको गोठमा गोबरबाट गोधन अर्थात् माता लक्ष्मी र भगवान् विष्णुको प्रतीकात्मक प्रतिमा बनाउने परम्परा रहँदै आएको छ । राति गाईबस्तुले त्यस गोधनलाई कुल्चेपछि बाँकी रहेको भागलाई बिहान केराउको दाना मिसाएर कुट्ने चलन रहन्छ । यसैलाई ‘गोधन कुट्ने’ भनिन्छ ।

पर्वको अर्को रोचक पक्ष भनेको हाँसो–ठट्टा र माया–स्नेहको आदानप्रदान हो । महिलाहरू गोधन कुटेपछि दाजुभाइलाई केराउको दाना (बजरी) खुवाउँछन् भने दाजुभाइले दिदीबहिनीलाई कोसेली वा दक्षिणा दिने परम्परा छ ।

यस क्रममा दिदीबहिनीहरूले रमाइलो पारामा “बजरी खैया भैया बजर होईहा, दहेज न दिहा दरिद्र होईहा” भन्ने लोककथन पनि दोहोर्‍याउने गर्छन्, जसको अर्थ – “केराउ खाएर बलियो बन, दान नदिए दरिद्र बन” भन्ने प्रतीकात्मक सन्देश दिनु हो ।

गोधन कुट्ने पर्व मिथिलाको सांस्कृतिक पहिचानका रूपमा स्थापित छ, जसले नारीको श्रम, आस्था र पारिवारिक सम्बन्धलाई अझ मजबुत बनाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप