बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
खेलाडी

‘ओलम्पिकमा दौडिएपछि खेल जीवनले सार्थकता पायो’

शुक्रबार, ०७ कात्तिक २०८२, ०८ : ००
शुक्रबार, ०७ कात्तिक २०८२

सारांश

  • सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिकमा महिला म्याराथनमा प्रतिस्पर्धा गरिन्, जसले २८ वर्षपछि नेपालको प्रतिनिधित्व गरिन्।
  • उनले ओलम्पिकमा २ घण्टा ५५ मिनेट ०६ सेकेण्डमा निर्धारित दूरी पूरा गरिन्, र उनले सागमा नेपाललाई स्वर्ण दिलाएकी थिइन्।
  • सन्तोषीले विभागीय खेलाडीलाई पछि पार्दै विभिन्न प्रतियोगिता जितेकी थिइन् र उनलाई 'गोल्डेन गर्ल'को उपमा दिइएको थियो।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । संसारका कुनै पनि खेलाडीको सपना हुन्छ एकपटक ओलम्पिक खेल्ने । नेपालजस्तो स्रोत र साधन कम भएका देशका खेलाडीका लागि त अझ ठुलो सपना हुन्छ ओलम्पिकमा पुग्नु । किनकि नेपाली खेलाडीहरुले छनोट चरण पार गरेरै ओलम्पिक प्रतिस्पर्धासम्म पुग्नु दुर्लभ अवसर बनेको छ आजको दिनसम्म ।  

नेपालको ओलम्पिकमा पुग्ने सपना पूरा गर्ने माध्यम बनिरहेको वाइल्ड कार्ड इन्ट्री । केही खेलाडी भने छनोट चरण पार गरेरै पनि ओलम्पिकमा सहभागी नभएका होइनन् । तर ती औँलामा गन्न सकिने सङ्ख्यामा मात्रै छन् । ती खेलाडी हुन्- टेनिसका स्यान्टु श्रेष्ठ, तेक्वान्दोका दीपक विष्ट र संगिना वैद्य । 

ओलम्पियनको रूपमा भने धेरै खेलाडी छन् । त्यसमध्येकी एक हुन्- ओलम्पियन सन्तोषी श्रेष्ठ । ३१ वर्षीया सन्तोषी नेपालमा हुने म्याराथनकी च्याम्पियन हुन् । उनी नेपालमा हुने घरेलु म्याराथनमा दुई वर्षदेखि च्याम्पियन छिन् । नेपालगन्ज म्याराथन, कान्तिपुर हाफ म्याराथन, झिल्टुङ दौडजस्ता प्रतियोगितामा त तीन वर्षदेखि राज गरेर बसेकी छिन् । 

santoshi shrestha

धादिङको ज्वालामुखी गाउँपालिका-६ सुनखानीकी सन्तोषीले कक्षा ६ मा पढ्दा पहिलोपटक दौड जितेकी थिइन् । उनले आफ्नो सफलताको यात्रामा सन् २०१५ मा ४० औँ राष्ट्रिय एथ्लेटिक्स च्याम्पियनसिपमा भाग लिइन् । यही प्रतियोगिताबाट उनको एथ्लेटिक्स यात्रा सुरु भएको हो । 

सन्तोषीले पेरिस ओलम्पिकमा महिला म्याराथनमा प्रतिस्पर्धा गरिन् । पहिलोपटक ओलम्पिकको महिला म्याराथनमा सहभागिता जनाएकी उनले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ०६ सेकेण्डमा पूरा गरिन् ।

नेपाली महिला धावकले यसअघि दुई पटक मात्र ओलम्पिकमा सहभागिता जनाएका छन् । पहिलो पटक सन् १९८८ मा नेपालबाट राजकुमारी पाण्डे र मेनुका रावतले म्याराथन दौडिएका थिए भने १९९६ मा विमला राना मगरले भाग लिइन् । २८ वर्षपछि सन्तोषीले पेरिस ओलम्पिकको महिला म्याराथनमा नेपालको प्रतिनिधित्व गरिन् ।

सन्तोषीले ओलम्पिकको पललाई जीवनको अमूल्य क्षणको रूपमा लिएकी छन् । एक त ओलम्पिक त्यसमाथि २८ वर्षपछि नेपालको सहभागिता झनै विशेष थियो । 

santoshi shrestha 2

‘ओलम्पियन खेलाडीका लागि एउटा सपनाको विन्दु हो । त्यो सपना पूरा गर्न सबै खेलाडीले खेल जीवन पूरै समर्पित गरेका हुन्छन् । कतिपयको सपना पूरा हुन सक्दैन । म लक्की भएँ, मेरो ओलम्पिक सहभागिताको सपना पूरा भयो,’ सन्तोषी भन्छिन् । 

ओलम्पिकमा सहभागिता जनाएपछि आफ्नो खेल जीवनले केही सार्थकता पाएको लाग्छ उनलाई । आफूले जीवनको एक सफलता प्राप्त गरेकोमा गर्व महसुस पनि छ । 

  • सागको स्वर्ण जित्दाको पल 

सन्तोषी सन् २०१९ मा भएको दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई एथ्लेटिक्सतर्फ स्वर्ण दिलाउने खेलाडी हुन् । सागअघि सन्तोषीलाई नेपालगञ्जमा २०७७ सालमा भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक मिलिसकेको थियो । 

नेपालमा १३ औँ सागताका धेरैलाई सफलता हात पर्‍यो । त्यसमध्ये सन्तोषीको सफलता झनै विशेष थियो । एथ्लेटिक्सलाई ‘प्यासन’को रूपमा मात्र हेरेकी सन्तोषी पहिलो सागमा सहभागिता जनाउनु मात्र आफ्नो सफलता ठान्थिन् । पछि मेहनतले मज्जाले साथ दिँदा उनी सफल पनि भइन् । ‘मैले त सोचेको पनि थिइनँ, स्वर्ण नै आउँछ भनेर । सागमा सहभागिता जनाउनु मात्र मेरो मुख्य लक्ष्य थियो । सफलता नै मिल्यो,’ उनी स्वर्णिम पल याद गर्छिन् । 

१३ औँ सागमा नेपालले जितेको स्वर्णमध्येको एक सन्तोषीको पनि हो । पहिलो सागमा नै स्वर्णिम सफलता पाउँदा सन्तोषीका लागि यो स्वर्ण विशेष रह्यो । अझ भनौँ, खेललाई प्रोफेसन नबनाएर प्यासन बनाएकाहरुका लागि यो एक उदाहरणीय क्षण बन्यो । 

‘प्रोफेसन नै बनाएर त एथ्लेटिक्स खेलिनँ । मैले प्यासनका रूपमा मात्र लिएको एथ्लेटिक्सले मेरो पहिले सागमा पाएको सफलताले प्यासनलाई झनै प्यारो बनायो,’ सन्तोषीले एथ्लेटिक्स प्रतिको अथक प्रेम झल्काइन् ।

  • विभागीय खेलाडीको दबदबा तोड्ने खेलाडी 

सन्तोषीले आफ्नो एथ्लेटिक्स यात्रा बागमती प्रदेशबाट सुरु गर्दै हालसम्म सोही प्रदेशका लागि खेलिरहेकी छन् । प्रदेशबाट खेलकुद विधामा आफूलाई स्थापित गर्न चाहने खेलाडीहरूका लागि प्रेरणा हुन् उनी । नेपालमा जुनसुकै खेलकुद प्रतियोगितामा विभागीय टोलीको वर्चस्व छ । त्यसमाथि एथ्लेटिक्समा अझ धेरै छ । 

प्रदेशस्तरमा त्यति धेरै सेवा सुविधा नभएका कारण खेलाडीहरू विभागीय टोलीमा बसेर खेल्न रूचाउँछन् । तर सन्तोषीले त्यसो गरिनन् । सन्तोषीलाई विभागीय टोलीहरूले आफ्नो टिममा अनुबन्ध गर्न धेरै मेहनत गरे, तर उनी आफ्नो निर्णयमा अडिग रहिन् । विभागीय टिमभन्दा बाहिर बस्दै विभागीय खेलाडीहरूलाई हराउनेमध्येकी एक खेलाडी हुन् उनी । 

१३ औँ सागपछि घरेलु तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सन्तोषीले आफूलाई अब्बल साबित गर्दै गइन् । उनले नवौँ राष्ट्रिय खेलकुदमा ५ हजार र १० हजार दुवैमा स्वर्ण पदक जित्न सफल भइन् ।  

यता ४४ औँ राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा उनले १५ सय र ३ हजार मिटरमा स्वर्ण जित्दा पहिलो अन्तर प्रदेश खेलकुदमा उनले ५ हजार र १० हजार दुवै विधामा स्वर्ण पदक जितिन् ।

त्यसपछि सन्तोषीलाई गोल्डेन गर्ल भनेर चिन्न थालियो । उसो त नेपाललाई साग खेलकुदमा स्वर्ण जितेको समयमा नै उनलाई गोल्डेन गर्लको उपमा दिन थालिएको थियो । सन्तोषी सन् २०२१ मा सुरु भएको नेपालगन्ज हाफ म्याराथनमा हरेक वर्ष च्याम्पियन हुँदै आएकी छन् । सन्तोषीले विभागीय खेलाडीलाई पछि पार्दै प्रधानसेनापति हाफ म्याराथन, लुम्बिनी पिसको हाफ म्याराथन पनि जित्न सफल भइन् । त्यस्तै सन् २०२२ मा काठमाडौँमा सम्पन्न ४४ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत ३ हजार मिटर र १५ सय मिटर दौडमा उनी प्रथम भइन् ।

यो सबै प्रतियोगितामा आफूलाई अब्बल साबित गरेकी सन्तोषीले सन् २०२४ मा नेपालका लागि एक अर्को अन्तर्राष्ट्रिय पदक दिलाउन सफल भइन् । उनले सन् २०२४ मा बंगलादेशमा भएको बंगबन्धु अन्तर्राष्ट्रिय म्याराथनमा २ घण्टा ४६ मिनेट २३ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जितिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप