सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विचार

‘जेनजीले मेट्रोरेल विकासमा चासो राख्नुपर्छ’

शुक्रबार, ०७ कात्तिक २०८२, ११ : ०२
शुक्रबार, ०७ कात्तिक २०८२

सारांश

  • काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको समस्या समाधान गर्न रेल सेवाको आवश्यकता औंल्याइएको छ।
  • सडक विस्तारले ट्राफिक जाम कम गर्न नसक्ने र सार्वजनिक यातायातको विकास आवश्यक रहेको कुरा उठाइएको छ।
  • मेट्रो रेल सेवा सञ्चालनका लागि अधिकारसम्पन्न निकाय गठन गरी तत्काल काम थाल्नुपर्ने सुझाव दिइएको छ।

नेपालमा सार्वजनिक यातायातको व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको अवस्थामा केही वर्षदेखि उपत्यकामा रेल सेवा सञ्चालन गर्नुपर्ने विषय बहसको केन्द्रमा रहेको छ। पूर्व-पश्चिम रेलमार्ग निर्माणको चरणमा छ भने जयनगर-जनकपुर सञ्चालनमा छ।

अस्थायी र स्थायी रूपमा बसोबास गर्नेसहित ४० लाखभन्दा बढी जनसङ्ख्या भएको काठमाडौँ उपत्यकामा व्यवस्थित सार्वजनिक यातायातका लागि विभिन्न अध्ययनले रेल सेवाको आवश्यकता औँल्याउँदै आएका छन्।

सन् २०१२ मा नेपाल सरकारबाट काठमाडौँमा मेट्रोको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको पनि छ। काठमाडौँमा ५ रुट र ७७ किमी निर्माणको अध्ययन सम्पन्न भएको हो ।

काठमाडौँका सडकमा असरल्ल सवारी देखिनुमा निजी सवारीको सङ्ख्या ह्वात्तै बढ्नु हो जसका कारण दैनिक ट्राफिक जाम र दुर्घटना नौलो हुन छाडेको छ।

सरकारले सडक र सवारी समस्या समाधान गर्न सडक चौडा गर्ने नीति अख्तियार गरेको छ । सडक चौडा पार्दा जाम र दुर्घटना घट्ने सरकारको गलत अनुमान छ । त्यसैले सार्वजनिक यातायातको विकासमा ध्यानै दिएको छैन।

चौडा सडक नीतिले केही समय ती समस्या समाधान गर्न सक्छ। तर जनसङ्ख्या वृद्धि र सवारी चापले बढाएका सडक पनि अपुग हुने दिनपछि आउनेछन् । सडक जति राम्रो हुँदै जान्छ, सवारी किन्नेको सङ्ख्या पनि उत्तिकै बढ्दै गएको हामीले देखेकै हो। सडक चौडापछि अरू सवारी नभित्रिने कुरै भएन । जमिन सीमित हुन्छ । त्यसैले सडक चौडासँगै सार्वजनिक यातायातको विकास गर्नु अति आवश्यक देखिन्छ ।

यातायात इन्जिनियरिङको हिसाबले हेर्दा ३० लाखभन्दा बढी जनसङ्ख्या भएको सहरमा सार्वजनिक यातायातका रूपमा रेल सेवाको विकास गर्नु उपयुक्त देखिन्छ। त्यसैले जनसङ्ख्या ४० लाख नाघिसकेको उपत्यकामा रेलको सेवा उपयुक्त विकल्प हो।

लगानीका दृष्टिले रेल मार्गको विकास सडक मार्गको तुलनामा निकै महँगो छ। हाम्रो जस्तो सानो अर्थतन्त्र भएको र प्राविधिक रूपले अनुभव र दक्षता नभएको देशले रेलमार्ग विकास आफैँ गर्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा हाम्रो देशले रेलमार्ग विकास गर्ने हो भने वैदेशिक लगानी आकर्षित गर्नुको विकल्प छैन। नेपालमा रेलवे सेवा विकास तथा सञ्चालनका लागि भारत, मलेसिया, चीन जस्ता देशका लगानीकर्ताहरूबाट चासो देखाइएको अवस्थामा हामीले त्यस अवसरलाई जतिसक्दो छिटो उपयोग गर्दै रेलसेवा सञ्चालन गर्ने वातावरण निर्माण गर्नुपर्ने हुन्छ।

IMG_2290यी तथ्यबाट हामीले निम्नानुसार पाठ सिक्न सक्छौँ

१) राजधानीमा मेट्रो रेल सेवा सफल रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने कुरा दिल्ली मेट्रोको सञ्चालनलाई हेरे पुग्छ। दिल्ली मेट्रो तोकिएको समय अगाडि नै सम्पन्न भई विश्वलाई नै उदाहरणीय बनेको परियोजना हो। यो परियोजना विकासका लागि दिल्ली मेट्रो रेल कर्पोरेसन भारतको कम्पनी ऐनअन्तर्गत स्थापना गरिएको हो।

२) मेट्रो विकास तथा सञ्चालनको प्रमुख उद्देश्यसाथ स्थापित यस कर्पोरेसनले ४२० किमी ४ चरणमा विकास गर्ने गुरुयोजनासहित यो परियोजना अगाडि बढाएको थियो। पहिलो चरण १९९८ मा सुरु भएर २००५ मा सकिएको थियो जसअन्तर्गत कुल ६५ किमी निर्माण भएको थियो। तोकिएको समयभन्दा २ वर्ष ९ महिना अगाडि नै सकिएको यस चरणको निर्माणको लागत २.५ अर्ब अमेरिकन डलर अर्थात् करिब २५० अर्ब नेपाली रुपियाँ लागेको थियो ।

३) यसको लागत प्रतिकिमी नेपाली रुपियाँ ४ अर्बको हाराहारीमा रहेको थियो । लागतमध्ये २० प्रतिशत सङ्घीय सरकार, २० प्रतिशत राज्य सरकार तथा ५५ प्रतिशत जाइकाको ऋण सहयोग र बाँकी ५ प्रतिशत पुँजी विकासको माध्यमबाट जोहो गरिएको थियो।

४) परियोजनाको पहिलो चरणको आर्थिक प्रतिफल नै २० प्रतिशत नाघेको थियो। अहिले पनि यो परियोजना सफल रूपमा सञ्चालन भएको छ। यसरी छुट्टै ऐनमार्फत गठित स्वतन्त्र निकायमार्फत परियोजना कार्यान्वयन हुँदा परियोजना समयमै सम्पन्न भएको मात्र होइन, परियोजनाको व्यवस्थापनसमेत चुस्त हुँदै जाँदा परियोजना सफल हुन पुगेको हो।

  • अबको बाटो के?

राजधानीको सार्वजनिक सवारीको अवस्था र बढ्दो जनसङ्ख्यालाई ध्यानमा राखी जतिसक्दो छिटो यहाँ मेट्रो रेल सेवा सञ्चालन गर्न ढिला गर्नु हुँदैन । जसका लागि आगामी सरकारले एक अधिकारसम्पन्न निकाय खडा गरी सोहीमार्फत यसको कार्यान्वयन र व्यवस्थापन गर्नुपर्छ।

बनाउने भनेर लाग्ने हो भने पनि मेट्रो रेल सेवा सञ्चालनमा आउन कम्तीमा पनि १५ वर्ष लाग्ने भएकाले तत्काल उपत्यकाको सार्वजनिक यातायातको सुधारका लागि उच्च क्षमताका बस सञ्चालन तथा व्यवस्थापन गर्नुपर्ने देखिन्छ। यसका लागि पनि सरकारले तत्काल आवश्यक कदम चालिहाल्नुपर्ने देखिन्छ।

बस व्यवस्थापन गर्न नसक्ने देशले मेट्रो निर्माण गर्छौँ भन्दा कुनै व्यक्तिले पत्याउने अवस्था छैन। तर पनि बनाउनु चाहिँ पर्छ। कुनै दिन चाहिँ निर्माण हुन्छ तर त्यो दिन कहिले आउँछ, सायद भगवानलाई पनि थाहा छैन।

हालका लागि रुट पहिचान गरी जग्गा अधिग्रहण/व्यवस्थापन चाहिँ गर्नुपर्छ। यसको जगमा हो भोलि मेट्रो बन्ने। बनाउन जमिन नहुने अवस्था छ। अब जेनजीले पनि विकासमा चासो राख्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आशिष गजुरेल
आशिष गजुरेल
लेखकबाट थप