मैले लेखनमा चुनौतिपूर्ण विधा रोजेकी छु : भवानी खतिवडा
सारांश
- भवानी खतिवडा एक चर्चित नियात्राकार हुन्, जसका चार नियात्रा कृति प्रकाशित छन्।
- खतिवडालाई लेखनले सन्तुष्टि दिन्छ र उनले विदेश पलायन रोक्न लेख्ने सोच बनाएकी छिन्।
- उनले पछिल्लो समय नेपाली साहित्यिक बजारमा घोस्ट राइटिङको समस्या र नयाँ पुस्ताको प्रवेशलाई उल्लेख गरेकी छिन्।
लामो समयदेखि निजामती सेवामा कार्यरत भवानी खतिवडा नियात्राकारका रूपमा चर्चित छिन् । उनको ‘चारखोलाको आँगनीमा’, ‘घामभन्दा पहिले’, ‘आकाश ओढेको डोल्पो’ र ‘प्रणाम सगरमाथा’ गरी चार नियात्रा कृति प्रकाशित छन् ।
उनको पहिलो कृति ‘चारखोलाको आँगनीमा’ ले २०७८ को साहित्य पोष्ट उत्तम कृति पुरस्कार प्राप्त गरेको थियो । रातोपाटीको शनिबारीय शृङ्खला ‘नौ प्रश्न’ का लागि रमा सुवेदीले उनै खतिवडासँग गरेको कुराकानी ।
(१) एउटी महिलालाई घरको कामले त थिच्छ नै यसका साथै तपाईं निजामती कर्मचारी पनि हो तथापि लेखन कर्ममै हुनुहुन्छ । तपाईंलाई के कुराले लेख्न प्रेरित गर्छ ?
विद्यालयमा छँदा बेला–बखत विभिन्न प्रतियोगिता, साहित्यिक कार्यक्रमसहित अतिरिक्त क्रियाकलाप भइरहन्थ्यो । ती प्रतियोगितामा जित्न पाए हुन्थ्यो भन्ने बाल मनोविज्ञान थियो । ती प्रतियोगितामा नियमित सहभागी हुन्थे र विजेता भई पुरस्कार पाउँथे । त्यसले मेरो बेग्लै पहिचान बनायो । पछिल्लो समय त यो मेरो लत जस्तै बन्न गयो । जीवनमा प्रत्येक क्षण केही बेग्लै काम गर्न पाए हुन्थ्यो भन्ने लागि रहन्थ्यो । यही सोच्दै गर्दा म लेखनमा आइपुगेँ । लेखनबाट एकदमै सन्तोष प्राप्त भयो मलाई । लेख्न–पढ्न मेहनतै गर्नुपर्छ तर पनि यसबाट मैले सुख पाए । भोली मैले यो जिन्दगी छोडेर जाँदा संसारलाई के छोडेर गएँ त भन्दा मेरा रचनाहरू हुनेछन् भनेर लेख्ने गर्छु ।
पछिल्लो समय मातृभूमि छाडेर विदेश पलायन हुनेहरूको सङ्ख्या देखेर म निकै चिन्तित हुन्छु । त्यो पुस्तालाई विदेश पलायन हुनबाट कसरी रोक्न सकिन्छ भनेर केही लेखौँ कि भन्ने सोचमा छु । त्यसैले यस विषयमा सबैलाई ब्युँझाउन पर्नेछ । आफ्नी आमा नराम्री छन् भनेर छिमेकीको आमालाई आमा मान्न सकिन्छ र ? देशमा सम्भावना छैन भनेर उड्ने पुस्ताहरूलाई कसरी ब्युँझाउने होला भन्ने सोचले गाँजेपछि मैले त्यसैमाथि आफ्नो लेखनलाई केन्द्रित गर्नुपर्छ भन्ने ठानेकी छु ।
(२) तपाईं पछिल्लो पढेको पुस्तक कुन हो ?
मैले अन्तिम पटक डाक्टर गोविन्दराज भट्टराईको ‘नयाँ मुगलान’ पढेँ । यसले हाम्रो देशमा पछिल्लो समय व्याप्त विदेश पलायनको एउटा कुरूप चित्र देखाएको छ । यसले पुस्तौँ पुस्तासम्म पनि गरिब किन गरिब भइरहन्छ ? सपना देख्नेहरूका सपना किन पूरा भइरहेका छैनन् ? मान्छे हन्डरै हन्डरको बिचमा कसरी जेलिएको छ भन्ने विषयलाई बडो मार्मिक ढङ्गले देखाएको छ ।
सिर्जना भनेको प्रत्येक व्यक्तिको आफ्नो अन्तर भावना र विचारको विषय हो । घोस्ट राइटिङले लेखक–अलेखक, सर्जक–असर्जक छुट्याउनै मुस्किल भएको छ ।
अहिले पर्या निबन्ध प्रतियोगितामा छानिएका निबन्धहरूको सङ्ग्रह पढिरहेको छु । यो सङ्ग्रहमा ३२ वटा निबन्ध छन् । मलाई भने प्रतिस्पर्धामा आएका एक सय आठवटै निबन्ध पढ्न मन छ । वर्तमानमा कलम चलाइरहेको पुस्ताले पर्यावरणलाई कसरी हेरेको छ भन्ने बुझ्न यी निबन्धहरू निकै महत्त्वपूर्ण छन् ।
(३) नेपालको साहित्यिक बजारलाई तपाईंले कसरी हेर्नु भएको छ ?
नेपालको साहित्यिक बजारमा पछिल्लो समय घोस्ट राइटिङको उदय भएको छ । सार्वजनिक रूपमै विज्ञापन गरेर हामी तपाईंहरूका भावनालाई शब्दमा उतारिदिन्छौँ भनिरहेका छन् । म भने यसबाट दुःखी छु । सिर्जना भनेको प्रत्येक व्यक्तिको आफ्नो अन्तर भावना र विचारको विषय हो । घोस्ट राइटिङले लेखक–अलेखक, सर्जक–असर्जक छुट्याउनै मुस्किल भएको छ । यो डरलाग्दो अवस्था पो हो त ।

दोस्रो कुरा के भने केही मानिससँग अकूत सम्पत्ति छ । उनीहरू जीवनको उत्तरार्द्धमा सर्जक बनेर मनलाग्दी छापिरहेका हुन्छन् । न अध्ययन छ, न त सम्बन्धित विधामा कलम चलाउनु अघि कुनै ज्ञान–अनुभव छ । आफूलाई जे मनमा लाग्यो त्यही लेखेको छ । त्यस्ता पुस्तकले न त गुणस्तर कायम गर्छन् न नेपाली साहित्यको उन्नयनमा कुनै योगदान नै पुर्याउँछन् । साहित्यका लागि यो सुखद विषय होइन ।
तेस्रो हामी विशाल समुद्रमा छौँ । समुद्रभित्रका जीवहरू जसरी बाँच्नका लागि सङ्घर्ष गरिरहेका छन्, त्यसैगरी साहित्यलाई माथि उठाउन सङ्घर्ष गर्नेहरू पनि छन् । यो चाहिँ राम्रो पक्ष हो । त्यस्ता व्यक्ति वा पुस्ताको भविष्य उज्यालो देख्छु । पछिल्लो समय निराशाको मात्रै कुरा छैन, आशाका कुरा पनि छ ।
(४) लेखेरै अहिलेसम्म कमाउनु भयो वा गुमाउनु भयो ?
मैले लेखेर केही गुमाएकी छैन । बरु धेरै कमाएकी छु । मैले असङ्ख्य पाठक कमाएकी छु । हिजो म गुमनाम थिएँ । आज मेरो नाम छ । हरेक कृतिको पहिलो संस्करण सकिएर दोस्रो संस्करण निकाल्नु पर्ने ठाउँमा म उभिएकी छु । यो भनेको पाठकहरूले मलाई गर्नुभएको माया हो । प्रत्येक कृति निस्किएपछि अग्रहरूको मूल्याङ्कन पाएको छु, पुरस्कृत पनि भएका छन् । अग्रजहरूले यसरी मलाई खोज्नु, सम्झनु वा ममाथि विश्वास गर्नु भनेको तँ माथि दायित्व छ है भनेको हो भन्ने बुझेकी छु । किताबै प्रकाशन गरेर पैसा चाहिँ कमाएकी छैन, माया कमाएको छु । म यसमा बहुत खुसी छु ।
म खासगरी नियात्रामा कलम चलाउँछु । गैर आख्यान (निबन्ध) के हो भन्ने प्रश्नमा म के भन्छु भने कुनै पनि विषयमाथि प्रवाह गरिने विचारको प्रवाह नै गैर आख्यान हो ।
(५) तपाईंको बुझाइमा गैर आख्यान के हो र यो लेखनका चुनौती के हुन ?
गैर आख्यानमा दुइटा हाँगा छन् । एउटा नियात्रा, अर्को विशुद्ध निबन्ध । म खासै निबन्ध लेख्दिनँ । भन्न त नियात्रालाई पनि निबन्धकै हाँगा भनिन्छ । यो बहसकै विषयभित्र छ । यही हो भनेर निष्कर्षमा पुगिहाल्ने अवस्था छैन । विश्वविद्यालयले नियात्रा निबन्धकै एउटा हाँगा हो भन्छ । तर नियात्राका अध्येताहरूले यसलाई छुट्टै विधाका रूपमा व्याख्या गर्ने गर्छन् । कतिले भने नियात्रालाई निबन्धको छोरा हो पनि भन्छन् । तर यो समाउनै नसक्ने गरी झाँगिएको छ । यो स्वतन्त्र छुट्टै विधा हुन चाहन्छ ।
म खासगरी नियात्रामा कलम चलाउँछु । गैर आख्यान (निबन्ध) के हो भन्ने प्रश्नमा म के भन्छु भने कुनै पनि विषयमाथि प्रवाह गरिने विचारको प्रवाह नै गैर आख्यान हो । नियात्रा भनेको बसेर लेखिने निबन्ध होइन । यसको लागि सर्वप्रथम यात्रा गर्नुपर्छ । कहाँ, कहिले, केका लागि भन्ने उद्देश्य हुनु पर्यो । तिथि–मिति चाहियो । यात्रामा देखिएका, भोगिएका, अनुभूत गरिएका विषयवस्तु, घटना, परिघटना, दृश्य सबै कुराको संयोजनसहित आफ्नै पाइतालाले नापेका ती माटोका कथाहरू नियात्रा हुन् । निजात्मक अनुभूति मिसिएपछि नियात्रा बन्ने हो ।
चुनौतीको कुरा गर्नु पर्दा भूगोलकै हिसाबले पनि मैले चुनौती रोजेको छु । म प्रायः पर्वतीय क्षेत्रमा जान्छु । त्यहाँ पुग्न आफैमा एउटा चुनौती भइहाल्यो । त्यस्तो यात्रा साहसिक हुन्छन् । केही अघि जीवा लामिछानेले ‘अक्षत अन्टार्कटिका’ लिएर आउनुभयो । त्यहाँ सानो चुनौतीले पक्कै पुग्नु भएन । मान्छेको रगत जमाउने ठाउँको पानी झम्म खस्दाखेरि कस्तो हुँदो हो ? यात्रामा सोचे नसोचेको कुराहरूको सामना हुन्छ । त्यसकारण पहिलो त यात्रा गर्नु नै चुनौतीपूर्ण हुन्छ । दोस्रो देखेको, भोगेको कुरालाई शब्दमा सविस्तार उन्नु पर्यो । त्यसकारण पाइला–पाइलामा होस पुर्याउँदै हिँड्ने विधा हो नियात्रा ।
(६) समकालीन नेपाली साहित्यको अवस्था कस्तो देख्नु हुन्छ ?
एकदमै उज्ज्वल । किनभने नयाँ पुस्ताका लेखकहरू हस्तक्षेपकारी ढङ्गले आई पुगेका छन् । यो सुन्दर पक्ष हो । नयाँ पुस्ताका कलिला नानी–बाबुहरूले पनि छन्द कविता लेखिरहेको देखेकी छु ।
यति धेरै सम्भावना हुँदाहुँदै हामी किन पलायन भइरहेका छौँ ? यो कुरा जान्न पनि तपाईं ‘प्रणाम सगरमाथा’ पढ्न सक्नु हुन्छ ।
यसै वर्ष प्रज्ञा प्रतिष्ठानको राष्ट्रव्यापी कविता महोत्सवमा १० कक्षामा पढ्नेको विद्यार्थीको छन्द कविता पनि शीर्ष १० भित्र पर्यो । प्रत्येक वर्ष पुस मसान्तको दिन देवघाटमा मकर काव्य यामिनी हुन्छ । त्यहाँ तीन, चार कक्षामा पढ्ने बालबालिकाले समेत छन्दमा कविता सुनाउँछन् । ठुलो भएपछि तिनै बच्चाहरू महाकाव्यको लेखक भन्ने सम्भावना हुन्छ । निबन्ध, कथा, कवितामा पनि एकदमै नयाँ पुस्ताका युवाहरूले प्रवेश गरिरहेको देखिन्छ । त्यसैले नेपाली साहित्यको भविष्य सुन्दर छ ।
(७) ‘प्रणाम सगरमाथा’मा त्यस्तो के छ, जसकारण पाठकहरूले यो पढुन् भन्ने लाग्छ ?
नेपालमा सर्वोच्च शिखर सगरमाथा मात्रै छैन, यहाँ अनेकौँ हिमाल छन् । जापानमा ३७ सय ७६ मिटर अग्लो फुजी हिमाल छ । उसले फुजीलाई फुजी मात्रै भन्दैन, त्यससँग आफ्नो सान जोड्छ र ‘फुजी ज्यू हिमाल’ भन्छ । यो भनेको फुजी माथि उसले लगाएको सम्मानसहितको सम्बोधन हो । जापानको फुजी भन्दा कयौँ उचाइमा हाम्रा सयौँ बस्तीहरू छन् । हामी यस्तो मुलुकका नागरिक हौँ । नेपाल सरकारले ५८ सय मिटर भन्दा अग्लो हिमाललाई मात्रै हिमाल भनेको छ । तर, हामी त १७ सय ९२ वटा हिमाल भएको देशका नागरिक हौँ । संसारका उत्कृष्ट १० अग्ला हिमालमध्ये आठ वटा हाम्रै देशमा छ । संसारका २० वटा सर्वोच्च चुलीहरूमध्ये १४ वटा अग्ला चुली हाम्रैमा छ ।
जीवन अवसर हो । अवसर भन्दा पनि सुन्दर मौका हो । यो दोहोर्याउँछु भनेर पाइँदैन ।
यी कुराहरू बुझ्नका लागि अर्थात् हिमालको गौरव र गरिमा बुझ्नका लागि तपाईं ‘प्रणाम सगरमाथा’ पढ्न सक्नु हुन्छ । यो मेरो चौथो पुस्तक हो । यस अघिका तीनवटा पुस्तकमा भन्दा बेग्लै, माया र प्रतिक्रिया पाइरहेकी छु । हिमालको गरिमा प्रवर्धन गर्न सक्यौँ भने हामी सम्पन्न हुन कत्ति बेर लाग्दैन । यति धेरै सम्भावना हुँदाहुँदै हामी किन पलायन भइरहेका छौँ ? यो कुरा जान्न पनि तपाईं ‘प्रणाम सगरमाथा’ पढ्न सक्नु हुन्छ । यसका साथै पर्यावरणीय चिन्तनको कुरा पनि आउँछ यसमा । ‘ग्लोबल वार्मिङ’को कारणले गर्दा हिमाली भेगमा के कस्ता समस्याहरू देखापरेका छन् र भविष्यमा थप कस्ता समस्या आउन सक्छन् भन्नेबारे पनि यसमा केलाइएका छ ।
(८) तपाईंलाई निकै झक्झक्याएको कुनै एउटा कृति सम्झिनु पर्यो भने कुन सम्झनु हुन्छ ?
मैले आफै पढ्न तथा अरूलाई पढ्न सिफारिस गर्नका लागि प्रतीक ढकालको ‘त्यो उज्यालो कर्णाली’ र मोहन मैनालीको ‘देखेको देश’ भन्न चाहन्छु । कर्णाली सधैँ अँध्यारो छ, पछाडि परेको छ, गरिब छ भन्ने सुनी आएका छौँ हामी । हामीले कर्णालीलाई हेलाका दृष्टिले किन हेर्यो भनेर ‘उज्यालो कर्णाली’ले भन्छ । ‘देखेको देश’ वर्तमान समयको तस्विर हो ।
(९) तपाईं अहिले जुन उमेरमा हुनुहुन्छ, त्यहाँ पुगेर हेर्दा जीवन के रहेछ ?
जीवन अवसर हो । अवसर भन्दा पनि सुन्दर मौका हो । यो दोहोर्याउँछु भनेर पाइँदैन । यो मौकालाई खेर फाल्ने वा सदुपयोग गर्ने तपाईंकै हातमा छ । तर यो जिन्दगीको भर छैन । त्यसैले जे गर्ने हो, बेलैमा गर्नुस् । जीवन सार्थक बनाउने गरी गर्नुस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण