शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
क्रिकेट विश्वकप लिग २

अमेरिकासँग भिड्दै नेपाल, यस्तो छ दुई टोलीको अवस्था

आइतबार, ०९ कात्तिक २०८२, ०५ : १२
आइतबार, ०९ कात्तिक २०८२

सारांश

  • नेपालले क्रिकेट विश्वकप लिग २ मा संयुक्त राज्य अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ, खेल दुबईमा हुँदैछ।
  • नेपाल लिग २ मा ७औं स्थानमा छ, उसले पछिल्ला ४ खेलमध्ये ३ मा जित हासिल गरेको छ।
  • खेलमा नेपालका लागि कुशल भुर्तेल र सन्दीप लामिछाने जस्ता खेलाडीहरूको प्रदर्शन महत्त्वपूर्ण हुनेछ।

दुबई। पुरुष एसोसिएट क्रिकेटमा उत्कृष्ट टिमहरूको भिडन्त–क्रिकेट विश्वकप लिग २ ले रोचक कथावस्तु र रमाइला क्षणहरू दिँदै छ। आठ टिम क्रिकेट विश्वकप क्वालिफायरका चार स्थानका लागि भिडिरहेका छन्। 

आधा बाटो पार गरिसकेपछि र डन्डीमा सम्भवतः प्रतियोगिताको सबैभन्दा राम्रो ट्राइ–सिरिज पछि, अङ्कतालिका केही फरक देखिएको छ। नेपालले चार खेलमा तीन जित हासिल गरेपछि मध्य भागका टिमहरूबिच अङ्कको दूरी घटेको छ।

लिग २ को रोमाञ्चक प्रतिस्पर्धामा आइतबार नेपालले अर्को महत्त्वपूर्ण खेल खेल्दैछ। लिगको ८६ औँ खेलमा नेपाल बलियो टोली संयुक्त राज्य अमेरिकासँग दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भिड्न लागेको हो। शृङ्खलामा तेस्रो टोली आयोजक यूएई रहेको छ ।

Rohit poudel

खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । लिग २ मा आफ्नो पुनरागमनलाई निरन्तरता दिन नेपाललाई यो खेल जित्नै पर्ने दबाब छ।

हाल अङ्कतालिकामा नेपाल ७ औँ स्थानमा छ। १६ खेलमध्ये नेपालले ५ मा जित र ९ मा हार बेहोरेको छ। २ खेलमा भने कुनै नतिजा आएन । 

एकदिवसीय वरीयतामा नेपाल ३३ रेटिङका साथ १७ औँ स्थानमा छ। यद्यपि, हालसालैको फर्म हेर्ने हो भने नेपाल निकै राम्रो लयमा देखिएको छ। टिमले पछिल्ला ४ एकदिवसीय खेलमध्ये ३ मा जित निकालेको छ, जसले गर्दा अमेरिकालाई कडा चुनौती दिन सक्ने अपेक्षा गरिएको छ।

नेपालका लागि लिग २ मा आरिफ शेख (३८४ रन) सर्वाधिक रन बनाउने खेलाडी हुन् भने सोमपाल कामीले १७ विकेट लिँदै बलिङमा अग्रस्थानमा छन्। 

यस खेलमा नेपालको जितका लागि कुशल भुर्तेलको प्रदर्शन महत्त्वपूर्ण हुनेछ। उनी ब्याट र बल दुवैबाट उत्कृष्ट लयमा छन्। उनले लिगमा १८३ रन बनाउनुका साथै १३ विकेट लिएका छन् ।

यस्तै, सन्दीप लामिछाने पनि विकेट लिन सक्ने क्षमताका कारण महत्त्वपूर्ण खेलाडी रहनेछन्। उनले हालसम्म १५ विकेट लिइसकेका छन् ।

Sandep lamichane

अमेरिका उत्कृष्ट लयमा

लिग २ मा अमेरिका निकै बलियो स्थितिमा छ। २० खेल खेलेको अमेरिका १४ जित र ६ हारका साथ २८ अङ्कसहित दोस्रो स्थानमा छ। अमेरिका एकदिवसीयमा आफ्नो जीवनकै उत्कृष्ट लयमा छ भन्दा हुन्छ। 

टिमले पछिल्लो ५ एकदिवसीय खेलमध्ये ४ मा जित निकालेको छ र लिग २ का अन्य टोलीहरूमाथि हाबी हुने अपेक्षा गरिएको छ। एकदिवसीय वरीयतामा अमेरिका ४१ रेटिङका साथ १४ औँ स्थानमा छ।

अमेरिकाका लागि ब्याटिङमा मोनान्क पटेलले सर्वाधिक ७४६ रन बनाएका छन्। बलिङतर्फ नोस्तुश केन्जिगेले २९ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। युएईको पिचमा केन्जिगे बलका साथ निकै प्रभावकारी हुन सक्छन् र उनी आगामी खेलहरूमा अमेरिकाका लागि सर्वाधिक विकेट लिने खेलाडी बन्न सक्छन्। 

मिलिन्द कुमार अर्का महत्त्वपूर्ण खेलाडी हुन्, जो माथिल्लो क्रमका ब्याटरका रूपमा आफ्नो इनिङ्सलाई राम्रोसँग अघि बढाउन सक्छन्।

हेड टू हेड

नेपाल र अमेरिकाबिच एकदिवसीयमा कडा प्रतिस्पर्धा देखिएको छ । दुवैले हालसम्म समान ४–४ खेल जितेका छन् भने १ खेलमा भने कुनै नतिजा आएन ।

दुई टोलीः

नेपालः रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख (विकेटकिपर), अनिल कुमार साह (विकेटकिपर), सहाब आलम, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, गुलशन झा, नन्दन यादव, ललित राजवंशी।

अमेरिकाः मोनान्क पटेल (कप्तान), जेस्सी सिंह (उपकप्तान), सौरभ नेत्रावलकर, रुशिल उगार्कर, नोस्तुश केन्जिगे, मिलिन्द कुमार, स्मित पटेल, शायन जहाँगिर, जुआनोय ड्राइसडेल, सञ्जय कृष्णमूर्ति, हरमीत सिंह, यासिर मोहम्मद, साईतेजा मुक्कामल्ला, शुभम रञ्जाने, एन्ड्रीस गौस।

यस्तो छ नेपालको खेल तालिका:

आइतबार अमेरिकाको सामना गरेपछि नेपालले ३० अक्टोबरमा आयोजक यूएईसँग भिड्नेछ । त्यसपछि १ नोभेम्बरमा पुनः अमेरिकासँग खेलेर नेपालले ५ नोभेम्बरमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

Nepal match

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप