भूराजनीतिको भुमरीमा माडागास्कार
सारांश
- माडागास्कारमा फ्रान्सपरस्त सरकारविरुद्ध चलेको विरोध प्रदर्शन र विद्रोहका कारण राष्ट्रपति देश छाडेर भागे।
- महाशक्ति राष्ट्रहरू हिन्द महासागर क्षेत्रमा आफ्नो रणनीतिक पहुँच बढाउन हानथाप गरिरहेका छन्, जसमा भारत, चीन र अमेरिकाको चासो छ।
- माडागास्कारले फ्रान्सको प्रभावबाट मुक्त हुन खोज्दा राजनीतिक अस्थिरता निम्तिएको छ र नयाँ सरकारले पश्चिमा प्रभावलाई कम गर्न संकेत गरेको छ।
माडागास्कारमा हप्तौँसम्म विरोध प्रदर्शन तथा विद्रोह चल्यो । विद्रोहकै कारण त्यहाँका तत्कालीन राष्ट्रपति आन्द्रेइ राजोएलिना फ्रान्सेली सैन्य जहाजमा चढेर देशबाट भागे । भ्रष्ट तथा पश्चिमा मुलुकतर्फ ढल्किएको सरकारसँग त्यहाँका आममानिस आक्रोशित थिए ।
यी तमाम असहजताका बाबजुद माडागास्कार उल्लेखनीय मुलुक हो । यससँग आफ्नो तथा पूरै हिन्द महासागर क्षेत्रको भविष्य प्रभावित गर्न सक्ने शक्ति छ ।
यतिबेला वैश्विक शक्तिहरू संसारभरको समुद्र क्षेत्रमा रहेका नौ वटा महत्त्वपूर्ण नियन्त्रण बिन्दु अर्थात् चोक पोइन्टहरूमध्ये यस क्षेत्रमा रहेका पाँच वटामा रणनीतिक पहुँच स्थापना गर्न हानथाप गरिरहेका छन् । भारत, चीन र अमेरिका आफ्नो व्यापारिक सञ्जाल तथा जलसेनाको उपस्थिति विस्तार गरिरहेका छन् । कुनै समय यस क्षेत्रको महासागरमा एकछत्र दबदबा कायम राख्ने फ्रान्स भने घेराबन्दीमा परेर पछाडि हटेको अवस्था छ ।
माडागास्कार संसारकै चौथो ठुलो टापुराष्ट्र हो । अमेरिकी अनुसन्धान संस्था ‘सीआईए’का अनुसार ‘सबैभन्दा ठुलो, अधिक जनसंख्या भएको तथा हिन्द महासागरको दक्षिण पश्चिमको रणनीतिक रूपमा असाध्यै महत्त्वपूर्ण अवस्थितिमा रहेको’ माडागास्कार यस क्षेत्रको महत्त्वपूर्ण खेलाडी हो । समुद्रमा आवतजावत गर्ने पानीजहाहरूको बाटो फेरिँदै तथा फैलिँदै गएको अहिलेको अवस्थामा महाशक्ति राष्ट्रहरू यस क्षेत्रमा आफ्नो प्रभाव बढाउन खोजिरहेका छन् ।
- फ्रान्सको लामो औपनिवेशिक प्रभाव
सन् १८९२ देखि फ्रान्सले माडागास्कारमा औपनिवेशिक नियन्त्रण कायम गर्न थाल्यो । उसलाई त्यहाँबाट हिन्द महासागर अन्तर्गतका जलमार्गहरूमा बेलायती दबदबाको प्रतिरोध गर्नु थियो । स्वेज नहर हुँदै भूमध्यसागरको बाटो खुलेपछि पनि माडागास्कारबाट दक्षिण अफ्रिकाको ‘केप अफ गुड होप’ हुँदै घुमेर जाने बाटो एसिया, युरोप र अमेरिकी महाद्वीपबिच हुने व्यापारका लागि असाध्यै महत्त्वपूर्ण नै रह्यो ।

सन् १९६०मा आइपुग्दा माडागास्कार औपचारिक रूपमा स्वतन्त्र राष्ट्र घोषणा भयो । तथापि उपनिवेशबाट मुक्तिको काम अधुरै थियो । माडागास्कार वरपर छरिएर रहेका टापुहरूमा फ्रान्सले आफ्नो नियन्त्रण कायमै राखेको थियो । जसले गर्दा माडागास्कारलाई उत्तर, पूर्व र पश्चिम गरेर तीनतिरबाट घेर्ने विशेष आर्थिक क्षेत्र बन्न पुग्यो ।
भौगोलिक अखण्डताको अन्तर्राष्ट्रिय कानुन अनुसार माडागास्कारले ती टापु आफ्नै मुलुक अन्तर्गत पर्ने दाबी गर्छ । सन् १९७५ मा त्यहाँ समाजवादी शासन स्थापना भयो । फ्रान्सेली सेना धपाइए, तर खाद्य अभावका कारण बढ्दो आन्दोलनको सामना गर्नु परेपछि मिश्रित अर्थव्यवस्था लागु गरियो । पुनः फ्रान्ससँगको सहकार्य बढ्यो । दुई वटा बन्दरगाहमा फ्रान्सेली नौसेनाको जहाजलाई ओहोर दोहोर गर्ने अनुमति दिइयो ।
जब–जब माडागास्कारका नेताहरू फ्रान्सलाई छोडेर अन्यत्र हेर्न खोज्छन्, लगत्तै त्यहाँ सङ्कट देखिन्छ । साथै सङ्कटको अन्त्य तख्तापलट तथा राष्ट्रप्रमुख लगायत नेताको निर्वासनमा पुगेर टुङ्गिने गर्छ ।
सन् २००२ मा जब आन्दोलन बढ्दै गयो, तत्कालीन राष्ट्रपति डिडियर रात्सिराका भागेर फ्रान्स पुगे । त्यसपछि बनेको सरकार पनि लामो समय टिकेन । सन् २००९मा सैनिकको एउटा टुकडीले विद्रोह गर्यो । राजधानी सहर अन्तानानारिभोका मेयर आन्द्रेइ राजोएलिना राष्ट्रपति बनाइए । त्यस यता गत हफ्तासम्म उनी नै राष्ट्रपति पदमा थिए ।
- फ्रान्सको प्रभावक्षेत्र अर्थात् फ्रान्काफ्रिकमा अर्को विघटन
राजोएलिना सन् २००९मा सैन्य सम्भ्रान्तहरूको टुकडी ‘क्यापस्यट’ को समर्थनमा सत्तामा आएका थिए । सुरुवातमा लोकप्रियतावादीका रूपमा प्रस्तुत भएका उनी सन् २०१३मा सत्ताबाट हटाइए । सन् २०१८मा पुनः टेक्नोक्र्याटिक र व्यापारमैत्री भेषमा उनलाई सत्तामा ल्याइयो । उनको कार्यकालका माडागास्कारले खासै प्रगति गर्न सकेन । विद्युत् तथा शुद्ध खानेपानी पहुँचको हिसाबले विश्वकै कमजोर मुलुकका रूपमा रहिरह्यो ।
भ्रष्टाचारका विविध काण्डहरूले उनको विश्वसनीयता थप घटाउँदै लग्यो । राज्यले चलाइरहेको ऊर्जा क्षेत्रको एकाधिकारमा सुधार गर्नुको सट्टा देशको ठुलो बाँध परियोजनामा फ्रान्सलाई ३७ दशमलव ५ प्रतिशत हिस्सेदारी दिने सम्झौता गरे । माडागास्कार वरपर रहेका टापुहरू पुनः प्राप्त गर्ने आफ्नो अडानका कारण चर्चित राष्ट्रपतिबाट यस्तो कदम चालिनु अनौठो घटना थियो ।
उनले गोप्य रूपमा फ्रान्सेली नागरिकता लिएको खुलासा भयो । माडागास्कारमा दोहोरो नागरिकता लिन पाउने प्रावधान नभएको अवस्थामा उनको यस्तो गतिविधिले उनको राष्ट्रवादी अडानलाई फिक्का पारिदियो ।
गत महिना सडक आन्दोलनमा गोली चल्दा दुई दर्जन हाराहारी प्रदर्शनकारी मारिए । त्यसपछि उनलाई सत्तामा ल्याउने सैनिक टुकडी ‘क्यापस्याट’ उनकै विरुद्ध खनियो । त्यही टुकडीले उनलाई सत्ताच्युत गर्यो । उनी फ्रान्स भागे । उनको पलायनले अफ्रिकामा पश्चिमा समर्थित राजनेताहरूको विघटनको झल्को दिइरहेको छ ।
- अफ्रिकाबाट लखेटिएको फ्रान्स
अफ्रिकाभर फ्रान्सको हालत खराब हुँदै गएको छ । त्यसैको पछिल्लो शृङ्खला हो माडागास्कार । यसअघि नै माली, बुर्किना फासो, नाइजर, मध्य अफ्रिकी गणतन्त्रलगायत मुलुकबाट फ्रान्सेली सेना लखेटिएका छन् । अहिले ग्याबोन र जिबुटीमा मात्रै फ्रान्सेली सेना तैनाथ छन् । त्यहाँ पनि करिब दुई सयभन्दा कमको संख्यामा मात्रै फ्रान्सेली सेनाको उपस्थिति छ । जिबुटीमा त फ्रान्ससँगै अन्य सात वटा मुलुकका सैन्य अखडा छन् ।
सरकारले ‘अल–कायदा’ र ‘आईएसआईएस’ को आतङ्क रोक्न नसकेको भन्दै सन् २०२२को जनवरीमा बुर्किना फासोमा सैन्य ‘कु’ भयो । नयाँ सरकारले पनि केही गर्न नसकेको भन्दै त्यसै वर्षको सेप्टेम्बरमा साम्राज्यवाद विरोधी युवा इब्राहिम ट्राओरेको अगुवाइमा अर्को ‘कु’ भयो । त्यसैगरी मालीमा सन् २०२०मा भएको ‘कु’पछि पुनः सन् २०२१ मा अझ उग्रवादी अस्सिमी गोइटाको अगुवाइमा अर्को सैन्य ‘कु’ भयो ।
यस्तो अवस्थामा माडागास्कार पनि गुम्नु फ्रान्सका लागि ठुलो रणनीतिक क्षति हो । माडागास्कार वरपर फ्रान्सको नियन्त्रणमा रहेका टापुहरू मोजाम्बिक च्यानलको दुवैतर्फ पर्छन् । अहिले मोजाम्बिकमा इस्लामी उग्रवादी आन्दोलन चलिरहेको छ । मोजाम्बिक च्यानलमा लुटपाटको जोखिम बढिरहेको छ । यमनको अन्सरल्लाह पक्षधर लडाकुहरूले लाल सागरमा नाकाबन्दी गरेको कारण अवरोध देखापर्ने गरेका छन् ।
लाल सागर हुँदै स्वेज नहरको बाटो जाने पानीजहाजहरू अफ्रिका घुमेर केप अफ गुड होपको बाटो जानुपर्ने अवस्था सिर्जना भएको छ । त्यस बाटोबाट जाने जहाजको संख्या दुई सय प्रतिशतले वृद्धि भएको छ ।
कुनै समय आफैँले उपनिवेश बनाएर कब्जा गरेको सामुद्रिक नियन्त्रण बिन्दु वा चोक पोइन्ट गुमाउनुपर्ने जोखिममा फ्रान्स पुगेको छ । केही समय अघिमात्रै बेलायतले मोरिससलाई चागोस द्वीपसमूह फिर्ता गर्यो । यसले पनि उपनिवेश विरोधी आन्दोलन सहेर बसेको फ्रान्सलाई हिन्द महासागरमा थप घेराबन्दीमा पारेको छ ।
- भारत र चीनको उपस्थिति
भारतको करिब ९० प्रतिशत व्यापारिक गतिविधि हिन्द महासागरमा भर पर्छ । उसले दशकौँदेखि त्यहाँ हो–हल्ला नगरी आफ्नो उपस्थिति बढाइरहेको छ । सन् २००७ मा उत्तरी माडागास्कारमा भारतले अर्थतन्त्रमा लिसनिङ पोस्ट’ स्थापना गरेको छ । यसले चियोचर्चो तथा सुरक्षा सम्बन्धी सूचना सङ्कलन लगायतका गतिविधि गर्छ ।
लगत्तै भारतले मोरिसस, माल्दिभ्स, ओमान तथा सिसिलिसलगायत पश्चिम हिन्द महासागरका केही स्थानमा सैन्य उपस्थिति गरायो । सन् २०१८मा भारत र माडागास्कारले रक्षा सहकार्य सम्बन्धी सम्झौता गरे । सन् २०२१ र २०२२कै बिचमा उनीहरू बिचको आयात निर्यात दोब्बर भयो । माडागास्करमा हुने प्रभावकारी उपस्थितिले भारतलाई व्यापारमा बढावा दिन मद्दत गर्छ ।
त्यतिमात्रै नभएर व्यापार मार्गहरूको सुरक्षा गर्नुका साथै हिन्द महासागरमा आउने आक्रमणकारी जहाजहरूबाट जोगिन प्रारम्भिक सूचना प्रणाली सिर्जना गर्न सहज बनाउँछ । यस क्षेत्रमा भारतको रणनीतिक तथा आर्थिक दुवै स्वार्थ छन् । भारतलाई यहाँ व्यापार मार्गको सुरक्षा गर्नुछ । प्रतिद्वन्द्वी शक्तिका नौसैनिक जहाजहरूको निगरानी गर्नुछ । साथै खनिज सम्पदा उत्खननमा पनि उसको चासो छ ।

इलेक्ट्रोनिक तथा रक्षा सम्बन्धी उत्पादनमा अति महत्त्वपूर्ण मानिने निकेलको ठुलो भण्डार माडागास्कारमा छ, तर कमजोर पूर्वाधारका कारण सीमित मात्रामा मात्रै उत्खनन भइरहेको छ । यही परिप्रेक्ष्यमा अर्को मुलुक चीन भने हिन्द महासागरलाई आफ्नो ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ को सामुद्रिक मेरुदण्डका रूपमा हेर्दैछ । चीनको ८० प्रतिशतभन्दा बढी तेल निर्यात यही क्षेत्रबाट हुन्छ । आफ्नो चासो सम्बोधन गर्नकै लागि चीनले जिबुटीमा सैन्य अड्डा स्थापना गरिसकेको छ । साथै इरिट्रिया, केन्या, माडागास्कार, मोजाम्बिक तथा श्रीलंकामा बन्दरगाह निर्माणको काम विस्तार गरेको छ ।
अहिले पूर्वी अफ्रिकामा बढी केन्द्रित रहेको चीन आफ्नो प्रभाव माडागास्कारमा पनि फैलाउन खोज्दैछ । यसअघि नै पूर्वी माडागास्कारको टामाता वेमा बन्दरगाह निर्माण गरिसकेको चीनले कुनै समय फ्रान्सको नौसैनिक अड्डा रहेको उत्तरी माडागास्कारको डिएगो सुआरेजमा पनि पहुँच बढाउन लागेको छ ।
माडागास्कारको सबैभन्दा ठुलो व्यापारिक साझेदारका रूपमा रहेको चीनले त्यहाँको राजनीतिमा भने त्यति चासो राखेको थिएन, तर सधैँ त्यस्तो नहुन सक्छ । माडागास्कारमा बनेको नयाँ सरकारले चीनलाई थप गहिरो सम्बन्ध बनाउन तथा आफ्ना वैश्विक महत्त्वाकांक्षा पूरा गर्न, त्यस क्षेत्रमा बलियो उपस्थिति कायम गर्न बाटो खोलिदिएको छ ।
- अमेरिका
भौगोलिक प्रतिकूलता तथा जताततै युद्धमा अल्झिएका कारण अमेरिका यो प्रतिस्पर्धामा पछाडि परेको छ । केही समय अघिसम्म पनि हिन्द महासागरमा अमेरिकाको मुख्य चासो पश्चिम एसियामा केन्द्रित थियो । उसको मुख्य ध्यान पर्सियाको खाडी तथा लाल सागरबाट तेल र अन्य वस्तुको निर्वाध प्रवाह हुनुपर्नेमा थियो ।
कुनै समय बेलायतले हिन्द महासागरमा एकलौटी गर्ला भनेर डराएको फ्रान्सजस्तै अहिले अमेरिकालाई पनि चीनले त्यसै गर्ला भन्ने डर छ । त्यहाँ रुसको समेत चासो बढेको छ । रुसले सन २०१८मा माडागास्करमा भएको निर्वाचनमा आफूले चाहेको उम्मेदवारलाई समर्थन गर्यो । सुडान अन्तर्गत लाल सागरमा सैन्य आधार सुरु गर्यो । म्यानमारसँग संयुक्त सैन्य अभ्यास थाल्यो । साथै चेन्नईदेखि भ्लादिभोस्तोकसम्मको समुद्री मार्ग बनाउन भारतसँग सहकार्य गर्दैछ ।
अमेरिकाले हिन्द–प्रशान्त रणनीति अघि सारेको छ । यसअघि ‘एसिया–प्यासिफिक पिभोट’ भनिएको रणनीतिलाई पुनः ब्राण्डिङ गरेर अघि सारिएको भए पनि उपलब्धि भने न्यूनमात्रै देखिन्छ । भारतसँगको भन्सार महसुल युद्ध (ट्यारिफ वार) तथा पश्चिमी हिन्द महासागरमा कमजोर सैन्य उपस्थितिले अमेरिकाको महत्त्वाकांक्षामा बाधा पुर्याइरहेको छ ।
अमेरिका माडागास्करको सबैभन्दा ठुलो निर्यात गन्तव्य हो । अमेरिका पनि माडागास्करमा फ्रान्सले पहिले देखेको कुरा ठम्याउन सक्छ । आफ्ना प्रतिद्वन्द्वीहरूको सामना गर्न माडागास्कारलाई ‘लन्चप्याड’ बनाउन सकिन्छ भन्ने उसले राम्रोगरी बुझेको छ ।
तर निकट विगतको अनुभव भने त्यति न्यानो छैन । सन् २००९को सैन्य ‘कु’ पछि अमेरिकाले त्यहाँ दिने गरेको सहायतामा कटौती गरेको थियो । पछिल्लो समय भन्सार महसुल बढाएको छ । यस्ता अनुभवले सम्बन्धमा व्यापक सुधार हुन सजिलो भने छैन । माडागास्कारको नयाँ सरकार साम्राज्यवाद विरोधी रूपमा देखा पर्यो भने झन् अप्ठ्यारो हुनेछ ।
- पछिल्लो विद्रोहको चरित्र के हो ?
माडागास्कारमा अमेरिकाले पाइला राख्न सक्ने एउटै तरिका भनेको पछिल्लो विद्रोहलाई सघाउनेमात्रै हो । त्यसो गर्दा सत्तारुढ सेना पश्चिमा स्वार्थको कठपुतलीमा परिणत हुन्छ । ‘अरब स्प्रिङ’को समयमा पनि अमेरिकाले त्यसै गरेको थियो । उसले माडागास्कारको हकमा पनि त्यसै गर्न सक्छ ।
तर अफ्रिका पहिलाजस्तो छैन । अहिले उनीहरू पश्चिमालाई अफ्रिका बाहिर धकेल्न अधैर्य देखिन्छन् । उनीहरूले बुर्किना फासो, माली र नाइजरबाट पश्चिमालाई धपाइदिए । सायद यही कुरा बुझेरै हुन सक्छ, माडागास्करका नयाँ राष्ट्रपति माइकल रान्ड्रियानिरिनाले बीबीसीसँगको कुराकानीमा फ्रान्सेली भाषामा कुरा गर्न अस्वीकार गरे । यसमार्फत उनले आफ्नो साम्राज्यवाद विरोधी रवैयाको सङ्केत गरेका हुन सक्छन् । उनी आफू औपनिवेशिक बोलीको महिमा गाउन मन नपराउने बताउने गर्छन् ।
कार्यालय सम्हालेको पहिलो दिन उनी इब्राहिम ट्राओरेजस्तै सैन्य पोसाकमा थिए । त्यही दिन उनी कार्यालयबाट सोझै विद्युत् केन्द्रमा गएर त्यहाँको समस्याबारे बुझ्न थाले । यसले साङ्केतिक रूपमा उनी वैदेशिक स्वार्थभन्दा पनि जनताको गुनासो सम्बोधनमा केन्द्रित हुन्छन् जस्तो देखिएको चर्चा छ ।
माडागास्कारमा यही अवस्था रह्यो भने उसले आफ्ना लुटिएका टापुहरूमा दाबी गर्न सक्छ । आफ्नो खनिज उत्खनन् गर्न तथा विदेश नीतिमा स्वतन्त्र बाटो लिन पनि सक्छ । यसो गर्दा अफ्रिकामा बढ्दै गरेको पश्चिमा बर्चस्व विरोधी लहरमा माडागास्कार पनि मिसिन सक्छ ।
हिन्द महासागरको बृहत् संघर्षमा माडागास्कारको क्रान्तिले औपनिवेशिक युगको खटन–पटन अन्त्य गर्ने तथा नयाँ भूराजनीतिक युगको सुरुवात गर्ने बाटोमा जान सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण