बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सुनारमाथि मुद्दाका चाङ

दलित अभियन्ता सुनारविरुद्ध अदालतमा मुद्दैमुद्दा

आइतबार, ०९ कात्तिक २०८२, १५ : २१
आइतबार, ०९ कात्तिक २०८२

सारांश

  • दलित अभियन्ता खगेन्द्र सुनारविरुद्ध जिल्लादेखि सर्वोच्च अदालतसम्म मुद्दा विचाराधीन रहेको पाइएको छ।
  • सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्रीका लागि सिफारिस भए पनि सुनारको नाम विवादका कारण काटियो।
  • सुनारमाथि अदालतको अवहेलना, बहुविवाह, ठगी र अस्पतालमा हातपात गरेको आरोपमा मुद्दा दर्ता भएका छन्।

काठमाडौँ । दलित अभियन्ता खगेन्द्र सुनारविरुद्ध जिल्लादेखि सर्वोच्च अदालतसम्म मुद्दा विचाराधीन रहको पाइएको छ । 

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्रीका लागि सिफारिस भएका सुनार विवादमा रहेको पाइएपछि उनको नाम काटिएको छ । उनीविरुद्ध फौजदारी कसुरमा अदालतको अवहेलना मुद्दा छ । 

अधिवक्ता मनिषा गौतमले सुनारविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता गरेकी थिइन् । रुकमका नवराज विक हत्या प्रकरणमा अदालतको फैसलाको विषयलाई लिएर न्यायाधीशविरुद्ध गालीगलौज गरेको भन्दै गौतमले अदालतको अवहेलनामा मुद्दा दर्ता गरेकी थिइन् । सर्वोच्चमा दायर भएको सुनारविरुद्धको मुद्दामा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ । 

सुनारले सर्वोच्चकी न्यायाधीश सपना मल्ल प्रधानलाई पनि गालीगलौज गरेर सामाजिक सञ्जालमा लेखेका थिए, त्यसपछि अदालतले टिप्पणी उठाएर मुद्दा दर्ता गरेको थियो । उनले अदालतमा मुद्दा दर्ता गर्ने अधिवक्ता गौतममाथि पनि गालीगलौज गरेका थिए ।

अधिवक्ता गौतमले हालेको अदालतको मानहानी मुद्दामा गत असोज ६ गते पेसी तोकिएको थियो । तर, सर्वोच्च अदालतमा आगजनी भएपछि मुद्दा स्थगन भएको छ । 

नवराज विकको मुद्दामा उच्च अदालत सुर्खेतले सुनाएको फैसला चित्त नबुझेपछि सुनारले अदालतबाहिर वितण्डा मच्चाएका थिए । उनले अदालत परिसरमा हुलहुज्जत र गेटमा तोडफोड गर्नुका साथै न्यायाधीशहरूविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएपछि गौतमले मानहानिको मुद्दा हालेकी हुन् । 

यस्तै काभ्रे जिल्ला अदालतमा पनि सुनारमाथि विद्युतीय कारोबारसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । २०८०  असारमा सुनारलाई जिल्ला अदालतले १० हजार जरिवाना हुने फैसला सुनाएको थियो । सो जरिवाना हालसम्म सुनारले तिरेका छैनन् । 

यस्तै सुर्खेत जिल्ला अदालतबाट आपराधिक घटनामा संलग्न रहेको भन्दै अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो । सुर्खेतको गुर्भाकोट नगरपालिका–८ स्थित मेहेलकुना अस्पताल प्रमुख डा. सोजन सापकोटामाथि हातपात र अस्पताल भवनमा तोडफोड गरिएको आरोपमा सुनारविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । 

२०८१ असार २१ मा जारी पक्राउ पुर्जीमा सुनार अदालतमा हाजिर भएर साधरण तारेखमा छुटेका थिए ।  

यति मात्र होइन, सुनारले वैदेशिक रोजगारमा कामदार पठाउने नाममा पनि म्यानपावर कम्पनी खोलेर ठगी गरेको पाइएको छ । म्यानपावर कम्पनी खोलेका उनले नचलेपछि एक वर्षमा बन्द गराएका थिए । उनले म्यानपावर कम्पनी खोलेर २०७७ मा विभिन्न देश पठाउने भन्दै ५ देखि १५ हजारसम्म विभिन्न व्यक्तिसँग रकम असुली गरेर फिर्ता नगरेपछि उनीविरुद्ध ठगीको उजुरी परेको थियो । पीडितको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेर वैदेशिक रोजगार विभागमा बुझाएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप