बाँदरले दुःख दिएपछि अदुवा खेती, राम्रो मूल्य पाउँदा हर्षित किसान
हेटौंडा । बाँदरबाट जोगाउन मकवानपुरको हेटौंडाका किसानले लगाएको अदुवा बोटसहित ८० रुपैयाँ किलोमा बिक्री भएको छ । छठ पर्वका लागि हेटौंडा उपमहानगरपालिका–६ का किसानहरुले ८० रुपैयाँ किलोमा बोटसहितको अदुवा बिक्री गरेका हुन् ।
छठ पर्वमा बोटसहितको अदुवाको मूल्य राम्रो पाउँदा किसानहरु खुसी भएका छन् । बाँदरको आतंकले वर्षौंदेखि बाँझो रहेको जमिनमा उनीहरुले अदुवा रोपेका थिए ।
छठमा अदुवाको बोट चढाउने परम्परा छ । स्थानीय किसान युवराज तिमल्सिनाका अनुसार व्यापारीहरुले किसानको बारीबाटै प्रतिकिलो ८० रुपैयाँमा स्याउलासहितको अदुवा खरिद गरेका छन् । छठका लागि भनेर हेटौंडा, वीरगन्ज, कलैया लगायत सहरबाट व्यापारीहरु सिधै किसानको बारीमा पुगेर अदुवा खरिद गरेको उनले बताए । छठ पर्वका कारण सामान्य समयमा प्रतिकिलो ५०–६० रुपैयाँमा बिक्री हुने अदुवा अहिले ८० रुपैयाँमा बिक्री भएको उनले बताए ।
‘अदुवाको बुढी (पुरानो गानो) बिक्रीबाट लगानी उठिसकेको थियो । अहिले बोटसहित राम्रो मूल्यमा बेच्दा मुनाफा भयो,’ तिमल्सिनाले भने, ‘छठ पर्वका लागि मात्र मेरो सहितका अन्य किसानले तीन क्विन्टल अदुवा बोटसहित बिक्री भयो । मेरो मात्र एक क्विन्टल जति बेचेँ ।’
हेटौंडाको उक्त क्षेत्रका किसान लामो समयदेखि बाँदरबाट प्रभावित थिए । बाँदरले धान, मकै, कोदो जस्ता अन्नबाली नष्ट गर्न थालेपछि किसानहरुले वैकल्पिक खेतीको रुपमा अदुवा र बेसार रोजेका थिए । बाँदरको हैरानीले १० वर्षसम्म बारी बाँझै राखेकी किसान अञ्जु ढकाल अहिले अदुवा र बेसारले आम्दानी राम्रो भएको बताउँछिन् । अदुवा खेतीले किसानलाई आर्थिक राहत मात्र नभई बाँदरबाट बाली जोगाउने सुरक्षित विकल्प पनि प्रदान गरेको उनी बताउँछिन् ।
‘पहिले बाँदरले केही बाँकी राख्दैनथ्यो । अहिले अदुवा र बेसार लगाएपछि बोट राम्रो भएको छ । आम्दानी पनि राम्रो हुन थालेको छ,’ उनी भन्छिन्, ‘बारीमै व्यापारी पुग्ने, नगद हातमा पाइने र जोखिम कम हुने भएकाले किसानहरुको उत्साह बढेको छ ।’
किसानलाई प्रोत्साहन गर्न बागमती प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिकामार्फत नौलो बिहानी कृषि सहकारीलाई अदुवाको बिउ उपलब्ध गराएको थियो । उक्त सहकारीले किसानलाई बिउ वितरण गरेर खेती गरिएको तिमल्सिनाले बताए ।
नौलो बिहानी कृषि सहकारीका अध्यक्ष विष्णु ढुंगानाका अनुसार ७६ जना किसानलाई मागका आधारमा करिब ५ हजार किलो अदुवाको बिउ वितरण गरिएको थियो । २९ जना किसानलाई ५०० किलो बेसारको बिउ उपलब्ध गराइएको उनले बताए । कार्यक्रममा ५० प्रतिशत लगानी प्रदेश सरकार र बाँकी ५० प्रतिशत सहकारीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण