बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह

सोमबार, १० कात्तिक २०८२, १२ : ४३
सोमबार, १० कात्तिक २०८२

सारांश

  • जल तथा मौसम विज्ञान विभागले देशभर वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।
  • पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीको प्रभावले मौसम बदली भई वर्षा र हिमपात हुनेछ।
  • गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी हिमपातको सम्भावना रहेको छ।

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले पोस्ट मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै देशभर वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण आगामी दुई दिन मौसम प्रभावित हुने विभागले जानकारी दिएको छ ।

विभागले जारी गरेको बुलेटिनअनुसार आज रातिदेखि पर्सि बुधबार बिहानसम्म देशका विभिन्न भागमा मौसम बदली भई वर्षा र हिमपात हुनेछ ।

यस प्रणालीको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ । विशेषगरी, एक–दुई स्थानमा भने भारी हिमपातको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

विभागले सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ । 

विशेष गरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा वा सो क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन विभागले सुझाएको छ ।

566370572_2065008920927511_3373037475736286677_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप