प्रहरीमा एसएसपीको ५ सिट रिक्त, १७ जना प्रहरी अधिकृत प्रतिस्पर्धामा
सारांश
- प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को ५ सिट रिक्त भएको छ।
- डीआईजी बढुवा सिफारिस भएपछि १७ जना अधिकृत एसएसपीको बढुवाको लागि प्रतिस्पर्धा गर्दैछन्।
- बढुवामा अख्तियार प्रमुखको हस्तक्षेप र आईजीपीको भूमिकाको बारेमा आलोचना भइरहेको छ।
काठमाडौँ । नेपाल प्रहरीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को ५ सिट रिक्त भएको छ । कार्तिक ९ मा पाँच जनालाई डीआईजीमा बढुवा सिफारिस गरेसँगै पाँच पद रिक्त भएको हो । आइतबार वरिष्ठ उपरीक्षकहरू भूपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्ले डीआईजीमा बढुवा सिफारिस भएका हुन् ।
डीआईजी सिफारिस भएसँगै रिक्त एसएसपीको पाँच सिटमा बढुवा हुन योग्य १७ जना प्रहरी अधिकृतहरू प्रतिस्पर्धामा छन् । मेरिट लिस्टको पहिलो नम्बरमा विमल बस्नेत छन् । राष्ट्रिय अनुसन्धान विभागमा २०५३ पुस ९ मा भर्ना भएर प्रहरीमा आएका बस्नेत यसअघि पनि पटक पटक बढुवामा छुट्दै आएका अधिकृत हुन् ।
२०८२ साउन ५ मा आफूभन्दा जुनियरलाई बढुवा सिफारिस गरिएको भन्दै बस्नेतले बढुवा उपरको उजुरी सुन्ने समितिमा उजुरी दिएका थिए । त्यसबेला समितिले उनको उजुरी खारेज गरेको थियो । प्रहरी नियमावली अनुसार बढुवा विरुद्ध उजुरी गरेपछि २ नम्बर घट्ने प्रावधान छ ।
२०७७ साल मा अनियमितताको आरोपमा निलम्बनमा परेका बस्नेलाई प्रहरी प्रधान कार्यालयले त्यसबेला ५ वर्ष बढुवा रोक्का गर्ने निर्णय गरेको थियो । सो निर्णयपछि बस्नेत लगातार बढुवामा छुटिरहेका छन् । कार्यसम्पादन मूल्याङ्कन बापत बढुवा समितिलाई ७.५ नम्बर दिने अधिकार हुन्छ ।
मेरिट लिस्टको दोस्रो नम्बरमा राम प्रकाश शाह छन् । राष्ट्रिय अनुसन्धान विभागमा २०५५ भदौमा सेवा प्रवेश गरेर शाह प्रहरीमा आएका हुन् ।
त्यसपछि २०७७ माघ २० मा एसपी भएका अधिकृतहरू एसएसपी बढुवा हुने प्रतिस्पर्धामा छन् । भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश प्रसाद काफ्ले, अमरेन्द्र बहादुर सिंह, श्याम सिंह चौधरी, नकुल पोखरेल, पदम बहादुर विष्ट, सुवास चन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राज कुमार सिलवाल, योगेन्द्र सिंह थापा, महेन्द्र कुमार श्रेष्ठ, दिलीप घिमिरे र वीरेन्द्रबहादुर शाही बढुवाका आकाङ्क्षी हुन् ।
जेनजी प्रदर्शनपछि भएको प्रहरीको सरुवा र बढुवामा अख्तियार प्रमुख प्रेम कुमार राईले हस्तक्षेप गरेको भनेर आलोचना हुँदै आएको छ । अख्तियार प्रमुखले हस्तक्षेप गर्दा आईजीपी चन्द्र कुवेर खापुङ चाहिँ निरीह बनेका छन् ।
सिट सङ्ख्या थोरै र प्रतिस्पर्धी धेरै हुँदा काबिल अधिकृतहरू यसपटक पनि छुट्न सक्ने प्रहरी अधिकृतहरू बताउँछन् । उनीहरूको ब्याचका अधिकांश सहकर्मीहरू वरिष्ठ उपरीक्षकमा बढुवा भैसकेका छन् ।
वरीयताको चौथो नम्बरमा रहेका ऋषिराम कँडेल कपन स्थित केन्द्रीय विशेष कार्यदलको प्रमुख हुन् । जेनजी प्रदर्शन हुँदा कार्यदलबाट संसद् भवनको सुरक्षामा खटिएका प्रहरीले चलाएको गोली लागेर प्रदर्शनकारीले ज्यान गुमाए । आन्दोलनमा कँडेल पनि संसद् भवन परिसरमा खटिएका थिए ।
प्रहरी उपरीक्षक भएपछि लामो समय युएन मिसनमा काम गरेका अमरेन्द्र बहादुर सिंहले जिल्ला कमाण्ड गरेका छैनन् । प्रहरीभित्र काबिल भनेर चिनिएका दिलीप घिमिरे, श्यामसिंह चौधरी, वीरेन्द्र शाही र सुवासचन्द्र बोहरा वरीयतामा पछाडि छन् । सुरेश प्रसाद काफ्ले मेरिट लिस्टको पाँचौँ नम्बरमा छन् ।
भदौ २४ मा भएको प्रदर्शनमा उच्छृङ्खल समूह प्रहरी प्रधान कार्यालय भित्र प्रवेश गर्न खोजेपछि एसपी बोहराले नेतृत्वको टिमले प्रधान कार्यालय जोगाएको थियो । त्यसबेला बोहरा नक्साल स्थित सशस्त्र प्रहरी गण नम्बर–१ को इन्चार्ज थिए । त्यसबेला कार्य विभागमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धि विक्रम शाहसँग समन्वय गरेर बोहराको टिमले प्रधान कार्यालय जोगाउन गोली चलाएको थियो ।
जेनजी प्रदर्शनपछि बनेको अन्तरिम सरकारको स्वीकृतिमा हुने बढुवा ‘सिरियल नम्बर’ अनुसार हुन्छ या काबिलले अवसर पाउँछन् भन्ने विषय पेचिलो बनेको अधिकृतहरू बताउँछन् । जेनजी प्रदर्शनपछि भएको प्रहरीको सरुवा र बढुवामा अख्तियार प्रमुख प्रेम कुमार राईले हस्तक्षेप गरेको भनेर आलोचना हुँदै आएको छ । अख्तियार प्रमुखले हस्तक्षेप गर्दा आईजीपी चन्द्र कुवेर खापुङ चाहिँ निरीह बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण