जेनजी आन्दोलनबारे माधव नेपालको दृष्टिकोण : केपी ओलीमाथि थोपरे दोष
सारांश
- माधवकुमार नेपालले ओली सरकारको विफलता र दमनकारी नीतिले देशलाई अस्थिरतामा पुर्याएको आरोप लगाए।
- उनले जेनजी आन्दोलनको कारण ओली सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र भ्रष्टाचारलाई औंल्याए।
- नेपालले वर्तमान संकट समाधानका लागि संविधान र लोकतान्त्रिक प्रणाली जोगाउँदै निर्वाचन गर्नुपर्ने बताए।
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जेनजी आन्दोलनसहित अहिलेको परिस्थिति आउनुमा मुख्य जिम्मेवार एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भएको जिकिर गरेका छन्। पार्टीको बुधबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उनले दुई तिहाइ बहुमतसहित बनेको ओली सरकारको विफलता र दमनकारी नीतिले देशलाई अस्थिरता र अशान्ततामा डुबाएको आरोप लगाएका छन्।
उनले प्रतिवेदनमा भनेका छन्, अहिलेको परिस्थिति ल्याउनमा मुख्य जिम्मेवार २०७४ को आम निर्वाचनपश्चात् बनेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओली हुन् किनभने करिव दुईतिहाइ बहुमतको त्यस एकल सरकारले मुलुकको आर्थिक-सामाजिक रूपान्तरण गर्ने गुरुयोजनाहरू बनाएर तीव्र गतिका साथ विकास निर्माणका काम गर्नुपर्थ्यो तर गरेन ।'
जेनजी पुस्ताले २०८२ भदौ २३ गते सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध, भ्रष्टाचार र कुशासनको विरोधमा शान्तिपूर्ण प्रदर्शन आयोजना गरेका थिए । तर, त्यस प्रदर्शनमा तत्कालीन ओली सरकारले बर्बर दमन गरेको बताउँदै उनले गोली प्रहारबाट निहत्था प्रदर्शनकारीको ज्यान गएको उल्लेख गरेका छन्।
उनका अनुसार उक्त घटनाले देशभर आक्रोश फैलायो र भदौ २४ गते विभिन्न घुसपैठियाहरूले त्यसको अवसर लिएर देशका ऐतिहासिक धरोहर र सरकारी संरचनामाथि हमला गरे। 'जेनजी पुस्ताले विध्वंस मच्चाउने काम गर्न सक्दैन, यस्तो कार्य निहित स्वार्थ बोकेका कुतत्वहरूले गरे,' प्रतिवेदनमा भनिएको छ।
प्रतिवेदनका अनुसार भदौ २४ को घटनामा ७६ जनाको मृत्यु र ४ हजारभन्दा बढी घाइते भए, १७५६ भवन र ३ हजारभन्दा बढी सवारीसाधन जलाइए, १ लाख नजिक गोली र १२ सयभन्दा बढी हतियार लुटिए, र करिब चार खर्ब रुपैयाँ बराबरको क्षति भयो।
माधव नेपालले मुलुकमा यस्तो विनाशकारी परिस्थिति आउनुको अर्को कारण राजनीतिक परिवर्तनसँगै आर्थिक–सामाजिक रूपान्तरण नहुनु, राज्य संयन्त्रमा व्याप्त भ्रष्टाचार, असमानता र बेरोजगारी भएको बताएका छन्। 'तात्कालिक कारण भने केपी ओली सरकारले सामाजिक सञ्जाल बन्द गर्नु हो,' उनले भनेका छन्।
उनका अनुसार, ओली नेतृत्वको दुई तिहाइ सरकारसँग देशको आर्थिक र सामाजिक रूपान्तरण गर्ने ऐतिहासिक अवसर थियो, तर उसले वि.सं. २०५१ सालमा मनमोहन अधिकारीले गरेका जनपक्षीय कामसमेत नगरेर उल्टै प्रतिगामी कदम चाल्यो। प्रतिनिधि सभा विघटनलाई उनले त्यही प्रतिगामी प्रवृत्तिको निरन्तरता भनेका छन्।
नेपालले पार्टीको तर्फबाट जेनजी पुस्ताका मागलाई जायज ठहर गर्दै सुरुदेखिनै समर्थन जनाएको स्मरण गराएका छन्। उनका अनुसार, भ्रष्टाचार नियन्त्रण, सुशासन र रोजगारीका मागहरू समाजवादी पार्टीले पनि अघिदेखि उठाउँदै आएको विषय हुन्।
प्रतिवेदनमा भनिएको छ, 'जेनजी पुस्ताको आन्दोलन लोकतन्त्र समाप्त गर्ने होइन, बरु त्यसलाई अझ जनपक्षीय बनाउने उद्देश्यले गरिएको हो।' तर, उनले केही घुसपैठियाहरूले आन्दोलनलाई अपहरण गरेर लोकतन्त्र खारेज गर्ने षड्यन्त्र गरेको दाबी गरेका छन्।
नेपालले वर्तमान संकट समाधानका लागि संविधान र लोकतान्त्रिक प्रणालीलाई जोगाउँदै प्रतिनिधि सभाको निर्धारित मितिमा निर्वाचन गराउनुपर्ने बताएका छन्। उनले भनेका छन्, 'हामीले बलिदान गरेर ल्याएको लोकतन्त्र गुम्न दिनु हुँदैन। वर्तमान संकटको निकास संवैधानिक र शान्तिपूर्ण बाटोमै खोजिनुपर्छ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण