बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कटहरियामा फेरि करार तथा ज्यालादारी कर्मचारी आन्दोलित

नगरपालिकासहित सबै वडा कार्यालयमा दोस्रो पटक तालाबन्दी
बुधबार, १२ कात्तिक २०८२, १७ : २३
बुधबार, १२ कात्तिक २०८२

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरू पुनः आन्दोलनमा उत्रिएका छन् । 

लामो समयदेखि तलब र सेवा सुविधा नपाएको भन्दै उनीहरुले बुधबारदेखि नगरपालिका कार्यालयसहित वडा नम्बर १ देखि ९ सम्मका सम्पूर्ण वडा कार्यालयमा दोस्रो पटक तालाबन्दी गरेका हुन् ।

यसअघि पनि दीपावली र छठ पर्व अगावै कर्मचारीहरूले यस्तै मागसहित तालाबन्दी गरेका थिए । नगरप्रमुख अजय प्रकाश जयसवालले छठ भित्रै सम्पूर्ण तलब भुक्तानी गर्ने आश्वासन दिएपछि आन्दोलन रोकिएको थियो । तर छठ सकिएको दुई साता नबित्दै माग कार्यान्वयन नभएपछि करार तथा ज्यालादारीका कर्मचारीहरू पुनः आन्दोलनमा उत्रिएका हुन् ।

कर्मचारीहरूले नगरप्रमुख अजय प्रकाश जैसवाल र प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीले पटक–पटक लिखित र मौखिक आश्वासन दिएपनि कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।

वडा नम्बर ८ का कर्मचारी मुकुन्द यादवका अनुसार सबै वडाका कर्मचारीहरूले सामूहिक रूपमा तालाबन्दी गर्दै कार्यालयका चाबी आ–आफ्नो जिम्मामा राखेका छन् ।

त्यस्तै वडा नम्बर १ का करार कर्मचारी मुकेश कुशवाहाले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए ।

नगरप्रमुख जयसवालले केही दिनअघि सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै तिहारअघि नै करार कर्मचारीहरूको समस्या समाधान गरिने बताएका थिए ।

उनका अनुसार कर्मचारीहरूले आवश्यक कागजात बुझाएपछि तलब वितरण प्रक्रिया अघि बढाइने भनिएको थियो । तर भुक्तानी अझै भएको छैन ।

योजना शाखा प्रमुख रामनरेश यादवले प्रमुख प्रशासकीय अधिकृत नेपालीसँग फोन संवाद गरेपछि आगामी तीन दिनभित्र सम्पूर्ण प्रक्रिया पूरा गरेर तलब पठाइने बताएका छन्।

तर कर्मचारीहरूले भने पटक–पटक यस्तै आश्वासन दिइए पनि कार्यान्वयन नहुँदा अब विश्वास गर्न गाह्रो भएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप