जेनजी आन्दोलनले जबरजस्त स्थापित गरिदिएको मुद्दा : पार्टी पुनर्गठन
सारांश
- युवाहरूले सामाजिक सञ्जालमा प्रतिबन्ध र सुशासनको माग गर्दै आन्दोलन गरे, जसले सरकार ढाल्यो।
- जेनजी पुस्ताले सामाजिक र राजनीतिक मुद्दाहरूमा चासो देखाउँदै, पुराना दलहरूप्रति असन्तुष्टि जनाए।
- दलहरूले युवा पुस्तालाई आकर्षित गर्न पुनर्गठन गर्नुपर्ने, अन्यथा उनीहरूको अस्तित्व संकटमा पर्ने सम्भावना छ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धको विरोध र सुशासनको माग गर्दै युवाहरूले भदौ २३ गते आन्दोलनको आव्हान गरे । आन्दोलन दुई दिनसम्म चल्यो र सोही आन्दोलनले सत्ता समेत ढल्यो । सत्ता ढलेसँगै यसले दलहरूलाई रूपान्तरण र पुनर्गठनमा ठुलो दबाब सृजना गरेको छ ।
सन् १९९७ देखि २०१२ सम्म जन्मिएकाहरूको समूहलाई जेनजी भनिन्छ । अङ्ग्रेजीको जेनेरेसन ‘जेड’ लाई छोटकरीमा जेनजी भनिएको हो । जेनजी पुस्तालाई ‘डिजिटल नेटिभ’ पनि भनिन्छ । किनभने, उनीहरूले जन्मेदेखि नै स्मार्टफोन र इन्टरनेटको प्रयोग गर्दै आए । प्रविधिसँगै हुर्किएको यो पुस्तालाई भाग्यमानी जेनेरेसन मानिन्छ ।
सामाजिक र राजनीतिक मुद्दाहरूबारे सचेत यो पुस्ता खुला विचार राख्नेमा अगाडि देखिन्छ । जेनजीले टिकटक, इन्स्टाग्राम र रेडिटलाई राजनीतिक चेतनाको मञ्च बनाए । ह्यासट्यागहरू, लाइभ स्ट्रिमहरू र भाइरल भिडियोमार्फत यो पुस्ताले युवाहरूको ठुलो समूहलाई राजनीतिमा खबरदारी गर्न एकजुट बनाएको छ ।
- स्थापित पार्टी र जेनजी
स्थापित विभिन्न राजनीतिक दलहरूप्रति जेनजी पुस्ताका युवाहरूको आकर्षण किन भएन त भन्ने प्रश्न जायज छ । मूलतः ६ कारण छन्, जसले गर्दा जेनजीहरु स्थापित दलहरूप्रति आकर्षित भएनन् ।
पहिलो, पुस्तागत अन्तर । युवाहरू छिटो परिवर्तनका साथै सहभागितामूलक प्रतिनिधित्व चाहन्छन् तर नेपालका राजनैतिक दलमा यस्तो अभ्यास न्यून रहेको छ । दोस्रो, डिजिटल मोबिलाइजेसन पावर । संगठन विस्तार र नागरिकप्रतिको जनसरोकारको विषयमा सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरूलाई प्रयोग गर्न सकिन्छ, जुन पुराना दलहरूमा त्यति सम्भव देखिँदैन । आजको पुस्ता यिनै ‘डिजिटल टुल्स’ मार्फत छिटो संगठित भई परम्परागत शक्तिलाई चुनौती दिने सामर्थ्य राख्छ ।
तेस्रो, सुस्त सुधार प्रक्रिया । आन्तरिक लोकतन्त्रलाई सुधार गर्ने मामिलामा पुराना पार्टीका नेताहरूले प्रायः प्रतिरोध गर्ने गरेका छन् । यसै कारण युवाहरूलाई पार्टीको निर्णय प्रक्रियाबाट बाइपास गरिन्छ । तर, जेनजी पुस्ताका युवाहरूले त्यस्तो पार्टीकै सान्दर्भिकतामाथि प्रश्न उठाई दिए । चौथो, वैचारिक अस्पष्टता । हिजोआज पार्टीकै सदस्य पार्टीको आदर्श र विचारप्रति निराश छ । त्यसको मूल कारण भनेकै वैचारिक अस्पष्टता हो ।
पाँचौँ, विश्वव्यापी प्रभाव । विश्वव्यापी रूपमा देखापरेको राजनैतिक परिवर्तनको छिटाले नेपालका युवाहरूलाई समेत प्रभाव पारेको देखिन्छ । त्यसैकारण उनीहरू स्थापित पार्टीमा भन्दा जेनजी आन्दोलनमा संगठित हुन रुचिकर देखिए । छैटौँ, कानुनी राज्यको उपहास । सरकार सञ्चालन गरिरहेका दल र प्रतिपक्षी दलसमेत कानुनी राज्यलाई उपहास गरेकै कारण युवाहरू स्थापित दलहरूको विपक्षमा उभिए ।
- पार्टी पुनर्गठनको मुद्दा र प्रभाव
जेनजी पुस्ताले नेतृत्वमा नयाँ अनुहार खोजेको छ । उनीहरू पुरानो ‘आलोपालो’ प्रणालीलाई स्विकार्न तयार छैनन् । उनीहरू पारदर्शिता, जबाफदेहिता र क्षमतावान् नेतृत्वको चाहना राख्छन् । त्यसैले राजनीतिलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन दलहरूको पुनर्गठन आजको अनिवार्य सर्त हो ।
लामो समयसम्म नेतृत्वमा बसेर राजनीतिलाई नै असफल बनाइरहेका मुख्य पात्रहरूलाई बिदा नगरीकन दलहरूको पुनर्गठन सम्भव छैन । त्यसैले पुनर्गठनको मुद्दालाई स्थापित पुराना राजनीतिक दलहरूले कसरी लिएका छन् भनी हेर्नु सान्दर्भिक हुन्छ ।
नेपाली कांग्रेस
जेनजी आन्दोलन पश्चात् पुनर्गठनको दबाब सबैभन्दा बढी नेपाली कांग्रेसमा परेको छ । यसैबिचमा नेपाली कांग्रेसका सभापतिले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खडकालाई दिएका छन् । केन्द्रीय कार्यसमितिको बैठक तिहारपछि फेरी सुचारु हुने गरी हाल स्थगित भएको छ ।
केन्द्रीय समितिको बैठक मूलतः नियमित वा विशेष अधिवेशन के गर्ने भन्नेमा केन्द्रित रह्यो । नेपाली कांग्रेसको विधान बमोजिम केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशन बोलाउन माग गरेमा तीन महिना भित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनु पर्छ । हाल ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका छन् ।
कांग्रेसको सङ्गठनात्मक कमजोरी, नेतृत्वको जडता र जनअपेक्षाप्रति बेवास्ताका कारण जनतासँग संवाद गर्न नसक्ने, नीति स्पष्ट गर्न नसक्ने र सरकारको कार्यशैलीप्रति आफ्नै समर्थक जनमतलाई समेत विश्वस्त पार्न नसक्ने अवस्था रहेको भाष्य सृजना गरिएको थियो ।
नेकपा (एमाले)
यही वर्षभित्र पार्टी महाधिवेशन गर्ने योजना बनाएको एमालेले भदौ तेस्रो साता विधान अधिवेशन पनि सकेको थियो । विधान अधिवेशनबाट पार्टी नेतृत्वमा तेस्रो पटक दोहोरिने औपचारिक बाटो खोलेका अध्यक्ष केपी ओलीलाई नेतृत्वबाट राजीनामा दिन एमालेका केही नेताहरूले माग गरिरहे पनि ओलीकै नेतृत्वको निरन्तरताका निम्ति अर्को पक्षका एमाले नेताहरू खुलेका छन् । फागुनमा निर्वाचन घोषणा भएसँगै एमालेले मङ्सिर २७–२९ सम्म महाधिवेशन गर्ने मिति तय गरेको छ ।
माओवादी केन्द्र
असोजमा सम्पन्न नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकले केन्द्रीय समिति भङ्ग गरि महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेको छ । माओवादी केन्द्रले महाधिवेशन आयोजक समितिको संयोजकमा तीन दशक भन्दा लामो समयदेखि पार्टी नेतृत्वमा रहेका रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तोकेको छ । उक्त बैठकले मंसिरको अन्तिम सातासम्म विशेष महाधिवेशन गरिसक्ने निर्णय गरेको थियो । यसैबिच माओवादी केन्द्र र महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीबिच एकता महाधिवेशन गर्ने समझदारी समेत भएको छ ।
जनमत पार्टी
जनमत पार्टीभित्र लामै समयदेखि विवाद चर्किँदै आएको भए पनि जेनजी आन्दोलनपछिको परिस्थितिमा विवाद उत्कर्षमा पुगेको छ । यही बिचमा अध्यक्ष डा. राउतले कतिपयलाई कारबाही गरे भने कतिपयले आफैँ विद्रोह गरेर निस्किएका छन् । जनमतका असन्तुष्ट पक्षले पार्टी फुटाएर जनस्वराज पार्टी नै गठन गरेका छन् ।
अन्य पार्टीहरू
नेकपा एकीकृत समाजवादीमा पनि नेतृत्व हस्तान्तरणको माग भइरहेको छ । नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईले जेनजी प्रदर्शनपछि पार्टी नेतृत्वबाट राजीनामा दिएका छन् । यस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव मोहन वैद्य ‘किरण’ ले पदबाट राजीनामा दिए पश्चात् सीपि गजुरेल महासचिवमा चयन भएका छन् ।
- पुराना पार्टीमा अटाउलान् त जेनजी ?
‘पोलिटिक्स इज अ डर्टी गेम’ भन्ने भाष्य अधिकांश नेपाली मिलेनियल्सहरूको थियो । मिलेनियल्स भन्नाले ४५ भन्दामुनि र २९ वर्ष भन्दा माथिको पुस्ता । यो पुस्ताले राजनीतिलाई भ्रष्टाचार, नातावाद र अपारदर्शिताको पर्याय ठानेर राजनीतिबाट विमुख हुन खोज्यो । तर जेनजी पुस्ताले ‘पोलिटिक्स इज अ डर्टी गेम’ को पुरानो भाष्यलाई चुनौती दिनुका साथै सामाजिक सञ्जालबाट राजनीतिक खबरदारी गरिरहेको छ ।
अहिले देशमा करिब ५२ प्रतिशत युवा मतदाता छन्, जसको राजनीतिक चेतना, आकाङ्क्षा र दृष्टिकोण अघिल्लो पुस्ताभन्दा धेरै परिष्कृत छ । अबको प्रश्न के हो भने त्यो पुस्ता पुराना पार्टीमा अटाउन सक्लान् ?
राजनीतिक दल र तिनका मुख्य नेतृत्वले विना सर्त स्विकार्नु पर्ने तथ्य के हो भने हाम्रो नेतृत्व असफल भइसक्यो । र, हामीले वैकल्पिक नेतृत्व विकास गर्न नदिएर वा नसकेर राजनीतिमा युवा पुस्ताको आक्रोश बढेको हो । यो परिदृश्य वर्तमान नेपाली राजनीतिका लागि निर्णायक मोड हो ।
सुधारको नायक बन्ने अवसर जो–कोहीलाई छ । त्यसका लागि भाषण भन्दा एजेन्डामाथिको प्रतिबद्धता आवश्यक छ । यो कुरालाई मनन गर्दै राजनीतिक पार्टीहरूले हरेक तहमा युवाको प्रतिनिधित्व कम्तीमा २५ प्रतिशत पुर्याउन आवश्यक छ । यसो गर्न सके मात्र पुराना पार्टीमा युवा पुस्ताको आकर्षण बढ्नेछ । अन्यथा युवा पुस्तालाई नयाँ खुल्ने पार्टीहरूले नै आकर्षित गर्ने छन् भन्नेमा कुनै शङ्का छैन ।
अन्त्यमा, जेनजीको माग बमोजिम लोकतन्त्रलाई संस्थागत गर्दै सुशासन र भ्रष्ट्राचार नियन्त्रणमा नेपालका राजनीतिज्ञहरूले काम गरे भने दलको अस्तित्व कायम रहला अन्यथा नेतृत्वसँगै पार्टीको अस्तित्व पनि समाप्त हुने निश्चित छ ।
(काठमाडौँ विश्वविद्यालयबाट ज्ञान व्यवस्थापनमा विद्यावारिधि गरेका पौडेल नेपाली कांग्रेसका नेता हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण