बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अन्तरवार्ता

विप्लवलाई प्रश्न– माओवादीसँग एकता प्रक्रियाबाट नेकपा बाहिरिएको हो ?

बिहीबार, १३ कात्तिक २०८२, १८ : ००
बिहीबार, १३ कात्तिक २०८२

सारांश

  • नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकताको छलफल भइरहेको बेला विप्लव पूर्वी क्षेत्रको भ्रमणमा निस्किएका छन्।
  • विप्लवले नयाँ कम्युनिस्ट केन्द्र बनाउने प्रस्ताव राखेका छन्, तर माओवादीसँगको एकता तत्काल नदेखिएको बताए।
  • विप्लवले संसदीय व्यवस्थालाई अपूर्ण र असफल भन्दै राज्य पुनर्संरचना र नेपाली विशेषताको समाजवाद स्थापनाको कुरा उठाए।

काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबिच पार्टी एकताको विषयमा सघन छलफल भइरहेको वेला नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पूर्वी क्षेत्रको भ्रमणमा निस्किएका छन् । समाजवादी मोर्चाको संयोजकसमेत रहेका उनी सुरुदेखि नै पार्टी एकताको पक्षमा दृढ देखिन्थे ।

गत वर्ष वैशाखमा नेकपाको केन्द्रीय समिति बैठकले माओवादी लगायत कम्युनिस्ट घटकसँग एकता गर्ने निर्णय गरेको थियो । जेनजी विद्रोहपछि असोज २५–३० गतेसम्म कपिलवस्तुमा बसेको केन्द्रीय समितिको विशेष बैठकले नेकपाकै नेतृत्वमा नयाँ कम्युनिस्ट केन्द्र निर्माण गर्ने निर्णय गरेपछि एकताको सम्भावना तत्काल नदेखिएको माओवादीका शीर्ष नेताहरूले बताएका छन् ।

एकता वार्ताकै बिचमा विप्लवकै दलका नेताहरू निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिएपछि माओवादीका केही नेताले असन्तुष्टि पोखेका छन् ।

पार्टी एकता, संसदीय प्रणालीमा प्रवेश र पार्टीको भावी योजनाबारे रातोपाटीकर्मी गणेश पाण्डेले नेकपाका महासचिव विप्लवसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, विप्लवसँग गरिएको कुराकानीको सम्पादित अंशः

  • नेकपा माओवादी केन्द्रसहितको वामपन्थी घटकसँग एकता प्रक्रियाबाट तपाईंहरू बाहिरिएको हो ?

त्यस्तो होइन । एकताको छलफल नयाँ आधारमा, नयाँ कम्युनिस्ट केन्द्र बनाउने, नयाँ विचारको विकास गर्नेगरी गर्नुपर्छ भन्ने हाम्रो प्रस्ताव छ । त्यसैमा छलफल चलिराखेको छ ।

  • माओवादी र एकीकृत समाजवादीबिच एकता अन्तिम चरणमा पुगेको कुरा आएको छ, तर तपाईं पूर्व क्षेत्रको भ्रमणमा निस्किनुभएको छ । असोज १४ गते प्रचण्डसमक्ष तपाईंले राखेको प्रस्तावमा कुरा मिलेन भन्ने कुरा आएको छ । सम्बन्ध चिसिएको हो ?

चिसोपना आएको कुरा होइन । हामीले बाहिर स्पष्ट गरिसकेका छौँ । हाम्रो एकताको मूल मर्म भनेको अबको नेपाली विशेषताको समाजवाद स्थापना गर्ने, त्यसपछि एउटा नयाँ कम्युनिस्ट केन्द्र, एउटा ताजा केन्द्र बनाउने गरी प्रस्ताव राखेका छौँ । तपाईंले सुनिराख्नुभएकै छ । त्यसमा उहाँहरूको एकता भयो भने हामी स्वागत नै गर्छौं, त्यो राम्रै कुरा हुन्छ । त्यसमा केही फरक पर्दैन, तर उहाँहरूबिच तुरुन्तै एकता हुने हामीलाई जानकारी छैन । उहाँहरूको एकता हुन्छ भने त्यो सकारात्मक कुरा नै हो ।

  • समाजवादी मोर्चा सिङ्गै एकता गर्ने तयारीमा भइरहेको वेला एकाएक एकताको माहोल कसरी बिग्रियो ?

हाम्रो दृष्टिकोण हामीले प्रस्तुत गरेकै छौँ । अहिले पछिल्लो जनआन्दोलनपछि कम्युनिस्ट आन्दोलनको एकता आवश्यक छ । नयाँ केन्द्र बनाउने उद्देश्यसहित हुनुपर्छ । जसरी कम्युनिस्ट आन्दोलनमा कमीकमजोरी देखा परेका छन्, ती कुरालाई रूपान्तरण गर्ने, सच्याउने गरी हुनुपर्छ भन्ने हाम्रो कुरा हो ।

यो प्रस्तावमा सामान्य छलफल भइराखेकै छन्, तर ठोस ढंगले हुन सकेको छैन । बाँकी योभन्दा बाहिरबाट अहिले पार्टी मिलाइहालौँ, अहिले जे छन्, त्यही रूपमै पार्टी एक गरौँ भन्ने खालबाट माओवादी, समाजवादी लगायत अरु साथीहरूको कुरा भइराखेको छ भने त्यो उहाँहरूको कुरा भयो । त्यो स्वतन्त्रता उहाँहरूलाई छँदैछ नि ।

  • वार्ताको बिचबाटै निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिनुभएको छ । संसदीय अभ्यासमा पहिलो अनुभव लिँदै हुनुहुन्छ । कसरी सामना गर्ने तयारी गर्नुभएको छ ?

हामीले नेपाली जनताको बिचमा १२ वर्षदेखि आफ्ना कुरा राख्दै आएका छौँ । यो संविधान अपूर्ण छ । अहिलेको संसदीय व्यवस्था नेपालमा सफल छैन । दलाल पुँजीवाद र नेपाली जनताको बिचमा लडाइँ चलिरहेकै छ । अहिले आएका सबै समस्या त्यसकै कारणले हुन् । त्यसैले राज्यलाई पुनर्संरचना गर्नुपर्छ, संविधानको पुनर्लेखन गर्नुपर्छ । त्यसपछि नेपाली विशेषताको समाजवाद स्थापना गर्नुपर्छ भन्ने कुरा हामीले पहिलेदेखि भन्दै आएका छौँ ।

त्यही आधारमा नेपाली जनतालाई पनि अहिले हामीले अपिल गर्ने कुरा हो । त्यसैमा हामी जनताको बिचमा जाने हो । जनताको मत हामीले पाउने हो अथवा माग्ने हो । त्यही नै हो हाम्रो कुरा ।

  • जनतामा जाने भनिरहँदा सहकार्य वा मोर्चाबन्दी हुन्छ कि एक्लै चुनव लड्नुहुन्छ ?

तीन वटा कुरामा अहिले ध्यान दिनुपर्छ । एउटा, कम्युनिस्ट आन्दोलनको सँगालो जरुरी छ । मिल्न सक्ने जतिको बिचमा एकता आवश्यक छ । नभए मोर्चाबन्दी गर्न आवश्यक छ । त्यसपछि कम्युनिस्ट पार्टीको एउटा असल आदर्श, विचार, आचरण, व्यवहार, दृष्टिकोणसहितको कम्युनिस्ट पार्टी आवश्यक छ । यो आधारमा एकता पनि हुन्छ, मोर्चाबन्दी पनि हुन्छ र पार्टीलाई सुदृढ गर्ने कुरा हाम्रो छँदैछ ।

  • तपाईंको नेतृत्वमा छुट्टै नयाँ कम्युनिस्ट केन्द्र स्थापना हुने सम्भावना बलियो हुँदै गएको हो ?

त्यो सम्भावना हामी एकदमै प्रबल देख्छौँ । यो विप्लवको कुरा भएन तर सबैतिर तपाईंले हेर्नुभयो भने अब पुराना अनुभवहरूलाई, शिक्षाहरूलाई लिएर केही नयाँ मान्यतामा, केही नयाँ विचारमा, सोचमा विकास गर्नुपर्छ भन्ने कुरा त स्पष्टै छ नि ।

  • आगामी फागुन २१ मा हुने चुनावलाई उपयोग गर्ने भन्नुभएको छ, तर बुधबार प्रधानमन्त्रीले बोलाएको राजनीतिक दल र जेनजी समूहसहितको बैठकमा तपाईंका प्रतिनिधि देखिएनन् । खबर आएन कि जानुभएन ?

यो कुरा अलि पहिलेदेखि नै हामीमा छलफल भइराखेकै छ । राष्ट्रपतिज्यूबाट नै त्यो कमजोरी भएको छ । प्रधानमन्त्रीको कुरा त पछिको भइहाल्यो । वास्तवमा विद्रोह संसदवादको विरुद्धमा भयो । संसद् त जलिसक्यो, तर फेरि राष्ट्रपति, प्रधानमन्त्री लगायतकोे दिमागमा त्यही संसदको भूत चलिराखेको देखिन्छ । उनै पुराना पार्टी, पुराना नेताहरू, पुरानो प्रवृत्तिको विरुद्धमा विद्रोह हो । अब फेरि त्यसैलाई दोहो¥याई तेहे¥याई लाद्ने कोसिस गरिराख्नुभएको छ । यो आन्दोलन, संघर्षभन्दा उहाँहरूको सोचाइ विपरीत देखिन्छ, तर यो फेरि क्रमशः जनताले बुझ्दै जान्छन् ।

  • निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया अगाडि बढाएपछि माओवादीभित्रकै केही तप्का, तहबाट तपाईंविरुद्ध असन्तुष्टि व्यक्त गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह र केपी ओलीसँग पनि भेटेर बार्गेनिङ गरेको आरोप पनि छ नि ?

मैले भनेको छु, लेखेको पनि छु । उहाँहरूको एउटा रमाइलो र हाँस्यास्पद जस्तो लाग्छ । माओवादीभित्र पुरानो जनयुद्धकालको एउटा स्कुल छ । एउटा विषय, अर्को परिभाषा । एउटा बहस, अर्को अर्थ । त्यसपछि गएर अहंकार, त्यहाँभित्र अलि डाह, ईष्र्या, असभ्य कस्तो भन्नुहुन्छ भने एउटा छटपटाउने खालको देखिन्छ । यसैले उहाँहरूलाई त्यहाँ पु¥याएको हो । उहाँहरूले अन्यत्र खोज्नुहुन्छ समस्याको कारण । यही कुरा नै हो एकताको बाधक । अहिले केही साथीले व्यक्त गरे पनि माओवादीभित्रको ठुलो एउटा प्रवृत्ति त्यसैमा छ । अथवा, कम्युनिस्ट आन्दोलनभित्र यस्ता समस्या छन् । हौसिएर एकछिन आकाशै छुने जस्तो । अलिकति यसो आफूले भनेको जस्तो भएन भने पाताल नै धसिनेजस्तो जो हुन्छ । त्यसरी होइन । मैले उहाँहरू सबैलाई भनेको छु, अहिले त समाजवादी मोर्चामा हामी सबै स्वतन्त्र पार्टीहरू छौँ नि । उहाँहरूले त स्वागत पो गर्नुप¥यो त । उहाँहरूको दर्ता छ । माओवादी पनि दर्ता छ, समाजवादी दर्ता छ भने नेकपाले पनि अहिलेसम्म दर्ता नभएको पार्टीसँग सहकार्य गर्दाखेरि अप्ठ्यारो थियो । दर्ता भएर सहकार्यमा आउने भयो भनेर वातावरण सहज बनाउने, खुसी पो हुने हो ।

हामीले दल दर्ता गर्दाखेरि आफू सकिएको जस्तो, भासिएको जस्तो देख्नुहुन्छ । सारा दुनियाँ नै उल्टिसक्यो भनेजस्तो, त्यो होइन नि । हामी पनि सबै काम गर्न स्वतन्त्र छौँ । त्यसैले त्यो कुरा बुझ्दै सम्भव भए एकता पनि गर्ने, भएन भने मोर्चा गर्ने, नत्र मैत्रीपूर्ण छलफल गर्दै मिल्ने विषय मिल्ने अन्तर्गत सहकार्य गर्ने कुरा हो । यतिसम्म हामी खुला हुनुपर्छ ।

  • विप्लवले एकतापछि पार्टी प्रमुख र निर्वाचन भएमा कपिलवस्तु र कालिकोट सुनिश्चित गर्न एमाले र माओवादीसँग बार्गेनिङ गरिरहेको आरोपबारे के भन्नुहुन्छ ?

मैले अघि भनेँ, विषय एकातिर छ, यति छिटै त्यहाँसम्म पुग्ने भनेपछि त्यो एउटा हतारजस्तो देखिन्छ । त्यसमा लिडरसिपकै कुराहरू अहिले बाहिर सार्वजनिक नभएको स्थितिमा कुनै कमरेडहरूको, कोही कमरेडलाई लाग्ने बित्तिकै धेरै हामीले पर तन्काउनु हुँदैन । मैले अरू कुरा भनिसकेँ ।

  • अन्ततः तपाईं पनि संसदीय भासमा प्रवेश गर्नुभयो । संसदीय प्रणालीबाट दलाल पुँजीवादलाई अन्त्य गर्न सम्भव छ ?

यो हाम्रो नयाँ प्रेडिक्सन जस्तो हो । हाम्रो आकलन हो । अहिलेसम्म विभिन्न तरिकाले जसरी प्रयोग भएको छ, लेनिनले एक ढंगले प्रयोग गर्नुभयो, माओले अर्को ढंगले क्रान्ति सम्पन्न गर्नुभयो । विभिन्न प्रयोग हुँदै हामी यहाँसम्म आइपुगेका छौँ, तर अहिले विश्वव्यापी रूपबाट आर्थिक क्षेत्रमा, आर्थिक सम्बन्धमा, राजनीतिक सम्बन्धहरूमा, नयाँ वर्गहरूको विकासमा जुन परिवर्तनहरू देखिएका छन्, यी सबैबाट हेर्दा हामीले अगाडि सारेको कार्यदिशा आजको पुँजीवादसँग लड्नको लागि, दलाल पुँजीवादसँग लड्नको लागि एउटा वस्तुवादी र सही कार्यदिशा हो भन्ने लाग्छ । त्यही अनुसार नै हामी अगाडि सरेका छौँ । यसलाई हाम्रो पार्टी पंक्तिले, जनताले बुझ्ने तहको साथीहरूले ठिकै मानेको देख्छु म । तथापि माओवादी साथीहरू, जो अलि बौद्धिक, दुरदृष्टि भएका हुनुहुन्छ, उहाँहरूसँग पनि हाम्रो राम्रो छलफल हुन्छ । यसरी नै सोच्नुपर्छ भन्ने म पाउँछु ।

  • जनार्दन शर्मा, घनश्याम भुसाल, आहुति लगायतसँग मिलेर नयाँ एलाइन्स गर्ने तयारी भइरहेको कुरा आएको छ । त्यो हल्लामात्रै हो कि व्यावहारिक तहमै अभ्यास भइरहेको छ ?

हाम्रो ठोस ढंगले कोहीसँग पनि त्यसरी छलफल चलेको छैन । हामीले कार्यक्रममा सँगै भाग पनि लियौँ । नेपाली विशेषताको समाजवादलाई सफल गर्ने गरी कसरी सहकार्य गर्न सकिन्छ, अगाडि बढ्न सकिन्छ भन्ने बारेमा हाम्रो छलफल भएकै छ, तर ठ्याक्कै प्रस्तावहरूमा छलफल चलिसकेको छैन । त्यो नेपालमा होल एउटा कम्युनिस्ट मुभमेन्टमै अब नयाँ पुस्तासहित, नयाँ युवाहरू सहित सोच्नुपर्छ । त्यसरी सोच्यो भने कम्युनिस्ट आन्दोलन सुरक्षित हुन्छ । लगभग प्रयोगमा असफल भइसकेका सोचहरू, त्यसपछि नेतृत्वहरूबाट त्यो सम्भव छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप