मुम्बई विमानस्थलमा लङ्गुर बरामद, एक जना पक्राउ
सारांश
- मुम्बई विमानस्थलमा दुर्लभ सिल्भरी लङ्गुर तस्करीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
- भन्सार अधिकारीहरूले मलेसियाबाट थाइल्यान्ड हुँदै भारत ल्याइएका दुई लङ्गुर फेला पारे, जसमा एक मृत र अर्को जीवित भेटिए।
- वन्यजन्तु तस्करीमा संलग्न अन्तर्राष्ट्रिय सिन्डिकेटमा संलग्न भएको आशंकामा अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्।
नयाँदिल्ली । भारतका भन्सार अधिकारीहरूले मुम्बईको विमानस्थलमा तस्करी हुँदै ल्याइएका दुर्लभ जनावरहरू जफत गरेका छन् । जाँच गरिएको झोलाभित्र दुईवटा लुप्तप्राय ‘सिल्भरी लङ्गुर’ फेला परेपछि एक जना विमान यात्रुलाई पक्राउ गरिएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।
भन्सार विभागका अनुसार ती जनावरहरू मलेसियाबाट थाइल्यान्ड हुँदै भारत ल्याइएका थिए । यात्रुलाई वन्यजन्तु तस्करीमा संलग्न ‘अन्तर्राष्ट्रिय सिन्डिकेट’ को सदस्य रहेको शङ्का गरिएको छ । विशेष खुफिया सूचनाका आधारमा बिहीबार मुम्बई विमानस्थलमा उनको झोलाको तलासी लिँदा दुई लङ्गुर भेटिएका थिए ।
तीमध्ये एक लङ्गुर मृत फेला परेको थियो भने अर्को जीवित भेटिएको थियो । भन्सार विभागले सेयर गरेको भिडियोमा बाँचेको लङ्गुरलाई अफिसरको हातमा झुकेको अवस्थामा देख्न सकिन्छ, जसले आफ्नो अनुहार हातले ढाक्दै बिस्तारै हल्लिरहेको दृश्य मन छुने रहेको छ ।
भन्सार अधिकारीहरूले जनावरहरूलाई टोकरीमा लुकाएर राखिएको र ती भारतमा बिक्रीका लागि ल्याइएको बताए । अहिले जीवित लङ्गुरलाई पशु चिकित्सकको निगरानीमा राखिएको छ । वन्यजन्तु संरक्षण निकाय ‘ट्राफिक’ ले यसअघि विदेशी घरपालुवा जनावरको व्यापारद्वारा प्रेरित तस्करीको ‘अत्यन्त चिन्ताजनक वृद्धि’ भएको चेतावनी दिएको थियो ।
पछिल्ला साढे तीन वर्षमा मात्रै थाइल्यान्ड–भारत हवाई मार्ग हुँदै सात हजारभन्दा बढी जीवित र मृत जनावर जफत गरिएको ट्राफिकको तथ्याङ्कले देखाउँछ । सिल्भरी लङ्गुर इन्डोनेसियाको जाभा टापुका वर्षावनमा बसोबास गर्ने सानो प्राइमेट हो ।
इन्टरनेसनल युनियन फर कन्जरभेसन अफ नेचरका अनुसार जङ्गलको क्षति, सिकार र घरपालुवा जनावरको अवैध व्यापारका कारण उनीहरू विलुप्तिको जोखिममा परेका छन् । हाल विश्वभर बाँचेका सिल्भरी लङ्गुरको सङ्ख्या अनुमानित रूपमा केवल दुई हजार ५०० देखि चार हजार बीच रहेको बताइन्छ ।
मुम्बई विमानस्थलमा पछिल्ला महिनाहरूमा वन्यजन्तु तस्करीका घटनाहरू लगातार बढ्दै गएका छन् । यही महिनाको सुरुमा भन्सार अधिकारीहरूले सर्प, कछुवा र र्याकुन बोकेका एक तस्करलाई नियन्त्रणमा लिएका थिए ।
यसअघि जुन महिनामा थाइल्यान्डबाट आएका दुई यात्रुबाट भन्सारले १०० भन्दा बढी जीवित जनावरहरू (जसमा विषालु भाइपर, छेपारो, सनबर्ड र रूख चढ्ने पोसमहरू समेत समावेश थिए ) जफत गरेको थियो ।
फेब्रुअरीमा पनि इन्डोनेसिया, मलेसिया र थाइल्यान्डका जङ्गलहरूमा पाइने पाँच सियामाङ लङ्गुरसहितका बाँदर बोकेर ल्याइरहेका एक तस्करलाई यही विमानस्थलमा समातिएको थियो ।
भन्सार विभागका अधिकारीहरूले वन्यजन्तु तस्करीविरुद्ध निगरानी झन कडा बनाइएको बताउँदै यस्तो अपराधमा संलग्न समूहलाई कानुनी रूपमा कडा कारबाही गरिने चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण