बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीतिक दल

रेशम-रञ्जिता विवाद राजनीतिक कि पारिवारिक ?

नाउपादेखि नाउपा नेपाल गठनसम्म
शुक्रबार, १४ कात्तिक २०८२, २० : १५
शुक्रबार, १४ कात्तिक २०८२

काठमाडौँ । ‘देश विकासका लागि फेरि नयाँ पार्टी खोल्नु भएको धेरै धेरै बधाइ हो बूढो’ (देश विकासके लाग फेनसे लव्व पार्टी खोल्लो धिउर धिउर बधाइ बा हो बुरूवा) । 
नागरिक उन्मुक्ति पार्टीबाट अलग भई नयाँ दल दर्ताका निर्वाचन आयोगमा निवेदन दिएका रेशम चौधरीलाई रञ्जिता श्रेष्ठले दिएका बधाईका शब्द हुन् यी । 
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता रेशमकी श्रीमती हुन् । श्रीमान्-श्रीमतीको राजनीतिक मनमुटावले पार्टी फुटसम्मको अवस्था आएको हो । रेशम र रञ्जिताको दूरी यति बढेको छ कि नाउपा  तीन टुक्रा भएको छ । 

रेशम चौधरीले कबीर सोपको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् भने रामलाल डगौराले रञ्जिता श्रेष्ठलाई हटाएर आफ्नै नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी गठन गरेको निवेदन निर्वाचन आयोगमा दिएका छन् । 

यता, रञ्जिता श्रेष्ठले आफू अध्यक्ष रहेको पार्टी आफैंसँग रहेको दाबी गर्दै आइरहेकी छिन् । पार्टीमा अहिले जे-जति भएका छन्, रेशम र रञ्जिताकै विवादका कारणले भएको धेरैको बुझाइ छ ।  

कतिसम्म भने बिहीबार रञ्जिता श्रेष्ठले आफ्नो फेसबुकमा लेखिन्, ‘नागरिक उन्मुक्ति पार्टी नेपालको अध्यक्ष भएकोमा भान्जा कबीरलाई धेरैधेरै शुभकामना ।’ रेशम चौधरीले आफ्नो भान्जालाई अध्यक्ष बनाएको भनेर सन्देश दिने गरी दिएको शुभकामनाप्रति सबैको चासो बढ्यो । 

के हो ‘भाञ्जा विवाद’ 

रेशम चौधरीका लागि परिवारवाद ठुलो कुरा रहेन । नाउपा खोल्दा श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाए । पछि विवाद बढेपछि आफ्नै बुवालाई अध्यक्ष बनाए । अहिले नाउपाबाट अलग भएर नाउपा नेपाल गठन अध्यक्ष बनाइएका कबीर सोप भाञ्जा भएको टिप्पणी हुन थालेपछि रेशमले फेसबुक मार्फत नै प्रष्टीकरण दिएका छन् । 

‘लालबीर चौधरीका चार छोरा, जेठो म । मेरी आमाले छोरी जन्माइनन् । नातापाताले सबै मेरा बाबुआमा, सबै मेरा दाजुभाइ, सबै दिदीबहिनी । यातना, प्रताडना भोग्ने म । भोगेकै छु । गाउँघर, राज्य, सरकार व्यक्ति सबैलाई ठगी हिँड्नेले जे पायो त्यही नलेख्नुस् । कर्म गर्नुस्, बस्ती नखल्बल्याउनुस् । जय नागरिक ।’

पारिवारिक सम्बन्ध

सामाजिक सञ्जालका यी जुहारीले रेशम र रञ्जिताबिच कतिसम्म तिक्ततापूर्ण सम्बन्ध छ भन्ने देखाउँछ । फेसबुकमा मायाप्रीतिका कुरा निकै देखाउने यो दम्पती राजनीतिक रुपमा भने एकअर्काको दुश्मन जत्तिकै व्यवहार देखाइरहेका छन् । 

उनीहरुको पारिवारिक सम्बन्ध पनि राम्रो नभएको स्रोत बताउँछ । काठमाडौँमा पनि दुवै जना अलग-अलग बस्छन् । राजनीतिक सम्बन्ध राम्रो हुँदा दुवै सँगै हुन्थे । हरेक ठाउँ दुवै जना सँगै देखिन्थे । जब राजनीतिक सम्बन्ध बिग्रिदै गयो, पारिवारिक सम्बन्धमा पनि दरार पर्‍यो । 

रञ्जितासँग सम्बन्ध बिग्रिन थालेपछि रेशम कान्छी श्रीमतीसँग नजिक भए । कान्छी श्रीमतीसँग भएका तस्बिरहरु सार्वजनिक हुन थाले । धेरै समय कान्छी श्रीमतीसँग बिताउन थालेपछि रञ्जिता र रेशमको सम्बन्ध बिग्रिन थालेको स्रोत बताउँछ । 

त्यसपछि रञ्जिताले राजनीतिक प्रतिशोध लिन थालेको नागरिक उन्मुक्ति पार्टीका एक नेता बताउँछन् । ‘सुरुमा उनीहरुको पारिवारिक सम्बन्ध बिग्रियो । त्यसपछि राजनीतिक विवाद उत्पन्न भएको हो । खासमा दुवै जनाबिच कुनै राजनीतिक समस्या नै होइन । विवाद अरुतिर छ, राजनीतिमा त्यसलाई प्रवेश गराएको हो,’ ती नेता भन्छन् । 

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिताले दुई दिन अगाडि रेशम चौधरीको फोटो फेसबुकमा राखेर लेखिन्, ‘मुटु, यो फोटो ठिक छ भन्ने आवाज आज पनि कानमा गुन्जिरहेछ । राजनीतिले दूरी ल्यायो होला, तर सम्बन्धको आत्मीयता कहिल्यै मेटिँदैन,’ यसले पनि पारिवारिक सम्बन्ध ठिक छैन भन्ने पुष्टि हुन्छ । 

पारिवारिक कि राजनीति ? 

रञ्जिता श्रेष्ठ निकट एक नेता भन्छन्, ‘जब दुवै जनाबिच राजनीतिक सम्बन्ध सुध्रिन्छ, तब पारिवारिक सम्बन्ध पनि राम्रो देखिन्छ । राजनीतिक सम्बन्ध बिग्रिँदा पारिवारिक सम्बन्ध पनि भत्किँदै जान्छ । अहिले दुई जनाको बोलचाल पनि छैन । धेरै भयो एकसाथ नदेखेको ।‘ राजनीतिक सम्बन्ध बिग्रिए पनि पारिवारिक सम्बन्ध राम्रो राखेको राम्रो हुने उनी सुझाव दिन्छन् । 

तर नागरिक उन्मुक्ति पार्टीमा केही समय काम गरेका सामाजिक अभियन्ता सुरेन्द्र चौधरी रेशम र रञ्जिताको व्यक्तिगत र पारिवारिक सम्बन्ध राम्रै रहेको दाबी गर्छन् । 

‘दुवै जनाबिच कुनै पारिवारिक विवाद छैन, भित्रभित्रै दुवै जना मिलेका छन्, बाहिर विवाद छ भनी देखाउनु भएको मात्र हो ।’ काठमाडौंमा दुवै जनाबिच प्राय: भेटघाट भइरहने दाबी गर्दै उनी आफ्नो कब्जामा राखेर पार्टी चलाउन खोजेकाले विवाद उत्पन्न भएको बताउँछन् । 

को-को छन् रेशमको साथमा ? 

रेशमले निर्वाचनमा आयोगमा दर्ता लागि निवेदन दिएको नयाँ पार्टीमा नाउपाका २१ जना संस्थापकमध्ये कोही पनि छैनन् । रेशमलाई कसैले साथ नदिने भएपछि उनले बाध्य भएर नयाँ पार्टी गठन गरेको अभियन्ता चौधरीको दाबी छ । 

उनका अनुसार रेशमले आलोक चौधरीलाई पार्टीको कार्यवाहक बनाउन चाहन्थे, तर संस्थापकमध्ये कसैले साथ नदिएपछि रञ्जितामाथि रिस मात्र पोखेका हुन् । 

थारु राजनीतिकका जानकार एवं साहित्यकार कृष्ण सर्वहारी दुवै जना निकै महत्त्वाकांक्षी भएर यो अवस्था आएको टिप्पणी गर्छन् । ‘उहाँ दुवै जना कोही भन्दा कोही कम हुनुहुन्न, एक जनाले भन्नुहुन्छ, म जेलमा रहेर यत्रो दु:ख गरेर पार्टी जन्माए । अर्को भन्नुहुन्छ- म बाहिर रहेर दौडधुप गरी खुन पसिना एक गरेर पार्टी बनाए, यही टक्करका कारण दुवै जना मिल्न नसकेको हो,’ सर्वहारी भन्छन् । 

दुवै जनाबिच राजनीतिकका पारिवारिक समस्या पनि रहेको र एकअर्काको कमी कमजोरी थाहा पाएर कुनै शक्तिले खेलिरहेको हुनसक्ने उनको अनुमान छ । 

रेशम चौधरीले ४५ सदस्यीय कार्यसमिति बनाएर नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका छन् । त्यसमा एक जना पनि नागरिक उन्मुक्ति पार्टी (रञ्जिता)का संस्थापकमध्येबाट गएका छैनन् । नागरिक उन्मुक्ति पार्टी नेपालका नेता दीपक तामाङले २१ जना संस्थापकमध्ये कोही पनि आफूहरुको पार्टीमा नरहेको पुष्टि गरे । 

महानिधवेशनबाट चयन भएको १९६ केन्द्रीय सदस्यमध्ये २५ जना आफूहरुको पार्टीमा आवद्ध भएको उनको भनाइ छ । प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि अहिले जो जहाँ छन्, त्यहीं रहेका छन् । कार्यकाल सकिएपछि नयाँ पार्टीमा उनीहरु आउने तामाङले दाबी गरे । विघटित प्रतिनिधिसभामा नाउपाका चार जना सांसद थिए । 

नागरिक उन्मुक्तिको जन्म र विवाद

रेशम चौधरी जेलमै रहँदा श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा २०७८ पुसमा नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो । रेशम संरक्षक रहेको यो पार्टीले २०७९ को चुनावमा अपेक्षाकृत राम्रै नतिजा ल्यायो । रेशम चौधरी जेलमा हुँदासम्म यो पार्टी ठिकठाक चलिरहेको थियो । २०८० जेठमा रेशम रिहा भएपछि पार्टी अझै सशक्त रुपमा अगाडि बढ्यो । 

जब २०८० पुसमा पार्टीको महाधिवेशन भयो, त्यहाँबाट आन्तरिक विवाद सुरु भयो । रेशम महाधिवेशनबाट पार्टीको अध्यक्ष भए, जुन रञ्जितालाई मन परेको थिएन । उनी पनि अध्यक्षकी आकांक्षी थिइन् । पार्टीको अध्यक्षमा चयन भएपछि रञ्जिता महाधिवशेन स्थल छाडेर काठमाडौं आएपछि पार्टीको विवाद छताछुल्ल भएको थियो । त्यसबेला रञ्जिता संघीय सरकारकी भूमि व्यवस्था मन्त्री थिइन् । 

रेशम चौधरी अध्यक्ष भएपछि निर्वाचन आयोगमा मुद्दा पर्‍यो । अध्यक्षमा रञ्जिता श्रेष्ठलाई नै कायम गरिदियो । त्यसपछि रेशम र रञ्जिताबिच द्वन्द्व सुरु भयो । पार्टीमा गुटगत राजनीति सुरु भयो । गुट स्थानीय तह, प्रदेशदेखि केन्द्रसम्म देखियो । कहिले मुख्यमन्त्रीका लागि विवाद त, कहिले मन्त्रीका लागि विवाद भइरह्यो । पार्टीभित्रकै विवादका कारण सुदूरपश्चिम प्रदेशमा पाउने मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टीले पाएन । 

पार्टीको विवादले केन्द्रीय समिति बैठक नै बस्न सकेन । एउटा गुटले बोलाएको बैठकमा अर्को गुट नजाने अवस्था सिर्जना भयो । रेशमले महाधिवेशनबाट बनेको केन्द्रीय समितिको बैठक बोलाउँदा रञ्जिताले संस्थापक केन्द्रीय समितिको बैठक बोलाउँथिन् । 

एकपटक दुवै जनाबिच कुरा मिलेपछि महाधिवेशबाट बनेको केन्द्रीय समिति र संस्थापक दुवै पक्षको बैठक बसेको थियो । त्यसपछि जनमत पार्टीसँग एकताका लागि छलफल गर्न बैठक बसेको थियो । यद्यपि पार्टीकै आन्तरिक विवादका कारण जनमत पार्टीसँग अन्तिम समयमा एकता हुन सकेन । किनभने एकताको पक्षमा रञ्जिता श्रेष्ठ नरहेको धेरैको बुझाइ थियो । 

लालवीरले पाएनन् मान्यता

कास्कीको भूमि आयोग अध्यक्ष र मालपोत प्रमुख सरुवा प्रकरणलाई लिएर पार्टीमा नयाँ विवाद उत्पन्न भएको छ । सोही प्रकरणलाई लिएर रेशम चौधरीले केन्द्रीय समितिको बैठक बोलाएका थिए । तर अध्यक्ष रञ्जिता उक्त बैठकमा उपस्थित नहुने भनेपछि बैठक स्थगित भयो र राष्ट्रिय भेला बेलाएर रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाएर लालवीर चौधरीलाई अध्यक्ष बनाइयो । लालवीर रेशम चौधरीका बुवा हुन् । 

तर निर्वाचन आयोगले लालवीर चौधरीलाई मान्यता दिएन । रञ्जिता नै अध्यक्षमा कायम रहिन् । पार्टीमा रेशम र रञ्जिताबिच यसले झन् दूरी बढायो । असन्तुष्टिहरु समाजिक सञ्जालमा छताछुल्ल हुन थाले । असन्तुष्टि र विवाद बढ्दै गएपछि रेशमले छुट्टै पार्टी दर्ता गराउने घोषणा गरे । बिहीबार नयाँ दल दर्ताको निवेदन दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप