शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
आयात/निर्यात

सबैभन्दा धेरै निर्यात हुने भटमासको तेल कहाँबाट आयात गरिन्छ ?

आइतबार, १६ कात्तिक २०८२, ०७ : ४७
आइतबार, १६ कात्तिक २०८२

सारांश

  • चालु आर्थिक वर्षको तीन महिनामा नेपालको निर्यात करिब ९० प्रतिशतले बढेको छ, जसमध्ये भटमासको तेलको हिस्सा सबैभन्दा ठूलो छ।
  • भटमासको तेल सबैभन्दा बढी भारतमा निर्यात भएको छ, त्यसपछि कार्पेट र सनफ्लावर तेलको निर्यात भएको देखिन्छ।
  • नेपालमा भटमासको उत्पादन कम हुने गरेको छ, तर कच्चा पदार्थको रूपमा अन्य देशबाट आयात गरी निर्यात गरिन्छ।

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा निर्यात करिब ९० प्रतिशतको उछाल आएको छ । जसमध्ये सबैभन्दा ठुलो हिस्सा भटमासको तेलले ओगटेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

विभागका अनुसार पहिलोमा भटमासको तेल, दोस्रोमा कार्पेट र तेस्रोमा सनफ्लावर तेल सर्वाधिक निर्यात हुनेको सूचीमा छन् । भटमासको तेल ३० अर्ब ६९ करोड ७८ लाख ३५ हजार रुपैयाँको १४ करोड ८५ लाख ५४ हजार १०५ किलो भारततर्फ निर्यात भएको छ ।

दोस्रोमा २ अर्ब ५७ करोड ५४ लाख ७ हजार रुपैयाँको ९३ हजार ४३८ वर्गमिटर गलैँचा र  २ अर्ब १३ करोड ९५ लाख ४४ हजार रुपैयाँको ३ करोड ९० लाख ६३ हजार ६३३ लिटर सनफ्लावर तेल निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

अघिल्लो आर्थिक वर्ष (२०८१/२०८२) को असोज मसान्तसम्म सबैभन्दा बढी निर्यात हुने वस्तुमध्ये भटमासको तेल १२औँ स्थानमा थियो । यसमध्ये पहिलोमा गलैँचा, दोस्रोमा चिया, तेस्रोमा क्रमशः धागो, भुवा, अलैँची, फलफूलको जुस, जुट, फलाम, काठ धागो, पिना र भटमासको तेल रहेका छन् । सो अवधिमा ९४ करोड १२ लाख ७९ हजार रुपैयाँको ५१ लाख ५२ हजार ७५२ किलो भटमासको तेल निर्यात भएको उल्लेख छ । 

सामान्यतया नेपालमा भटमास परम्परादेखि चलिआएको खेती हो । तर प्रशस्त मात्रामा उत्पादन छैन । नेपालमा प्रशस्त मात्रामा उत्पादन नहुने भटमासको तेल कच्चा पदार्थका रूपमा बाहिरी मुलुकबाट आयात गरेर भारततर्फ निर्यात गरिँदै आएको तथ्याङ्कले देखाउँछ ।

कुन–कुन देशबाट आयात गरिन्छ भटमास तेल ?

चालु वर्षको असोज मसान्तसम्म अर्जेन्टिना, ब्राजिल, पाराग्वे, भारत, कुवेत, ओमान र कतारबाट भटमासको तेल आयात भएको छ । यी आठ मुलुकबाट ३० अर्ब २४ करोड ९१  लाख ९ हजार रुपैयाँको १ लाख ९९ हजार ७८२ हजार ६३३ लिटर र १५१० किलो भटमासको तेल आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ  । 

नेपालमा प्रशस्त मात्रामा भटमास उत्पादन हुँदैन, तर सामान्य रूपमा खेती हुने गरेको सरकारी तथ्याङ्कले देखाउँछ । वार्षिक करिब २०/३० हजार मेट्रिक टन उत्पादन हुने गरेको तथ्याङ्कमा देखिन्छ ।

यसमध्ये सबैभन्दा धेरै अर्जेन्टिनाबाट २४ अर्ब ६८ करोड ६८ लाख ८३  हजार रुपैयाँको १६ करोड २२ लाख ४० हजार ६१९ लिटर आयात भएको छ । 

यस्तै दोस्रोमा, ४ अर्ब ६१ करोड ८४ लाख ८ हजार रुपैयाँको ३ करोड ११ लाख ७९ हजार ४२७ लिटर ब्राजिलबाट आयात भएको छ । तेस्रोमा, पाराग्वेबाट ९४ करोड ३४ लाख २० हजार रुपैयाँको आयात भएको छ ।

कुन देशबाट कति आयात ? 

333

स्रोतः भन्सार विभाग

कति छ नेपालमा भटमासको उत्पादन ? 

नेपालमा प्रशस्त मात्रामा भटमास उत्पादन हुँदैन, तर सामान्य रूपमा खेती हुने गरेको सरकारी तथ्याङ्कले देखाउँछ । वार्षिक करिब २०/३० हजार मेट्रिक टन उत्पादन हुने गरेको तथ्याङ्कमा देखिन्छ । कृषि मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क हेर्ने हो भने ०७५/७६ मा २२ हजार ६१५ हेक्टर क्षेत्रफलमा २९ हजार १७६ मेट्रिक टन भटमास उत्पादन भएको उल्लेख छ ।  

यस्तै ०७६/७७ मा २६ हजार ७१५ हेक्टर क्षेत्रफलमा ३४ हजार ५४४ मेट्रिक टन भटमास उत्पादन भएको थियो । ०७७/७८ मा भने नेपालमा २५ हजार ७५८ हेक्टर क्षेत्रफलमा ३२ हजार १७८ मेट्रिक टन भटमास फलेको छ । ०७८/७९ को उत्पादनको तथ्याङ्क उल्लेख छैन । 

यसैगरी ०७९/८० मा २६ हजार ८४२ हेक्टरमा ३६ हजार ६७२ मेट्रिक टन र ०८०/८१ मा २२ हजार ५४९ हेक्टरमा २८ हजार ५२० मेट्रिक टन फलेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । 

कुन वर्ष कति आयात–निर्यात गरियो ? 

भन्सार विभागका अनुसार ०७७/७८ मा ५२ अर्ब ४० करोड ८८ लाख ३१ हजार रुपैयाँको तेल आयात भएको थियो भने उक्त वर्ष ५३ अर्ब ६५ करोड १५ लाख  ९८ हजार रुपैयाँको निर्यात भएको थियो । 

२०७८/७९ मा  ५३ अर्ब ३८ करोड ७८ लाख ८१ हजार रुपैयाँको भटमासको तेल आयात भएको र ४८ अर्ब १२ करोड ४ लाख ३१ हजारको निर्यात भएको उल्लेख छ ।

०८१/८२ मा १ खर्ब ९ अर्ब २ करोड २३ लाख ४९ हजार रुपैयाँको भटमासको तेल आयात भएको थियो भने १ खर्ब ६ अर्ब ७९ करोड १२ लाख ३९ हजारको निर्यात भएको उल्लेख छ । यो वर्ष भटमास तेलको आयात र निर्यात दुवै  उच्च बिन्दु पुगेको छ ।

२०७७/७८ मा आयात र निर्यात लगभग बराबर देखिएको छ, जहाँ निर्यात आयात भन्दा थोरैले बढी देखिन्छ । तर ०७८/७९ मा आयात अघिल्लो वर्षको तुलनामा सामान्य बढे पनि निर्यातमा भने केही गिरावट आएको देखिन्छ ।

२०७९/८० मा ३५ अर्ब ६७ करोड २९ लाख ४१ हजार रुपैयाँको आयात भएकोमा ८ अर्ब ४७ करोड ५९ लाख ९२ हजार रुपैयाँको भटमासको तेल निर्यात भएको थियो । यस वर्ष आयात र निर्यात दुवैमा उल्लेख्य गिरावट आएको छ । निर्यातमा अत्यधिक गिरावट आएर आयातको तुलनामा धेरै कम भएको छ ।

यस्तै ०८०/८१ मा आयात र निर्यात दुवैमा अघिल्लो वर्षभन्दा पनि धेरै कमी आएको छ । निर्यात न्यूनतम बिन्दुमा पुगेको देखिन्छ । यो वर्ष १३ अर्ब ४४ करोड ९० लाख ५२ हजार रुपैयाँको तेल आयात भएको थियो । यो वर्ष ९० करोड २५ लाख १ हजार रुपैयाँको निर्यात भएको छ । 

यसैगरी ०८१/८२ मा १ खर्ब ९ अर्ब २ करोड २३ लाख ४९ हजार रुपैयाँको भटमासको तेल आयात भएको थियो भने १ खर्ब ६ अर्ब ७९ करोड १२ लाख ३९ हजारको निर्यात भएको उल्लेख छ । यो वर्ष भटमास तेलको आयात र निर्यात दुवै  उच्च बिन्दु पुगेको छ । आयात लगभग १ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ भने निर्यात पनि १ खर्ब ६ अर्ब रुपैयाँ नाघेको छ, जुन पछिल्ला वर्षहरूमा देखिएको गिरावटपछि एक महत्त्वपूर्ण वृद्धि हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप